रक्तदानले बचाउँछ ज्यान–थाहा पाउनुस् कसले गर्न हुन्छ, कसले हुँदैन ?

खबरहब

शुक्रबार, जेष्ठ ३१, २०७६

Reading Time: 3 minutes

रक्तदानले बचाउँछ ज्यान–थाहा पाउनुस् कसले गर्न हुन्छ, कसले हुँदैन ?

काठमाडौं– आज विश्व रक्तदाता दिवस नेपालमा बिभिन्न कार्यक्रम गरी मनाइदैछ ।

रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४का दिन यो दिवस मनाउन थालिएको हो ।

विश्व स्वास्थ्य संगठनले हरेक वर्ष यस दिनलाई रक्तदान दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।

मानव रगत समूह ब्लड ग्रुप पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो ।

के हो रगत ?

रगत शरिरमा रहेको रातो तरल पदार्थ हो । यो प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ ।

यसले शरीरका कोषहरुमा ग्लुकोज,एमिनो एसिड लगायतका पोषक तत्वहरु सँगै अक्सिजन लगायतका आवश्यक पदार्थहरु पुर्याउने काम गर्दछ । यसले कार्वन डाइक्साइड, यूरिया, ल्याक्टिक एसिड जस्ता काम नलाग्ने तत्वहरुलाई बाहिर निश्कासन गर्न समेत सहयोग गर्दछ ।

रगतले हाम्रो शरीरका कोषिकाहरूलाइ आवश्यक पोषक तत्त्वसँगै अक्सिजनको आपूर्ति गर्छ । साथै कोषिकाको खराब पदार्थलाई शरीरबाहिर फयाल्ने काम पनि गर्छ ।

एक जना स्वस्थ व्यक्तिको शरीरको तौलको करिब ७ प्रतिशत भाग रगत हुन्छ । सबैभन्दा बढी पाइने रगतको समूह ‘ओ’ हो र सबैभन्दा कम पाइने रगतको समूह ‘एबी नेगेटिभ’ हो ।

रगतमा ६० प्रतिशत द्रव्य र ४० प्रतिशत ठोस हुन्छ । द्रव्यलाई प्लाज्मा भन्छौँ, जसमा ९० प्रतिशत पानी र १० प्रतिशत पोषक तत्त्व, हार्मोन इत्यादि हुन्छन् । र, यो भोजन, औषधि आदिले गर्दा धेरै छिटो बन्ने गरेको छ । तर रगतको ठोस खण्ड जसमा रातो रक्तकणिका, सेता रक्तकणिका र प्लेटलेटस हुन्छन्, तिनलाई फेरि बन्नमा धेरै समय लाग्छ ।

रगतका माध्यमले शरीरभित्र पोषण, इलेक्ट्रोलाइट, हार्मोन, भिटामिन, एन्टिबडी, उष्मा र अक्सिजन पुग्छ । रगतले शरीर शरीरबाट अपशिष्ट तत्त्व र कार्बन डाइअक्साइडलाई बाहिर निकाल्ने गर्छ ।

रगतले संक्रमणसंग लड्न र घाउ छिटो निको पार्नसमेत सघाउँछ । शरीरमा कुनै पनि किसिमको संक्रमण हुन लागे पहिलो अवरोध रातो रक्तकणिकाले उत्पन्न गर्छ ।

ग्रेनुलोसाइट नामक रातो रक्तकणिका रक्तकोषिकाको भित्ता हुँदै पौडिन्छ र विषाणुलाई खोजेर नष्ट पार्छ ।

रातो रक्तकणिकाले शरीरका अंग–प्रत्यंग र कोषिकासम्म अक्सिजन पुर्‍याउने गर्छ । दुईतीन थोपा रगतमा पनि करिब एक अर्ब रातो रक्तकणिका हुन्छ ।

कसले गर्न सक्छ रक्तदान ?

१८ वर्षदेखि ६५ वर्षसम्मका स्वस्थ व्यक्ति हुनुपर्छ ।
पुरुषले तीन महिनाअघि र महिलाले चार महिनाअघि रक्तदान गरेको हुनुपर्छ ।
शारीरिक तौल ४५ किलोभन्दा बढी हुनुपर्छ ।
रगतमा हिमोग्लोविनको मात्रा कम्तीमा १२ ग्राम हुनुपर्छ ।
नाडीको चाल एक मिनेटमा ५० देखि १०० सम्म हुनुपर्छ ।
शरीरको तापक्रम ९९.५ डिग्री फरेनहाइटभन्दा बढी हुनु हुँदैन ।
डायस्टोलिक रक्तचाप १०० एमएमरएचजीभन्दा कम हुनुपर्छ ।
सिस्टोलिक रक्तचाप १६० एमएमरएचजीभन्दा कम हुनुपर्छ ।
टाइफाइड, औलो, हेपाटाइटिसजस्ता संक्रामक रोग भएको हुनु हुन्न ।

यी समस्या भए केही समय रक्तदान गर्नु हुन्न

क्षयरोगको औषधि पूरा गरेको दुई वर्षसम्म
कुकुरले टोकेको वा रेबिजको खोप लिएको एक वर्षसम्म
जन्डिस भएको एक वर्षसम्म
इम्युनोग्लोविनको सुई लिए एक वर्षसम्म
ठेउला, चिकेन पक्स भए एक वर्षसम्म
औलो भएको तीन महिनासम्म
रगत चढाएको ६ महिनासम्म
ठूलो शल्यक्रिया गरेको ६ महिनासम्म
सानो शल्यक्रिया गरेको तीन महिनासम्म
एन्टिबायोटिक, एस्प्रिन, स्टेरोयड औषधि लिएको तीन दिनसम्म
श्वासमार्गको संक्रमण निको भएको सात दिनसम्म
नाक वा कान छेडेको ६ महिनासम्म
टाटु बनाएको ६ महिनासम्म

नियमित रक्तदानका फाइदा

नयाँ कोषिकाको निर्माण हुन्छ ।
नियमित समयमा रक्तदान गर्दा शरीरमा फलामको मात्रा सन्तुलित रहन्छ ।
नियमित रक्तदानले हृदयाघात हुन दिंदैन ।
रक्तदानले रक्तचाप नियन्त्रित हुनाका साथै कोलेस्ट्रोलमा समेत कमी आउँछ ।
शरीरमा भएको बढी क्यालोरी र बोसो डढ्छ ।

भर्खर

0