कहाँ पुग्यो बाग्मती करिडोरको काम ?

मुआब्जा विवादले रोकियो ब्युटिफिकेसन

सविना कार्की

बुधबार, जेष्ठ २९, २०७६

Reading Time: 7 minutes

कहाँ पुग्यो बाग्मती करिडोरको काम ?

काठमाडौं-उपत्यकाका नदीलाई सुरक्षित र सुन्दर बनाउने उद्देश्यले २०६५ सालदेखि बाग्मती करिडोर निर्माण कार्य शुरु भएको थियो ।

निर्माण कार्य थालनी भएको दश वर्ष बितिसक्दा पनि करिडोर निर्माण अझै सम्पन्न हुन सकेको छैन । तत्कालिन समयमा ५ वर्षको समयवाधिमा निर्माण सम्पन्न गर्ने भनिए पनि कामले गति लिन नसक्दा समयवाधी थपिदैँ गइरहेको छ ।

करिडोर निर्माण अन्तर्गत वाग्मती नदीलाई ढलमुक्त बनाउने, किनारको फोहोरमैला व्यवस्थापन गर्ने, अव्यवस्थित वस्तीलाई व्यवस्थित गर्ने, नदीमा पानीको बहाव बढाउने र नदी वरीपरी हरियाली पार्क बनाउने कार्य भइरहेको छ । करिडोर निर्माणको कार्य ३ चरणमा भइरहेको बाग्मती सुधार आयोजनाले जनाएको छ ।

बाग्मती करिडोर निर्माणको काम बाग्मती सुधार आयोजना र अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिमार्फत भइरहेको हो ।

पहिलो चरण अन्तर्गत सुन्दरीजल-गोकर्ण ८ किलोमिटर, दास्रो चरणमा गोकर्ण-पशुपति ३ किलोमिटर र तेस्रो चरणअन्तर्गत तिलगंगा-बल्खु १४ किलोमिटर रहेको छ । करिडोरको पहिलो र दोस्रो चरणको काम सम्पन्न भइसकेको छ भने तेस्रो चरण अर्थात तिलगंगा-बल्खु खण्डको काम भइरहेको छ । समितिका अनुसार हालसम्म ८ अर्ब रुपैयाँ सकिएको छ । साथै ५ वर्षको समयावधिमा सम्पूर्ण काम सक्ने लक्ष्य समितिको रहेको छ ।

कहाँ के सम्पन्न भयो ?

सुन्दरीजल गोकर्ण नदी तटबन्ध, चेक ड्याम, ४ वटा पुल निर्माण, विकेन्द्रित प्रशोधनसहितको सार्वजनिक शौचालय एक, ट्रेल वृज ६ वटा, ह्यूम पाइप वृज २ वटा, सिचाइ कुलो सुधार तथा निर्माण ३ वटा सम्पन्न भइसकेको छ । सुन्दरीजल, ढकालघाट, उत्तर वाहिनी मन्दिर क्षेत्र र गोकर्णेश्वर मन्दिर क्षेत्रमा ५ वटाघाट निर्माण कार्य आर्थिक वर्ष ०७५/७६ मा सम्पन्न गर्ने लक्ष्य छ ।

गोकर्ण-गुह्येश्वरी खण्डमा ढल निर्माण, सडक, नदी नियन्त्रण कार्य सम्पन्न भइसकेको छ । गोकर्णदेखि पशुपति खण्डको बाग्मती नदीको दायाँ किनारको ५ सय ३७ हेक्टर जमिनभित्र मुख्य र शाखा लाइन करिब १७ किलोमिटर ढल निर्माण गरिएको आयोजनाका उप-प्रमुख योगेन्द्र चित्राकारले बताए ।

‘ढल नदीमा सिधै मिसिन नदिन गुह्येश्वरी मन्दिर उत्तर फाँटमा एक सय रोपनी जग्गामा प्रशोधन प्रविधि निर्माण भइरहेको छ’ उनले भने ।

त्यसैगरी तिलगंगा-सिनामंगल, सिनामंगल-कोटेश्वर महादेवस्थान, कोटेश्वर महादेवस्थान-शंखमुल खण्ड, शंखमुल-थापाथली, थापाथली-विष्णुमती दोभान, विष्णुमती दोभान-सुन्दरीघाटसम्म ढल विछ्याउने, सडक निर्माण, नदी तटस्थ गर्ने काम सम्पन्न भइसकेको छ ।

पाँच महिनादेखि काम ठप्प

मुआब्जाका कारण बाग्मती करिडोरको काम बन्द भएको छ । बाग्मती करिडोरको दोस्रो खण्डअन्तर्गत पर्ने गोकर्ण-गुह्वेश्वरी खण्डको काम ठप्प भएको हो । खासगरी यो क्षेत्रमा ब्युटिफिकेसन (सौन्दर्यीकरण) को काम हुन सकेको छैन ।

बाग्मती नदी बिस्तारको क्रममा जग्गा अधिग्रहणमा समेटिएका पीडितहरुले नदीको बहाव क्षेत्रमा परेको जग्गा वापतको मुआब्जा नपाएको गुनासो गरेका छन् । स्थानीयले केही समयअघि मुआब्जा माग गर्दै आन्दोलन समेत गरेका थिए ।

बाग्मती किनारको गोकर्ण ब्यारेजदेखि गुह्येश्वरीसम्म करिब १८८ रोपनी जग्गा २०५२ देखि २०५७ सालसम्म बाग्मती सभ्यता कायम गर्न व्यक्तिबाट लिएको देखिन्छ ।

उक्त समस्या जटिल बन्दै गएको छ । मुआब्जा माग गर्दै स्थानीयले आयोजनाको कार्यालय घेराउ गर्ने, बन्द गर्ने जस्ता कार्य पटक-पटक गर्दै आएका छन् । साथै मुआब्जा नपाएसम्म उनीहरुले बाग्मती नदीमा काम गर्न नदिने अडान लिँदै आएका छन् । स्थानीयको अवरोधकै कारण २८ पौष ०७५ बाट आयोजनाको सम्पूर्ण कार्य बन्द गरिएको समितिले जनाएको छ ।

आयोजनाका प्रमुख आशिष घिमिरेले गोकर्ण-गुह्येश्वरी खण्डको बाग्मती नदीको बहाव क्षेत्र विस्तारको क्रममा नदी तटबन्धभित्र परेका १८८ रोपनी क्षेत्रफलको व्यक्ति विशेषका कित्ताहरुको क्षतिपूर्ति सम्बन्धमा ‘क, ख र ग’ गरी टिप्पणी दिएको बताए ।

‘क’ वर्गमा पर्ने जग्गाधनी अर्थात् मोहीहरुको सम्पूर्ण जग्गा बाग्मती नदीको तटबन्धभित्र परेका कारण यो वर्गका जग्गाधनीलाई मर्का पर्न गएको र सो क्षतिको मात्रालाई मापदण्ड र मर्कालाई औचित्यको आधारमा दृष्टिगत गरी ‘क’‘ख’‘ग’ बर्गिकरण गरिएको थियो ।’ उनले भने, ‘क्रमश मुआब्जा निर्धारण गरी नियमानुसार मुआब्जाका लागि सरकार समक्ष सिफारिस पत्र पठाएको थिएँ ।’

कुनै पनि कार्य शुरु गर्नु पूर्व योजनाबद्ध तवरबाट जग्गा अधिग्रहणको प्रक्रियामार्फत व्यक्तिको जग्गा राज्यले लिँदा अनिवार्य रुपमा पालना गर्नुपर्ने कार्यविधि पूरा नगरिएको उनले बताए ।

घिमिरेले भने ‘अब के गर्ने भन्ने सम्बन्धमा कानुनी स्पष्टता नहुँदा यसबारे सरकारले स्पष्ट रुपमा नीतिगत निर्णय गरी क्षतिपूर्ति दिने प्रक्रिया अघि बढाउनुपर्छ ।’

नेपालमा जग्गा प्राप्ती ऐन, २०३४ प्रचलनमा रहेको छ । उक्त ऐनको दफा ३ मा भनिएको छ, ‘जग्गा प्राप्त गर्दा मुआब्जा दिनैपर्छ ।’

गोर्कणदेखि सिनामंगल खण्डमा बाग्मतीको दुवै किनारामा नदी सुन्दरताको काम अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिमार्फत गर्ने भनिएको छ ।

त्यसैअनुसार काम अगाडि बढाउँदै गर्दा समितिले २०५९ सालमा बाग्मतीको बहाव २० मिटरभन्दा माथि भएको स्थानमा ३५ देखि ४० मिटर रहने व्यवस्था कायम गरेको आयोजनाका उप-प्रमुख चित्राकारले जानकारी दिए ।

बाग्मतीको बहाव चौडा गर्ने क्रममा कति स्थानमा व्यक्तिगत जग्गाहरु खोलामा मिसिन गएको चित्राकार स्वीकार्छन् । तर तत्कालीन अवस्थामा राजनीतिक परिस्थतीले गर्दा बोल्न सक्ने अवस्था थिएन । त्यसकारण ति समस्यालाई वास्तविक मुआब्जाका रुपमा समितिले नलिएको उनले बताए ।

‘बिस्तारै त्यही समस्या लम्बिदैँ गयो, अहिले काम नै बन्द भएको छ’ खबरहबसँगको कुराकानीमा उनले भने ।

समितिले विस्तृत अध्ययन गरेर पाँच महिनाअघि नै मन्त्रालयमा पत्र पठाइसकेको बताउँदै चित्रकार भन्छन्, ‘संविधानले नै निजी सम्पत्तिलाई सुनिश्चितता दिएको आधारमा त्यो बेला जग्गाधनीको पैतृक सम्पत्ति खोलामा परेको र त्यसलाई उचित मूल्यांकन गरेर मुआब्जा दिनुपर्‍यो भनेर माग राखेका थियौँ’।

‘मुआब्जाको विषय मन्त्रालयमा प्रक्रियामै छ’ उनले भने ‘स्थानीयले भने काम अघि बढाउन दिदैनौँ भनिरहेका छन् ।’ ‘

समितिकाअनुसार अहिले गोर्कण-गुह्येश्वरी खण्डमा काम ठप्प भएसँगै कामदारहरु काम छोडेर हिडेका छन् ।

बाग्मती सुधार आयोजनाअन्तर्गत अबको योजना

आर्थिक वर्ष २०७६/७७ सम्ममा सक्ने गरी धाप क्षेत्रमा वर्षातको पानी संकलन गरी बाग्मती नदीमा ४० लिटर प्रतिसेकेण्ड पानीको बहाव छोड्ने उद्देश्यले २४ मिटर उचाइको बाँध निर्माण कार्य हुने भएको छ ।

गुह्येश्वरीभन्दा माथिल्लो बाग्मती नदीको क्षेत्रमा पर्ने २५ सय घरधुरीमा वर्षातको पानी संकलन प्रविधि जडान गरी भूमिगत पानी पुनर्भरण गर्ने र बाग्मतीमा पानीको बहाव बढाउने आयोजनाको लक्ष्य छ ।

बाग्मती नदीको विभिन्न खण्डहरुमा सार्वजनिक प्रयोजन तथा विशेष परिस्थितीमा नदीमा पानीको बहाव बढाउन ८ वटा डिप बोरिङ गर्ने कार्य चालु आर्थिक वर्षमा सम्पन्न हुने छ ।

बाग्मती ब्युटिफिकेसन

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले बाग्मती नदीको गोकर्ण (सिनामंगल खण्डमा पार्क, पैदल मार्ग, साइकल मार्ग, किरियापुत्री घरहरु, सार्वजनिक शौचालय, ११ वटा मौलिक घाट तथा बाँधहरु आगामी आर्थिक वर्षमा सक्ने लक्ष्य राखेको छ ।

अहिले सुन्दरीजलदेखि बल्खुसम्म २४ वटा हरियाली पार्क निर्माण भइसकेको चित्राकारले बताए । ‘बैंक, विद्यालय, धार्मिक संघसंस्थालगायतले पार्क निर्माण गरिरहेका छन्’ उनले भने ।

बाग्मती सुधार आयोजना अन्तर्गत बाग्मती नदीको उत्तरगंगा, गोकर्ण तथा थापाथली-बल्खु खण्डमा पार्क, पैदल मार्ग निर्माण कार्य चालु आर्थिक वर्षबाट शुरु हुनेछ ।

थापाथली-टेकु खण्डको भूकम्पले भत्किएका २६ विभिन्न ऐतिहासिक मठ मन्दिर तथा सत्तलको निर्माण कार्य यसै आर्थिक वर्षबाट शुरु हुने छ ।

सिनामंगलदेखि थापाथलीसम्मको बाग्मतीको दुवै किनारामा ४ सय ४० थान सौर्य बत्ती जडान कार्य पनि यस आर्थिक वर्षमा सम्पन्न हुनेछ ।

आर्थिक वर्ष २०७६/७७ मा गुह्येश्वरीमा रहेको पुरातात्विक सत्तललाई जिर्णोद्वार गरी संग्रहालयको रुपमा परिमार्जन गर्ने र बाग्मती सभ्यताको अध्ययन केन्द्र बनाउन निर्माण खरिद प्रक्रियामा जाने आयोजनाले जनाएको छ ।

भर्खर

0