शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण, एउटा डाक्टरको दशक लामो प्रयासको प्रतिफल | Khabarhub Khabarhub

शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण, एउटा डाक्टरको दशक लामो प्रयासको प्रतिफल


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेठ १७ गते बिहान ८ बजे । महाराजगञ्जको त्रिवि शिक्षण (टिचिङ) अस्पतालको अपरेशन कक्षमा बाबु र छोरी गरी एकैपटक दुईजना बिरामीलाई लगियो ।

देशकै प्रमुखमध्येको १ शिक्षण अस्पतालमा अपरेशन हुन सामान्य नै हो । यद्यपि जेठ १७ गतेको दिन शिक्षण अस्पतालका चिकित्सकदेखि कर्मचारीका लागि विशेष थियो । अर्थात् शिक्षण अस्पतालमा पहिलोपटक कुनै बिरामीको कलेजो प्रत्यारोपण हुँदै थियो ।

कलेजो प्रत्यारोपणका लागि टिचिङ अस्पतालमा झण्डै ५० जना डाक्टर तथा नर्सहरु तयारी अवस्थामा थिए ।
शिक्षण अस्पतालका धेरै चिकित्सकले कोर्ष अध्ययन गर्दा सिकेको कुरालाई पहिलोपटक व्यवहारमा उतार्दै थिए । धेरै चिकित्सक र नर्सहरु उत्साहित पनि थिए ।

तर, टिमको नेतृत्व गरिरहेका सर्जन डाक्टर रमेशसिंह भण्डारीको मनमा भने उत्साहसँगै डर पनि थियो ।

‘टिचिङमा पहिलोपटक कलेजो प्रत्यारोपण हुँदा धेरै साथीहरुमा उत्साह थियो, म पनि उत्साहित थिए । तर समग्र टिमकै नेतृत्व गरिरहेको हुँदा उत्साह भन्दा धेरै डर पनि थियो,’ डा भण्डारीले शिक्षण अस्पतालमा कलोजो प्रत्यारोपण गर्दाको अनुभव साँट्दै खबरहबसँग भने, ‘पहिलो पटकको प्रत्यारोपण राम्रो भएन भने यति ठूलो योजना असफल हुन्छ, कलेजो दिने स्वस्थ्य व्यक्ति र बिरामीको विश्वासलाई जोगाउनु पर्ने अवस्था थियो ।’

झण्डै १६ घण्टा लामो शल्यक्रिया पछि राती १२ बजे कलेजो प्रत्यारोपणको काम सकियो । शल्यक्रिया सक्काएर बिरामीलाई आइसियुमा सारेपछि भने डा भण्डारीको मन शान्त भयो । काठमाडौंका एक ५७ वर्षीया बाबुलाई ३३ वर्षीया छोरीले आफ्नो कलेजोको टुक्रा दिएकी थिइन् ।

कलेजको प्रत्यारोपण गरेका ५८ वर्षीया ती बिरामीलाई १० दिन आइसियुमा राखेपछि अहिले नर्मल शय्यामा सारिएको छ । बाबुलाई कलेजो दिएकी ३३ वर्षीया छोरीलाई बुधबार डिस्चार्ज गरिएको अस्पतालको भनाइ छ ।

डाक्टर भण्डारीको नेतृत्वमा टिचिङमा कलेजो प्रत्यारोपण सेवामा भएको पहिलो प्रयास सफल भएको छ । डा भण्डारीकै लामो समयको लगाव, मेहनत र अध्ययनबाट टिचिङ अस्पतालमा कलेजो प्रत्यारोपण सेवा शुरु भएको हो ।

डा भण्डारीको त्यो सपना, यसरी भयो पूरा

त्रिवि शिक्षण अस्पतालमा सर्जनको रुपमा काम गर्दै गर्दा डा रमेशसिंह भण्डारीले लिभर प्याङ्क्रियाज सर्जरीमा फेलोसिप गर्ने धोको थियो । उनले सन् २००९ मा अस्ट्रेलियाको रोयल अस्लेज कलेज अफ सजर्नमा छात्रवृत्तिका लागि आवेदन फारम भरे ।

फर्ममा तपाईलाई किन छात्रवृत्ति दिने भनेर सोधिएको थियो । ‘यो तालिमा लिएर म नेपालमा कलेज प्रत्यारोपण सेवा शुरु गर्न चाहन्छु,’ उनले छात्रवृत्तिको आवेदनका लागि भर्नुपर्ने फारममा सोधिएको प्रश्नको जवाफमा लेखेका थिए ।

त्यसो त लिभर प्याङ्क्रियाज सजर्न अध्ययन गर्ने चिकित्सकका लागि ठूलो योजना भनेको कलेजो प्रत्यारोपण सेवा दिने नै हो ।

डा भण्डारीले उक्त कलेजमा अध्ययन गर्न छात्रावृत्ति पाए । उनले सन् २०१० देखि २०११ सम्म कलेजको प्रत्यारोपणको विषयमा अध्ययन गर्न र कलेजो प्रत्यारोपण गरेको हेर्ने अवसर पाए ।

सन् २०११ मा नेपाल फर्किएपछि डा भण्डारीले नेपालमा कलेजको प्रत्यारोपण गर्नुपर्ने बिरामी, टिचिङ अस्पतालको क्षमता लगायतका विषयमा ३ वर्षसम्म अनुसन्धान गरे ।

‘टिचिङ अस्पतालमा कलेजो प्रत्यारोपण सम्भव छ ?’ उनी बारम्बार आफैसँग प्रश्न गरिरहन्थे ।

‘यो धेरै जटिल छ, तर सम्भव छ,’ उनको मनले आफैंलाई सम्झाइरहन्थ्यो । अस्पतालमा आउने कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामीको अध्ययन र अस्पतालको क्षमता हेरेर डा भण्डारीले टिचिङमै कलेजको प्रत्यारोपण शुरु गर्ने निर्णयमा पुगे ।

‘कलेजो प्रत्यारोपण सेवा शुरु गर्न लागि पर्छु, सफल भयो भने राम्रो हुन्छ, यदि भएन र मैले ६० प्रतिशत मात्रै सम्भव गराए भने पनि पछि आउने पुस्ताले बाँकी प्रयास गर्छ भनेर सोचे,’ डा भण्डारीले खबरहबसँग भने, ‘मैले टिचिङमा कलेजो प्रत्यारोपण सेवा शुरु गर्ने अठोट नै लिएँ ।’

उनले अस्ट्रेलियाका कलेजो प्रत्यारोपण विशेषज्ञहरुसँग सम्पर्क गरे र आफूले टिचिङ अस्पतालमा कलेजो प्रत्यारोपण सेवा शुरु गर्ने भन्दै सहयोगका लागि आग्रह गरे । डा भण्डारी सन् २०१४ मा कलेजो प्रत्यारोपण सिक्नलाई फेरी अस्ट्रेलिया गए ।

त्यहाँ गएपछि डा भण्डारीलाई कलेजको प्रत्यारोपणको लागि ठूलो संख्यामा चिकित्सकको टिम तयार गर्नुपर्ने विषयमा थप कुरा सिके ।

टिचिङ अस्पतालमा कलेजो प्रत्यारोपणका लागि चिकित्सकको टिम बनाउन नै डा भण्डारीलाई ४ वर्ष लाग्यो ।

कलेजो प्रत्यारोपणका लागि तयार भएका चिकित्सकको टोलीले विदेशमा विशेष तालिम पनि लिए । त्यपछि डा भण्डारीको टिम अस्पतालमा प्रत्यारोपणको लागि चाहिने भौतिक पूर्वाधार र प्रविधि जुटाउनतर्फ लागे ।

डा भण्डारीको टिमले तत्कालीन स्वास्थ्य मन्त्री गगन थापालाई कलेजो प्रत्यारोपणको लागि आर्थिक सहयोग गर्न प्रस्ताव पेश ग¥यो । तत्कालीन मन्त्री थापाले पनि डा भण्डारीको टिमलाई हौसला दिँदै सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

पछि सरकाले टिचिङ अस्पतालमा कलेजो प्रत्यारोपणका लागि भौतिक पूवार्धार निर्माण तथा उपकरण खरिदका लागि २० करोड उपलब्ध गरायो ।

सरकारले सहयोग उपलब्ध गराएपछि डा भण्डारीको टिमले कलेजको प्रत्यारोपणका लागि आईसीयू, एनेस्थेसिया, सर्जरी लगायतका कक्ष निर्माण तथा उपकरण जडानको काम गरे । टिचिङ अस्पतालले गत पुसमा कलेजो प्रत्यारोपणका लागि अनुमति पायो ।

टिचिङ अस्पतालले कजेको प्रत्यारोपणका लागि अनुमति पाएसँगै काठमाडौंका एक व्यक्ति कलेजको प्रत्यारोपणका लागि अस्पताल आए ।

एक महिनासम्म तयारी गरेपछिगत जेठ १७ गते छोरीको कलेजो बाबुमा प्रत्यारोपण गरियो ।

प्रत्यारोपणका लागि नाम टिपाउन थाले

टिचिङ अस्पतालमा सातामा करिब २० देखि २५ जना कलेजोसम्बन्धी समस्या भएका बिरामीहरु आउँछन् । तीमध्ये धेरैको कलेजो विग्रिएकाले प्रत्यारोपण गर्नुपर्ने अवस्था छ । जेठ १७ गते पहिलो पटक कलेजो प्रत्यारोपण सेवा शुरु भएसँगै अन्य बिरामीहरुले समेत प्रत्यारोपणका लागि नाम टिपाउन थालेका छन् ।

अस्पतालले केही समयमा नै अन्य बिरामीको प्रत्यारोपण गर्ने डा भण्डारीले बताए ।

‘प्रत्यारोपणका लागि बिरामीहरु नाम टिपाउन आउन थाल्नुभएको छ, पहिलो पटक प्रत्यारोपण भएको बिरामीको अवस्था कस्तो हुन्छ उहाँको डिस्चार्ज भएपछि अर्को प्रत्यारोपण गछौं,’ डा भण्डारीले भने, ‘अंग प्रत्यारोपण संवेदनशील विषय भएकाले शुरुमा विस्तारै र दिगो हुनेगरी गर्छौं ।’

मिर्गौला प्रत्यारोपण जस्तै सहज बनाउने योजना

टिचिङ अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण गर्न भारतका कलेजो प्रत्यारोपण विशेषज्ञ चिकित्सकहरु ल्याइएको छ । अस्पतालको पहिलो प्रयास भएकाले १० देखि १२ जना सम्मको प्रत्यारोपण सफल भएपछि भने अस्पतालमै रहेका जनशक्तीले प्रत्यारोपण सेवा दिने योजना रहेको डा भण्डारीले बताए ।

‘शुरुमा सेवा संचालन गर्दा अनुभव भएका चिकित्सकको सहयोग चाहिन्छ, त्यसैले नै हामीले भारतका ८ जना वरिष्ठ चिकित्सकसँग सहयोग लियौं, अस्पतालमा १० देखि १२ वटा प्रत्यारोपण हुँदासम्म उहाँहरुसँग सहयोग लिन्छौं,’ डा भण्डारीले भने, ‘त्यसपछि भने अस्पतालमै रहेका चिकित्सक र जनशक्तीले नै प्रत्यारोपणको काम गर्छ ।’

टिचिङ अस्पतालमा कलेजो प्रत्यारोपण सेवालाई हाल नेपालमा भइरहेको मिर्गौला प्रत्यारोपण सेवा जत्तिकै सुलभ र सहज बनाइने डा भण्डारीले बताए ।

‘नेपालमा कलेजो प्रत्यारोपण सेवा नपाउँदा धेरै बिरामीहरु विदेशमा गएर प्रत्यारोपण गराइरहेका छन्,’ उनले भने, ‘कलेजो प्रत्यारोपणलाई मिर्गौला प्रत्यारोपण सेवा जस्तै सहज बनाउछौं, नेपालका बिरामीलाई हाम्रै अस्पतालमा प्रत्यारोपणको सेवा दिने योजना छ ।’

टिचिङ अस्पतालमा कलेजो प्रत्यारोपणका लागि ४ वटा आईसीयू वार्ड तयार गरिएको छ । अस्पतालमा एक महिनामा २ जनालाई प्रत्यारोपण सेवा दिन सक्ने क्षमता रहेको डा भण्डारीले बताए ।

कलेजो प्रत्यारोपण गर्दा चर्को शुक्ल लाग्ने भएकाले सबै बिरामीले यस्तो सुविधा प्राप्त गर्न सक्ने अवस्था छैन । डा. भण्डारी गरिब तथा न्यून आर्थिक अवस्था भएका बिरामीले कलेजो प्रत्यारोपण गर्दा सरकारले आर्थिक सहुलियत दिनुपर्ने बताउँछन् ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ५ : ५९ बजे

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन

ललितपुर – सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवन बन्दै

काठमाडौं– दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको भवन