बालबालिकाको ज्योतिसँगै ज्यान पनि लिने आँखाको क्यान्सर, नेपालमा ७० प्रतिशतको मृत्यु | Khabarhub Khabarhub

बालबालिकाको ज्योतिसँगै ज्यान पनि लिने आँखाको क्यान्सर, नेपालमा ७० प्रतिशतको मृत्यु


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘सानो हुँदा मेरा दुवै आँखाको नानीमा सेतो भाग देखिएको थियो । मेरो परिवारले मलाई तिलगंगा आँखा अस्पताल ल्याउनु भयो । मेरो दुवै आँखामा क्यान्सर भएको रहेछ । तिलगंगा अस्पतालमा मेरो उपचार सफल भयो । मेरो आँखाको दृष्टि पनि बच्यो । अहिले म १७ वर्षकी भए, म जस्तै रोग लागेका बिरामीहरुको सेवा गर्ने मेरो योजना छ ।’

आइतरबार तिलगंगा आँखा अस्पतालमा भेटिएकी १७ वर्षिया युवती कमला बज्राचार्य ( नाम परिवर्तन) ले आफ्नो कथा सुनाइन् ।

१० वर्ष अगाडी ७ वर्षको उमेरमा कमलालाई आँखामा रेटिनोब्लास्टोमा अर्थात आँखाको क्यान्सर भएको थियो । ३ वर्ष भन्दा कम उमेरका बालबालिकामा देखिने ‘रेटिनोब्लास्टोमा’ कमलालाई भने ७ वर्षको हुँदा देखियो । तिलगंगा अस्पतालका नेत्र रोग विशेषज्ञ डाक्टर रोहित सैजुंले उनको दुवै आँखामा क्यान्सर भएको पत्ता लगाए । डा सैजुंको नेतृत्वको चिकित्सकको टोलीले कमलाको क्यान्सरको सफल उपचार गर्‍यो ।

‘प्रया यस्तो क्यान्सर ३ वर्षभन्दा कम उमेरका बालबालिकामा देखिन्छ, तर उनमा ७ वर्षको उमेरमा देखिएको थियो,’ डा सैजुंले खबरहबसँग भने, ‘हामीले उनको आँखाको धमिलो पानी परीक्षण गर्दा रेटिनोब्लास्टोमा भएको थाहा भयो र आँखा निकालेर क्यान्सर उपचार गर्न सफल भयौं ।’

१७ वर्षमा प्रवेश गरेकी कमलाले प्लस–टु (१२ कक्षासम्मको अध्ययन) सकाएकी छन् । उनी अहिले एउटा आँखाले देख्न सक्छिन् । उनलाई आफूजस्तै रोग लागेका बालबालिकाको उपचार गर्ने चाहना छ ।

मेडिकल क्षेत्रमा कसरी आउने भनेर उनी डा सैजुंसँग परामर्श पनि लिन्छिन् । समयमा उपचार पाएकी कमलाको पढाइ र बौद्धिक क्षमता पनि राम्रो भएको डा सैजुं बताउँछन् ।

काठमाडौंका रोविन श्रेष्ठ पनि २ वर्षीया छोरीको आँखामा भएको क्यान्सरको सफल उपचार पछि खुसी छन् ।

रोविनकी छोरी जन्मको ३ महिनापछि आँखामा सेतो भाग देखिएको थियो । अस्पताल ल्याउँदा चिकित्सकले आँखामा क्यान्सर भएको बताए । ‘३ महिनाको छोरीलाई क्यान्सर भएको सुन्दा हामी निकै आत्तियौं । तर यसको उपचार सम्भव भयो थाहा पाएपछि हामीले छोरीको उपचारमा कुनै कसर बाँकी राखेनौं,’ रोविनले सुनाए, ‘अन्नतः मेरो छोरीको आँखाको क्यान्सर ठिक भएको छ । म एकदमै खुसी छु ।’

छोरीको आँखाको क्यान्सरको उपचार भएपछि उनी अहिले आँखामा हुने क्यान्सरको सचेतनात्मक कार्यक्रममा सक्रिय भएका छन् ।

‘मेरी छोरी २०७० सालको जेठमा जन्मिएकी थिइन् । त्यतिबेला काठमडौंमा लोडसेडिङ हुन्थ्यो, अँध्यरोमा छोरीको फोटो खिच्दा जन्मिएको १० दिनमै उनको आँखामा सेतो भाग देखियो । १४ दिनसम्म के भएको थाहै भएन घरमै बसियो । तर आँखाको नानीमा सेतो भाग देखिन नछाडेपछि हामीले तिलगंगा अस्पताल लग्यौं । अस्पतालमा आएपछि पत्ता लाग्यो रेटिनोब्लास्टोमा भएको रहेछ । जन्मिएको २४ दिनमा छोरीलाई किमो थेरापीबाट क्यान्सर उपचार शुरु भयो । उनी अहिले दुईकक्षामा पढ्दै छिन् । स्वास्थ्य पनि छिन,’ आँखाको क्यान्सरलाई जितेकी ५ वर्षीया एक बालिकाको बाबु आशिश जोशीले आफ्नी छोरीबारे सुनाए ।

यी तीनजना त प्रतिनिधि पात्र मात्रै हुन् । रेटिनोब्लास्टोमा अर्थात आँखामा क्यान्सर भएका धेरै बालबालिकाहरुले क्यान्सरलाई जितिसकेका छन् ।

तिलगंगा आँखा अस्पतालमा मात्रै वार्षिक ६० जना नयाँ पुराना क्यान्सरका बालबालिको क्यान्सरको उपचार हुन्छ ।

अस्पतालमा आउने आँखाका क्यान्सरका बालबालिकामध्ये ५० प्रतिशतको आँखा र ज्यान दुवै बचाउन सफल भएको अस्पतालका निर्देशक डा. रोहित सैजुंले बताए ।

के हो रेटिनोब्लास्टोमा रोग ?

तिलगंगा आँखा प्रतिष्ठानका नेत्र रोग विशेषज्ञ डाक्टर बेन लिम्बुका अनुसार रेटिनोब्लास्टोमा भनेको आँखामा हुने क्यान्सर रोग हो । आँखाको भित्री भाग अर्थात् रेटिनाबाट क्यान्सर पलाउने र पछि आँखाको पूर्ण भागमा नै फैलिएर अन्धोपनको समस्या हुने गर्छ ।

रेटिनोब्लास्टोमाको समयमै उपचार नभएमा क्यान्सर शरीरको अन्य भागमा समेत फैलिने र बिरामीको मृत्यु नै हुनसक्ने डा लिम्बु बताउँछन् ।

कस्तो हुन्छ लक्षण ?

– आँखाको नानीको कालो भागमा सेतो ज्योति देखिनु,
– असामान्य रुपमा आँखा रातो हुने,
– आँखाको आकार बढ्ने,
– आँखा डेढो देखिने ।

रेटिनोब्लास्टोमा भएका बाबुआमाका छोराछोरीलाई यो रोग हुने सम्भावना अधिक रहन्छ । ३ वर्ष वा ५ वर्षभित्रमा यो रोगका लक्षण देखिन्छ । रेटिनोब्लास्टोमा रोग २० हजारमध्यमा एक बालबालिकामा देखा पर्ने डा लिम्बु बताउँछन् ।

विकसित देशहरुमा यो रोग लागेका बालबालिकाहरुमध्ये १ प्रतिशत बालबालिकाको मृत्यु हुन्छ भने, नेपालजस्तो विकासोन्मुख देशहरुमा रेटिनोब्लास्टोमा भएका बालबालिकामध्ये ३० देखि ७० प्रतिशतको मृत्यु नै हुने गर्छ ।

चेतनाको अभावमा रेटिनोब्लास्टोमा सम्बन्धी क्यान्सरका बिरामी अझै पनि उपचारका लागि अन्तिम अवस्थामा आइपुग्ने गरेको डा लिम्बुले बताए ।

‘हामीकहाँ अझै पनि अन्तिम स्टेजमा पुगेपछि मात्रै बालबालिकाहरुलाई उपचारका लागि ल्याइन्छ, ढिलो उपचारमा आउँने बालबालिकाहरुको मृत्यु हुने सम्भावना बढी हुन्छ,’ डा लिम्बु भन्छन्, पहिलो चरणमै आयो भने आँखा र ज्यान दुवै बचाउने सम्भावना बढी हुन्छ ।’

रेटिनोब्लास्टोमा भएका क्यान्सरका बालबालिकाको समयमै रोग पहिचान गरी आँखा र ज्यान दुवै बचाउँन सकिने डा लिम्बुको भनाइ छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  १ : २८ बजे

सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन