कहाँ पुग्यो राष्ट्र बैंकको फोर्स मर्जर ? | Khabarhub Khabarhub

कहाँ पुग्यो राष्ट्र बैंकको फोर्स मर्जर ?



काठमाडौं–चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमाथि बैंकले गरेको छलफलका क्रममा गभर्नर डाक्टर चिरञ्जिवी नेपालले भनेका थिए,‘ बैंकहरु धेरै मात्रै होइन, प्रविधिमा प्रशस्त लगानी गर्न समेत मर्जरमा जानुको विकल्प छैन्।’

गभर्नर नेपालले भनेजस्तै नेपाली बैंकको प्रविधि बढाउन आवश्यक छ कि छैन भनेर बहस शुरु हुनुपूर्व नै नेपाली बैंकहरुमा पैसा चोरीको क्रम बढेको छ।

चालू आर्थिक वर्षमा सरकारी बैंकका रुपमा रहेको कृषि विकास बैंक र नीजि क्षेत्रका बैंकमा समेत साइबर आक्रमण गरी करोडौ रकम चोरी भएको छ।

यस्तोमा बैंकहरुलाई गभर्नर नेपालले भनेजस्तै प्रविधिमा पर्याप्त लगानी गर्नका लागि मर्जरमा जानुपर्ने अबस्थाका बारेमा सोच्न बाध्य बनाएको छ वा छैन भन्ने अर्को बहसको विषय बन्न सक्ला।

मर्जरमा बैंकको रुची कति ?

गभर्नर नेपालको धारणा भने बैंकहरु मर्जरमा गएर संख्या कम भए सबै संस्थाले एउटै शीर्षकमा थोरै थोरै पैसा लगानी गर्नुको साटो मर्जरपछि बन्ने ठुलो बैंकको ठुलो लगानीले आमसर्वसाधारणको निक्षेपको सुरक्षामात्रै होइन, बैंकहरुको पैसा चोरी हुने समस्याको समेत केही हदसम्म समाधान होला भन्ने अपेक्षा राखेका थिए।

राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरुले केन्द्रिय बैंकलाई मर्जरमा जान तयार रहेको प्रतिवद्धता समेत बुझाइसकेका छन् । त्यसबाहेक जनता बैंक र ग्लोबल आइएमई बैंकका बिचमा मर्जर गर्ने सहमति समेत भइसकेको छ।

त्यसबाहेक अन्य बैंकहरुले समेत मर्जरमा जाने प्रक्रिया शुरु गरेको राष्ट्र बैंकले जनाएको छ । बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार वाणिज्य बैंकहरुका बीचमा मात्रै होइन, वाणिज्य बैंकहरुले फाइनान्स तथा अन्य वित्तिय संस्थालाई गाभ्ने विषयमा समेत छलफल भइरहेको जानकारी बैंकले पाएपनि औपचारिक रुपमा कति वित्तिय संस्था एकआपसमा मर्ज हुन्छन् भन्ने खुलाएनन्।

उनले भने,‘बैंकहरुले आन्तरिक रुपमा मर्जरमा जाने तयारी गरिरहेको जानकारी मात्रै प्राप्त भएको छ, तर कुन कुनका बिचमा मर्जरको प्रक्रिया चलिरहेको छ भन्ने जानकारी आइसकेको छैन ।’

जनता बैंक र ग्लोबल आइएमआई बैंकलाई मर्जरमा जान केन्द्रीय बैंकले सैद्धान्तिक सहमति भने दिइसकेको छ । सैद्धान्तिक सहमति पाएको ३ महिनाभित्र एकीकृत कारोवार शुर गर्नुपर्ने व्यवस्थाअनुसार आगामी पुषसम्ममा दुई बैंक मर्ज हुनेछन्।

मर्जपछि नेपालको सबैभन्दा ठुलो बैंक बन्नेछ । गत असारमा मर्जरको सहमति गरेका दुई बैंकका बिचमा भएको सहमतिअनुसार शेयर स्वामित्वको अनुपात १०० : ८५ रहनेछ । तर अन्य बैंकले राष्ट्र बैंकमा बुझाएको प्रतिवद्धता कहाँ पुग्यो भन्ने थाहा हुन सकेको छैन ।

गभर्नरको योजना के हो ?

गभर्नर नेपालले आफ्नो पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै २०७२ साल साउन ७ वित्तीय संस्थाको संख्या बढि भएकाले घटाउन आवश्यक भएको बताएका थिए । जसका लागि उनले मर्जरको नीति लिने संकेत गरेका थिए, जसका लागि पूँजी वृद्धि सीमा बढाइएको थियो ।

२०७२ को मौद्रिक नीतिमा वाणिज्य बैंकहरूको हकमा २ अर्बबाट बढाएर ८ अब पुर्‍याउनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको थियो । त्यही नीतिअनुसार तत्कालिन लुम्बिनी बैंक र बैंक अफ काठमाडौँबीच मर्जर समेत भयो ।

खराब कर्जाको दर उच्च रहेको ग्राण्ड बैंकलाई प्रभु बैंकले गाभेर एकिकृत कारोवार शुरु गरेको दिन २०७२ माघ २९ गते गभर्नर नेपालले मर्जरभन्दा पूँजीवृद्धिमा लाग्न बैंकरहरुलाई निर्देशन दिए।

उनले त्यो बेलामा भनेका थिए,‘यतिका वर्षसम्म तपाईंहरूले कमाउनुभयो । अब त्यो पैसा पूँजी वृद्धिका लागि बैंकमा हाल्नुस् ।’ त्यसपछि बैंकहरु मर्जर छाडेर बोनस शेयर र हकप्रद शेयर बेचेर पूँजी वृद्धि गर्न तर्फ लागे । जसका कारण नाकाबन्दीको बेला समेत शेयर बजारमा उछाल आयो । १२ सय अंकमा रहेको नेप्से बढेर १८८१ अंकमा पुग्यो।

अहिले पनि नीति परिवर्तन होला ?

अहिले भने गभर्नर नेपालको पदावधि आगामी चैतमा सकिँदैछ। मौद्रिक नीतिको मध्यावधी समीक्षामा मर्जरमा जानेलाई दिने भनिएको सहुलियत बढाउने वा हटाउने कुनै नीति केन्द्रीय बैंकले अबलम्बन गर्‍यो भने त्यसको प्रभाव ५ वर्षअघिको जस्तोपनि हुनसक्छ।

मौद्रिक नीति सार्वजनिक गर्नुपूर्व बाध्यात्मक मर्जरको समेत व्यवस्था गर्ने बताएका गभर्नर नेपालले नीति सार्वजनिक गर्नेबेलामा भने मर्जरमा जाने बैंक र व्यवस्थापक लगायतलाई सुविधा दिनेबाहेक अन्य व्यवस्था गरेनन्।

बैंकका कार्यकारी अधिकृतहरुलाई लाग्ने कुलिङ पिरियडदेखि स्पेडदरमा केही सुविधाजनक व्यवस्था गरेका गभर्नर नेपालले आफैले भनेजस्तो व्यवस्था किन मौद्रिक नीतिमा ल्याउन सकेनन् भन्ने विषय बहशमा आएपनि त्यसको उचित कारण दिन सकेका छैनन्।

अब मध्यावधि समीक्षामा मौद्रिक नीतिमा हेरफेर आउने सम्भावना कम भएपनि नकार्न सकिने अबस्था भने नरहेको राष्ट्र बैंक स्रोतको भनाई छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १० : ०० बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको