युरोपको इटालीजस्तै भएको छ नेपाल, सबैले शंकाको नजरले हेर्ने : अमरेश कुमार सिंह « Khabarhub
Logo
१ जेष्ठ २०७८, शनिबार

युरोपको इटालीजस्तै भएको छ नेपाल, सबैले शंकाको नजरले हेर्ने : अमरेश कुमार सिंह



अमरेश कुमार सिंह, सधैं चर्चा र विवादमा आइरहने नेपाली कांग्रेसका नेतामध्ये एक हुन् । सर्लाही क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित भएका सिंह प्रमुख प्रतिपक्षी दलको सांसदका रुपमा संसदको वैठकमा पनि चर्को रुपमा प्रस्तुत हुन्छन् । सिंह सरकारदेखि आफ्नै पार्टी नेतृत्वको पनि कडा आलोचना गर्छन् ।

उनै सिंहसँग खबरहबका लागि प्रशान्त ओझाले राष्ट्रिय राजनीति, नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र नेपाली कांग्रेसको आगामी महाधिवेशनका विषयमा केन्द्रित रहेर कुराकानी गरेका छन् । प्रस्तुत छ सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश–

कांग्रेस भित्रको आन्तरिक विवाद पार्टीभित्र मात्रै सीमित भएको छैन । यसको प्रभाव सदनदेखि सडकसम्म देखिइरहेको छ । तपाईंलगायतका नेताहरुले पार्टीभित्रको विवादका सन्दर्भमा के गरिरहनुभएको छ ?

– नेपाल कांग्रेसको अहिलेको नेतृत्व र नीतिले देशको लोकतान्त्रिक पद्दतिमा नै असर परिरहेको कुरा सत्य हो । कांग्रेसको महाधिवेशन आउन अझै १ वर्ष बाँकी छ । तर, अहिलेकै अवस्था हेर्दा हाम्रो नेतृत्व असफल भइसकेको छ । महाधिवेशन भइसकेपछि पार्टीका विभागहरु गठन गर्न नसक्ने, समय सन्दर्भअनुसार मुद्दाहरु उठाउन नसक्नु, प्रमुख प्रतिपक्षीका रुपमा प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नुजस्ता कारणले नेतृत्व असफल भएको आफैं प्रमाणित हुन्छ ।

पार्टीको नेतृत्वले जनताको मन जित्नुभन्दा पनि पार्टीलाई कब्जा गर्ने रणनीति लिएको देखिन्छ । देशमा लोकतन्त्रविरोधी कम्युनिस्टको सरकार छ । संसद अहिलेसम्मकै कमजोर संस्थाको रुपमा रुपान्तरण भएको छ । संसदीय समितिहरु निरीह बनेका छन् । सार्वजनिक लेखा समितिबाहेक सबै समितिका सभापतिहरु सत्तारुढ दलबाटै छन् ।

यी सबै कुरामा कांग्रेसको ध्यान जानुपर्ने थियो । कांग्रेसको आर्थिक, सामाजिक र राजनीतिक एजेण्डा क्लियर हुनुपर्थ्यो, त्यो हुन सकेको छैन ।

तपाईंका कुरा सन्दा त कांग्रेसका सबै नेताहरूमा निराशा बढी छ कि जस्तो लाग्छ । यसको कारण सरकार बढी शक्तिशाली हुनु हो कि, कांग्रेस आफैं धेरै कमजोर भएको हो ?

– कांग्रेस कमजोर भएको हैन । कांग्रेसको नेतृत्व कमजोर भएको हो, जसरी घर कमजोर हुनु र धरधनी कमजोर हुनुमा फरक हुन्छ ।

तपाईंहरुको पनि भूमिका होला नि ! सबै कुरा नेतृत्वकै जिम्मा लगाइदिने ?

– हाम्रो पार्टी सभापतीय पद्दतिमा छ । सभापति एकचोटी कमजोर भइसकेपछि अरुको भूमिकाले पार्टीलाई बलियो बनाउने ठाउँ हुँदैन ।

सभापतिलाई सच्याउनु पर्दैन त ?

– कांग्रेसमा नेतृत्वलाई सच्याउने एउटा मात्रै माध्यम महाधिवेशन हो । महाधिवेशनबाट सच्याइन्छ पनि । किनकी बाहिरी रुपमा हाम्रो नेतृत्वको जुन अनुभवशक्ति छ, हाम्रो नेतृत्वप्रति आम जनताको जुन बुझाइ छ, त्यो एकदमै खराब छ ।

राजनीति धेरै हदसम्म सकरात्मक कुराको बोधले अगाडि बढ्छ । हाम्रोजस्तो ‘मास बेस’ पार्टीको नेतृत्वमा अनुभवशक्ति झन धेरै हुनुपर्छ । नेतृत्वमा इमान्दारिता हुनुपर्‍यो, नेतृत्व डायनामिक हुनुपर्‍यो, समय सापेक्ष हुनुपर्‍यो, साथै राजनीतिक र आर्थिक एजेन्डाहरु स्पष्ट हुनुपर्‍यो ।

राजनीतिक नेतृत्वले बोलेको कुरा पनि आम जनताले बुझ्नु पर्यो । लामो भाषण जनताले रुचाउँदैनन् । पार्टी विश्वविद्यालय हैन कि, त्यहाँ कुनै कुराको रिसर्च होस् । नेतृत्वले दुई लाइन बोलेपनि जनताले बुझ्ने गरी बोल्नुपर्‍यो ।

हाम्रो पार्टीको नेतृत्वमा रहेका केही व्यक्तिलाई के भ्रम छ भने, कम्युनिष्टको असफलताले हामी सफल हुन्छौं भन्ने । त्यो होइन, अहिले कम्युनिस्ट सरकारको गतिविधिले जनता धेरै वितृष्ण भइसकेको छ । तर, कांग्रेसमाथि पनि भरोषा गर्ने अवस्था छैन ।

कम्युनिस्टप्रति वितृष्णा पैदा हुँदा जनता कांग्रेससँग जोडिँदा लोकतन्त्रमाथि कुनै खतरा हुने अवस्था थिएन । तर, अहिले कांग्रेसप्रति पनि जनता आकर्षित हुन सकेको छैन । जनतामा एक प्रकारको असामनजस्यता छ । यस्तो असामनजस्यताले लोकतन्त्र नै समाप्त हुने खतरा हुन्छ ।

पार्टीहरु कसैले पनि जनताको मन जित्न सक्ने अवस्था छैन । एउटाले थोरै भ्रष्टाचार गरेको होला, एउटाले बढी गरेको होला, तर सबैले भ्रष्टाचार गरेका छन् ।

भ्रष्टाचारको कुरा उठाउनुभयो, वाइडबडी विमान खरिद प्रकरणमा तपाईंकै पार्टीका सभापतिको नाम पनि जोडिएको छ । तर, त्यसप्रति तपाईंको पार्टी चुपजस्तै बसेको छ । कुनै पनि आधिकारिक धारणा आएको छैन । किन यस्तो भयो ?

– वाइडबडी विमान खरिद प्रकरणको कुरा गर्नुहुन्छ भने, यस विषयमा सबैभन्दा पहिले संसदमा आवाज उठाउने मान्छे म हो । तपाईंले संसदको रेकर्ड पनि हेर्न सक्नुहुन्छ । मैले सिधा प्रधानमन्त्रीलाई प्रश्न गरेको थिए । यसमा ६ अर्बको भ्रष्टाचार भएकै हो । यसमा सत्यतथ्य छानबिन हुनुपर्छ भनेर प्रधानमन्त्रीकै ध्यानाकर्षण गराएको थिए ।

मेरो मान्यता छ, भ्रष्टाचार गर्ने मान्छे देश र जनताको दुश्मन हो । तर, यहाँ त के छ भने ५ हजार रुपैयाँ घुस खानेलाई समातेर वाहवाही कमाइन्छ ।

तपाईंले मसँग अन्तर्वार्ता लिँदै गर्दा, आज अख्तियार स्थापना दिवस पनि हो । अख्तियारको नेतृत्वलाई म भन्न चाहन्छु कि, जबसम्म करोडौं, अर्बौं रुपैयाँको भ्रष्टाचार गर्ने मानिस कानूनी अनुसन्धानको दायरमा आउँदैनन्, तबसम्म भ्रष्टाचार नियन्त्रण हुँदैन ।

वाइडवडी प्रकरणमा सरकार आफैं संलग्न छ । सरकारका सचिव, मन्त्री र उच्च अहोदाका मानिसहरु यसमा संलग्न छन् । सरकार आफ्नो मान्छे जोगाउन प्रतिपक्षका मानिसहरु पनि संलग्न छन् भनेर भनिरहेको छ । जोसुकै मान्छे होउन, सरकारले छानबिन गरोस् न ।

भ्रष्टाचारको छानबिन गर्ने दायित्व त सरकारकै हो नि ! कांग्रेसले भ्रष्टाचार गरेकाले हामी पनि भ्रष्टाचार गर्छौं भन्न पाइन्छ र ?

वाइडबडीको भ्रष्टाचार होस्, आयल निगमको जग्गा खरिदका क्रममा भएको भ्रष्टाचार होस्, ३३ किलो सुन काण्डमा भएको अनियमितता होस्, सरकारले छानबिन गरेर दोषीलाई कानूनी दायरमा ल्याउनु पर्‍यो नि !

नेपाल टेलिकमको फोरजी सेवा विस्तार गर्ने क्रममा पनि ठूलो चलखेल भएको छ । एउटा कम्पनीलाई फोरजी विस्तार गर्ने भनेर २०११ मै ठेक्का दिएको थियो, गत डिसेम्बरमा काम सक्ने गरी । तर, अहिलेसम्म पूरा गरेको छैन । फेरि त्यसै कम्पनीलाई किन ठेक्का दिनु पर्‍यो ? किनकी त्यहाँ भ्रष्टाचार भएको छ ।

ट्रान्स्परेन्सी इन्टरनेशनलको रिपोर्ट हेनुहोस्, भ्रष्टाचार झन् झन् बढेको देखिन्छ । संसदमा दुईतिहास बहुमत भएको बलियो सरकार हुँदा त भ्रष्टाचार घट्नुपर्ने हो नि ! झन बढिरहेको छ ।

२०५१ देखि २०५६ सालसम्म विकृत संसदीय व्यवस्थाको जुन रुप थियो, अहिले ठ्याक्कै त्यस्तै गणतान्त्रिक शासन व्यवस्थाको सबैभन्दा विकृत रुप देखिएको छ ।

संसदीय व्यवस्थाको विकृत रुपमा सुरा–सुन्दरी, बैंकक र पँजेरो काण्डहरु भएका थिए । अहिले पनि त्यस्तै छ । स्थानीय तहदेखि केन्द्रसम्मका सत्तामा रहेका सबै प्रतिनिधि भ्रष्टाचारमा लिप्त छन् ।

कम्युनिस्टदेखि कांग्रेसहरु यसैगरी भ्रष्टाचारमा लिप्त हुने हो भने, हाम्रो देशले अहिलेको व्यवस्थालाई धेरै समयसम्म धान्न सक्दैन । यो व्यवस्था छिट्टै ढल्नेवाला छ ।

विधानअनुसार नियमित रुपमा हुनेहो भने कांग्रेसको महाधिवेशन आउन अब १ वर्ष मात्रै बाँकी छ । अब तपाईंहरुले कस्तो प्रकारको नेतृत्व छान्नुहन्छ ?

– अंग्रेजीमा एउटा भनाइ छ, ‘बेस्ट अमोङ द वर्स्ट’, हाम्रो महाधिवेशनमा पनि त्यस्तै हुने छ । अहिले नै त नभनौं को को उम्मेदवार हुन्छन्, त्यो त्यतिबेला नै थाहा हुन्छ । अहिले नै फलानो व्यक्ति हुनुपर्छ भन्ने छैन । तर, हामी चाहन्छौं कि युवा नेतृत्व आओस् । किनकी ७० कटेको मान्छेले कांग्रेसको नेतृत्व लिनु हुँदैन, यो मेरो व्यक्तिगत मान्यता हो ।

दोस्रो कुरा गाउँ तहबाट नै केन्द्रीय पदाधिकारीहरु निर्वाचित भएर आउनु पर्छ । चाहे सभापति होस्, उपसभापति होस् या महामन्त्री नै । यीनिहरु कोही राजा होइनन् कि, मुकुट लगाएर कुर्सीमा आशन ओगटेर बस्ने ।

कांग्रेसका केही नेताहरु मुकुटधारी राजा बन्न खोज्दैछन् । उनीहरु यस्तो सोच्छन् कि कहिल्यै जनताको बीचमा जानै पर्दैन । यो प्रवृत्तिको अन्य हुनुपर्छ ।

जातको नाउमा, धर्मको नाउमा, आमाको नाउमा, बाउको नाउमा र जेल बसेको नाउमा नेतृत्व गर्न खोज्छ भने, यो हामीलाई मान्य हुँदैन ?

तपाईं र तपाईंजस्तै अन्य नेताको भूमिका के हुन्छ ?

– हामीहरुको भूमिका सवल नेतृत्व चयन गर्नेमा हुन्छ ।

नेतृत्वको दावी गर्ने तहको भूमिका हुँदैन ?

– हामी पनि आफ्नो तहको नेतृत्वका लागि दावी गरिहाल्छौं नि ! तर अहिले नै मलाई सभापति चाहियो भनेर म भन्न चाहन्न ।

तर, पार्टीभित्र एउटा पद्दतिको विकास हुनुपर्छ । अहिले एउटा गिरोहले पार्टी चलाइरहेको छ । प्रत्यक्षमा पनि तिनै गिरोहका मानिस टिकट पाउने समानुपातिकमा पनि तिनै छनौट हुने । यो परम्पराको अन्त हुनुपर्छ ।

आर्थिक पारदर्शिता छैन । कहाँबाट पैसा आयो कहाँ गयो, कसले कति खायो ? कुनै हिसाव छैन ।

लामो राजनीतिक संक्रमण भोगेका जनताले अब स्थायित्वको अपेक्षा गरेका थिए । तर, राजनीतिक दलका आन्तरिक समस्याका कारण देशमा फेरि राजनीतिक अस्थिरता मच्चिने खतरा बढिरहेको छ । यसमा बढी जिम्मेवार कसलाई देख्नुहुन्छ ?

– बढी जिम्मेवार त सरकार पक्ष हुन्छ । प्रतिपक्षी पनि जिम्मेवार बन्नुपर्छ । सरकारको निर्णयले नै देश चल्ने हो । प्रतिपक्षी पनि वाचडगको रुपमा रहनुपर्छ । सरकारको कमी कमजोरीलाई सदनदेखि सडकसम्म उठाउनुपर्ने प्रतिपक्षीको काम हो ।

सरकारको कमी कमजोरी बाहिर आएको छैन भने त्यसमा गल्ती प्रतिपक्षीको पनि हुन्छ । जसरी प्रधानमन्त्रीलाई संघीयता मन परेको छैन । नेकपाका अर्को अध्यक्षलाई संसदीय व्यवस्था मन परेको छैन । संसदीय व्यवस्था भनेको खसीको टाउँको राखेर कुकुरको मासु बेच्ने थलो हो भन्नु हुन्थ्यो उहाँहरु ।

त्यसैले अहिलेको संसदीय गणतान्त्रिक व्यवस्था लामो जाँदैन । कम्युनिस्ट पार्टी र संसदीय व्यवस्था सँगसँगै जान सक्दैन । यसका लागि त देश कम्युनिष्ट हुनुपर्थ्यो, व्यवस्था कम्युनिस्ट हुनुपर्थ्यो । व्यवस्था संसदीय छ, त्यहाँ प्रतिनिधित्व कसको छ ? दुई तिहाइसहितको कम्युनिस्ट पार्टीको छ । यो दुईवटा बीचको बिवादले यो पद्दती चल्दैन ।

यति धेरै डराउनुपर्ने अवस्था हो र अहिले ?

– सत्तापक्षको व्यवहारले यस्तै देखाइरहेको छ । हरेक संस्थालाई समाप्त पार्ने काम भइरहेको छ । एउटा नयाँ संस्था नवनिकन पुरानो संस्थालाई भत्काउन हुँदैन । संसदमा त्यस्तै छ, कर्मचारीतन्त्र समायोजनका नाममा सकिँदैछ । आफ्नो मान्छे मात्रलाई फिट गर्ने काम भइरहेको छ ।

अदालत, अख्तियार, प्रहरी ‘डिइन्स्टीच्युसनलाइज’ भइसकेको छ । हिजो नै एउटा प्रहरीले राजीनामा दिए, किनकी प्रमोशनमा ट्रान्सफरेन्सी अपनाइएन ।

सबैभन्दा डरलाग्दो पाटो के भएको छ भने हामी आर्थिक, ट्रेड, सेक्युरिटी, हाम्रो विदेश नीति ‘डिइन्स्टीच्युसनलाइज’ भइसकेको छ । सानो देशको विदेश नीति कतै लाग्दैन भन्ने थियो, तर अहिले तीनवटै शक्तिशाली देशको खेल मैदान भएको छ, नेपाल । सरकारको गलत विदेश नीतिका कारण ।

बहुदलीय व्यवस्थापछि लामो समय सत्ताको नेतृत्व कांग्रेसले गर्‍यो । वर्तमान सरकार आउनु अगाडि पनि कांग्रेस सभापतिकै नेतृत्वको सरकार थियो । अहिले तपाईंले भनेजस्तो देशको स्थिति हुनुमा कांग्रेसको जिम्मेवारी छँदै छैन त ?

– यसमा अहिलेको सरकार बढी जिम्मेवार हो । पहिला संयुक्त सरकार थियो । एक एक वर्षमा सरकार परिवर्तन हुन्थ्यो । एक पार्टीको सरकार बनेको छ । पहिला संविधान निर्माण, चुनाव गर्ने लगायतका विषयलाई प्राथमिकता दिनुपर्ने अवस्था थियो । त्यसमाथि चुनावको आचारससंहिता लागू भएका कारण दैनिक प्रशासन चलाउने मात्र काम भयो ।

तर यो सरकार त संयुक्त होइन । यो त पाँच वर्षको म्यान्डेट पाएको सरकार हो । नेपालको समस्या के हो भने एक एक वर्षमा सरकार परिवर्तन भएर हो । परिवर्तन नहुने सरकार आउँदा पनि इन्डिकेटरहरु सकरात्मक नहुनु कहिँ न कहिँ सरकारको असफता र असक्षमता नै हो ।

सरकारले आन्तरिक रुपमा सुशासनदेखि विदेश नीतिमा क्रमिक सुधार गरिरहेको दावी गर्दै आएको छ । तपाईंलाई त्यस्तो लाग्दैन ?

– म अन्तर्राष्ट्रिय सम्बन्धको विद्यार्थीको नाताले भन्छु, नेपालको आजको दिनमा कुनै पनि छिमेकीसँग राम्रो सम्बन्ध छैन । यसको विदेश नीति राम्रो छैन । आफ्नो इन्ट्रेस्ट नेपालले आफैं पहिचान गर्न सकिरहेको छैन । मैले बुझ्दा नेपालको ऐतिहासिक रुपमा पनि कसैसँग राम्रो सम्बन्ध थिएन । त्यो भएको भए देशले विकास गरिसक्थ्यो । अहिले के देखियो भने हामी कोल्डवारमा पनि कसैको हुन सकेनौं र कोलिनियल पावर पनि भएनौं ।

नेपालको आजको दिनमा नेपालको सम्बन्ध न भारत, न चीन, न पश्चिमा कुनैसँग राम्रो छैन सबैले शंकाको नजरमा हेर्छन् नेपाललाई । यसले के गर्ला ? युरोपमा इटाली यस्तै थियो । शंकाको नजरमा हेरिने खालको ।

विभिन्न एनजीओमार्फत यहाँ १ सय अर्ब पैसा आउँछ, त्यसको हिसावकिताव नै छैन । हामी पैसाको लागी हामी जे पनि गर्ने भइदियौं ।

गरिबलाई मतलव छैन । धनीको यहाँ राष्ट्रियता नै छैन । किनकी धनी विदेश गइहाल्छ । पीआर पाउँछ, ग्रीनकार्ड पाउँछ ।

यसमा पनि मूल कुरो राजनीतिक पद्दति र राजनीतिक दलभित्रको पारदर्शीताकै हो । जबसम्म दलहरु आर्थिक रुपमा पारदर्शी हुँदैनन्, राजनीतिक पद्दतिको विकास हुँदैन, तबसम्म देशको अवस्था यस्तै हुन्छ ।


भर्खर

0