माटोमात्र भएका कारण काठमाडौंमा भूकम्पको जोखिम बढी– राजेन्द्र श्रेष्ठ (अन्तर्वार्ता) | Khabarhub Khabarhub
Logo
२० मंसिर २०७६, शुक्रबार

माटोमात्र भएका कारण काठमाडौंमा भूकम्पको जोखिम बढी– राजेन्द्र श्रेष्ठ (अन्तर्वार्ता)



नेपाल भूकम्पीय जोखिम भएको मुलुकको सूचीमा अग्रपंक्तीमा रहेको देश भनिन्छ । नेपालको इतिहासमा हरेक एक सय वर्षको अन्तरालमा ठूला भूकम्पसमेत आइरहेको छ ।

पछिल्लो समय १२ वैशाख २०७२ को भूकम्पका कारण निम्तिएको क्षतिले नेपालको समग्र अर्थतन्त्र नै धरासायी बनाएको थियो । त्यसबाहेक बाढी पहिरोको जोखिम पनि उत्तिकै छ । भूकम्प आएपछि त्यसका विषयमा चर्चा बढि भएपनि अहिले भने सरकारले समेत भूकम्पपछि गर्ने भन्ने विषयमा खासै चासो देखाएको छैन ।

नागरिकस्तरमा समेत भूकम्पको जोखिमका विषयमा चासो देखिँदैन । यस्तो अबस्थामा नेपालमा हुनसक्ने भूकम्पीय जोखिम र त्यसको तयारीका बारेमा अमेरिकाको हिस्टनमा बस्ने नेपाली मुलका अमेरिकी नागरिक डाक्टर राजेन्द्र श्रेष्ठसँग कुराकानी गरेका छौँ । पेशाले इञ्जिनियरसमेत रहेका अन्वेषक डाक्टर श्रेष्ठसँग हामीले भूकम्पीय जोखिम लगायतका विषयमा कुराकानी गरेका छौं ।

पेट्रोल तथा खनिज पदार्थको अन्वेषकसमेत रहेका श्रेष्ठ अमेरिकामा काम गरिरहेका छन् । प्रस्तुत छ डाक्टर श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश ।

नेपाल भूकम्पीय जोखिम भएको मुलुक भनेर भनिन्छ, २०७२ सालको भूकम्पका कारण धेरै नेपालीले ज्यान गुमाएका थिए, यस्तो अबस्थामा सरकारले गर्नुपर्ने नीतिगत व्यवस्था र आम सर्वसाधारणले गर्नुपर्ने कामका बारेमा तपाईको धारणा के छ ?

नेपाल भूकम्पीय क्षेत्र रहेको भनेर पहिलादेखि नै थाहा छ । हिमालय बनेकै भारतीय प्लेटले युरेसियन प्लेटलाई धक्का गरेर हिमालय खडा भएको हो । त्यो हाम्रो इतिहास हो । हालसम्म पनि त्यो प्रक्रिया अहिलेपनि निरन्तर चलिरहेको छ । त्यो धक्काबाट जुन शक्ति पैदा हुन्छ नि दबाब जम्मा भएर जाँदा कुनैपनि दिन चिरा परेर फुटेर निस्कन्छ ।

दबाब निस्कदा भूकम्प जाने हो । २०१० को फेब्रुअरीमा हाइटीमा भूकम्प गयो, चिलिमा पनि गयो । हाइटीमा ६ दशमलव ८ रेक्टर स्केलको र चिलिमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । तर चीलीमा असर कम पर्‍यो, जति हाइटीमा कम भयो । हाइटीमा करिब २ लाख मानिसको मृत्यु भएको थियो तर चिलिमा कम क्षति भयो । जबकि भूकम्पको धक्का चिलिमा गएको थियो ।

कसरी यस्तो भएको थियो, झन् ठूलो भूकम्प गएको देशमा क्षति कम हुने अबस्था ?

किनभने चिली पुरा तयारी अबस्थामा थियो । सरकारको नीति नै त्यस्तै थियो । हाइटीमा त्यस्तो कुनै सजगता थिएन, तयारी पनि थिएन । अब त्यो हेरेपछि मलाई के लाग्यो भने हाइटी त भु–परिवेष्ठित मुलुक होइन, आइल्याण्डका रुपमा रहेको मुलुक हो ।

जबकी नेपाल त भु–परिवेष्ठित मुलुक हो । जहाँ एउटामात्रै अन्तर्राष्ट्रिय स्तरको विमानस्थल मात्रै छ । बाइरोडको बाटोबाहेक अरु दुई तिनवटा मात्रै बाटो छ । जब भूकम्प जान्छ अनि सबै बाटोहरुमा पहिरो गएर बाटो बन्द हुने अबस्था छ ।

त्यसैबेला मैले ‘नेसेसीटी अफ अर्थक्वेक प्रीपेयरनेश इन नेपाल’ नामको आर्टिकल लेखेको थिएँ । अब नेपालले समेत तयारी गर्नुपर्छ भनेर २०१० मा । जुन आर्टिकल नेपाल र अमेरिकामा समेत प्रकाशित भएको थियो । जुनबेला ‘अमेरिकन सोसाइटी अफ नेपलिज इञ्जिनियर्स’ को उपाध्यक्ष समेत थिएँ ।

हरेक एक शताब्दीमा भूकम्प आउनसक्ने सम्भावनाको कुरा मात्रै हो । तर भूकम्प जान्छ नै भन्ने चाँहि होइन ।

हामीले इञ्जिनियर डाक्टर र कम्प्युटर इञ्जिनियरहरु जो अमेरिकामा बस्छौँ तिनवटा संस्थाहरु मिलेर नेपालमा भूकम्प जानुअघि र गएपछि कस्तो तयारी गर्नुपर्छ भनेर पेपर निकाल्ने सोंच बनायौँ । नेपालमा २०७२ सालमा भूकम्प गएपछि पेपर प्रकाशित गर्‍यौँ । त्यो पेपर सबै ठाउँमा वितरण गर्‍यौँ । उनीहरुलाई सचेत पनि गरायौँ ।

नेपालको इतिहास हेर्दा हरेक सय वर्षमा ठूलो भूकम्प गएको देखिन्छ, अहिलेको अबस्थामा नेपालले गर्नुपर्ने काम के के हुन् भन्ने तपाइँलाई लाग्छ ?

यसमा के छ भने, हरेक एक शताब्दीमा भूकम्प आउनसक्ने सम्भावनाको कुरा मात्रै हो । तर भूकम्प जान्छ नै भन्ने चाँहि होइन । पृथ्वीको सतहमुनी जुन दबाब जम्मा भइरहेको छ त्यो हेर्दा जुनसुकै बेला पनि आउनसक्छ । त्यसका लागि सरकार, जनता सबै तयार हुनुपर्‍यो ।

त्यस्तो तयारीका लागि कसले के गर्नुपर्ने देख्नुहुन्छ ?

सरकारले ‘इमरजेन्सी रेस्पोन्स टीम’ खडा गर्नुपर्‍यो । भूकम्प हुँदा बस्ने खुला स्थानको व्यवस्था सरकारले गर्नुपर्‍यो । अर्को के भने हरेक तहको पाठ्यक्रम तयार गरी विद्यार्थीहरुलाई समेत भूकम्पका बारेमा जानकारी दिने व्यवस्था गर्नुपर्‍यो ।

‘नेशनल सोसाइटी अफ अर्थक्वेक एसोसिएसन’ एनसेटसँग मैले नै एमओयु गरेको हो । उहाँहरुको विषेशज्ञता पनि यसै विषयमा केन्द्रीत छ । भूकम्प आयो भने के गर्ने भन्ने बारेको । त्यहाँ हामी पनि सहभागी छौँ ।

भूकम्पको सम्भावनाको कुरा त भयो, तर भूकम्प जानसक्ने समयका बारेमा केही अन्वेषणहरु पनि भएका छन् कि ?

हरेक मनसुनका बेला बाढी आउँछ भन्ने छ, त्यसअनुसारको तयारी पनि हुने गरेको छ । तर भूकम्प कस्तो भयो भने कुनबेला कहाँ कस्तो किसिमको आउँछ भनेर हामीले भन्नसक्ने अबस्था छैन ।

२०१५ को भूकम्पपछि त्यसको पराकम्पहरु समेत आइरहेका छन् । जसको रेकर्ड पनि देखिन्छ । त्यसअनुसार कहाँ बढि जोखिम छ भनेर भन्न सक्ने अबस्था छ तर यही समयमा यही ठाउँमा भूकम्प आउँछ भनेर भन्न सकिने अबस्था छैन । संसारमा कुनै पनि वैज्ञानिकले भविष्यवाणी हुनसक्ने अबस्था छैन । यसमा अध्ययन चाँहि भइरहेको छ ।

नेपालको पश्चिम क्षेत्रमा भूकम्प जानसक्ने भनेर नेपालमा आंकलन हुने गरेको छ । त्यसको सम्भावना कस्तो देखिन्छ ? भूकम्पको जोखिम कहाँ बढि हुनसक्छ नेपालको सन्दर्भमा ?

भूकम्पले पहाड, तराई, हिमालय कहिलै भन्दैन । तर तराईमाभन्दा पढि पहाडमा आउने सम्भावना छ । पृथ्वीको सतहमा हुने चिरा तराईमा भन्दा बढि पहाडमा हुने भएका कारण पहाड अलि बढि जोखिम चाँहि हो तर तराईमा भूकम्प नआउने भन्ने चाँहि होइन ।

काठमाडौंको कुरा गर्ने हो भने किर्तिपुरमा भूकम्प जाने सम्भावना छ, तर त्यहाँ पनि पत्रेदार चट्टान कम भएका कारण क्षति कम हुने सम्भावना देखिन्छ

अफ्रीकी लगाएतका देशहरुमा भूकम्प गएको इतिहास देखिन्छ किन यस्तो भएको होला ?

भूकम्प आउने भनेको कस्तो स्थानमा हो भने पत्रेदार चट्टान जहाँ हुन्छ, त्यहाँ बढि जोखिम हुन्छ । तर युरोपेलीसहितका अफ्रीकी मुलुकको भौगर्भिक अबस्था कस्तो छ भने ठोस चट्टान भएको र त्यसमा चिरा पर्ने सम्भावना कम हुने भएका कारण त्यहाँ भूकम्प नगएको हो ।

काठमाडौंको कुरा गर्ने हो भने किर्तिपुरमा भूकम्प जाने सम्भावना छ, तर त्यहाँ पनि पत्रेदार चट्टान कम भएका कारण क्षति कम हुने सम्भावना देखिन्छ । काठमाडौं उपत्यका पहिला तलाउ भएको र यहाँको माटोमात्रै भएका कारण काठमाडौं सबैभन्दा धेरै खतरामा भएको भनिएको हो ।

जसरी अहिले बस्ती विकास भएको नि, काठमाडौंमा घर बनाउनेले के विषयमा ख्याल गर्नुपर्ने हुनसक्छ ?

नेपालमा पनि विल्डिङ कोड छ इञ्जिनियहरुले बनाएको । तर त्यसको कार्यान्वयन भएको छैन । तर त्यही कोड पनि पुरानो भइसकेको छ । अब त्यसलाई पनि फेरी बनाउनुपर्छ । त्यसको कार्यान्वयनमा पनि ध्यान दिनुपर्छ । सरकारले इञ्जिनियरहरुलाई लगाएर हरेक भवनको जाँच परिक्षण गर्नुपर्‍यो ।

इञ्जिनियरहरु भवन निर्माण संहिताको दायरामा नबसेको भन्ने सुनिन्छ, के त्यस्तै हो समस्या ? जस्तो भवन भएपनि नक्सा पास गरिदिन्छन् भनिन्छ ।

त्यो त सरकारले अनुगमन गर्नुपर्‍यो नि । सरकारको भुमिका हो कार्यान्वयनको विषय ।

नेपालमा भूकम्पमात्रै होइन, बाढी पहिरोको जोखिम पनि उत्तिकै छ, यसमा अपनाउनुपर्ने सावधानी के हुनुपर्छ ?

बाढी पहिरोको मुख्य कारण भनेको जंगल विनास एउटा महत्वपुर्ण कारण हो । बाढी पहिरोको क्षति रोक्न जंगलले महत्वपुर्ण भुमिका राख्छ । बाढी आउने सम्भावित क्षेत्रमा समेत मानिसहरुले घर बनाए, काठमाडौंमै बागमती, विष्णुमतीको बाटो नै सानो बनाएर बस्ती बसाएका छन् ।

बाग्मती, विष्णुमती उदाहरण मात्रै हुन् । नदीको आफ्नो बहाव रोकेपछि धेरै पानी पर्न थाल्यो भने बाढी आउने हो । गत जुलाई १२ मा कुलेश्वरमा समेत बाढी आएको थियो । मानिसहरुले जथाभावी घर, बाटो बनाएपछि बाढी आउने त निश्चित नै हो । जिम्मेवार मानिस नै हो ।

अर्कोतर्फ लागौं अब । तपाइ अमेरिकाको हिस्टनमा बस्नुहुन्छ, त्यही विद्यावारिधि समेत गर्नुभएको छ । नेपाली मुलको अमेरिकी नागरिक हुनुहुन्छ । अमेरिकामा बसेर नेपाललाई कसरी हेर्नुभएको छ ? मुल समस्या के हो भन्ने लाग्छ ?

हामी नेपाली संसारमा जहाँ गएपनि हामी नेपाललाई कहिलै पनि बिर्सन सक्दैनौँ । नेपाललाई समृद्ध भएको हुनुपर्‍यो । त्यसका लागि जुनसुकै प्रणाली भएपनि हुन्छ ।

अमेरिका र नेपालको तुलना त गर्न सक्दैनौं । अमेरिकीहरुको दुरदृष्टी नेपालीको हुनसकेन । तर खुसीको कुरा के भने नेपालका हरेक गाउँमा बिजुली पुगिसकेको छ ।

विकासका लागि विजुली अनिवार्य आवश्यकता हो । अर्कोकुरा बाटो बनाएर मात्रै हुँदैन, त्यसको हरेक वर्ष पुनर्निर्माण हुनुपर्छ । नेपाल पहाडी मुलुक भएका कारण बाटो बनाउनुपर्छ विकासका लागि तर त्यसको विकास हुन सकेको छैन ।

नेपालले आंकडा निकाल्नुपर्‍यो कुन क्षेत्रका नागरिक आवश्यक रहेको छ भनेर त्यसपछि नेपालले विदेशमा रहेका नेपालीलाई ल्याउन आवश्यक वातावरण पनि बनाउनुपर्‍यो

तपाई किन नेपालमा बस्ने अबस्था किन भएन ? नेपाली नागरिकता त्यागेर किन अमेरिकाको नागरिक बन्नुभएको ? अमेरिकामा झण्डै ६ लाख नेपाली रहेको देखिन्छ । नेपालमा योग्य जनशक्ति पलायनको अबस्था झन् झन् बढेको छ ? यसको कारण चाँहि के हो जस्तो लाग्छ ?

मेरा नागरिकता किन लिनुपर्ने अबस्था थियो भने, संसारका विभिन्न मुलुकमा जानुपर्ने तर नेपालको राहदानी प्रयोग गर्दा समस्या हुने तर अमेरिकी नागरिकता भयो भने संसारका जुनसुकै देशमा समेत सजिलै जान सकिने भएका कारण नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएको हुँ ।

अमेरिकामा राम्रो अवसर भएको, शिक्षा, अनुभवको समेत कदर हुने भएका कारण नेपाली विदेशीने क्रम बढेको जस्तो लाग्छ । विदेशमा रहेका नेपालीलाई यहाँ ल्याउन सके त धेरै राम्रो हुन्छ तर देशको सबैभन्दा ठुलो राम्रो सम्पत्ती भनेको त्यहाँको नागरिक हो ।

भारतको कुरा हेर्नुस् न भारतीय मुलका शिक्षित नागरिक जो विभिन्न पेशामा विदेशमा रहेका छन् उनीहरुलाई भारतमा ल्याउने काम त्यहाँको सरकारले गरिरहेको छ, उनीहरु एनआरआई भन्छन्, हाम्रो एनआरएनए भन्ने छ । त्यस्तै नेपालले पनि गर्नसक्छ । त्यसका लागि पहिला नेपालले आंकडा निकाल्नुपर्‍यो कुन क्षेत्रका नागरिक आवश्यक रहेको छ भनेर त्यसपछि नेपालले विदेशमा रहेका नेपालीलाई ल्याउन आवश्यक वातावरण पनि बनाउनुपर्‍यो ।


भर्खर