चिनियाँ राष्ट्रपति भ्रमणको सुरक्षा रणनीति– तिब्बती शरणार्थीदेखि एनजीओका प्रमुखसम्म निगरानीमा | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपति भ्रमणको सुरक्षा रणनीति– तिब्बती शरणार्थीदेखि एनजीओका प्रमुखसम्म निगरानीमा



काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ २ दिने राजकीय भ्रमणका लागि शनिवार नेपाल आउँदै छन् । समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको राजकीय भ्रमणमा आउन लागेका सी शनिबार अपराह्न साढे ४ बजे काठमाडौं ओर्लिने कार्यक्रम छ ।

विशेष विमानमार्फत काठमाडौं आइपुग्ने सीको सुरक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

महानगरीय प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) शैलेश थापा क्षेत्रीले राष्ट्रपति सीको भ्रमणको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

‘नेपाली सेनाको नेतृत्वमा सबै सुरक्षा अंग परिचालन हुने गरी सम्पूर्ण तयारी पूरा भएको छ,’ महानगरीय प्रहरी आयुक्त डिआईजी थापाले खबरहबसँग भने, ‘राष्ट्रपति सीको सुरक्षा व्यवस्थापनका लागि उपत्यका बाहिरबाट समेत जनशक्ति झिकाएका छौं ।’

राष्ट्रपति सीको भ्रमणका बेला सुरक्षा व्यवस्थापन गर्न काठमाडौं उपत्यका बाहिरबाट मात्रै ३ हजार बढी प्रहरी झिकाइएको छ ।

राष्ट्रपति सीको सुरक्षा व्यवस्थापन गर्ने टोलीको नेतृत्व नेपाली सेनाका विशिष्ट अधिकारी (रथी)ले गर्ने छन् ।

सैनिक स्रोतका अनुसार सीको सुरक्षा व्यवस्थापनका लागि सेनाका रथी सरद गिरी संयोजकत्वमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन हुनेछन् ।

नेपाल प्रहरीका तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुस्कार कार्कीले नेतृत्व गर्नेछन् । खबरहबसँगको कुराकानीमा एआईजी कार्कीले सीको सुरक्षा व्यवस्थापनका लागि विदेशी राष्ट्रप्रमुखको भ्रमणका बेला अपनाइने सबै सुरक्षा नीतिहरु अवलम्बन गरिएको बताए ।

पहिलो घेरामा चिनियाँ जनमुक्ति सेना

नेपाल भ्रमणमा रहँदा चिनियाँ राष्ट्रपति सीको सुरक्षाका लागि पहिलो घेरामा चिनियाँ जनमुक्ति सेनाका केही अधिकृतहरु रहनेछन् ।

राष्ट्रपति सीको नियमित सुरक्षार्थ परिचालन हुने विशेष तालिम प्राप्त चिनियाँ सैनिक अधिकृतहरु नेपालमा पनि परिचालन हुनेछन् ।

चिनियाँ राष्ट्रपति सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेसँगै नेपाली सेनाले हवाई गस्ती गर्ने छ । चिनियाँ राष्ट्रपतिको सवारी हुने क्षेत्रमा सेनाले हेलिकोप्टरबाट निगरानी गर्ने छ ।

चिनियाँ जनमुक्ति सेनाका अधिकृतहरु चिनियाँ राष्ट्रपतिको दायाँ भागमा रहनेछन् भने बायाँतर्फ नेपाली सेनाका विशेष तालिम प्राप्त सुरक्षाकर्मीहरु परिचालन हुनेछन् ।

त्यसबाहिरको दोस्रो घेरामा नेपाल प्रहरी हुने छ । तेस्रो घेरामा रहने सशस्त्र प्रहरीले बाह्य रुपमा ‘सवारी हुने’ क्षेत्रमा कुकुरसहित निगरानी र चेकजाँच गर्ने छ ।

सशस्त्र प्रहरीले ‘हाई प्वाइन्ट भ्यू’ (उच्च स्थान)बाट समेत सुरक्षा निगरानी गर्ने छ ।

नेपाली सेनाको हवाई गस्ती

चिनियाँ राष्ट्रपति सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेसँगै नेपाली सेनाले हवाई गस्ती गर्ने छ । चिनियाँ राष्ट्रपतिको सवारी हुने क्षेत्रमा सेनाले हेलिकोप्टरबाट निगरानी गर्ने छ ।

चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि हवाई गस्ती गर्न सेनाले ४ वटा हेलिकोप्टर तयारी अवस्थामा राखेको छ । आवश्यकताअनुसार अन्य हेलिकोप्टरहरु पनि परिचालन गर्ने गरी तयारी अवस्थामा रहन सेनाको हवाई निर्देशनालयलाई निर्देशन दिइसकिएको सैनिक स्रोतले जानकारी दियो ।

चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका तालिमप्राप्त कुकुरहरु समेत परिचालन हुनेछन् । यस्तै, शंकास्पद बस्तु तथा विस्फोटक पदार्थको पहिचान गर्नका लागि सेनाका कुकुरहरु समेत परिचालन गरिने छ ।

यस्तै, उपत्यकाका विभिन्न ठाउँमा सेनाको बम डिस्पोजल टोली समेत परिचालन गरिने जनाइएको छ । कुनै ठाउँमा शंकास्पद बस्तु फेला परेमा १ मिनेटभित्रै त्यसलाई नियन्त्रणमा लिएर डिस्पोज गर्ने गरी बम डिस्पोजल टोली तैनाथ गरिने सैनिक स्रोतले जानकारी दियो ।

यसका अतिरिक्त पूर्व सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागको टोली समेत परिचालन गरिएको । नेपाल प्रहरीको विशेष ब्यूरो र सेनाको गुप्तचर निकाय (डिपार्टमेन्ट अफ मिलिटरी इन्टेलिजेन्स) ‘डीएमआई’लाई पनि पूर्व सूचना संकलनका लागि परिचालन गरिएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार चिनियाँ राष्ट्रपति सीको भ्रमणको सुरक्षा व्यवस्थापनका लागि करिब ३ हप्ता अगाडिदेखि नै विशेष सुरक्षा तयारी शुरु भएको थियो ।

खबरहबको सम्पर्कमा आएका गृह मन्त्रालयका एक अधिकारीले चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला सुरक्षा व्यवस्थापन गर्न काठमाडौं उपत्यकामा मात्रै १५ हजार सुरक्षाकर्मी परिचालन हुने जानकारी दिए ।

उच्चस्तरीय सुरक्षा व्यवस्था

चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका लागि सरकारले अति विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार, सीको सुरक्षाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति कार्यालयसम्म र उनी बस्ने होटलसम्मको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ ।

उच्च सुरक्षा स्रोतका अनुसार राष्ट्रपति सीको भ्रमणका बेला चीनबाट ल्याइएका ४ वटा विशेष गाडीको प्रयोग हुने छ

‘तोकिएको मापदण्ड र सिद्धान्त अनुसारको सुरक्षा व्यवस्था मिलाइएको छ,’ काठमाडौंका प्रजिअ दाहाल भन्छन्, ‘सुरक्षा व्यवस्थापनका लागि ललितपुर र भक्तपुरका सुरक्षाकर्मीसँग समेत समन्वय गरिएको छ ।’

सुरक्षा अधिकारीहरुका अनुसार, सुरक्षाका लागि बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डोको समूह रहने छन् । ‘जेड’, ‘वाई’ र ‘एक्स’ सुरक्षा व्यवस्थामा क्रमशः २२, ११ र २ जना विशेष कमाण्डो खटिने गर्छन् । यो सुरक्षा व्यवस्थामा खटिने कमाण्डोहरु सैन्यकला र मार्शल आर्टमा निपूर्ण हुन्छन् । जेड प्लस तहको सुरक्षा नेपाली सेनाको नेतृत्वमा हुन्छ ।

यो प्रकृतिको सुरक्षा राजकीय भ्रमणमा आउने अति विशिष्ट व्यक्ति (भीभीआईपी) लाई दिइन्छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि ‘जेड प्लस’ सुरक्षा दिइएको थियो ।

चीनबाटै ४ वटा विशेष गाडी

उच्च सुरक्षा स्रोतका अनुसार राष्ट्रपति सीको भ्रमणका बेला चीनबाट ल्याइएका ४ वटा विशेष गाडीको प्रयोग हुने छ ।

यस्ता गाडीहरु बुलेटप्रुफ हुनुका साथै ठूलो हमलाबाट बच्नसक्ने गरी आधुनिक खालका उपकरणहरु जडित हुन्छन् ।

नेपाल भ्रमणमा रहँदा चिनियाँ राष्ट्रपति सीको कारगेडको अघिल्लो पङ्तीमा चिनियाँ सुरक्षाकर्मी नै हुने जनाइएको छ । कारगेडमा तैनाथ हुने सुरक्षाकर्मीहरु ३ वटा विमानमा नेपाल आउने जनाइएको छ ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको औपचारिक मिति तय हुनु अगाडि नै नेपालका केही सुरक्षाकर्मीलाई चीनमै तालिम दिइएको थियो ।

सी भ्रमणको अवधिभर काठमाडौं उपत्यकामा रहेका तिब्बती शरणार्थीलाई बाहिर जान नदिने र बाहिर रहेका शरणार्थीहरुलाई काठमाडौं छिर्न नदिने रणनीति अवलम्बन गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दियो

नेपालस्थित चिनियाँ दूतावासको समन्वयनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरुले चीनमै गएर ११ दिने तालिम लिएका थिए ।

यस्ता छन् सी भ्रमणमा सुरक्षा चुनौती

गृह मन्त्रालय स्रोतका अनुसार सुरक्षा अधिकारीहरुले चिनियाँ राष्ट्रपति सीमाथि कुनै भौतिक आक्रमणको खतरा नभएको विश्लेषण गरेका छन् । तर, विभिन्न स्वरुपमा हुनसक्ने विरोध प्रदर्शनलाई भने मुख्य सुरक्षा चुनौतीका रुपमा लिइएको छ ।

नेपालमा रहेका तिब्बती शरणार्थीका गतिविधिलाई पहिलो सुरक्षा खतराको रुपमा विश्लेषण गरिएको छ ।

उनीहरुले चिनियाँ राष्ट्रपतिको चर्को विरोध गर्न सक्ने सम्भावनाका रहेको सुरक्षा अधिकारीहरुको विश्लेषण छ । जसका कारण केही दिनयतादेखि तिब्बती शरणार्थीका गतिविधिलाई निगरानीमा राखिएको छ ।

सी भ्रमणको अवधिभर काठमाडौं उपत्यकामा रहेका तिब्बती शरणार्थीलाई बाहिर जान नदिने र बाहिर रहेका शरणार्थीहरुलाई काठमाडौं छिर्न नदिने रणनीति अवलम्बन गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।

त्यस्तै चीनकै सिन्जियाङ प्रान्तमा हिंसात्मक विद्रोह गरिरहेको उइगुर (मुसलमान) समूह र हङकङमा सरकार विरोधी आन्दोलन गरिरहेको समूहबाट पनि सुरक्षा खतरा हुनसक्ने निष्कर्ष निकालिएको छ ।

हुन त उइगुर विद्रोहीहरु अमेरिका र युरोपमा स्वतन्त्र रुपमा चलखेल गरिरहेका भएपनि नेपालमा उनीहरुको गतिविधि एकदमै सीमित छ । यद्यपि सुरक्षा अधिकारीहरुले भने यसलाई पनि चुनौतीको रुपमा विश्लेषण गर्दै सोही अनुरुप सुरक्षा योजना तयार गरेका छन् ।

त्यसैगरी यसअघि चीनविरोधी शक्तिसँग निकट देखिएका वा त्यस्ता गतिविधिमा संलग्न भएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र मधेसी दल सम्वद्ध केही पूर्वमन्त्री र सांसदहरूले पनि कुनै रुपमा विरोध जनाउन सक्ने आकलन गरिएको छ ।

यसबाहेक मधेसमा चीनको विरोध गर्दै झण्डा जलाउने कार्यमा संलग्न समूहबाट पनि सी भ्रमणका बेला सुरक्षा खतरा हुनसक्ने अनुमान गरिएको छ ।

चीनका विदेशमन्त्री वाङ यीको दुई साता अघि भएको नेपाल भ्रमणका क्रममा महिलाहरूको एउटा समूहले बालुवाटारस्थित चिनियाँ दूतावास नजिकै प्रदर्शन गरेको थियो । सुरक्षाकर्मीले अहिले उक्त समूहका सदस्यहरुलाई समेत निगरानीमा राखेको छ ।

सीको भ्रमणका क्रममा केही गैरसकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरु पनि विरोध प्रदर्शनमा उत्रिन सक्ने भन्दै निगरानी बढाइएको छ

चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी नेपाल–भारत सीमा क्षेत्रमा पनि विशेष निगरानी बढाइएको छ । भारतबाट सोझै काठमाडौंको यात्रा गर्ने गरी आएकाहरुलाई पनि उच्च निगरानीमा राखिएको सुरक्षा अधिकारीले जनाएका छन् ।

विशेषगरी भारतीय राज्य हिमाञ्चलको धर्मशालाबाट तिब्बती धर्म गुरु दलाई लामाका समर्थहरु नेपाल भित्रिन सक्ने संभावनालाई मध्यनजर गरेर सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

सीको भ्रमणलाई लक्षित गर्दै १ हप्ता अघिदेखि सीमा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको छुट्टा–छुट्टै विशेष टोली परिचालन गरिएको छ ।

सीको भ्रमणका क्रममा केही गैरसकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरु पनि विरोध प्रदर्शनमा उत्रिन सक्ने भन्दै निगरानी बढाइएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार चीनको सम्भावित विरोधी एनजीओ तथा आईएनजीओको सूची तयार पारेर उनीहरुका प्रमुख र कर्मचारीमाथि निगरानी बढाइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ४ : ०१ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द