रेमिट्यान्सः जताबाट आयो उतै फर्कने अवस्था

नौ महिनामा ६ खर्ब ५३ अर्ब रेमिट्यान्स भित्रियो

खबरहब

बुधबार, जेष्ठ २९, २०७६

Reading Time: 3 minutes

रेमिट्यान्सः जताबाट आयो उतै फर्कने अवस्था

काठमाडौं- चालू आर्थिक वर्षको नौ महिनामा ६ खर्ब ५३ अर्ब १९ करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । आर्थिक वर्ष २०७४/७५ मा रू. सात खर्ब ५५ अर्ब ६ करोड बराबरको विप्रेषण आएको थियो । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको दुई वर्षको तथ्याङ्कलाई हेर्दा विप्रेषण आप्रवाह ५.६ प्रतिशतले बढेको देखिन्छ ।

राष्ट्र बैंककाअनुसार हाल ४८ वटा विप्रेषण कम्पनीले आफ्ना प्रतिनिधिमार्फत विदेशबाट नेपालमा पैसा पठाईरहेका छन् । अघिल्लो तथ्याङ्कअनुसार विप्रेषणवापत ०७१/७२ मा रु. ६ खर्ब १७ अर्ब भित्रिएको थियो । ०७२/७३ मा ६ खर्ब ६५ अर्ब रुपियाँ र २०७३/७४मा ६ खर्ब ९५ अर्ब विप्रेषणवापत भित्रिएको तथ्याङ्मा उल्लेख छ । सरकारको आर्थिक निकायहरुले विभिन्न समयमा सार्वजनिक गरेको आर्थिक अध्ययनकाअनुसार नेपालमा वर्षेनी विप्रेषणको दर बढ्दै गएको देखाएको छ । आवं. २०५७/५८ मा ४७ अर्ब ५६ रुपैयाँ विप्रेषण प्राप्त भएकोमा त्यसमा निरन्तर वृद्धि हुँदै यो अवस्थासम्म आइपुगेको हो ।

केहि समय अघिमात्र राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन-प्रतिवेदनअनुसार विप्रेषणको आयमध्ये ठूलो परिमाणको रकम दैनिक प्रयोजन तथा ऋण तिर्नका लागि खर्च हुने गरेको छ । विप्रेषण आयको २५.३ प्रतिशत अंश ऋण तिर्नका लागि प्रयोग हुने गरेको पाइएको छ भने २३.९ प्रतिशत खाद्यान्न तथा लत्ता-कपडा लगायतका दैनिक उपभोग्य वस्तुमा खर्च हुने गरेको प्रतिवेदनले देखाएको छ । ९.७ प्रतिशत शिक्षा तथा स्वास्थ्यमा, ३.५ प्रतिशत विवाह-व्रतबन्धलगायतका कार्यमा र ३.० प्रतिशत घरायसी सम्पत्तिको खरिदमा प्रयोग भएको छ ।

अध्ययनअनुसार विप्रेषण रकमको २८.० प्रतिशत भने बचत र १.१ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी भएको देखिएको छ । उत्पादनमूलक क्षेत्रमा रकम खर्च नहुँदा विदेशमा कमाएको रकम जताबाट आयो उतै जाने अवस्था देखिएको छ । वैदेशिक रोजगारीमा गएका कामदारमध्ये ९०.९ प्रतिशतले बैंक तथा वित्तीय संस्थाबाट विप्रेषण पठाउने गरेका छन् । ५.९ प्रतिशतले हुण्डीमार्फत र एक प्रतिशतले साथीभाइ, आफन्त तथा परिवारमार्फत विप्रेषण पठाउने गरेका छन् ।

त्यस्तै विप्रेषणबाट प्राप्तभएको रकममध्ये १८.८ प्रतिशतको घरखर्चको स्रोत विप्रेषण आयमात्र रहेको छ । ८१.२ प्रतिशतले भने घरायसी खर्चका लागि विप्रेषण आयको अतिरिक्त अन्य स्रोतसमेत उपयोग गरेको पाइएको छ । विप्रेषणबाट प्राप्त रकमबाट ४८.८ प्रतिशतले घरजग्गा खरिद गर्नु मुख्य उद्देश्य राखेको पाइएको छ । ३६.६ प्रतिशतको उद्देश्य घरको स्तरउन्नती गर्नु देखिएको छ । यस्तै ३४.३ प्रतिशतले बालबालिकाको शिक्षा तथा स्वास्थ्यमा खर्च गरेको पाईन्छ ।

अध्ययनअनुसार १५ प्रतिशतले ऋण लगानी गरेका छन् भने व्यापार व्यवसाय सञ्चालन गर्नेहरु ८.४ प्रतिशत रहेका छन् । वैदेशिक रोजगारीमा गएका कामदारले वार्षिक औसतमा छ पटक विप्रेषण पठाउने गरेको देखिएको छ । उनीहरुले वार्षिक औसत रु पाँच लाख ३२ हजार रकम घरपरिवारमा पठाउने गरेको अध्ययनले देखाएको छ ।

भर्खर

0