प्रहरी समायोजन : तह बढुवा नहुने, पोसाक एउटै हुने | Khabarhub Khabarhub

प्रहरी समायोजन : तह बढुवा नहुने, पोसाक एउटै हुने


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी कर्मचारीलाई सङ्घ र प्रदेशमा समायोजन गर्दा तह बढुवा नभई ग्रेडको व्यवस्था गरिने भएको छ । यस्तै प्रदेश र सङ्घको पोसाकसमेत एउटै हुने भएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्यहरुबीच यसअघि प्रस्तुत विधेयकमा भएको व्यवस्थालाई नै यथावत् राख्नेमा सहमति जुटेको हो । समायोजनका लागि मात्रै बनेको विधेयक भएकाले यसमा बढुवाको व्यवस्था नराखी ग्रेड थपको व्यवस्था राखिने भएको हो । यो सहमतिसँगै प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफल टुङ्गिएको छ ।

विधेयकको दफा ७ को उपदफा २ मा समायोजनमा जाने प्रहरी कर्मचारीलाई खाईपाई आएको तलब वृद्धि (ग्रेड)मा दुई तलब वृद्धि (ग्रेड) थप गरिने उल्लेख छ । सोही व्यवस्था कायम हुने गरी समितिले छलफल टुङ्ग्याएको हो । बैठकमा भाग लिएका अधिकांश सांसदहरुले उनीहरुको मनोबल बढाउनका लागि तह बढुवा आवश्यक हुने अडान लिँदै आएका थिए ।

सअघिको बैठकमा सांसदहरुले निजामतीमा जस्तै बढुवाको बाटो अपनाउनुपर्नेमा जोड दिँदै आएका थिए । यसरी तहगत बढुवा गर्दा अन्य विविध जटिलता आउने भन्दै गृह सचिव प्रेमकुमार राईले बढुवा गर्न नसकिने बताउँदै आएका थिए । आइतबार बसेको समितिको बैठकमा बोल्दै गृहसचिव राईले निजामतीमा बढुवा नभई तह मिलान गरिएको प्रस्ट्याउँदै भने, ‘अहिलेको व्यवस्थाले प्रहरीको सरुवाबाहेकको सबै काम गर्न सकिन्छ र दुई ग्रेड तह वृद्धि हुन्छ, त्यो पनि स्वेच्छाले जाने कुरा हुन्छ, नगएमा काजमा जान सक्छन्, त्यसैले समस्या हुन्न ।’ उनले खुलारुपमा निवेदन मागेर नै समायोजन हुने भएकाले यसमा आपत्ति जनाउनुपर्ने कुनै कारण नभएको बताए ।

तहगत बढुवा गर्दा हिजोको कर्मचारी समायोजनको प्रक्रियासमेत उल्टिने खतरा रहेको उनको भनाइ छ । उनले तह बढुवाको प्रयास विगतमा गरिए पनि अर्थ मन्त्रालयले सहमति नदिएको जानकारी दिँदै धेरै छलफलपछि ग्रेडको व्यवस्था गरिएको र जुन व्यवस्थाले सरुवाबाहेक अरू सबै वृत्तिविकास खुला हुने बताए । बढुवा गरेर पठाउँदा भने माथिल्लो तहमा जान नपाउने अवस्था आउने र पछि पदमा समेत जटिलता आउनेतर्क समितिको ध्यानाकर्षण गराएका थिए ।

पछि प्रदेश कानून बनाएर प्रदेशले आफ्नै तरिकाले व्यवस्था गर्न सक्ने बाटो खुला रहेको उनले भने । उक्त विषयको पक्षमा समितिका सदस्य यशोदा सुवेदी र राजकिशोर यादव थिए । समितिका अन्य सदस्यहरु दिलेन्द्रप्रसाद वडू, नवराज सिलवाल, प्रेम सुवाल, झपड रावल लगायतले बढुवा हुनुपर्ने अडान दोहोर्‍याउँदै आएका थिए । तर वृत्तिविकासलगायत सङ्घ र प्रदेशको तहमा समेत फरक पर्ने भएकाले उहाँहरु अन्ततः ग्रेड बढाएर समायोजन गर्ने विषयमा सहमत भएका हुन् ।

यस्तै प्रदेश प्रहरी र नेपाल प्रहरीको पोसाक अलगअलग नभई एउटै राख्ने विषयमा समेत सांसदहरुबीच सहमति जुटेको छ । समायोजनमा प्रहरी नायब उपरीक्षकसम्मका प्रहरी कर्मचारीहरु पर्ने छन् । प्रहरी उपरीक्षक र वरिष्ठ प्रहरी उपरीक्षक भने समायोजनका क्रममा सङ्घबाट खटाइने सहमति भएको छ । समायोजनमा प्रदेश प्रहरीको नेतृत्व भने प्रहरी नायब महानिरीक्षकले गर्ने यसअघि नै सहमति जुटिसकेको छ ।
समायोजन गर्दा सिफारिस समितिमा प्रदेशको प्रतिनिधिसमेत रहनेछन् ।

अहिलेसम्म छलफलमा आएका विषय र सहमतिका विषयहरुलाई समावेश गरेर ल्याउन समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । संशोधनसहित आएको विधेयकलाई समितिमा एक चरण छलफल गरेर सदनमा प्रतिवेदन बुझाउने समितिका सभापति शशी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ८ : ५९ बजे

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट

सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश