ढुंङ्गेधारा संरक्षणमा सरकारी उदासिनता, १४ औं शताब्दीमा बनेको तीनधारा बन्यो ‘डम्पिङ साइट’ | Khabarhub Khabarhub
Logo
२९ मंसिर २०७६, आइतबार

ढुंङ्गेधारा संरक्षणमा सरकारी उदासिनता, १४ औं शताब्दीमा बनेको तीनधारा बन्यो ‘डम्पिङ साइट’



काठमाडौं– घरअगाडि नै रहेको ढुंगेधारामा पानी थापेर आनन्दले नुहाएको अस्ति जस्तै लाग्छ दरबारमार्गका फलप्रसाद तिमल्सिनालाई । तर ती दिनहरु अहिले कथा जस्तै भएको छ ।

दरबारमार्गको महेन्द्र शालिकबाट ओरालोतर्फ बानेश्वर र राम मन्दिर रहेका छन् । मन्दिर परिसरभित्र छन् तीन वटा ढुंगेधारा । जसलाई सोह्रा हिटी ‘तीनधारा’ नामले चिनिन्छ । यही तीनधाराको नाममा तीनधारा पाठशालाको स्थापना समेत गरिएको थियो ।

वि.स. २०६० सालसम्म यी तीनवटै धारामा पानी आउने गथ्र्यो । त्यो समयमा दरबारमार्गका स्थानीयले सोह्राा हिटीकै पानी प्रयोग गर्ने गर्दथे । स्थानीयले मात्र होइन पानी पिउनकै लागि बाटो हिड्ने बटुवा पनि प्रवेश गर्थे सोह्रा हिटीमा ।

‘धाराको पानीको स्वाद नै फरक त्यसमाथि ढुंगेधाराको’ तिमल्सिनाले खबरहबसँग कुरा गर्दै भने ‘हामी त प्यास लाग्दा धारोमै गएर कलकल पिउने गथ्र्यौ’ ।

उनी विगत ३० वर्षदेखि दरबारमार्गस्थित बानेश्वर मन्दिर परिसरमा बस्दै आइरहेका छन् । धादिङका तिमल्सिना पण्डित हुन् । उनी भजन किर्तन गाउँदै बस्न थालेको ३ दशक बितिसकेको छ ।

तीनधारामा नुहाएको स्मरण ताजै भएका उनी अहिले भने छिमेकीको घरबाट हप्तामा एक पटक पानी ल्याउँछन् र नुहाउँछन् ।

पुरातत्व विभागको अभिलेखमा उल्लेख भएअनुसार सोह्रा हिटीमा भग्नावशेष अवस्थामा रहेको तीनधारा १४ औं शताब्दीमा लक्ष्मीनारायणले निर्माण गरेका थिए । यसैगरी ढुंगे धाराको अस्तित्व मेटिन लागेसँगै सम्पदा अभियान्ताहरु सोह्रा हिटी संरक्षण गर्नका लागि जुटिरहेका छन् ।

१४ औं शताब्दीमा बनाइएको धारा

यो ढुंङ्गेधारा रानीपोखरीको चार कुनाहरुमा बनाइएका चार ढुङ्गेधाराहरुमध्ये एक हो । पुरातत्व विभागमा रहेको २०३९ सालको काठमाडौं नगरको इन्भेन्ट्रीमा उल्लेख भएअनुसार यो धारा लक्ष्मीनारायण नाम गरेका व्यक्तिले करिब ७०० वर्षअघि १४ औं शताब्दीमा गरेको देखिन्छ ।

अहिले तीनधारको परिसर डम्पिङ साइट जस्तै बनेको छ । वरीपरी घर बनिसकेको हुँदा स्थानीयले घरबाटैपनि तीनधारामा फोहोर फँयाक्ने गरेको पाइएको छ । परिसरभित्र अतिक्रमण गरि बनाइएको टहरा केही दिनअघि भत्काइएको छ भने सम्पदा अभियान्ता यादवलाल कायस्थको अगुवाईमा अहिले यो सम्पदा मर्मत सम्भारको कार्य भइरहेको छ ।

‘तीनधारा वरीपरि फोहोर फ्याकेकाले धारा पुरिएको थियो’ कायस्थले भने ‘धारा छ भन्ने खबर पाएपछि हामीले खनेर पत्ता लगायौं’ । अहिले तीनधाराको मुहान वरीपरि पोखरी बनेको छ । ‘ऐतिहासिक महत्वका धाराहरु भत्किएका छन्’ उनले भने ‘तर मुहान त रसाइरहेको छ’ ।
कायस्थ लगायत अन्य सम्पदा अभियान्ताले पुरातत्व विभागमा गई सम्पदाको उचित संरक्षणको माग गरेको उनले सुनाए ।

‘पुरातत्व विभागले वडा कार्यलयलाई पत्र पठाएको छ’ उनले थपे ‘वडाले यसको संरक्षण गरेमा यहाँ पानी आउने अझैं सम्भावना पनि छ’ ।

संरक्षणको अभावमा ढुंगेधारा मासिदैं

अहिले उपत्यकाभित्र दुई सयको हाराहारीमा ढुङ्गे धाराहरु रहेको पुरातत्व विभागले जनाएको छ ।

विभागकाअनुसार संरक्षणका अभावमा अहिले आधाभन्दा बढि ढुङ्गेधारराहरु हराइसकेका छन् भने अधिकांश धारामा पानी आउन छोडिसकेका छन् ।

त्यतिमात्र होइन, दिनप्रतिदिन नाँसिदै गईरहेका यस्ता धाराहरुसँगै तिनले बचाएका कलात्मक पहिचान पनि मेटिँदै गइरहेको छ ।
पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेका काठमाडौं उपत्यकाका अधिंकाश धारामा पानी आउँदैनन् भने कतिपय धाराहरु पुरिएर संरचना बनेका छन् त कतै डम्पीङ साइट बनेको छ ।

उपत्यकाको मौलिक सभ्यताको पहिचानको रुपमा रहेका अधिकांश कलात्मक ढुङ्गे धाराहरु सहरी क्षेत्रमा नै धेरै छन् । धारामा पानी आउन छोडेसँगै त्यसको संरक्षणमा समेत कसैले चासो दिएको छैन ।

ढुंगेधाराको अस्थित्व खतरामा पर्नुमा अव्यवस्थित सहरीकरण, खुला जमीनको अतिक्रमण र बदलिँदो मानवीय चाहना रहेको विज्ञहरु बताउँछन् ।

सहरीकरण, खुल्ला जमिनमा बढ्दो अतिक्रमण र पिच बढ्नुले वर्षाको पानी समेत जमिनमा जम्मा हुन सक्ने अवस्था छैन । जसकारण ढुङ्गेधाराको अस्तित्व समेत खतरामा परेको बताइन्छ ।

यस्तो छ इतिहास

ढुंङ्गे धाराको इतिहासलाई नियाल्दा काठमाडौंको हाडीगाउँमा उत्खननबाट फेला परेको अनुमानित सन् ५५० मा निर्माण गरिएको एक ढुङ्गे धारालाई सबैभन्दा पुरानो ढुङ्गेधाराको रुपमा मानिन्छ भने ५७० मा निर्माण भएको पाटनको गङ्गा हिटीलाई अर्को पुरानो धारोको रुपमा चिनिन्छ ।

त्यस्तै सन् १८२८ मा भीमसेन थापाले निर्माण गर्न लगाएका धरहरा छेउको सुन्धारालाई कलात्मक धाराको रुपमा लिने गरिएको छ ।

प्राचीनकालदेखि नै ढुङ्गे धारा निर्माणको कार्य सुरु भएको भएपनि लिच्छविकालबाट धाराहरुलाई कलात्मक आकृति दिएर व्यवस्थित गर्ने परम्पराको थालनी भएको पाइन्छ । धार्मिक हिसाबले पनि ढुङ्गेधारा महत्वपूर्ण मानिन्छ ।

धार्मिकरुपमा प्रसिद्धी कमाएका धेरै धाराहरुमध्ये बालाजुको २२ धारा चैत्र पूर्णिमा र मातातिर्थको दिन नुहाउन लागि प्रसिद्ध छ । त्यस्तै प्रत्येक १२ वर्षमा नुहाउनका लागि गोदावरीको नौ धारा प्रख्यात छ ।

यसैगरी उपत्यका भित्र अध्ययनका क्रममा ५ सय ७३ ढुंगेधाराहरु संकलित गरिएकोमा स्थलगत रूपमा भेटिएका ढुंगेधाराहरुको संख्या ४ सय ७९ वटा, मासिएको ढुंगेधाराको संख्या ५२ वटा र पत्ता नलागेको ढुंगेधाराको संख्या ४२ वटा रहेका छन् ।

१० वटा नगरपालिका क्षेत्र भित्र रहेका ४ सय ७९ ढुंगेधारा मध्ये अध्ययनको क्रममा १ सय ७१ वटा ढुंगेधारामा मात्र पानी बगेको पाइएको अध्ययनले देखाएको छ ।


भर्खर