भ्रमण वर्ष शुभारम्भमा ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा गरिने | Khabarhub Khabarhub

भ्रमण वर्ष शुभारम्भमा ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा गरिने


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपाल भ्रमण वर्ष, २०२० अभियानको शुभारम्भमा विभिन्न ४० देशका पर्यटनमन्त्रीलाई सहभागी गराउनेभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष अभियानको उद्घाटन कार्यक्रममा सहभागिताका लागि ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा गरिएको जानकारी दिए ।

प्रदेश ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मंगलबार ललितपुरमा आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष, २०२० पूर्वतयारी भेला’ मा मन्त्री भट्टराईले भ्रमण वर्षको तयारीबारे जानकारी दिएका हुन् ।

उनले भने , “भ्रमण वर्षको व्यापक तयारी भइरहेको छ, भ्रमण वर्ष सचिवालयले प्रदेश सरकार र विदेशस्थित सबै कूटनीतिक नियोगलाई पत्राचार गरिसकेको छ । हामी (सरकार) ले ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा पठाएका छौँ, विदेशका चर्चित कलाकारको पनि सहभागिता रहनेछ । सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथ निजी क्षेत्रको सक्रियतामा भ्रमण वर्षलाई भव्यरूपमा शुभारम्भ गरिनुपर्छ ।”

सन् २०२० को जनवरी १ तारिखका दिन नेपालमा भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । विदेशस्थित सबै कूटनीतिक नियोगमा जनवरीको पहिलो साताभित्र भ्रमण वर्षको उद्घाटनको कार्यक्रम तय गरिएको पर्यटनमन्त्री भट्टराईले जानकारी दिए ।

भ्रमण वर्ष अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रवर्धनात्मक गतिविधिलाई तीव्रता दिइएको छ । सङ्घीय सरकार मात्र नभई प्रदेश सरकार र स्थानीय सरकारले पनि भ्रमण वर्षलाई सफल बनाउन गन्तव्य प्रवर्द्धन, पूर्वाधार विकास र सेवा स्तरीकरणलाई प्राथमिकताका साथ अघि बढाएका छन् ।

सम्भवतः भ्रमण वर्षको उघाटन समारोह दशरथ रङ्गशालामा गरिनेछ । शुरुमा टुँडिखेलमा गर्ने योजना रहे पनि रङ्गशाला निर्माण सकिएको र व्यवस्थित हुने भएकाले सोही स्थानमा भ्रमण वर्षको उद्घाटन गर्ने गरी भ्रमण वर्ष सचिवालयले तयारी गरिरहेको छ ।

भ्रमण वर्ष सचिवालयका बच्छुनारायण श्रेष्ठले भ्रमण वर्षको शुभारम्भसहित भ्रमण वर्ष अवधिमा गरिने काम डिसेम्बर १५ भित्र सार्वजनिक गर्नेगरी तयारी थालिएको बताए ।

उनले भ्रमण वर्ष अवधिमा २० लाख पर्यटक सङ्ख्यामा मात्र नभई यसलाई आधार वर्ष बनाएर एक दशकसम्म भ्रमण वर्ष मनाएर सङ्ख्यासँगै गुणस्तरीय पर्यटक भित्र्याउनेतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

पन्ध्रौँ पञ्चवर्षीय योजनाले पर्यटनलाई राज्यको प्रमुख प्राथमिकतायुक्त क्षेत्रका रूपमा लिएको र अहिलेको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको तीन प्रतिशत योगदानलाई उक्त योजना अवधिभर १० प्रतिशत पुर्‍याउने लक्ष्यका साथ काम अघि बढाइएको मन्त्री भट्टराईको भनाइ थियो ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको आर्थिक समृद्धिलाई सार्थक तुल्याउने आधार पर्यटन, कृषि, ऊर्जालगायत भएकाले यसको प्रभावकारी प्रवर्द्धनमा जोड दिए ।

उनले भ्रमण वर्षलाई सफल बनाउन तथा समग्र पर्यटनमैत्री वातावरण तयार गर्न प्रदेश सरकार क्रियाशील रहेको भन्दै पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई सक्रिय ढङ्गले लाग्न आग्रह गरे ।

प्रदेश नं ३ को भ्रमण वर्षको तयारी

नेपाल भ्रमण वर्ष अभियानलाई प्रभावकारी तुल्याउन तथा उक्त अवधिमा गरिने कार्यक्रमको तयारीस्वरूप प्रदेश ३ को पर्यटन मन्त्रालयले मंगलबार ललितिपुरमा भ्रमण वर्षको पूर्व तयारी भेला गर्‍यो ।

पर्यटनमन्त्री भट्टराई, प्रदेश नं ३ का मुख्यमन्त्री पौडेल, प्रदेश पर्यटनमन्त्री नेपाल, उपत्यकाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सदस्यहरू, प्रदेशसभा सदस्य, नगरपालिका र गाउँपालिका प्रमुख एवं प्रतिनिधि, पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

सहभागी प्रतिनिधिले भ्रमण वर्षलाई भव्य र सभ्यरूपले सफल बनाउन अन्तरसरकार तथा सरोकार भएका निकायबीच समन्वयका साथ योजना कार्यक्रम लैजानुपर्नेमा जोड दिए ।

गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले भ्रमण वर्षलाई देशको आर्थिक समृद्धिसँग जोड्दै स्थानीय उत्पादन प्रवद्र्धन गरिनुपर्ने धारणा राखे ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खोमबहादुर सुवेदीले भ्रमण वर्ष अभियानलाई सफल बनाउन सबै क्षेत्रको सक्रियता चाहिने औँल्याए ।

कार्यक्रममा प्रदेश ३ को विविध पर्यटकीय गन्तव्यलाई समेटेर तयार पारिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । उक्त वृत्तचित्र ११२ वटा भिडियो क्लिप आठ भाषामा प्रदर्शन गरिनेछ ।

भ्रमण वर्षभरि प्रदेश सरकारको १४ घरेलु उत्पादनका कोसेली घर, १० पर्यटकीय गन्तव्य र १० ‘हिल स्टेसन’ निर्माण गरिनेलगायत कार्यक्रम छ । भ्रमण वर्षका लागि रु एक अर्ब ६२ करोड बजेट विनियोजन भई विभिन्न चरणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ९ : ३१ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको

बँदेलले टोक्दा सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले

‘बोक्सीको घर’ : हतारै हतारमा बनेको गीत ‘बुझिनँ मैले’

काठमाडौंं – केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ बाट

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए

काठमाडौं- प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली