पर्यटन वर्ष बन्यो २०७५, बढ्यो पर्यटक आगमन दर, चुनौती पूर्वाधार « Khabarhub
Logo
१३ मंसिर २०७८, सोमबार

पर्यटन वर्ष बन्यो २०७५, बढ्यो पर्यटक आगमन दर, चुनौती पूर्वाधार



काठमाडौं–सरकारले पर्यटनलाई आर्थिक उपार्जनको मुख्य क्षेत्र घोषणा गरेको छ । सरकारको यो घोषणालाई २०७५ ले प्रमाणित सिद्ध गर्ने देखिएको दाबी गर्छन् लामो समयदेखि पर्यटन उद्योगमै काम गरिरहेका व्यवसायीहरु । हुनपनि यो वर्ष नेपाल आउने पर्यटकको संख्या बढेको छ भने पर्यटनका क्षेत्रमा हुने लगानी पनि वृद्धि भएको छ ।

पर्यटन क्षेत्रको आधार तयार पार्न महत्वपूर्ण भूमिका खेलेका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीलाई गुमाएको पीडा राजनीति गर्ने तथा पर्यटन व्यवसायमा जोडिएका सबैले महशुस गरे । तर, त्यो पीडालाई पर्यटन क्षेत्रमा देखिएको उल्लेख्य सुधारले विस्तारै मल्हम लगाउन थालेको व्यवसायीहरुको भनाइ छ । हुन पनि मन्त्री अधिकारीसँगै पर्यटनकै क्षेत्रमा काम गर्ने व्यवसायी आङछिरिङ शेर्पा, पर्यटनकै माध्यमबाट आर्थिक विकास हुन्छ भन्दै नयाँ नयाँ गन्तव्यको खोजीमा रहने प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै निर्देशक ध्रुवदास भोछिभोय, नेपाली सेनाका अर्जुनकुमार घिमिरे र हेलिकोप्टर क्याप्टेन प्रभाकर केसीले ज्यान गुमाए । ताप्लेजुङमा भएको यो हवाई दुर्घटनालाई पर्यटन क्षेत्रकै लागि कालो दिनका रुपमा पनि धेरै पर्यटनकर्मीले व्याख्या गरेका छन् ।

२०७२ सालको वैशाखमा गएको शक्तिशाली भूकम्पले क्षतिविक्षत पारेको नेपालको पर्यटनलाई २०७५ ले केही माथि उठाएको होटल एशोसिएनका महासचिव विनायक शाहको भनाइ छ । शाहले यो वर्ष नेपालमा सरकारले तोकेको २० लाख विदेशी पर्यटक भित्र्याउने गरी आयोजना गर्न लागिएको नेपाल भ्रमण वर्ष २०२० को आधार वर्ष भएको बताए ।

‘यो वर्ष पर्यटन क्षेत्रमा काम गर्नेका लागि सबैभन्दा खुसीको वर्ष भयो । हवाई माध्यमबाट मात्रै झण्डै १२ लाख पर्यटक नेपाल भित्रिए,’ उनले भने, ‘हामी होटल व्यवसायी त खुसी नहुने कुरै भएन । नेपाल आउने पर्यटकको झण्डै ६० प्रतिशत समय होटल मै बित्छ । त्यसैले होटलले पनि राम्रो लाभ लिएका छन् ।’

नेपाल घुम्न आउने पर्यटकमध्ये भारतीय सबैभन्दा धेरै छन् । सन् २०१८ मा नेपाल आउने ११ लाख ७३ हजार ०७२ पर्यटकमध्ये २४ दशमलव ७७ प्रतिशत भारतीय नेपाल घुम्न आएका छन्

बढ्यो पर्यटनको दायरा

विगतमा काठमाडौं, पोखरा र चितवनमा सीमित रहेको नेपालको पर्यटन अहिले सातै प्रदेशका प्रत्येक जिल्लासम्म पुगेको छ । मुलुक संघीयतामा गएसँगै भौतिक पूर्वाधारको विकास, संघीय सरकार गठन र संघीय सरकारका गतिविधि सञ्चालन गर्दा त्यसको प्रभाव पर्यटन क्षेत्रमा पनि पुगेको देखियो । यो वर्ष सातै प्रदेशमा स्थानीय र अस्थायी राजधानी भएका क्षेत्रमा जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि बढेको छ ।

पर्यटन व्यवसायी पनि यसरी जिल्लाजिल्लामा बढेको सहरीकरणसँगै संघीय सरकार र स्थानीय सरकारले आयोजना गर्ने सभासम्मेलनका कारण होटल व्यवसाय बढ्नुका साथै पर्यटन क्षेत्रको विकास भएकोमा खुसी छन् ।

पूर्वी नेपालको पर्यटन प्रबद्र्धनका लागि प्रचारात्मक अभियानमा लागेका पर्यटन व्यवसायी बासु बराल पनि स्थानीय तहले पर्यटनलाई राम्ररी बुझेका कारण प्रगति पनि उल्लेख्य भएको बताउँछन् । धार्मिक पर्यटनका लागि नेपाल आउनेको संख्या बढी देखिएको भन्दै बरालले पाथिभरा, मुक्तिनाथ, पशुपतिनाथ, लुम्बिनी लगायतका स्थानमा आएका पर्यटकको चापसँगै पूर्वाधारको विकासमा पनि उल्लेख्य प्रगति भएको बताए ।

‘सरकारले पर्यटनको विकासलाई प्राथमिकतामा राखेको छ। स्थानीय सरकारले त यो क्षेत्रको विकास गर्न बजेट नै विनियोजन गरेर अघि बढेका छन्,’ बरालले भने, ‘अहिले सबैको ध्यान पर्यटनमै छ । हामी निजी क्षेत्र पनि यसको विकासमा लागेका छौं ।’ उनले कोशी करिडोरको क्षेत्रमा भने सोचेजस्तो विकास गर्न नसकेको बताए । यद्यपी मेची, सगरमाथा क्षेत्रमा भने पर्यटकको चाप बढेको दाबी गरे । खुल्ला ठाउँमा बनेका पार्क, रमाइलोका लागि घुमाघाम गर्नुपर्छ भन्ने संस्कृतिको विकासले यो वर्षबाट आन्तरिक पर्यटन पनि बढ्न थालेको बरालले बताए ।

२५ लाख पर्यटक राख्ने क्षमता

यो वर्ष पूर्वाधारको विकासमा पनि उल्लेख्य प्रगति भएको छ । नेपालमा सञ्चालनमा रहका होटलहरुले अहिलेकै अवस्थामा २५ लाख पाहुनालाई खान र बस्नको व्यवस्था गर्ने क्षमता बनाएका छन् । हानका महासचिव शाहका अनुसार अहिले देशभर नै होटलसँग सम्बन्धित एक सयभन्दा बढी परियोजना सञ्चालनमा छन् । केही अनुमति लिने प्रक्रियामा, केही निर्माणको चरणमा र केही सेवा सञ्चालनको अवस्थामा पुगेका छन् ।

पर्यटन क्षेत्रमा गरेको लगानी तत्काल प्रतिफल नआउने भएकाले केही धरमर अवस्थामा रहेका लगानीकर्तालाई पनि विस्तारै लगानी गर्ने आकर्षक क्षेत्रको रुपमा पर्यटन देखिएको छ । यसमा आकषित गर्नेकाम भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय लगानी सम्मेलनले गरको हो । शाहले भने, ‘अहिले लगानीको वातावरण पनि राम्रो छ । धेरै चेन होटलहरु पनि नेपालमा आकर्षित भएका छन् । व्यवसायीहरुले पनि यो लङटम इन्भेस्मेन्ट हो भनेर बुझ्न थालेका छन् ।’

पाहुना राख्ने क्षमता बढी भएपनि भनेजत्ति पर्यटक नआएकोमा भए व्यवसायी केही खिन्न पनि छन् । त्यसका लागि सरकारलाई प्रबद्र्धनात्मक काम गर्न व्यवसायीको सुझाव छ ।

पूर्वाधार विकासमा देखिएको चुनौती

पर्यटन क्षेत्रको सुधारका लागि सबैभन्दा ठूलो समस्या नै पूर्वाधारको विकास हो । विश्वको पहिचान बनेको सर्वोच्च शिखर सगरमाथासहित पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म लहरै भएका हिमश्रृंखला हेर्न नेपाल आउनेको संख्या धेरै हुन्छ । त्यसमा पनि हिमाल, पहाड र तराईको प्राकृतिक सौन्दर्यताले सबैको मन खिच्ने भएपनि पूर्वाधारको अभावमा नेपाल घुम्न आउनेको संख्या कम हुने गरेको छ । आएका पर्यटक पनि निर्धारित समयसम्म नबस्ने गरेको इतिहास यो वर्षबाट विस्तारै हट्न थालेको व्यवसायीहरु बताउँछन् ।

त्यस्तै देशकै राजधानी काठमाडौंको उचित व्यवस्थापन हुन नसक्दा पर्यटन व्यवसायी समस्यामा पर्ने गरेका छन् । काठमाडौं महानगरले सानाभन्दा साना पूर्वाधार निर्माणमा ध्यान नदिदा त्यसको असर पर्यटन उद्योगमा पुग्ने गरेको हानका महासचिव शाहको बुझाई छ । ‘विदेशबाट ल्याइएका बु्रमरले सडक सफा त गरिन्छ ।तर, धुलो आकाशतिर पुग्दा प्रदूषण उही । अनि फोहोर खान पैसा तिरेर नेपाल आउने,’ पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिँदै शाहले भने, ‘ट्राफिक व्यवस्थापन, सडक बक्तिको उचित व्यवस्थापन, विमानस्थलको सुधारलगायतमा सरकारले ध्यान दिनु जरुरी छ ।’

त्यस्तै काठमाडौं र काठमाडौं बाहिरका विमानस्थललाई व्यवस्थित बनाउनु आवश्यक छ । नेपालको हवाई भाडा तुलनात्मक रुपमा अन्य देशको भन्दा महँगो छ । पर्यटन बढाउन यसलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउनुपर्ने पर्यटन व्यवसायीको माग छ ।

सबै काम गर्न उचित नीति नियम भएपनि कार्यान्वयन नहुँदा भने निक्कै आक्रोश व्यक्त गदर्छन व्यवसायी । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का पीके शेर्पाले पनि पर्यटनको क्षेत्र सुधारका लागि बनेका नीति नियम र बजेट कार्यान्वयन भए धेरै विकास हुने बताए ।
हानका महासचिव शाहले पनि व्युरोकेसीकै कारण सफलता हासिल हुन नसकेको आरोप लगाए । उनले भने, ‘नीति छ, कानुन पनि छ । बजेट पनि छ । तर, खर्च हुँदैन किन ? यो व्युरोकेसीकै कारण हो । हामीले तिरेको करबाट तलब खानेले उचित काम गर्नुपर्छ । नत्र यो समस्याको समाधान हुनै सक्दैन ।’

के भन्छ पर्यटन बोर्ड ?

नेपाल भित्रने पर्यटकको संख्यामा यो वर्ष पनि उल्लेख्य वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार अघिल्लो वर्ष अर्थात २०१८ को फेब्रुअरीसँग तुलना गर्दा यो वर्ष २०१९ को फेब्रुअरीमा घुम्न आउने पर्यटकको संख्या ३९ प्रतिशतले बढेको छ । त्यस्तै जनवरीमा नेपाल घुम्ने पर्यटकको संख्या २५ प्रतिशतले वृद्धि भएको छ ।

बोर्डले पर्यटक बढाउने गरी पर्यटन प्रबद्र्धनका कामलाई नै प्राथमिकतामा राखेको छ । बोर्डले दिएको जानकारी अनुसार संसारभरका मुख्यमुख्य शहरहरुमा नेपालका आकर्षक पर्यटकीय गन्तव्यको प्रबद्र्धन गर्ने र प्रबद्र्धनात्मक मेला सञ्चालन गर्ने काम गरिरहेको छ ।

त्यस्तै बोर्डकै अगुवाइमा पहिलो पटक इस्ट टुरिजम मार्ट आयोजना भएको थियो । जेठ २४ देखि २६ सम्म सञ्चालन भएको मार्टमा नेपालले भारत, वंगलादेश, भुटान तथा चीनसँग पर्यटन व्यवसायमा कसरी साझेदारी गर्न सकिन्छ भन्ने विषयमा छलफल चलाएको आयोजक समितिका कृष्ण शाहले बताए । शाहका अनुसार यो मार्टले नेपाल घुम्न आउने छिमेकी मुलुकका पर्यटकको संख्या बढ्नुका साथै व्यवसायीव्यवसायीबीच पनि दोहोरो सम्बन्ध विस्तार भएको छ ।

त्यस्तै पर्यटन बोर्डले नै आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय बुद्धिष्ट मेलामार्फत बौद्धधर्माबलम्बीलाई नेपाल गन्तव्य हो भन्ने सन्देश दिएको थियो । यसबाट बौद्धधमाबलम्बी भएका देश म्यान्मार, ताइवान, श्रीलंकालगायतबाट नेपाल आउने पर्यटक बढेका छन् ।

प्रबद्र्धनात्मक कार्यक्रममार्फत नेपाल आउने भारतीय तथा चिनियाँ पर्यटकको संख्या पनि बढेको छ । नेपाल घुम्न आउने पर्यटकमध्ये भारतीय सबैभन्दा धेरै छन् । सन् २०१८ मा नेपाल आउने ११ लाख ७३ हजार ०७२ पर्यटकमध्ये २४ दशमलव ७७ प्रतिशत भारतीय नेपाल घुम्न आएका छन् । त्यस्तै दोस्रो स्थानमा चीनबाट पर्यटक आएका छन् भने, अमेरिकाबाट आउनेको संख्या तेस्रो छ । श्रीलंका तथा बेलायतबाट आउनेको संख्या पनि उल्लेख्य छ ।

आधारवर्षको तथ्यांक हेर्दा आउलान २० लाख

अहिलेकै तथ्यांकलाई हेर्दा सरकारले निर्धारण गरेको लक्ष्य अनुसार सन २०२० मा २० लाख पर्यटक भित्रन मुस्किल छ । पूर्वाधारको विकास बढ्दै जाँदा १५ लाखभन्दा बढी पर्यटक भित्रनेमा व्यवसायी ढुक्क छन् । तर, त्यसमा सडक सञ्जालबाट आउने पर्यटक पनि बढ्ने अनुमान व्यवसायीको छ । नेपाल र चीन तथा नेपाल र भारतका क्षेत्रमा उचित रुपले सडक सञ्जालको विकास र विस्तार गर्न सके सरकारले तय गरेको लक्ष्य पूरा गर्न धेरै चुनौति चाँही नरहेको व्यवसायीहरु बताउँछन् । त्यसका लागि पूर्वाधारको विकास तथा प्रबद्र्धनात्मक कार्यक्रमका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्छ ।

बुद्धिष्ट मार्टका कारण नेपाल आउने बौद्ध धर्माबलम्बीको संख्या बढ्ने अनुमान गरिएको छ । त्यस्तै ‘लङ्ली प्लानेट’ ले गरेको अध्ययन अनुसार बाघ हेर्ने पाइने क्षेत्र मध्येको दोस्रो स्थानमा नेपालमा बर्दिया राष्ट्रिय निकुञ्ज रहेका कारण पनि पर्यटक बढ्ने अनुमान गरिएको छ ।

नेपालको पर्याय बनेको हिमालको प्रचारका लागि गरिएको हिमालयन ट्राभल्स मार्ट पनि पर्वतारोहणका क्षेत्रमा पर्यटक भित्र्याउन सफल हुने बोर्डले जनाएको छ ।


भर्खर

0