सरकारका दुई कदम : सीके प्रकरण सेलाउन नपाउँदै विप्लवमा 'इन्ट्री' ! | Khabarhub Khabarhub

सरकारका दुई कदम : सीके प्रकरण सेलाउन नपाउँदै विप्लवमा ‘इन्ट्री’ !



काठमाडौं–  एक साता नवित्दै सरकारका पछिल्ला दुई महत्वपूर्ण कदमले नेपाली राजनीतिक वृत्त तरंगित बनेको छ ।

गत शुक्रबार विखण्डनवादी चरित्र त्यागेर मुलधारको राजनीतिमा ल्याउन सीके राउतसँग गरेको ११ बुँदे सहमति विवादित बनिरहेका बेला सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने निर्णयले थप नेपालको राजनीति तरंगित भएको हो ।

सीके राउतसँग देश विखण्डनका लागि जनमत संग्रह गर्ने गरि सम्झौता गरेको भन्दै आफ्नो पार्टी नेकपाबाटै आरोप खेपिरहेको सरकारले अर्को कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको हो ।

विखण्डनवादी शक्तिसँग सम्झौता गरेको सरकारले विप्लव नेतृत्वको नेकपासँग पनि वार्ता र छलफलबाटै समस्या समाधान गर्ने आकलन गरिएको थियो । तर सरकारले शुक्रबार आश्चर्यजनक रुपमा सीके राउतसँग सहमति गरेको थियो भने मंगलबार पनि अप्रत्याशित रुपमा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विप्लवले माओवादी जनयुद्ध सञ्चालन गर्दा १० वर्ष भन्दा लामो समय सहकार्य गरेका थिए ।

उनकै दलले सत्ताको बागडोर सम्हालिरहेको बेला विप्लव नेतृत्वको नेकपामाथि लागेको प्रतिबन्धलाई थप चासोका साथ हेरिएको छ ।

आगामी दिनमा यसले कस्तो प्रभाव पार्ला ? त्यो त समयले नै देखाउने छ तर अहिले पूर्व माओवादी नेताहरुले भने सरकारको कडा आलोचना गरेका छन् ।

सरकारको निर्णयसँगै सत्तारुढ दल बाहेकका वाम पार्टीहरुका नेताहरुले यस्तो प्रतिक्रिया दिएका छन्–

‘प्रतिबन्धको सशक्त प्रतिकार गर्छौं’

विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर सरकारले फाँसीवादी चरित्र देखाएको नेकपाले प्रतिक्रिया दिएको छ ।

सरकारको निर्णय सार्वजनिक भएसँगै विप्लव नेतृत्वको नेकपाका स्थायी समितिका एक जना सदस्यले नाम नबताउने सर्तमा खबरहवसँग भने,‘सरकारले फासीवादी चरित्र देखाएको छ, यसमा हामी आश्चर्यमा परेका छैनौं ।’

उनले गत माघ महिनामा बसेको पार्टीको केन्द्रीय समितिले केपी ओली नेतृत्वको सरकार फासीवादी सरकार भएको र यसले आफ्नो चरित्र देखाउने विषयमा छलफल भएको बताए । उनले सरकारको यो प्रतिबन्धको सशक्त प्रतिकार गर्ने बताए ।

‘यसको सशक्त प्रतिरोध हुन्छ, यसअघि सार्वजनिक भएका आन्दोलनका कार्यक्रमहरु यथावत रहन्छन्’ उनले भने,‘पार्टीमा छलफल गरेर नयाँ धारणा सार्वजनिक हुन्छ र नयाँ कार्यक्रम पनि चाँडै घोषणा हुन्छ ।’ सरकारको निर्णयले विप्लव नेतृत्वको नेकपालाई कुनै घाटा नपुग्ने उनले दावी गरे ।

उनले भने,‘सरकारको यो निर्णयले हामीलाई कुनै घाटा पुग्दैन बरु सरकारकै चरित्र उदांगो भयो ।’ उनले आन्तरिक जनसरकार बनाउने काम भइरहेको र अव जनसत्ता बनाउँदै जाने बताए ।

बाबुराम भट्टराई

 संयोजक, नयाँ शक्ति पार्टी नेपाल

विप्लव नेतृत्वको नेकपामाथि सरकारले प्रतिबन्ध लगाएसँगै नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले फेसबुकमा लेखेका छन्-

मार्क्सले हेगेललाई उद्धृत गर्दै भनेका थिए : ‘इतिहास दुइ चोटि दोहोरिन्छ-पहिलो चोटि वियोगान्त (Tragedy) रूपमा र दोश्रो चोटि मजाक (Farce) रूपमा!’

नेकपा डबल सरकारले नेकपा बिप्लव समूहलाई ‘आपराधिक’ भन्दै औपचारिक रूपले प्रतिबन्धित गरेको छ र उसका विरूद्ध राज्यको सुरक्षा शक्ति प्रयोग गर्ने घोषणा गरेको छ! एउटा कम्युनिष्ट भन्ने पार्टीको सरकारले अर्को कम्युनिष्ट नै दावी गर्ने समूहलाई यसरी दमन गर्ने तयारी देख्दा विश्व इतिहासका यस्तै केही चर्चित विडम्वनापूर्ण घटनाको सम्झना गराउँछ!

आज भन्दा ठीक एक सय बर्ष पहिले सन् १९१९ मा जर्मनीको त्यति वेला Social Democratic Party of Germany (SPD) भनिने सुधारवादी कम्युनिष्ट पार्टीको सरकारले Communist Party of Germany (KPD) भनिने क्रान्तिकारी कम्युनिष्ट पार्टीमाथि दमन गरेर उनीहरूका नेताहरू रोजा लक्जेम्बर्ग, कार्ल लाइभ्नेख्त लगायतको नृसंस हत्या गरेको थियो! त्यसरीनै भारतको पश्चिम बंगालमा सन् १९६७-०७२ मा त्यहाँको सुधारवादी कम्युनिष्ट पार्टी CPM को सरकारले क्रान्तिकारी कम्युनिष्ट पार्टी CPI-MLमाथि भीषण दमन गरेर चारू मजुमदार लगायतका नेताहरूको हत्या गरेको थियो!

आखिर त्यसको परिणाम के भयो? अन्तत: दुवै धारको भिन्न भिन्न प्रकारले अवसान भयो!

के नेपालमा पनि त्यही इतिहास दोहोरिन लागेको हो ?

मोहन वैद्य
अध्यक्ष, नेकपा क्रान्तिकारी माओवादी

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर गलत गरेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आपराधिक संगठन भएको भन्दै विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउने निर्णय गरेसँगै खबरहबसँग कुरा गर्दै माओवादीका अध्यक्ष वैद्यले सरकारले फासिष्ट चरित्र देखाएको प्रतिक्रिया दिएका हुन् ।

‘नेकपामाथि प्रतिवन्ध लगाएर सरकारले गलत गरेको छ’ वैद्यले खबरहवसँग भने,‘यो सरकार फासिष्ट ढंगमा अघि बढेको छ ।’ उनले विप्लव नेकपामाथि राजनीतिक व्यवहार नगरेर सरकारले फासीवादी चरित्र देखाएको आरोप लगाए ।

गोपाल किराती
अध्यक्ष, नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिनुपर्ने बताएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि खबरहबसँग प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष किरातीले विप्लवसँग वार्ता गरेर समस्या समाधान गर्नु पर्ने बताए ।
सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिएर विप्लवलाई वार्तामा बोलाउनुपर्ने किरातीको भनाइ छ ।

‘सरकारले विप्लवको पार्टीमाथि लगाएको प्रतिबन्ध तत्काल हटाउनुपर्छ’ किरातीले भने,‘विप्लवलाई वार्तामा बोलाएर समस्या समाधान गर्नुपर्छ, अन्यथा अहिलसम्म प्राप्त उपलव्धि गुम्ने खतरा रहन्छ ।’

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  १० : ५२ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म