नेपाली क्रिकेट टोलीको दुर्भाग्य– ब्याटिङसँग सधैं दुश्मनी ! | Khabarhub Khabarhub

नेपाली क्रिकेट टोलीको दुर्भाग्य– ब्याटिङसँग सधैं दुश्मनी !



काठमाडौं– नेपालमा दशैंको रौनक छाइरहेका बेला नेपाली राष्ट्रिय क्रिकेट टोली ५ देशीय टी–२० शृङ्खलाका लागि ओमानमा जितका लागि संघर्षरत थियो ।

शृङ्खलामा राम्रो प्रदर्शन गरेको नेपालले महाअष्टमीका दिन हङकङ र महानवमीका नेदरलाण्डविरुद्धको खेल जितेर नेपाली क्रिकेट समर्थकलाई ‘दशैं उपहार’ दिएको थियो ।

तर, विजया दशमीको दिन आराम गरेको नेपाली टोलीले एकादशी र द्वादशीका दिन आयरल्याण्ड र आयोजक ओमानसँग खेल्दा भने शुरुको भन्दा ठीक उल्टो प्रदर्शन गर्‍यो । विजया दशमीको दोस्रोत दिनको खेलमा नेपाल आयरल्यान्डसँग १३ रनले पराजित भयो भने ओमानसँगको अन्तिम खेल त सम्झनलायक समेत रहेन ।

ओमानविरुद्ध टस हारेर पहिलो ब्याटिङ गरेको नेपाल ६४ रनमा अलआउट हुन पुग्यो । जुन पछिल्लो समय नेपालले खेलेका शृङ्खलामध्येकै कम लक्ष्य थियो । बिहीबार ओमानसँग ६ विकेटले पराजित भएको नेपाली टोली शुक्रबार बिहानै काठमार्डाैं आर्लिएको छ ।

दशैं ‘फेवर’ ले होला सधैं जसो थोरै भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने क्रिकेट समर्थकहरु यसपटक देखिइएनन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल, नेपाल क्रिकेट संघ (क्यान) का नव निर्वाचित सदस्य अमितकुमार पाण्डेलगायतले नेपाली टोलीको स्वागत गरे ।

काठमाडौं झरेलगत्तै कप्तान खड्काले पछिल्लो १५ दिनमा नेपाली क्रिकेट टोलीले खेलेका दुई शृङ्खलामा राम्रो खेलेको प्रतिक्रिया दिए ।

उनले आयरल्यान्डविरुद्धको खेल राम्रो खेले पनि हार व्येहोर्नु परेको बताए भने बिहीबार ओमानविरुद्धको खेल भने निकै कमजोर भएको स्वीकारे । ओमनविरुद्धको खेलमा नेपाली टोली ब्याटिङमा ओभर एग्रेसिभ भयो कि ? भन्दै कप्तानले आफ्नै टिममाथि प्रश्न गरे ।

‘ओमानविरुद्धको खेल बाहेक समग्रमा टिमले राम्रो खेल्यो । हामीसँग युवा टोली थियो । आयरल्यान्डलाई हराउनु पर्थ्यो । तर, फिनिसिङ राम्रो नहुँदा हामीले नतिजा आफ्नो पक्षमा पार्न सकेनौं,’ कप्तान खड्काले भने, ‘सिंगापुरको टूरदेखि नै तुलनात्मक रुपमा राम्रै खेलेका थियौं । अन्त्यमा नेपाली टोलीको कमजोर पक्षका रुपमा ब्याटिङ नै देखियो ।’

कप्तान खड्काले नेपाली क्रिकेट टिम र ब्याटिङबीच दुश्मनी रहेको जस्तो देखिएको पनि बताए ।

उनले (हाँस्दै) भने, ‘नेपाली नेपाली क्रिकेट टोली र ब्याटिङको ठूलो दुश्मनी छ जस्तो लाग्यो ।’

त्रिकोणात्मक शृङ्खलामा कप्तान खड्काको १०६ रनको एतिहासिक शतकमा नेपालले सिंगापुरविरुद्ध जीत हात पारेको थियो भने त्यसयता ओमान शृङ्खलामा हङकङविरुद्धको खेलमा विनोद भण्डारीको अर्ध शतकमा तिज हात पारेको थियो । नेदल्याण्डविरुद्धको खेलमा करण केसीको अलराउण्ड प्रदर्शनमा नेपालले जित हात पारेको थियो ।

त्रिकोणात्मक शृङ्खलाको ४ मध्ये ३ खेल खेलेको नेपालले जिम्बाबेसँगका दुवै खेल गुमाउन पुग्यो भने ओमान शृङ्खलामा टेस्ट राष्ट्र आयरल्याण्ड र घरेलु टोलीसँग हार व्यहोर्नु पर्‍यो ।

यो पटकको विदेश भम्रणमा नेपाली टोलीका बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा फिल्डिङ यूनिटले पनि राम्रो गरेको तर, ब्याटिङ चल्न नसकेको कप्तान खड्काले अनुभव सुनाए ।

‘युवा टोलीले राम्रो शुरुवात गरेको छ । यो शृङ्खलामा पनि आफ्नो पक्षमा नतिजा ल्याउन सक्ने अवसर थियो,’ कप्तान खड्काले भने ।

नेपाली टोलीमा कप्तान खड्का र विकेट किपर तथा ब्याट्सम्यान विनोद भण्डारीबाहेक सबै खेलाडी पछिल्ला ५ वर्षमा आफूलाई प्रमाणित गर्दै टिममा आएका खेलाडी छन् ।

तर, यो शृङ्खलामा ओपनिङ ब्याट्सम्यान इशान पाण्डे र देब्रेहाते बलर कुसल मल्लले ठाउँ पाएका थिए । त्यतिमात्रै होइन उनीहरुले मैदानमा पनि राम्रो अवसर पाए । कुशल भन्दा पनि इशान प्राय खेलमा मैदानमा देखिए । तर, अपेक्षित रुपमा भने रन जोड्न सकेनन् ।

‘खेलाडीहरुले राम्रो खेल्ने प्रयास गरेका थिए । कुनै पनि टिममा युवा खेलाडी भए भन्दैमा राम्रो नतिजा ल्याउने र पुराना खेलाडी हुँदैमा नराम्रो हुने भन्ने होइन् । अहिले नेपाल क्रिकेट टिम आफैंमा युवा टोली हो । यो अवस्थामा धेरै फेरबदल हुनु पनि राम्रो होइन् । जति खेलाडी अवसर पाए उनीहरुले आफुलाई प्रमाणीत गर्ने हो जस्तो लाग्छ,’ कप्तान पारसले भने, ‘अहिले टोलीमा खेलाडीहरुको प्रतिस्पर्धा धेरै छ । राम्रो गर्ने नै टिममा रहन्छ ।’

खड्काले यस पटक आयरल्यान्डविरुद्धको खेलका क्रममा टिमका खेलाडीहरुमा अनुभवको कमी पनि देखिएको स्वीकारे ।
नयाँ खेलाडीहरुले अहिले नै राम्रो गर्‍यो, नराम्रो गर्‍यो भनेर दबाव थुपार्नु राम्रो नहुने कप्तानको भनाइ छ ।

‘हामीले टिममा स्थान बनाएका युवा खेलाडीहरुलाई अहिले नै राम्रो गर्‍यो नराम्रो गर्‍यो भन्नु भन्दा पनि केही समय पर्खिनुपर्ने हुन्छ । यिनीहरु युवा छन् । आशा छ उनीहरुले छिट्टै सिक्नेछन्,’ उनले भने, ‘अहिले सिक्ने स्रोतसाधन पनि उपलब्ध छ ।’

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १२ : ५२ बजे

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार