नेपालसँग मिल्दोजुल्दो भूगोल भएको स्विट्जरल्याण्ड कसरी बन्यो समृद्ध ? | Khabarhub Khabarhub

नेपालसँग मिल्दोजुल्दो भूगोल भएको स्विट्जरल्याण्ड कसरी बन्यो समृद्ध ?



स्विट्जरल्याण्ड र नेपालबीच ठूलो भौगोलिक समानता छ । नेपालजस्तै स्विट्जरल्याण्ड पनि पहाडी मुलुक हो भने स्विट्जरल्याण्ड पनि भूपरिवेष्ठित मुलुक हो । स्विट्जरल्याण्डको ठूलो हिस्सा युरोपेली आल्पस हिमालले ओगटेको छ । तर, समृद्धि र मानव विकासको क्षेत्रमा भने नेपाल र स्विट्जरल्याण्डबीच ठूलो असमानता छ ।

स्विट्जरल्याण्डलाई समृद्धी, महङ्गा उत्पादन, बैकिङ्क क्षेत्र र सुन्दर आल्पस् हिमालले चिनिन्छ । तर, स्विट्जरल्याण्डको अर्को पहिचान पनि छ, त्यो हो – प्रत्यक्ष लोकतन्त्र, मताधिकारको उच्च प्रयोग, अधिक स्वायत्ततासहितको संघीयता र तटस्थता । त्यहाँको राजनीतिक स्थीरता पनि अरु भन्दा फरक छ ।

राज्यका रुपमा स्विट्जरल्याण्ड १३ औं शताब्दीको अन्त्यदेखि अस्तित्वमा छ । मध्य युरोपका तीन प्रमुख स्वायत्त संघ उरी, स्वाइस र अन्टरवाल्डेन मिलेर पहिलो स्विस संघको गठन गरिएको थियो । कलान्तरमा ती संघहरुले आसपासका क्षेत्रमा रहेका भूभागका शासकहरुसँग सन्धी गरी स्विस संघलाई विस्तार गरेका थिए ।

व्यवहारिक रुपमा स्वतन्त्र रहेपनि १७ औं शताब्दीमा वेष्टफिलाका विभिन्न शहरमा भएका सन्धीले तत्कालिन पवित्र रोमन साम्राज्यबाट स्विट्जरल्याण्डलाई औपचारिक रुपमा स्वतन्त्रता दिलाएको थियो ।

१८ औं शताब्दीको अन्त्यका केही वर्ष तथा १९ औं शताब्दीको शुरुमा फ्रान्सेली शासक नेपोलियनले स्विट्जरल्याण्डमा आक्रमण गरी कब्जामा लिएका थिए । त्यसबेला उनले स्विट्जरल्याण्डलाई केन्द्रिकृत गणराज्यका रुपमा स्थापना गरेका थिए । युरोपमा नेपोलियनको पराजयसँगै स्विट्जरल्याण्डमा विकेन्द्रीकरणको संघीयता लागू गरियो ।

स्विट्जरल्याण्डको विकट पहाडी क्षेत्रमा एकपछि अर्को रेल सञ्जालको निर्माण गरियो ।

त्यसपछि सन् १८४७ को नोभेम्बर महिनामा भएको संक्षिप्त गृहयुद्धपछि त्यहाँ नयाँ संघीय संविधान जारी भयो । तटस्थातावाद, मानवअधिकार, व्यक्तिगत स्वतन्त्रता, शान्ति, अधिक संघीय स्वायत्ततासहितको केन्द्रिकृत प्रणालीलगायतमा आधारित उक्त संविधानले त्यहाँ राजनीतिलाई एकहदसम्म स्थीर बनाएर राख्यो । यद्यपि सन् १८७४ मा सोही संविधानमा आधारित रहेर नयाँ संशोधित संविधान जारी भयो ।

१९ औं शताब्दीको उत्तराद्र्धमा औद्योगिक क्रान्तिपछि स्विट्जरल्याण्डमा तीब्र गतिमा आर्थिक विकास हुन थाल्यो । स्विट्जरल्याण्डमा घडी बनाउने कारखाना खुल्न थाले भने कृषि तथा पशुपालमा समेत क्रान्ति आयो । पर्यटन उद्योगको पनि आधारशीला यही बेला स्थापना भयो ।
स्विट्जरल्याण्डमा जुरिच, बाडेन, जेनेभा, बर्न लगायतका शहरमा तीब्र विकास भयो ।

स्विट्जरल्याण्डको विकट पहाडी क्षेत्रमा एकपछि अर्को रेल सञ्जालको निर्माण गरियो । यही बेला स्विट्जरल्याण्डमा दर्जनौं प्रतिष्ठित शैक्षिक केन्द्रहरुको स्थापना भयो भने १८६३ मा स्विट्जरल्याण्डको जेनेभा शहरमै रेड क्रसको स्थापना पनि भयो । विभिन्न बैकिङ केन्द्रहरुको पनि विस्तार यही समयमा नै भयो ।

सन् १९१४ मा सारा युरोप भयानक पहिलो विश्वयुद्धमा होमियो । तर, स्विट्जरल्याण्डले पहिलो विश्वयुद्धमा आफ्नो तटस्थतालाई जोगाएर राख्यो । स्विट्जरल्याण्डले कुनै पनि पक्ष लिएर कुनै पक्षविरुद्ध युद्धको घोषणा गरेन ।

स्विट्जरल्याण्डको जटिल भौगोलिक अवस्थिती तथा तटस्थाका कारण कुनै पनि पक्षले स्विट्जरल्याण्डलाई निशाना बनाएनन् । विश्वयुद्धको समयमा स्विट्जरल्याण्ड शरणार्थी, विद्वान्, राजनीतिक विचारक तथा शान्ति स्थापनार्थ बहसको केन्द्र बन्न पुग्यो ।

स्विट्जरल्याण्डको तटस्थताकै कारण पहिलो विश्वयुद्धपछि स्थापना भएको लिग अफ नेशन्सको मुख्यालय पनि स्विट्जरल्याण्डको जेनेभामै स्थापना गरियो । सन् १९३० को दशकको आर्थिक मन्दीको मारमा परेपनि विस्तारै स्विट्जरल्याण्डको अर्थतन्त्रले गति लिँदै गयो ।

दोश्रो विश्वयुद्धमा पनि स्विट्जरल्याण्डले आफ्नो सैनिक तथा कूटनीतिक तटस्थतालाई निरन्तरता दियो । दोश्रो विश्वयुद्धको समयमा नाजी जर्मनीको क्रुरताबाट भागेर आउने यहूदीहरुका लागि स्विट्जरल्याण्ड महत्वपूर्ण केन्द्रको रुपमा स्थापित हुन पुग्यो । त्यस्तै, तटस्थ मुलुक रहेकाले स्विट्जरल्याण्डले जर्मन र पश्चिमा साझेदार दुबै पक्षसँग बैंकिङ कारोबारलाई निरन्तरता दियो । स्विट्जरल्याण्डले दोश्रो विश्वयुद्धमा दुबै पक्षलाई सैनिक उपकरणको विक्री गरी ठूलो आर्थिक लाभ समेत हासिल गर्यो ।

त्यसयता स्विट्जरल्याण्डको अर्थतन्त्र संसारको सबैभन्दा उन्नत खुला बजारमा आधारित मानिन्छ । यहाँको बैंकिङ सेवा, पर्यटन, कृषि र घडि बनाउने उद्योगको विकास भइसकेको छ । यहाँको बैंक सुरक्षित तथा बैंकङ कारोबार गोप्य रहने भएकाले विश्वका विभिन्न मुलुकबाट यहाँका बैंकमा ठूलो मात्रामा धन जम्मा हुने गरेको छ ।

स्विट्जरल्याण्डको शासन प्रणाली पनि अन्य मुलुकको भन्दा भिन्न छ । अन्य मुलुकका एक व्यक्ति मात्र राष्ट्रप्रमुख रहने व्यवस्था भएपनि स्विट्जरल्याण्डमा त्यस्तो छैन ।

यहाँ हरेक वर्ष लाखौं पर्यटकले भ्रमण गर्ने गरेका छन् भने कृषि तथा पशुपालमा समेत स्विट्जरल्याण्ड अग्रस्थानमा आउँछ । जर्मनी, फ्रान्स, इटाली, अष्ट्रिया लगायतका समृद्ध छिमेकी रहेकाले स्विट्जरल्याण्डले यस्ता समृद्ध मुलुकहरुसँगको व्यापारिक साझेदारीबाट पनि लाभ लिँदै आएको छ ।

स्विट्जरल्याण्डको सबैभन्दा महत्वपूर्ण पाटो चाहीँ त्यहाँको राजनीतिक व्यवस्था नै हो । प्रत्यक्ष लोकतान्त्रिक व्यवस्था रहेकाले यहाँ हरेक वर्ष दर्जनौं जनमत सङ्ग्रहको आयोजना हुने गरेका छन् ।

राज्य व्यवस्था देखि मानिसहरुको दैनिक जीवनलाई प्रभाव पार्ने अधिकांश पक्षमा आयोजना हुने संघीय तथा राज्यस्तरका जनमत सङ्ग्रहका कारण स्विट्जरल्याण्डको लोकतान्त्रिक पद्धतीलाई विश्वमै नमूना मानिन्छ ।

स्विट्जरल्याण्डमा २७ क्यान्टन अर्थात् राज्यस्तरका स्वायत्त प्रशासनिक क्षेत्रहरु छन् । हरेक क्यान्टनलाई अधिक स्वायत्तता तथा स्वशासनको ग्यारेन्टी गरिएको छ । त्यहाँका हरेक क्यान्टनले आफूअनुकूल कानून निर्माण गरी लागू गर्न सक्छन् ।

स्विट्जरल्याण्डको शासन प्रणाली पनि अन्य मुलुकको भन्दा भिन्न छ । अन्य मुलुकका एक व्यक्ति मात्र राष्ट्रप्रमुख रहने व्यवस्था भएपनि स्विट्जरल्याण्डमा त्यस्तो छैन ।

यहाँ ७ जनाको परिषद् छ जसले त्यहाँको राष्ट्रप्रमुखको निर्धारण गर्छ । परिषद्का सबै ७ सदस्य समूहिक तथा समान रुपमा त्यहाँका राष्ट्रप्रमुख रहने प्रावधान छ । ती ७ मध्येपनि औपचारिकताका लागि हरेक वर्ष एकजनालाई औपचारिक रुपमा स्विट्जरल्याण्डको प्रतिनिधित्व गर्नका लागि राष्ट्रपति बनाइन्छ ।

तटस्थातावादमा विश्वास गर्ने भएकाले स्विट्जरल्याण्ड विश्वबाट अलग रहँदै आएको छ । युरोपको ठूलो हिस्सा युरोपेली युनियनमा रहेको तथा चारैतिर युरोपेली युनियनका सदस्यहरुसँग सीमाना जाडिएपनि स्विट्जरल्याण्डले युरोपेली युनियनको सदस्यता लिएको छैन ।

संयुक्त राष्ट्रसंघको सदस्यता पनि स्विट्जरल्याण्डले धेरै पछि सन् २००२ मा मात्र लिएको थियो । यस्ता अन्तर्राष्ट्रिय संगठनमा सदस्यता लिनका लागि समेत स्विट्जरल्याण्डमा जनमत सङ्ग्रह आयोजना गरिन्छ ।

स्विट्जरल्याण्डले अन्तिमपटक सन् १८१५ मा सातौं गठबन्धनका तर्फबाट नेपोलियनको शासनमा रहेको फ्रान्सविरुद्ध युद्धमा सहभागि भएयता कुनै युद्धमा संलग्न भएको छैन । त्यस्तै, स्विट्जरलण्डको भूमिमा सन् १८४७ मा केबल २७ दिन गृहयुद्ध भएको थियो ।

युद्ध तथा हिंसाबाट टाढै रहने भएकाले पनि स्विट्जरल्याण्डलाई शान्तिप्रिय मुलुकको रुपमा समेत चिनिन्छ । सोही कारण अन्तर्राष्ट्रिय शान्ति स्थापनाको प्रयासमा समेत स्विट्जरल्याण्डले महत्वपूर्ण भूमिका खेल्दै आएको छ भने विश्वमा हुने हिंसा तथा युद्धमा समेत स्विट्जरल्याण्डले मध्यस्थता गर्दै आएको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ७ : ३२ बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन