पत्नीको प्रसव पीडा देखेपछि स्त्री रोग विशेषज्ञ बने डा भोला रिजाल « Khabarhub
Logo
१२ मंसिर २०७७, शुक्रबार

पत्नीको प्रसव पीडा देखेपछि स्त्री रोग विशेषज्ञ बने डा भोला रिजाल

११ वर्षको उमेरमै ‘छोटे डाक्टर’ !



काठमाडौं– डाक्टर भोला रिजाल नेपालको चिकित्सा क्षेत्रका चर्चित एवं लोकप्रिय चिकित्सक हुन् । डा रिजाल नेपालका पहिलो स्त्री रोग विशेषज्ञ हुन् । चिकित्सा क्षेत्रमा आफ्नो नाम स्थापित गराएका डा रिजाल साहित्य र संगित क्षेत्रमा पनि लोकप्रिय छन् ।

डा रिजालले एमडीको अध्ययन पूरा गरेपछि २०३९ सालदेखि १० वर्ष त्रिवि शिक्षण अस्पतालमा काम गरे ।

डा रिजालले ओम अस्पताल, नेपालगञ्ज मेडिकल कलेजका लगायतमा समेत मुख्य भूमिकामा रहेका काम गरिसकेका छन् । उनी नेपाल मेडिकल कलेजका अध्यक्ष हुन् । डा रिजाल अहिले ह्याम्स अस्पतालमा पनि चिकित्सा पेसामा संलग्न छन् ।

चिकित्सा क्षेत्रमा ३७ वर्ष भन्दा लामो अनुभव बटुलेका डा रिजालको कपाल फुलिसकेको छ । अनुहारमा चाउरिपना पनि प्रष्टै देखिन्छ तर उनको जोस भने युवा अवस्थाको जस्तै छ । केही समयअघि ढाडमा समस्या आएपछि शल्यक्रिया गरेर आराम गरिरहेका डा रिजाल अहिले चस्मा लगाउँदै, लौरो टेकेरै भएपनि बिरामी जाँच्न अस्पतालसम्म पुग्छन् ।

उनी अहिले धुम्बाराहिमा रहेको ह्याम्स अस्पताल र नेपाल मेडिकल कलेजमा आउने बिरामीको उपचारमा खटिन्छन् ।

७२ वर्ष पूरा भइसकेका डा रिजाललाई आफू पूर्ण रुपमा स्वास्थ्य नहुँदा आराम गरेरै बसौं भन्ने नलागेको होइन । तर बिरामीले आफूलाई गर्ने माया र विश्वासका अगाडि उनी आफ्नो समस्यालाई वेवस्ता गर्छन् ।

आगोले पोलेका बिरामी ठिक भएपछि रिजाललाई स्थानीयले सम्मान गर्न थाले । डा रिजाललाई ‘छोटे डाक्टर’ भन्दै सबैले माया गरेपछि उनले आफूमा डाक्टर बन्ने सोच बनाए

आफ्नो शरीर र स्वास्थ्यले साथ दिएसम्म बिरामीको स्वास्थ्य उपचार गर्ने उनको अठोट छ ।

‘२० दिन जति मात्र भयो अस्पतालमा जान थालेको, बिरामीको एकदमै ठूलो डिमान्ड भएर मैले नहेरी नहुने भएर मात्र मैले बिरामीहरु हेरिरहेको छु, १०,२० वर्षसम्म नि:सन्तानहरु, क्यान्सरका बिरामीहरु जुन मैले नहेरी नहुने छन्, मेरो फिजियोथेराफिष्टहरुले पनि अलिअलि हिँड्नुपर्छ भनेको हुनाले मैले बिरामी हेरिरहेको छु,’ डाक्टर रिजाल भन्छन्, ‘जहिलेसम्म मेरो शरीरले साथ दिन्छ, जबसम्म मेरा बिरामीहरुले मेरो सेवा खोजिरहन्छन्, जबसम्म मलाई त्यसबाट अलग हुन अप्ठ्यारो छ । नत्र अहिले यो उमेर यो अवस्थामा लठ्ठि टेकेर बिरामी हेर्नुपर्ने कारण थिएन, तर मैले नहेरी नहुने बिरामी मात्र हेरिरहेको छु ।’

डा रिजालका ३५ भन्दा बढी भिडियोसंगित, ५ भन्दा बढी पुस्तक र ३ सय भन्दा बढी गीतहरु छन् ।

बाल्यकाल

२००४ कात्तिक १४ गते धरानमा जन्मिएका डा रिजालको बाल्यकाल धरान, इटहरी, विराटनगरमा वित्यो । रिजालले पाँच कक्षासम्म धरानको पब्लिक हाइस्कुलमा पढे । त्यसपछि ६ देखि १० कक्षासम्म विराटनगरको आदर्श विद्यालय विराटनगरमा पढे ।

११ वर्षको उमेरमै ‘छोटे डाक्टर’ !

रिजालको घरमा पसल थियो । २०१५ सालमा इटहहरीको ट्याङग्रा खोलाको पारीपट्टि सातामा दुईदिन हाटबजार लाग्ने गथ्र्यों । हाटबजारमा खरको छानो लगाइएको हुन्थ्यो । २०१५ सालमा सो हाट बजारमा आगलागी भयो । आगलागी भएर धेरे मानिसलाई आगोले पोल्यो । त्यतिबेला घाउ चोट पटक लाग्दा डाक्टरले उपचार गर्ने चलन नै थिएन ।

तर रिजालको घरमा भएको पसलमा घाउ चोटपकटमा लगाउने औषधि भने बेच्न राखिएको थियो । हाट बजारमा आगोलागि भएपछि ११ वर्षका रिजाल आफ्नो पसलमा भएको औषधि लिएर आगोले पोलेका बिरामीको औषधि लगाउन खटिए ।

आगोले पोलेका बिरामी ठिक भएपछि रिजाललाई स्थानीयले सम्मान गर्न थाले । डा रिजाललाई ‘छोटे डाक्टर’ भन्दै सबैले माया गरेपछि आफूमा डाक्टर बन्ने सोच आएको उनले बताए ।

‘हाम्रो पसलमा घाउ चोटपटकमा लगाउने औषधिहरु थियो, आगोलागि भएपछि सबै भागे, मैले चाँही घरमा पसलमा राखेको औषधि ल्याएर पोलेको घाउमा औषधि लगाए, दुख्यो भन्नेलाई दुखाइको औषधि खान दिएँ,’ डा रिजाल विगत सम्झन्छन्, ‘त्यहाँ भोलिपल्ट कुरा चल्न थाल्यो ‘भोला बाबुले त सबैलाई औषधि गर्नुभयो’ भनेर । मसँगै अरु साथीहरु थिए । तर सबैले अरुलाई वास्ता नगर्ने तर मलाई चाहि बाबु चिया खान आउनु, खाजा खान आउनु भन्दै बोलाउने, मलाई नाम थाहा नहुनेले ‘छोटे डाक्टर’ भनेर बोलाउथे, त्यसले गर्दा मलाई डाक्टर बन्यो भने सबैले सम्मान गर्ने रैछन् भन्ने लाग्यो र डाक्टर बन्ने योजना त्यतिबेला नै बनाए ।’

१५ वर्षमै विवाह 

डाक्टर रिजाल उनका हजुरबुबा ध्रुव रिजालको प्रिय नाती थिए । हजुरबुबाले बनारस पढाउन लानुअघि डा रिजालको विवाह भएको हेर्ने चाहना राखे ।

हजुरबुबाको चाहना अनुसार डा रिजालले १५ वर्षकै उमेरमा धरानकी १२ वर्षकी सरलासँग विवाह गरे । जतिबेला उनी १० कक्षामा पढ्दै थिए । विवाह पछि एसएसली पास गरेर डा रिजाल आइएससी पढ्न भारतको बनारस गए ।

डा रिजाल विवाहपछि हालसम्म पत्निको माया र सपोर्टले आफू यो स्थानसम्म आइपुगेको बताउँछन् ।

‘सानै उमेरमा विवाह भएपनि मलाई मेरो पत्नी सरलाले पढाइ र काममा सपोट गर्थिन्,’ डा रिजाल भन्छन्, ‘मेरो मिसेसले सानै भएपनि पढ्नुपर्छ, भनेर इन्करेज गर्थिन्, उनले पढ्न नपाएपनि मलाई सानैदेखि इन्करेज गरेर नै आज यो अवस्थामा आइपुगे ।’

पढाइ चिकित्सा, पेसा पत्रकारिता !

बनासमा आइएससी पढेपछि डा रिजाल ढाकामा एमबीबीएस पढ्न गए । जतिबेला ढाका पाकिस्तानको एउटा मुख्य सहर थियो ।

ढाकामा एमबीबीएस पढ्न गएका डा रिजालले त्यहाँ पढाइसँगसँगै रेडियोमा काम गर्ने अवसर पाएको बताउँछन् ।

१९६९ मा पाकिस्तानको चर्चित रेडियो ‘रेडियो पाकिस्तान’मा समाचार बाचकको रुपमा उनले काम गर्न थाले । चिकित्सा शिक्षाको अध्ययन भएपनि डा रिजालले रेडियो पाकिस्तानमा नेपाली कार्यक्रमहरु संचालक गर्थे। रिजाल त्यतिबेला रेडियो पाकिस्तानको नेपाली कार्यक्रमका प्रमुख थिए ।

डा रिजालले सन १९६९ देखि १९७२ सम्म चार वर्ष रेडियो कार्यक्रम प्रस्तोताको रुपमा आफ्नो छवि बनाए ।

डा रिजालले एमबीबीएस पूरा गरेपछि नेपाल फर्किए । नेपालमा आउँदा उनलाई एमबीबीएस डाक्टर भन्दा पनि रेडियो पाकिस्तानको समाचार बाचक भनेर धेरै मानिसले चिन्थे ।

‘रेडियो पाकिस्तानमा नेपाली सर्भिसको रुपमा नेपालीहरुको लागि हरेक साँझ ७ः२० देखि आधा घण्टाको कार्यक्रम हुन्थ्यो, हामीले त्यसमा समाचार, फिचर, गीत सबैकुरालाई समेटेर इन्ट्रेस्टिङ बनाएका थियौं,’ डा रिजालले रेडियो पाकिस्तानमा काम गर्दाको अनुभवन सुनाए, ‘त्यहाँ बसुन्जेल नाम र दाम पनि कमाइयो, नेपाल आइसकेपछि जुनसुकै कुनामा जाँदा पनि रेडियो पाकिस्तानको समाचार बाचक भोला रिजाल आएको छ भनेपछि एउटा सेलीव्रेटी जस्तै हुन्थें ।’

पत्नीलाई सुत्केरी बेथाको पीडा देखेपछि स्त्री रोग विशेषज्ञ

२०३५ सालमा विराटनगरमा तेस्रो सन्तान जन्माउने क्रममा डा रिजालकी पत्नी सरलालाई तीन दिनसम्म सुत्केरी व्यथा लाग्यो । विशेषज्ञ चिकित्सक नुहुँदा पीडा खप्नु पर्‍यो भन्ने सोचे उनले ।

‘त्यतिबेला म एमबीबीएस डाक्टर थिए, मेरो मिसेसको अवस्था क्रिटिकल थियो, अप्रेसन भएपछि उसको अवस्था राम्रो भएन । यदी राजविराजमा राम्रो उपचार भएको भए, विराटनगर जानु पर्दैन थियो । ’ डा रिजालले भने, ‘त्यसपछि मैले मनममै म गाइनोको डाक्टर हुन्छ भनेर अठोट गरे, मैले स्त्री रोग विशेषज्ञ हुन्छ र कसैलाई मर्न दिन्न भनेर सोचें, मेरो मिसेसको कारणबाट म गाइनोकोलोजीष्ट भएँ, मेरो मिसेसले पनि एकदमै इन्करेज गरेर नै म सफल भएँ ।’

डा रिजालले २०३६ सालमा एमडी पढ्न ढाका जाँदा पनि रेडियो पाकिस्तानमै काम गरे । डाक्टरी पढ्दै पत्रकारिता गरेका डा रिजालले पत्रकारिता गरेकै कारण राजा महेन्द्रदेखि नेपालमा चर्चित कलाकार निर शाह, नारायण गोपाल, कुमार बस्नेत, गंगा राणा लगायतका व्यक्ति तथा नेपालमा मन्त्री र प्रधानमन्त्रीसँग पनि नजिक हुने अवसर पाए ।

गर्भपतनले कानूनी मान्यता पाएपछि महिलाहरुले सुरक्षित गर्भपतनको अधिकार पाएपनि लिङ्ग पहिचान गरी हुने गर्भपतनको अन्त्य भएको छैन

डा रिजाल रेडियो कार्यक्रम सञ्चाकल मात्र होइन नेपाली गीत लेख्ने र गाउने पनि गर्थे । उनले लेखेको नेपाली भाषको गीतमा त्यहाँका चर्चित गायकहरुले स्वर दिएको उनले बताए ।

‘मैले रेडियो पाकिस्तानमा एमबीबीएस पढ्दा र पोष्ट ग्रयाजुएट गर्दा काम गरे,’ डा रिजालले भने, ‘ त्यहाँका सिनियर आर्टिस्टहरुसँग म क्लोज थिएँ, मैले लेखेको नेपाली भाषाको गीत त्यहाँको सविना यस्वीन, साहानाज वेगम, खण्डकार मुस्तामहमेहमद, अब्दुल लगायतका टप आर्टिस्टहरुले गाएका थिए ।’

सन् १९७१ मा पाकिस्तानबाट छुटिएर बंगलादेश बनेपछि ढाका त्यहाँको राजधानी रहेको छ ।

गर्भपतनलाई कानूनी मान्यताको वकालत

डा रिजालले २०३९ सालमा स्त्री रोग विशेषज्ञ भएर पुन नेपाल फर्किए । नेपालमा असुरक्षित गर्भपतनको कारण महिलाको स्वास्थ्यमा जोखिम भएको भन्दै नेपालमा गर्भपतनलाई कानूनी मान्यतता दिनुपर्छ भनेर उनले सार्वजनिक रुपमा भन्न थाले ।

पत्रकारिताबाट बनाएको आफ्नो पहिचान र नामले नेपालको स्वास्थ्य अधिकारको विषयमा बोल्ने हिम्मत जुटेको डा रिजाल बताउँछन् ।

‘त्यहाँ मैले गरेको कामको प्रतिफल म नेपाल आएर नेपालमा गर्भपतनलाई कानूनी माध्यता दिनुपर्छ भनेर अन्तर्वार्ताहरु दिए, त्यतिबेला नेपालमा गर्भपतनले कानूनी माध्यता पाएको थिएन । पहिलो स्त्री रोग विशेषज्ञ डाक्टरले नै गर्भपतनलाई कानूनी मान्यता दिनुपर्छ भन्दा नेपालमा त्यो विषय सनसनीपूर्ण भयो,’ डा रिजालले भने, ‘द राइजिङ नेपालमा त्यो अन्तर्वार्ता दिँदा संसाद सुनिल भण्डारी, सपना मल्ल, डाक्टर अरुणा उप्रेती, लक्ष्मीराज पाठकहरुले धेरै साथ दिनुभयो ।’

डा रिजालले गर्भपतनलाई कानूनी मान्यता दिन लविङ गरेको १३ वर्ष वर्षपछि गर्भपतनले नेपालमा कानूनी मान्यता पायो ।

नेपालमा ‘सेक्स सेलेक्टिभ एभोर्सन’ अहिले पनि छ,त्यो अन्त्य हुनैपर्छ

गर्भपतनले कानूनी मान्यता पाएपछि महिलाहरुले सुरक्षित गर्भपतनको अधिकार पाएपनि लिङ्ग पहिचान गरी हुने गर्भपतनको अन्त्य नभएको डा रिजालले बताए ।

नेपालको पहिलो टेस्टट्युव वेवी मेरै हातबाट जन्मियो, म ओम अस्पतालमा हुँदा ओममणी तामाङ पहिलो टेस्टट्युव वेवी मेरै हातबाट जन्मियो । उ अहिले १६ वर्ष पुग्न लाग्यो, मलाई निकै खुसी लाग्छ,’ डा रिजालले भने

लिङ्ग पहिचान गरी हुने गर्भपतन रोक्न आफूले छोरी बचाउँ अभियान समेत चलाइरहेको डा रिजाल बताउँछन् ।

‘अहिले १६ वर्ष भयो, गर्भपतनले कानूनी मान्यता पाएको पहिला–पहिला महिलाहरु असुरक्षित गर्भपतनका कारण अकालमा मर्नुपर्ने हुन्थ्यो । अहिले महिलाले गर्भपतनको अधिकार पाए,’ डा रिजालले भने, ‘नेपालमा सेक्स सेलेक्टिभ एभोर्सन’ धेरे हुन्छ । अल्ट्रासाउण्डबाट छोरा हो की छोरी हो पहिचान गर्ने अनि छोरी रहेछ भने गर्भपतन गराउने क्रम अहिले पनि हुन्छ । त्यो रोक्नका लागि मैले छोरी बचाँउ अभियान नै शुरु गरे ।’

डा रिजालले नेपाल गाइनोकोलोजीकल सोसाइटिको सहयोगमा ६ वर्षअघि ‘छोरी भनि नफाल मलाई’ भन्ने गीत समेत लेखे । छोरीका कामहरुबारे डकुमेन्ट्री पनि बनाए । हिजो गर्भपतनलाई कानूनी मान्यता दिन लागि परेका डा रिजाल आज लैंगिकताको आधारमा हुने गर्भपतनको अन्त्य हुनुपर्छ भनेर अभियानमा लागेका छन् ।

‘म आज पनि त्यसैको लागि लडाइँ गरिरहेको छु, कि नेपालमा सेक्स सेलेक्टिभ एभोर्सन छ त्यो बन्द हुनैपर्छ,’ डा रिजाल भन्छन्, ‘जबसम्म त्यो काम बन्द हुँदैन, जबसम्म असुरक्षित गर्भपतनलाई सुरक्षित गर्भपतनमा बदल्नुपर्छ भनेर यतिका वर्षको गरेको लडाइ पूरा हुँदैन ।’

जीवनको सबैभन्दा ठूलो खुसीः निःशन्तान दम्पतीलाई सन्तान सुख

डा रिजालले स्त्री रोगका पीडितलाई मात्र होइन, विभिन्न स्वास्थ्य समस्याका कारण सन्तान नहुँदाको पीडामा रहेका धेरै नेपाली दम्पत्तीलाई सन्तान सुख दिन पनि सफल भए ।

नि:सन्तान दम्पतीलाई टेस्टट्युव वेवीको माध्ययबाट सन्तान सुख दिलाउने पहिलो डाक्टर पनि डा रिजाल नै हुन् । टेस्टट्युव वेवीको माध्ययमबाट निःसन्तानलाई सन्तान सुख दिन पाउदा उनी आफुलाई निकै भाग्यमानी मान्छन् ।

‘नेपालको पहिलो टेस्टट्युव वेवी मेरै हातबाट जन्मियो, म ओम अस्पतालमा हुँदा ओममणी तामाङ पहिलो टेस्टट्युव वेवी मेरै हातबाट जन्मियो । उ अहिले १६ वर्ष पुग्न लाग्यो, मलाई निकै खुसी लाग्छ,’ डा रिजालले भने, ‘मैले निःसन्तानहरुको सेवाको लागि जसरी टेस्टट्युव वेवीको सेवा शुरु गरे, निःसन्तान दम्पत्तीलाई सेवा गर्न पाएँ । त्यसले मलाई आफ्नो पेसामा सबैभन्दा बढी सन्तुष्टि दिएको छ ।’

बिरामीको उपचार गर्न डरमर्दो स्थीति !

ढाकामा मेडिकल शिक्षा अध्ययन गरी चिकित्सा क्षेत्रमा सफल मानिएका डा रिजाल नेपालको चिकित्सा शिक्षालाई स्तरीय मान्छन् । तर पछिल्लो समय नेपालमा देखिएको चिकित्सा क्षेत्रको विकृती र समस्या देख्दा उनलाई पनि नराम्रो लाग्छ ।

चिकित्सा क्षेत्रमा आफू सफल भएपनि नयाँ पुस्तालाई चिकित्सा क्षेत्रमा लाग्न प्रेरित गर्न सक्ने अवस्था अहिले नभएको उनी बताउँछन् ।

‘नेपालमा मेडिकल एजुकेशन स्तरीय छ, त्यसैले अहिले पनि इन्डिया, माल्दिभ्सबाट यहाँ पढ्नका लागि मानिसहरु आउँछन्, तर अहिले चिकित्सा क्षेत्रमा यति धेरै विकृतिहरु आएको छ, यो परिस्थितीले गर्दा मलाई कसैले मेडिकल शिक्षा कसरी पढ्ने कि नपढ्ने भनेर सोध्यो भने मैले एकदम राम्रो छ भन्न सकेको छैन । मैले दिल खोलेर तपाई चिकित्सा पेसामा लाग्नुस् भन्न सकेको छैन ’डा रिजालले निराश हुँदै भने, ‘अस्पतालमा गएपछि अप्रेसन गरेपछि संसारभरी नै आफ्नो रोगले गर्दा मर्न सक्छन्, अस्पताल भनेकै कि त निको भएर जान्छन्, कि त मर्छन्, त्यस्तो परिस्थितीमा अहिलेको वातावरणमा विरामी हेर्न, विरामीको उपचार गर्न पनि डरमर्दो स्थीति आएको हुनाले अब हामीले नयाँ पुस्तालाई के भन्ने ? मैले विरक्त भएर बिरामी हेर्न सक्दिन भने भने के हुन्छ ? चिकित्सकले बिरामी हेर्न सकिँदैन भने के हुन्छ ?’

चिकित्सा क्षेत्रबारे सोध्ने नयाँ पुस्तालाई दिल खोलेर यो पेसामा लाग भन्न नसक्दा आफुलाई दु:ख लाग्ने डा रिजाल बताउँछन् ।

डा रिजालले भने, ‘हामीले त नेपालमा पढ्न पाएका थिएनौं तर अहिलेका नयाँ पुस्ता नेपालमै पढ्न पाउनु राम्रो कुरा हो, विदेशमा भन्दा नेपालमै पढेका विद्यार्थी १० गुणा राम्रा छन् ।’

मेडिकल शिक्षालाई कमाइ खाने भाडो बनाए

सरकारको उदासिनता र चिकित्सा शिक्षाको क्षेत्रमा भएको विकृतिले नेपाली चिकित्सक तथा चिकित्सा शिक्षा पढ्नेहरु विदेशिन बाध्य भएको डा रिजालको तर्क छ ।

‘अवैध तरिकाले, भ्रष्टाचार गरेर विचौलीयाहरु सक्रिय हुने वातावरण बनाएर, अस्पताल तोडफोड गरेर डाक्टरलाई हातपात हुँदा त्यसको प्रोटेक्सन सरकारले नगर्दा चिकित्सकहरुले बिरामी नै जाँच्न छाडे भने अवस्था भयावह हुन्छ,’ डा रिजाल भन्छन्, ‘यो क्षेत्रमा विरक्तता आउनु हुँदैन, कसैले कमाइ खाने भाडो नबनाएको भए, चिकित्सा क्षेत्रमा यो अवस्था आउदैन थियो । हरेक वर्ष नयाँ भर्नाको समयमा आन्दोलन हुन्छ, जसले गर्दा मेडिकल विद्यार्थीहरु बाहिर पढ्न जान बाध्य हुन्छन् । यो निकै दुर्भाग्य हो ।’

नेपालमा समयमा नयाँ भर्ना शुरु नहुँदा वीएससी नर्सिङ तथा एमबीबीएस पढ्ने नयाँ शत्रका विद्यार्थीहरु विदेश जान बाध्य भएको डा रिजालले बताए ।

उनले भने, ‘नेपालका मेडिकल कलेजमा अझै नयाँ भर्ना शुरु भएको छैन, जब विद्यार्थीहरु बाहिर जान्छन, अनिमात्र नेपालमा भर्ना खुल्छ ।

मेडिकल कलेज बिरामीको जीवनसँग जोडिएको हुन्छ

मेडिकल कलेज बिरामीको जीवनसँग जोडिएकाले सरकारले संवेदनशील भएर सोच्नुपर्ने डा रिजाल बताउँछन् ।

‘नेपालमा मेडिकल कलेजको शुल्क सरकारले वैज्ञानिक तरिकाले निर्धारण गरेको छैन । मेडिकल कलेज राष्ट्रको उच्च संस्था हो, मेडिकल कलेज हामी सबैलाई उपचार गर्ने चिकित्सक निस्किने थलो हो, यो बिरामीको जीवनसँग गाँसिएको हुन्छ । यस्तो संस्थालाई सरकारले राम्रो हृदयले हेरेको हुन्छ,’ डा रिजालले भने, ‘हामीले त नेपालमा पढ्न पाएका थिएनौं तर अहिलेका नयाँ पुस्ता नेपालमै पढ्न पाउनु राम्रो कुरा हो, बिदेशमा भन्दा नेपालमै पढेका विद्यार्थी १० गुणा राम्रा छन् ।’


भर्खर

0