ब्याडमिन्टनको बेहाल– सागका लागि ज्यान जोखिममा राखेर अभ्यास गर्दै खेलाडी | Khabarhub Khabarhub

ब्याडमिन्टनको बेहाल– सागका लागि ज्यान जोखिममा राखेर अभ्यास गर्दै खेलाडी



काठमाडौं– आगामी मंसिर १५ गतेदेखि शुरु हुने दक्षिण एसियाली खेलकुद (साग) का लागि  विभिन्न खेलका टोलीहरु अहिले अभ्यासमा व्यस्त छन् । क्रिकेटबाहेकका सबै खेलको अभ्यास जारी छ । काठमाडौं र पोखरामा सञ्चालन हुने प्रतियोगिताका लागि यी दुवै ठाउँमा अभ्यास भइरहेकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

राखेपले सम्पूर्ण खेलको अभ्यासका लागि आव्हान गरेसँगै अहिले राष्ट्रिय क्रिकेट टोलीबाहेक सबै टोली सागमा ‘स्वर्ण जित्ने’ लक्ष्यसहित अभ्यासमा व्यस्त छन् ।

सकसमा व्याडमिन्टनको अभ्यास

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा अहिले व्याडमिन्टनको अभ्यास खेल चलिरहेको छ। ८ महिला र ८ पुरुषसहित १६ जनालाई क्याम्पमा राखेर अभ्यास सञ्चालन हुँदा सँगै पुन:निर्माणको काम पनि जारी रहेकाले सकसपूर्ण अवस्थामा खेलाडीले अभ्यास गरिरहेका छन् ।

राखेप कर्भहलमा अहिले राष्ट्रिय महिला भलिबल टोली र ब्याडमिन्टन टोलीले अभ्यास गरिरहेका छन् । यी दुई खेलले बिहान र बेलुकाको समय बाँडेर अभ्यास गरिरहँदा अन्य खेलहरु भने बिहान र बेलुका गरि दुई सिफ्टमा अभ्यास गरिरहेका छन् ।

कुन दिन कसले कति बजेदेखि अभ्यास गर्ने भन्ने यकिन तालिका भने यी दुई टोलीसँग छैन । तर, पनि प्राय ब्याडमिन्टनले बिहान साढे सात बजेदेखि साढे १० बजेसम्म अभ्यास गर्ने गरेको मुख्य प्रशिक्षक सुदिप योन्जनले बताए ।

दक्षिण एसियाली क्षेत्रमा नेपाली ब्याडमिन्टन बलियो हुँदै गए पनि यस क्षेत्रमा भारत रहेका कारण नेपाली टोलीलाई स्वर्ण जितिहाल्न सहज नभएको उनको भनाइ छ । अहिलेसम्म जति पनि पटक नेपाल फाइनल पुगेको छ अधिकांश समय भारत बाधक बनेका कारण यसपटक पनि भारतलाई पराजित गरेर घरेलु टोलीले स्वर्ण जित्छ भनेर विश्वस्त हुन सक्ने अवस्था भने छैन ।

प्रशिक्षक योन्जन नेपाली ब्याडमिन्टनले सागमा स्वर्ण जित्छ भनेर दावी गर्न नसक्नुको एक मात्रै कारण भारत मान्छन् । किनकि भारत पछिल्लो समयमा विश्व ब्याडमिन्टनमा उचाइ लिँदै गइरहेको छ ।

‘मैले सत्य कुरा भन्नु पर्दा नेपालले सागमा स्वर्ण जित्छ भनेर भन्न सक्ने अवस्था छैन् । किनकि भारतीय खेलाडीले विश्व व्याडमिन्टनमा आफूलाई स्थापित गर्दै आएका छन् । दक्षिण एसियाली क्षेत्रमा भारत स्वर्णको एकल दाबेदार हो,’ मुख्य प्रशिक्षक योन्जनले भने, ‘माल्दिभ्स, पाकिस्तान र नेपालबीचको खेल भने निकै प्रतिस्पर्धात्मक हुन्छ । त्यसमा नेपाल अरु टिमलाई पराजित गर्न सक्छ । तर, भारत अन्य टिमभन्दा तुलनात्मक रुपमा बलियो टोली नै हो ।’

यद्यपि नेपाली टोलीले पछिल्लो समय जित्दै आएको कास्य पदकको दावेदारी काठमाडौंमा हुने सागमा पनि निरन्तर हुने योन्जन् बताउँछन् । ‘हामीले स्वर्ण जित्न नसके पनि हामीले जित्दै आएको कास्यलाई जोगाउने लक्ष्य छ,’ प्रशिक्षक योन्जनले भने, ‘हामी मानसिक रुपमा पनि के स्पष्ट हुनुपर्छ भने नेपाललाई स्वर्ण जित्न निकै कठिन छ त्यसैले हामी रजतसम्मका लागि योजना बनाए पनि स्वर्ण जित्न भने निकै मुस्किल छ ।’

नेपालले यो खेलमा ३ वटा जति रजत पदक र २ वटा जति कास्यका जित्ने लक्ष्य राखेको उनले बताए ।

टुङ्टुङ र ट्याङ टुङ आवाज आइरहने अभ्यास स्थलमा ब्याडमिन्टन खेलाडीलाई अभ्यास गर्न समस्या भइरहेको प्रशिक्षक योन्जनको भनाइ छ ।

अभ्यासका लागि मैदानमा समस्या भए पनि ब्याडमिन्टनका लागि राखेपले अर्को ब्याडमिन्टन कोर्टको व्यवस्था गर्न भने सकेको छैन । अर्को कोटको व्यवस्थापन गर्न नसकेपछि ब्याडमिन्टन खेलाडीले ज्यान जोखिममाम राखेर अभ्यास गरिरहेका छन् ।

कभर्डहल पुनःनिर्माणको काम चलिरहेको र कुनै पनि बेला निर्माण समग्री खसेर दुर्घटना हुनसक्ने खतरा रहेको खेलाडीहरु बताउँछन् ।

‘अहिले यहाँ कभर्डहल निर्माणको काम चलिरहेको छ, यही बीचमा हामीले खेलको अभ्यास पनि गरिरहनु परेको छ,’ अभ्यासरत एक खेलाडीले भने, ‘यस्तो अवस्थामा कुनै पनि बेला निर्माण सामग्री खसेर हामीलाई लाग्न सक्ने खतरा छ । एकहिसावले ज्यान नै जोखिममा राखेर अभ्यास गरिरहनु परेको छ ।’

प्रशिक्षक योन्जन कभर्डहल कहिलेसम्म बनिसक्छ भनेर आफूहरुलाई कुनै जानकारी नभएकाे बताउँछन् । ‘पुन:निर्माण भइरहेको छ । तर, कहिले सकिन्छ भन्ने हामीलाई कुनै जानकारी छैन । तर, पनि यसले अभ्यासमा केही हदसम्म त डिस्टर्ब त गर्छ नै,’ उनले भने, ‘ब्याडमिन्टनका लागि अर्को कोर्ट राखेपसँग नभएकाले पनि समस्या भएको छ ।’

‘राखेपले अहिलेसम्म अर्को कुनै भेन्यु दिएको छैन । सरकारी त यो कोर्ट मात्रै हो । तर, अन्य ब्याडमिन्टन कोर्ट निजी क्षेत्रको छन्,’ प्रशिक्षक योन्जनले भने, ‘निजीमा अभ्यास गर्न भाडा दिर्नुपर्छ । त्यसको अहिलेसम्म कसैले पनि व्यवस्था मिलाउन सकेको छैन् ।’

राष्ट्रिय टोली तयारी समितिका संयोजक महेन्द्रकुमार राईले कभर्ड हल पुन:र्निर्माण नसकिएसम्मका लागि कर्भड हलको विकल्प खोजेपनि उपलब्ध नभएका कारण त्रिपुरेश्वरमै अभ्यास गर्नु पर्ने बाध्यता रहेको बताए।

‘हामीले अभ्यासका लागि अर्को ठाउँ खोजे हो । एपीएफ, आर्मी र महाराजगञ्जमा भएका ब्याडमिन्टन कोर्टहरु व्यस्त रहेकाले अहिलेलाई ब्यवस्थापन गर्न समस्या भएको हो,’ संयोजक राईले थपे, ‘रंगशाला भरी पुनर्निर्माण चलिरहेको कारण त्यहाँ पनि काम भइरहेको छ ।’

विभिन्न अप्ठेरोका वावजूद पनि खेलाडीहरु भने उत्साहका साथ तयारीमा जुटेको प्रशिक्षक योन्जनले जनाए । खेलाडीले उत्साहका साथ अभ्यासमा सहभागी भइरहँदा उपाधि उचाल्न सक्ने उनको भनाइ छ ।

सागमा ब्याडमिन्टनले ७ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । जसमा नेपाली ब्याडमिन्टन खेलाडीहरुले मेन्स सिङ्गल्स, वुमन्स सिङ्गल, मिक्स डबल्स, लेडिज डबल्स, मेन्स डबल्स, मेन्स टिम इभेन्ट र लेडिज टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

७ इभेन्टका लागि ब्याडमिन्टन खेलका लागि १० जना पुरुष तथा १० जना महिला खेलाडी आवश्यक पर्दछन् । तर, अहिलेसम्म महिला र पुरुष गरी १६ जना खेलाडीमात्रै अभ्यासमा सहभागी भएको र भदौ १० गतेभित्र ३४ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने योजना रहेको प्रशिक्षक योन्जनले बताए ।

साग अगाडि नेपालबाट ४ जना पुरुष र ४ जना महिला खेलाडी अस्ट्रेलियन ओपन खेल्न जाने योन्जनले बताए । त्यससँगै साग अगाडि नोभेम्बर महिनामा नेपालले नियमित गर्दै आएको ब्याडमिन्टन इन्टरनेसनल च्याम्पियनसिप पनि हुनेछ, जसले खेलाडीलाई सागको तयारीमा सहयोग पुग्ने योन्जनको दाबी छ ।

नेपाली ब्याडमिन्टनको नेतृत्व मुख्य प्रशिक्षक सुदिप योञ्जनले गरिरहेका छन् । किरण थापा सहायक प्रशिक्षक छन् । नेपाली ब्याडमिन्टनका स्टार खेलाडी रत्नजित तामाङ र दिपेश धामी पछि युवा खेलाडी प्रिन्स दाहाल र प्रफुल्ल श्रेष्ठले आफुलाई स्थापित गर्दै आएको प्रशिक्षकको भनाइ छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  २ : ३० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न