खानेपानीमन्त्री बिना मगरमाथि आक्रमण, निशानामा प्रचण्ड « Khabarhub
Logo
८ माघ २०७७, बिहीबार

खानेपानीमन्त्री बिना मगरमाथि आक्रमण, निशानामा प्रचण्ड




सन् १९७२ अर्थात् वि.सं. २०२८ मा विश्व बैंकको सहयोगमा अध्ययन भएको आयोजना हो मेलम्ची खानेपानी विकास आयोजना। जतिबेला मन्त्री बिना मगर जन्मेकै थिइनन्। ठ्याक्कै एक वर्षअघि अर्थात् २०७४ साल चैतमा बिना मगर खानेपानी मन्त्रीमा नियुक्त भइन्। तर, मेलम्ची आयोजनामा जे-जति व्यवधान आए, अहिले ती सबै बिना मगरको थाप्लोमा हाल्ने प्रपञ्च भइरहेको छ। यी सबै कुप्रचार हुन्, जहाँ बिना मगरमाथि आक्रमण गरेर प्रचण्डविरुद्ध निशाना सोझ्याइएको छ।

जो प्रचण्ड र बिना मगरका बाह्रमासे विरोधी हुन्, उनीहरुले बिना खानेपानी मन्त्री भएपछि मेलम्चीमा के-के काम भए, कति प्रगति भयो ? त्यसबारे चर्चा नै गर्न चाहँदैनन्। किनकि, मेलम्चीमा पछिल्लो समय भएको प्रगतिबारे बोल्दै बिना मगरको विरोध गर्न मिल्दैन। उनको कार्यकालमा जति प्रगति भयो, यसअघिका सबै मन्त्रीको भन्दा बढी छ। त्यसकारण बिनाले गरेका कामको चर्चै नगरी विरोधीहरु बिना मन्त्री हुनुपूर्वका बेथिति खोजेर उनीमाथि आक्रमण गरिरहेका छन्।

मेलम्ची आयोजना के हो, कहिले प्रारम्भ भयो, बिना मगरको कार्यकाल र त्यसअघिका मन्त्रीहरुका मूख्य उपलब्धि के हुन् ? त्यसबारे चर्चा नगरी मेलम्चीको चुरोमा पुग्न सकिँदैन। बिनालाई आक्रमण गरेर प्रचण्ड सिध्याउने प्रपञ्च कसरी भइरहेको छ ? त्यो कुरा बुझ्नुपूर्व मेलम्ची आयोजनाबारे थोरै चर्चा गरौं।

के हो मेलम्ची आयोजना ?

मेलम्ची आयोजना विश्व बैंकको सहयोगमा काठमाडौंको खानेपानी व्यवस्थापनका लागि सन् १९७२ मा अध्ययन भएको हो । सन् १९९२ मा स्नो माउण्टेन इन्जिनियरिङ एण्ड कन्सल्ट्यान्टद्वारा सम्भाव्यता अध्ययन भई मेलम्ची नदी डाइभर्सन उत्तम विकल्पका रुपमा पहिचान भएको यस आयोजना कार्यान्वयनका लागि सन् १९९८ मा मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो । सन् १९९९-२००० मा आयोजनाको विस्तृत डिजाइन प्रतिवेदन तयार भएको आयोजनमा विद्युत उत्पादन तथा रिबर्मा सुन्दरीजल प्रशारण लाइनसहितको प्रस्ताव राखिएको र आयोजनाको तत्कालीन लागत ४६४ मिलियन अमेरिकन डलर छ ।

आयोजनामा दातृ निकायहरु बीचको तालमेल तथा शर्तहरुको कारण विद्युत तथा प्रशारण लाइन हटाइएको थियो । सन् २००१ मा एसियाली विकास बैंकद्वारा १२० मिलियन अमेरिकी डलर बरावरको लगानी गर्ने गरी ऋण स्वीकृत भएपछि मेलम्ची खानेपानी आयोजना शुरु भएको र कुल लागत अनुमान तत्कालीन अवस्थामा ४६४ मिलियन अमेरिकी डलर छ । सन् २००५ मा नोराड, सिडा र विश्व बैंकले ऋण लगानीको प्रतिवद्धता फिर्ता लिएको हुँदा लगानीको अभाव हुन गई आयोजना कार्यान्वयनमा समस्या हुन गएको थियो ।

सन् २००८ सम्म आयोजनाका सहायक कार्यहरु जग्गा अधिग्रहण, पहुँच मार्गहरुको निर्माण, क्याम्प साइट निर्माण लगायतका कार्यहरु सम्पन्न भएको र सन् २००८ पछि मात्र आयोजनाको हेडवर्क्स् एवं सुरुङ्ग निर्माणका कार्य शुरु भएको थियो । मेलम्ची आयोजना सन् २००५ मा एसियाली विकास बैंकको ऋण सम्झौताका शर्तहरु अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी महशुल निर्धारण आयोग तथा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड अध्यादेशमार्फत् खडा गरिएको आयोजना हो ।

सन् २००७ मा एसियाली विकास बैंकको ऋण सम्झौताको अवधि समाप्त हुन गएको र सोही कारण पुनःसम्झौता हुन नसक्ने अवस्थामा आयोजनालाई सन् २००८ मा पुनर्संरचना गरी सन् २००८ मा आयोजनाको दायरामा केही परिवर्तन गरेर आयोजना पुनर्संरचना गरी दुई भागमा विभाजन गरिएको छ । साथै, लागत अनुमान ३१७ मिलियन अमेरिकी डलर कायम हुन गएको छ । मेलम्ची खानेपानी आयोजना उप-आयोजना-१ को कुल लागत २४९ (संशोधित ३१२ मिलियन अमेरिकन डलर) तथा उप-आयोजना-२ को लागत ६८ मिलियन अमेरिकन डलर छ ।

सन् २००८ बाट सुरुङ्ग निर्माण कार्यको खरिद प्रक्रिया शुरु गरी जनवरी २००९ मा चिनियाँ निर्माण व्यवसायीसँग सम्झौता भई अप्रील २००९ बाट परिचालन गरिएको तत्कालीन समयमा आयोजना सम्पन्न गरिने म्याद सेप्टेम्बर २०१३ थियो । निर्माण व्यवसायीबाट ठेक्का सम्झौताको प्रावधानअनुसार (ठेक्का अनुसारको ७८.६५% समय व्यतित हुँदासम्म जम्मा १५.३५% मात्र भौतिक प्रगति गर्न सकेको) निर्माण कार्य गर्न सम्पन्न हुनसक्ने अवस्था नरहेकाले २५ सेप्टेम्वर २०१२ मा ठेक्का सम्झौता रद्द गरिएको थियो ।

मेलम्चीको तत्काल बाँकी रहेको कार्यका लागि खरिद प्रक्रिया सुरु गरिएको र सन् २०१३ को जुलाई १५ मा निर्माण व्यवसायी सिएमसी डि रेभेनासँग सन् २०१६ को सेप्टेम्बर सम्ममा बाँकी कार्य सम्पन्न गर्ने गरी ७ अर्ब ७२ करोड रुपैयाँ (भ्याट बाहेक) मा ठेक्का सम्झौता भएका थियो । तर, गत शुक्रबार सिएमसीसँग मेलम्ची बोर्डले आयोजनाको धरौटी रकम जोगाउन ठेक्का सम्झौता तोड्ने निर्णय गर्‍यो ।

मेलम्चीको प्रगति के छ ?

चिनियाँ निर्माण व्यवसायी चाइना रेलवेबाट ६४१७ मिटरसमेत गरी जम्मा २५९२० मिटर सुरुङ्ग खन्ने तथा प्रारम्भिक सपोर्ट लगाउने कार्य गत चैत्र २७ गते ब्रेक-थ्रु भएको छ । हेड वर्क्स् निर्माण क्षेत्रमा १ लाख घनमिटर ओपन कट तथा स्लोप स्टबिलाइजेशन गर्ने काम सम्पन्न भएको छ । आयोजनाको २५०३५ मिटर सुरुङको भुइँ ढलान गर्ने कार्य सम्पन्न भएको र ८८५ मिटर भुइँ ढलानको काम मात्र बाँकी छ ।

आयोजनाको २५५१० मिटरमा फाइनल सर्पोट गर्ने काम सम्पन्न भएको र ४१० मिटर मात्र निर्माण कार्य बाँकी रहेको छ । हाइड्रो मेकानिकल उपकरण तथा विभिन्न प्रकारका गेटहरुको आयात तथा केही गेटहरुको जडान कार्यसमेत सम्पन्न भएका छ । हेड वर्क्स्मा १६०० मिलिमिटर व्यासको ६० मिटर डाइभर्सन पाइप जडानको काम सम्पन्न भएको छ ।

सुन्दरीजल टनेल आउटलेटदेखि बागमती नदीसम्मको १००० मिलिमिटर व्यासको २६० मिटर डिआइ पाइप जडान कार्य सम्पन्न भएको छ । आयोजनाका तीनवटा भेन्टिलेशन साफ्ट निर्माण गर्ने कार्यमध्ये आम्बाथानको १०७ मिटर पाइलट ड्रील सम्पन्न भएको र रिम गर्ने कार्य ४८ मिटर सम्पन्न भएको छ । सुरुङ अनुगमन प्रणाली जडान, परीक्षण तथा सञ्चालन कार्यको स्टिमेट र डिजाइन तयार गरिएको छ ।

मेलम्चीको पानी प्रशोधन केन्द्र भाग-१ (दैनिक क्षमता ८.५ करोड लिटर) को निर्माण तथा परीक्षण सञ्चालन सम्पन्न । गएको वर्षायाम जुलाइदेखि नोभेम्वरसम्म बागमती नदीबाट दैनिक ३ करोड लिटर पानी प्रशोधन गरी बितरण भएको छ । पानी प्रशोधन केन्द्र भाग- २ (दैनिक क्षमता ८.५ करोड लिटर) को ६०% भौतिक (४०४२ घन मिटर समेत गरी जम्मा ११५०० घनमिटर कंक्रिट तथा ५०५० वर्गमिटर मास कंक्रिट) निर्माण कार्यलाई आगामी मार्च २०१९ सम्म सम्पन्न गर्ने लक्ष्य राखी काम भएको छ ।

मेलम्ची आयोजना दोस्रो चरण (याङ्ग्री लार्के डाईभर्सन) को विस्तृत परियोजना प्रतिवेदन तयारी कार्य अन्तिम चरणमा रहेको छ । याङ्ग्रीसम्मको प्रवेश मार्ग निर्माण कार्यका लागि निर्माण व्यवसायी परिचालन गरिएको छ । मुआब्जा निर्धारण भई नसकेको, क्षतिपूर्ति निर्धारण तथा बितरण कार्य भइरहेको छ । एसियाली विकास बैंकसँग ऋण सम्झौता भएमा सन् २०१९ भित्रमा खरिद प्रक्रियामा जान सकिने अवस्था रहेको आयोजनाको दावी छ ।

बिनामाथि किन भइरहेछ आक्रमण ?

१५ डिसेम्बर २०१८ मा ठेकेदार कम्पनी सिएमसीले मेलम्ची आयोजनाको सम्पूर्ण काम छोडेको थियो। त्यसको मूख्य कारण थियो सिएमसी कम्पनि आर्थिक रुपमा टाट पल्टिनु। सिएमसी टाट पल्टिएपछि मेलम्ची मात्र होइन, आफूले ठेक्का लिएका तर नाफामा नभएका सबै आयोजनाबाट हात झिक्यो। यथार्थ यही हो। तर, यसलाई बङ्गाएर सिएमसीसँग बिना मगरले कमिशन मागेकोसम्म कुप्रचार गरियो, जुन कुरा बिनाको कल्पना बाहिरको कुरा थियो। यसमा राजनीतिक पूर्वाग्रह नै मुख्य थियो।

मेलम्ची खानेपानी विकास समिति आफैंमा स्वायत्त निकाय हो, त्यहाँ मन्त्रीको हस्ताक्षर चल्दैन। आयोजनाका कुनै पनि काममा उनले निर्णय गर्ने अधिकार हुँदैन। जति पनि निर्णय हुन्छन्, ती सबै समितिका स्वतन्त्र निर्णय हुन्छन्। विभागीय मन्त्रीका हैसियतले उनले त्यसको अनुगमन गर्ने काम मात्र हो। तर, त्यसमा पनि बिना मगरलाई नै जोड्न खोजिएको छ। जसरी शिक्षामन्त्री हुँदैमा विद्यालय व्यवस्थापन समितिमा उनको हस्तक्षेप चल्दैन, त्यसरी नै मन्त्री हुँदैन मेलम्ची आयोजनामा मन्त्रीको हस्तक्षेप र निर्णय चल्दैन। मेलम्ची आयोजनाबारे कुनै प्रस्ताव मन्त्रीपरिषदमा लानु परेमा मात्र मन्त्रीको भूमिका आउँछ।

आयोजनाको १७ वर्ष लामो इतिहासमा मेलम्चीमा सबैभन्दा बढी प्रगति बिना मगरकै कार्यकालमा भएको देखिन्छ। यसअघिका मन्त्रीलाई जनताले चिनेनन्, किनकि उनीहरुले खास काम गरेनन् वा मेलम्चीलाई प्राथमिकतामा राखेनन्। बिना मात्रै त्यस्ती मन्त्री हुन्, जसले आयोजनाको काम सक्न निरन्तर अनुगमन गरिन्। एक वर्षको अवधिमा उनले दर्जनौंपटक मेलम्ची र सुन्दरीजलको अनुगमन गरिन्। मेलम्ची समिति र निर्माण कम्पनिलाई तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिइन्। त्यसका लागि नीतिगत, राजनीतिक, प्रशासनिक र कुटनीतिक पहल लिइन्। तर, निर्माण कम्पनि आर्थिक दृष्टिले अन्तर्राष्ट्रिय रुपमै टाट पल्टेपछि मन्त्रीले चाहेर मात्र सबैथोक हुन्थेन, भएन पनि।

मेलम्ची आयोजना शुरु भएको १७ वर्ष भयो, बिना मगर मन्त्री भएको १ वर्ष भयो। तर, विगत १७ वर्षकै सम्पूर्ण दोष बिनाको थाप्लोमा हाल्न खोजिँदैछ। मेलम्ची आयोजनाको लागत बढ्नुमा के बिना दोषी हुन् ? के यसअघि गरिएका सबै कमजोरीको जिम्मा बिनाले लिनुपर्ने हो ? जो आयोजना सम्पन्न गर्न रातदिन नभनी खटिरहेको छ, त्यसलाई आक्रमण गर्दा आयोजना र देशलाई फाइदा हुन्छ ? मन्त्री मगरको निरपेक्ष आलोचना गर्नेहरुले यी कुरा किन सोच्दैनन् ? अनि नेकपाकै कमरेडहरु तथ्य नबुझी किन कुप्रचारका पछि दौडिरहेका छन् ?

निशानामा प्रचण्ड

प्रचण्ड नेपाली राजनीतिका समकालीन नेताहरुमध्ये सर्वाधिक शक्तिशाली मानिन्छन्। तसर्थ, उनका विरोधी मात्र होइन, पार्टीभित्रकै प्रतिस्पर्धीसमेत प्रचण्डलाई सिध्याएर आफू सत्ता र शक्तिको नायक बन्न उद्दत छन्। त्यसका लागि उनीहरुले आफूअनुकूल शक्ति, मीडिया र पत्रकार परिचालन गरिरहेका छन्। रुपमा हेर्दा बिनामाथि आक्रमण गरेको देखिन्छ। तर, त्यसको निशाना प्रचण्डमाथि नै हुँदै आएको छ।

प्रचण्डमाथि आक्रमण कति भयानक छ, त्यसका केही दृष्टान्त हेरौं। मेलम्चीको बेरुजुबारे महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनबारे केही सञ्चार माध्यमका हेडलाइन यस्ता थिए, ‘मेलम्चीमा २ अर्ब भ्रष्टाचार’, प्रचण्डकी बुहारी बिना मगरले सम्हालेको मन्त्रालयमा भ्रष्टाचारी’ आदित्यादि। यहाँ बिना मगर र प्रचण्डको नाम जोड्नुपर्ने कुनै सन्दर्भ नै छैन। तर, बलजफ्ती नाम जोडेर बदनाम गर्ने प्रयत्न भइरहेको छ। यसको एक मात्र कारण प्रचण्डलाई सिध्याउने मनसाय मात्र हो।

प्रचण्ड सिध्याएर मात्र गणतन्त्र ढाल्न सकिन्छ, फेरि राजतन्त्रको जाँतो गाड्न सकिन्छ भन्ने गिरोह सक्रिय छ । उनलाई सिध्याएर मात्र संघीयता र समावेशी लोकतन्त्ररुपी शिशुको घाँटी निमोठ्न सकिन्छ भन्ने रणनीतिक योजना बनाउने पनि छन् । त्यही उद्देश्यका साथ प्रचण्ड र उनको परिवारमाथि श्रृङ्खलावद्ध आक्रमण भइरहेको छ। यो तथ्यलाई नेकपाका सबै नेता-कार्यकर्ताले गहिरो गरी मनन गर्न जरुरी छ।

नेकपाका युवा नेता अन्सारीका निजी विचार हुन्।


भर्खर

0