संगीन आरोप लागेका ‘शक्तिशाली’ नेता, जसलाई ‘जोगाउन’ प्रहरी नै लाग्यो

खबरहब

आइतवार, असोज २६, २०७६

Reading Time: 5 minutes

संगीन आरोप लागेका ‘शक्तिशाली’ नेता, जसलाई ‘जोगाउन’ प्रहरी नै लाग्यो

कांग्रेस नेता तथा सांसद अफताब आलम, तस्वीर– रासस

काठमाडौं– पहिलो संविधान सभा निर्वाचन (२०६४)को मतदान हुने दिन नजिकिँदै थियो । इतिहासमै पहिलोपटक हुन लागेको संविधान सभा निर्वाचनले आम मतदातादेखि उम्मेदवारहरुमा छुट्टै रौनक ल्याएको थियो । तर, रौतहट क्षेत्र नम्बर २ मा निर्वाचन विथोल्ने गरी रणनीति बन्दै थियो ।

रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहम्म अफताब आलम, तत्कालीन नेकपा एमालेका सैलेन्द्र साह र तत्कालीन मधेसी जनाधिकार फोरमका अब्दूल अब्बास प्रमुख प्रतिस्पर्धी थिए ।

तत्कालीन मधेसी जनाधिकार फोरमको बढ्दो लोकप्रियताका बीच कांग्रेस उम्मेद्वार आलमले चुनाव जित्ने संभावना कमजोर बन्दै गएको थियो ।

आफूले चुनाव जित्ने संभावना कमजोर बन्दै गएपछि आलमले जुक्ति निकाले चुनाव नै विथोलीदिने । त्यसका लागि उनले भारत समेतबाट केही बम बनाउनेहरु झिकाए।

आफ्नै काकाको घरमा बम बनाउन लगाए । प्रहरीको पछिल्लो अनुसन्धानका अनुसार आलमले चुनावको दिन (चैत २८ गते) बिहानै कम्तिमा १० वटा मतदान केन्द्रहरुमा विस्फोट गराउने तयारी गरेका थिए ।

तर, मतदान केन्द्रमा बम राख्न नपाउँदै रौतहटको तत्कालीन राजपुरफरहदवा गाविस–४ आलमका काका शेख इद्रिसको घरमा बम विस्फोट हुन पुग्यो । साँझ ६ः३० बजेतिर बनाउँदै गरेको अवस्थामा आलमको काकाकै घरमा बम विस्फोट भएको थियो ।

आलमको घरमा बम विस्फोट हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चुनाव प्रचारका लागि भनेर खटाएका २२ वर्षीय पिन्टु भनिने त्रिलोक प्रताप सिंह र २२ वर्षकै ओसी अख्तरसहितका व्यक्ति गम्भीर घाइते भए ।

बम विस्फोटबाट घरको छानो नै उडेको थियो । चुनाव प्रचारका लागि खटिएका उनका कार्यकर्ता र स्थानीयले घाइतेलाई उपचारका लागि भनेर अस्पताल लैजान खोजे । तर, आलमले म उपचार गराउँछु भन्दै घाइतेहरुलाई आफ्नै गाडीमा हाले । घाइतेलाई उनले अस्पताल पुर्‍याएनन् । केही समयपछि खबर आयो– बम विस्फोटमा घाइते भएका व्यक्तिको आलमको आफ्नै इटाभट्टामा जलेर मृत्यु भयो ।

स्थानीयहरुले आलमले आफ्नै इटाभट्टामा रहेको इट्टा पोल्ने भट्टीमा हालेर २२ जना व्यक्तिको ‘हत्या’ गरेका थिए । बम विस्फोटमा २३ जना व्यक्ति घाइते भएकोमा १ जना आफन्तलाई उनले उपचारका लागि भारत पठाएका थिए ।

२२ जनाको ज्यान ज्याने गरी गराइएको षड्यन्त्रमूलक घटनापछि आलम संविधानसभा सदस्यको पहिलो निर्वाचनमा भारी मतका साथ विजयी भए ।

उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी तत्कालीन एमालेका उम्मेदवार सैलेन्द्र साहभन्दा दोब्बर बढी १७ हजार ८ सय १ मत ल्याए भने साहले ७ हजार ४ सय ६ मतमा चित्त बुझाउनु पर्‍यो । आलमलाई कडा चुनौती दिने अपेक्षा गरिएका मधेसी जनाधिकार फोरमका अब्दूल जब्बरले ५ हजार ८ सय ३१ मत मात्रै ल्याए ।

आलमको अपराधमा प्रहरीको ‘मौन समर्थन’

आलमले चुनाव नै विथोल्ने गरी बनाएको योजना विफल भयो । लक्षित स्थानमा राख्न नपाउँदै उनका आफ्नै काकाको घरमा बम विस्फोट भयो । बम विस्फोटपछि प्रहरीले घटनास्थलको मुचुल्का पनि तयार पार्‍यो । प्रहरीको मुचुल्कामा उक्त बम विस्फोटमा परी ४ जनाको मृत्यु भएको उल्लेख गरियो ।

इटा–भट्टामा आगो लगाइ २२ जनाको हत्या गरिएको विषय प्रहरीले नै लुकाइदियो ।

घटना हुँदाको समयमा नेपाली कांग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकार थियो । सरकारका गृहमन्त्री कांग्रेस नेता कृष्णप्रसाद सिटौला थिए ।

उक्त घटनामा ज्यान गुमाएका व्यक्तिहरुका आफन्तले आलमविरुद्ध किटानी जाहेरी पनि दर्ता गराए । तर, रौतहट प्रहरीले जाहेरी लिन अस्वीकार गर्‍यो ।

आफन्तहरुले हुलाकमार्फत जाहेरी दिए । उक्त जोहरी बार एसोसिएशनको रोहबरमा सनाखत भएको थियो । तर, आवश्यक प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले उक्त जाहेरीका आधारमा मुद्दा नचालउने निर्णय गर्‍यो ।

पछि, बम विस्फोटमा घाइते भएर इटा भट्टामा लगेर जलाइएका भनिएका रौतहटको तत्कालीन सरुअठा गाविस–२ का पिन्टु भनिने त्रिलोक प्रताप सिंहका बुवा नारायणसिंह राजपुत र ओसी अख्तरकी आमा रोक्साना खातुनले २१ साउन २०६५ मा घटनाको अनुसन्धान नगर्ने सरकारी वकिलको निर्णय बदरको मागदाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरे ।

उक्त रिटमाथि १२ औं पटकको सुनुवाईमा सर्वोच्च अदालतकी तत्कालीन न्यायाधीश सुशीला कार्की र डा. भरतबहादुर कार्कीको संयुक्त इजलाशले सरकारी वकिलको कार्यालयको निर्णय बदर गर्दै घटनामाथि पुनः थप अनुसन्धान गर्नु भनि १६ जेठ २०६९ मा अन्तिम आदेश जारी गर्‍यो ।

घाइतेलाई मार्न पनि प्रहरीकै सहयोग ?

सर्वोच्च अदालतमा बहसको क्रममा घटनाका प्रत्यक्षदर्शी सराजुल मियाँको कागज पेश गरिएको थियो । उक्त कागजमा उल्लेख गरिएको मियाँको बयानअनुसार आलमको काकाको घरमा भएको बम विस्फोट पछि घाइतेहरुलाई इटाभट्टामा लगी जलाउने काममा प्रहरीकै प्रयोग भएको देखिन्छ ।

मियाँले गरेको बयान कागजमा घटना भएको दिन आफू घटनास्थलभन्दा ५ मिटर टाढा रुखमुनी बसिरहेको बताएका छन् । सो दिन साँझ खेतमा जाँदा प्रहरीको २ वटा गाडीको बीचमा रहेको ट्याक्टरबाट २ ओटा पोका निकालेर इटाभट्टाको इट्टा पोल्ने चिम्नीमा हाल्दै गरेको आफुले देखेको मियाँले बताएका छन् ।

मियाँले आफू भने गहुँ बारीमा लुकेर बच्न सफल भएको पनि बयान कागजमा उल्लेख गराएका छन् ।

सर्वोच्च अदालतले मियाँसहितका प्रत्यक्षदर्शीकाे बयान, घटनास्थलबाट संकलन भएका सबूत प्रमाणलाई आधार मानेर थप अनुसन्धान गर्न अन्तिम आदेश जारी गरेको थियो ।

तर, आदेश कार्यान्वयन गर्न प्रहरी र सरकारी वकिल कसैले पनि तदारुकता देखाएनन् । सर्वोच्च अदालतको उक्त आदेश कार्यान्वयन नभएपछि पीडित पक्षले प्रहरीसमेतका विरुद्ध फैसला कार्यान्वयन निर्देशनालयमा उजुरी दिए ।

उक्त उजुरीपछि पुनः ८ चैत २०६९ मा प्रतिवादीहरुलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश जारी भयो ।

निर्देशनालयको आदेशपछि पनि प्रतिवादी बनाइएका आलमसहितका व्यक्ति पक्राउ परेनन् । उल्टै बम काण्डमा छोरा गुमाएकी जाहेरी दिने महिला रोक्साना खातुनको गोली हानी हत्या गरियो ।

रोक्सानाको हत्यापछि पीडितहरु आलमको विरुद्धमा पुनः अदालत जान डराउने स्थिति सिर्जना भयो ।

पीडित पक्षमा आफ्नो डर कायम गरेर आफूमाथि लागेको आरोपबाट बच्दै आएका आलम पुनः २०७१ सालको संविधानसभा चुनावबाट पनि रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित भए ।

राजनीतिक शक्तिका आडमा आफ्नो ‘अपराध कर्म’बाट बच्दै आएका आलम अन्ततः पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानबाट बम विस्फोटमा आलमको संलग्नता देखिएको छ । साेही आधारमा रौतहट प्रहरीले आलमलाई आइतबार रौतहटबाटै पक्राउ गरेको हो ।  यद्यपि, प्रहरीले भने आलममाथि थप अनुसन्धान जारी रहेको जनाएको छ ।

भर्खर

0