यसरी बनाइन्छ योमरी « Khabarhub
Logo
११ मंसिर २०७७, बिहीबार

यसरी बनाइन्छ योमरी



नेवारी समुदायले आज योमरी पुन्ही मनाइरहेका छन् । चामलको पिठोबाट बनेको परिकार योमरी हो । जसमा चाकु र खुवा भित्र हालेर अण्डाकार रुपमा डल्लो बनाइएको हुन्छ ।

नयाँ बालिका रूपमा भित्र्याइएको नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको एक किसिमको परिकार योमरी बनाएर नेवार समुदायले योमरी पुन्ही मनाउँछन् ।

अण्डाकार रूपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको मिश्रणले तयार पारिएको खुवा हालेर योमरी बनाइन्छ ।

पछिल्लो समय काठमाडौं उपत्यका योमरीको आर्कषण बढ्दै गएको छ । परम्परादेखि कृषि पेशा गर्दै आएको नेवार समुदायका ज्यापुहरु र योमरीको अन्योन्याश्रित सम्बन्ध रहँदै आएको छ ।

यो पर्वमा चामलको पीठो, चाकु, कालो तिलको योमरी बनाएर बेलुकी यस वर्ष भित्र्याएको अन्नबाली, भकारी पूजा गर्ने चलन छ । त्यस्तै, भकारी पूजा गर्दा चामलको पीठोको कुबेर, लक्ष्मी र गणेशको मूर्ति बनाएर पूजा गर्ने गरिन्छ ।

यो दिनलाई लक्ष्मीपूजाको रूपमा मनाउने गरिन्छ । यसरी पूजा गरेमा वर्षभरी अन्न अभाव नहुने जनविश्वास छ ।

जाडोमा मास र चाकुलगायतका शरीरमा ताप बढाउने सामग्रीबाट रोटी बनाएर खाने पर्वका रूपमा यो पूर्णिमा मनाउने गरिएको हो ।

के हो योमरी ?

नेवारी भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाइ हो । सबैलाई मनपर्ने भएकाले नै यसको नाम योमरी राखिएको संस्कृतिविदहरु बताउँछन् ।

योमरीलाई कुवेर र गणेशका प्रतीकका रुपमा समेत लिइन्छ । आजको दिनलाई सकिमना पुन्ही अर्थात् पिँडालु उसिन्ने पूर्णिमाका रुपमा पनि नेवार समुदायले मनाउने गर्दछन् ।

योमरी पुन्हीका दिन गृहणीले शुद्ध भएर चामलको पिठो, चाकु, तील, मासु, गुँदपाक, खुवा राखी योमरी बनाउने चलन रहेको छ ।

योमरी पुन्हीको संस्कृति

योमरी पुन्हीको दिन खानको लागि योमरी पकाउनुअघि नेवारहरु ठूलो आकारमा दुइटा योमरी बनाउँछन्। यी दुई योमरीमध्ये एउटालाई ‘मायो’ र अर्कोलाई ‘बायो’ भनिन्छ। मायोले माता र बायोले पिताको प्रतिनिधित्व गर्ने संस्कृतिविद सत्यमोहन जोशीले बताए ।

उनका अनुसार यी दुई योमरीको आकार पनि फरक–फरक हुन्छ। ‘मायो त्रिकोणाकार हुन्छ र यो पकाउँदा यसमा चाकु तथा तिल नराखी दाल (मास, मुंग आदि) राखिन्छ’, उनले भने, ‘बायो भने गोलाकार एवं लटुकार हुन्छ। यसमा चाकु र तिलको मिश्रण राखेर पकाइन्छ। खानको लागि पनि बायोजस्तै सानो आकारको योमरी बनाइन्छ।’

घरलाई आवश्यक योमरी बनाइसकेपछि त्यसलाई ढुकुटीमा लगरे पूजा गर्ने प्रचलन रहेको उनले बताए । त्यस्तै कुमार, गणेश र आफ्नो घर अगाडि रहेका अन्य देवदेवीलाई योमरी चढाएर पूजा गरिन्छ। यी सबै विधि पूरा भएपछि मात्र भगवानको प्रसादको रुपमा पुन्हीको दिन योमरी खाने गरिन्छ ।

मौसमको हिसाबले योमरी पुन्हीको अघिल्लो दिन वर्षभरिकै लामो रात हुने हुन्छ। त्यसैले योमरी बनाउँदा त्यसको चुच्चो जति तीखो बनाउन सकिन्छ त्यति नै दिन लामो भएर आउने जनकथन रहेको छ।

उनका अनुसार योमरी पुन्हीको अघिल्लो दिन मध्यरातमै उठेर नेपालभाषीहरु योमरी पकाउने काममा जुट्छन् र मध्यरातमा मंसिरमा भित्र्याएको नयाँ धानको चामल कुटेर उक्त चामलको पनि पीठो पिनेर योमरी बनाइ बिहान हुनेबित्तिकै देवीदेवीलाई चढाएपछि प्रसादका रुपमा योमरी खाने गरिन्छ।

यस्तो छ किम्बदन्ति

योमरी पूर्णिमा सम्बन्धी रमाइलो किम्बदन्ती छ । किंवदन्तीअनुसार पांचाल देश (हालको पनौती) मा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महर्जन दम्पती बस्दथे ।

भगवान् विष्णुका परमभक्त उनीहरुको दयालु स्वभावको जाँच गर्न एक दिन धनपति कुवेर गरिब ब्राह्मणको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राह्मणरुपी कुवेरलाई श्रद्धापूर्वक आफूले तयार पारी राखेको योमरी खुवाइन् ।

उनको सत्कारदेखि प्रसन्न भई कुवेरले आफ्नो असली रुप देखाई योमरीको गुण र धानको भकारीमा श्री गणेश, कुवेर, लक्ष्मीको पूजा गरी योमरी चढाउने विधि बताएर गए ।

सोही अनुसार सुचन्द्र दम्पतीले योमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादका रुपमा बाँडेर खाएकाले उनीहरुको धनसम्पत्ति वृद्धि भयो र योमरी खाएका कारण पनि निकै राम्रो हुँदै गयो । सोही समयदेखि योमरी मनाउन थालिएको बताइन्छ ।

किन खाइन्छ योमरी ?

काठमाडौं उपत्यकामा दसैंतिहारपछि विस्तारै जाडो बढ्न सुरु हुन्छ। पुस लाग्दै आउँदा जाडोको मात्रा पनि बढ्दै जान्छ।

सकिमना पुन्हीमा पिडालु र भुटेको गेडागुडी खाएर शरीरलाई चाहिने ऊर्जा र ताप लिएका नेवारहरु पुसमा बढ्ने जाडोबाट बच्न तथा शरीरलाई आवश्यक पर्ने ताप र ऊर्जा प्राप्त गर्न योमरी खान्छन्।

‘चिसो समयमा चाकु र तिलजस्तो गर्मी हुने खानेकुरा तात्तातो रोटीमा राखेर खाने चलन कुनै पनि किसिमले चाड वा संस्कृतिमात्र मान्न नसकिने संस्कृतिविद सत्यमोहन जोशीले बताए ।

कसरी पकाउने योमरी ?

योमरी बनाउन चामललाई पिठोमा परिणत गरिन्छ । चामलको पिठोमा शुद्ध घिउ हालेर तातो पानीले मुछिन्छ ।

पीठो मस्केर मुछिनुपर्छ । मुछिएको पिठोलाई आफू अनुकुल आकार दिनुपर्छ। पिठोलाई आकार दिँदा योमरीको रूप बन्छ।

योमरी बनाउने काम सिपालु काम हो । सीपविना योमरी बन्दैन। जुन आकारको योमरी तयार गर्नुछ, उत्रै डल्लो पिठो हात पार्नुपर्छ।

पिठोको डल्लोलाई चोर औंलाले छेड्नुपर्छ। औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ। पातलो डल्लो झन्डै शंखाकारमा परिणत हुन्छ ।

बीचमा झन्डै वाइन ग्लासको जस्तै खोक्रो ठाउँ बन्न पुग्छ।  उक्त खाली ठाउँमा तिलका पिठो र लेदो चाकुको मिश्रण हालिन्छ। अबल मुख बन्द गरेर मः मः पकाए झै वास्फिकरण गरेर पकाउनुपर्छ ।


भर्खर

0