डेंगुका बिरामीलाई झुलभित्र राखेर उपचार गर्दै टेकु अस्पताल | Khabarhub Khabarhub

डेंगुका बिरामीलाई झुलभित्र राखेर उपचार गर्दै टेकु अस्पताल


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं लगायत देशभर डेंगुको प्रकोप बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका अनुसार साउन १ गतेदेखि भदौ २४ गते सम्ममा ५६ जिल्लाका ५ हजार ९५ जना बिरामीमा डेंगुको संक्रमण भएको छ ।

प्रदेश ३ मा धेरै बिरामी

महाशाखाले सार्वजनिक गरेको तथ्यांकमा पछिल्लो समय प्रदेश ३ का जिल्लाहरुमा डेंगुको प्रकोप बढी देखिएको छ ।
प्रदेश ३ मा साउनदेखि भदौ २४ गते सम्ममा ३ हजार १ सय २६ जनामा डेंगु भेटिएको महाशाखाको तथ्यांक छ ।

यस्तै गण्डकी प्रदेशमा पनि बिरामीको संख्या एक हजार पुग्न लागिसकेको छ । गण्डकी प्रदेशमा ९ सय ७२ जनामा डेंगु भेटिएको छ ।

यस्तै प्रदेश १ मा ८ सय ३१ जना, प्रदेश ५ मा ९७ जना, प्रदेश २ मा ३९ जना, सुदूरपश्चिम प्रदेशमा २७ जना र कर्णाली प्रदेशमा ३ जनामा डेंगुको संक्रमण भेटिएको छ ।

काठमाडौं र चितवनमा बढी बिरामी

प्रदेश ३ का १२ जिल्लाहरुमध्ये सबैभन्दा धेरै बिरामी काठमाडौं र चितवनका छन् । साउनयता मात्रै काठमाडौंमा १ हजार १ सय ७० जनामा डेंगु भेटिएको छ भने चितवनमा १ हजार १ सय २८ जनामा डेंगु भेटिएको छ । यस्तै मकवानपुरमा ७ सय २८ जना, ललितपुरमा ३५जना, भक्तपुरमा ३३जना, धादिङमा १८जना , काभ्रेमा ४ जना, सिन्धुलीमा ३ जना, नुवाकोट, दोलखा र रामेछापमा २/२ जना र सिन्धुपाल्चोकमा १ जना रहेका छन् ।

टेकु अस्पतालमा बिरामीको चाप 

काठमाडौंमा डेंगुको प्रकोप बढेसँगै टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालले डेंगुका बिरामीलाई लक्षित गर्दै छुट्टै डेंगु परीक्षण तथा परामर्श कक्ष समेत सञ्चालन गरेको छ ।

टेकु अस्पतालमा डेंगुको आशंकामा स्वास्थ्यजाँचका लागि दैनिक साढे ५ सय बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी रुपनारायण खतिवाडाले बताए । ती मध्ये आधा भन्दा बढी बिरामीको डेंगु भेटिएको छ ।

चिकित्सकलाई नै डेंगु, बिरामीलाई झुलभित्र राखेर उपचार 

शुक्रराज अस्पतालमा डेंगुका बिरामीको चाप बढेसँगै अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी समेत डेंगुबाट प्रभावित भएका छन् । टेकु अस्पतालमा साउन यता मात्रै १३ जना कर्मचारीमा डेंगुको संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी रुपनारायण खतिवाडाको भनाइ छ ।

‘अस्पतालका चिकित्सक, कार्यलय सहयोगी र एचएहरुलाई पनि डेंगु भएको थियो,’ खतिवडाले भने, ‘७ जना कर्मचारी डेंगु ठिक भएर अस्पतालको काममा फर्किएका छन् भने ६ जना विदामा छन् ।’

अस्पताल परिसरमा पनि लामखुट्टे भएको र डेंगु सर्ने जोखिम उच्च रहेकाले अस्पतालले भर्ना भएका बिरामीलाई झुलभित्रै राखेर उपचार सेवा दिइरहेको छ ।

अस्पतालले डेंगुका बिरामीलाई लक्षित गरी २४ वटा शय्या छुट्टाएको छ । बुधबारमात्रै २३ जना डेंगुका बिरामी भर्ना भएर उपचार गराइरहेका छन् । डेंगु शय्या सबैमा झुलको प्रयोग गरिएको छ ।

डेंगु परीक्षण गर्न मेसिन कम

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल केन्द्रीय अस्पताल हो । शुक्रराज अस्पतालमा काठमाडौं उपत्यका बाहिरका बिरामीहरु डेंगुको संक्रमण भएकै कारण रेफर भएर समेत आउने गर्छन् ।

डेंगुको परीक्षण र उपचार गर्ने केन्द्रीय अस्पतालको ल्यावमा बिरामीको रगत परीक्षण गर्ने (कुटलर) उपकरण भने एउटा मात्रै छ । बिरामीको रगत परीक्षण गर्ने उपकरण एउटा मात्रै हुँदा उपकरणलाई क्षमता भन्दाबढी प्रयोग गर्नुपरेको सूचना अधिकारी खतिवडा बताउँछन् । डेंगु परीक्षणका लागि उपकरण एउटा मात्रै हुँदा बिरामीको रोग पत्ता लगाउनसमेत समय लाग्ने गरेको उनको भनाइ छ ।

‘डेंगुको लक्षण देखिएको बिरामीहरुलाई डेंगु भएको हो वा होइन भनेर ल्यावमा रगत पनि परीक्षण गर्नुपर्ने हुन्छ, तर हाम्रोमा एउटा मात्रै उपकरण छ,’ खतिवडाले भने, ‘औषधिमा दैनिक ३ सय बिरामीको रगत परीक्षण गर्ने मेसिनले अहिले एकहजार बिरामीको परीक्षण गर्दै आएका छौं ।’

उपकरण थप गर्न १ करोड बजेट माग

शुक्रराज अस्पतालले डेंगुका बिरामी बढ्दै गएपछि डेंगु परीक्षण किट र उपकरण खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग १ करोड ३५ लाख मागेको छ । एउटा मात्रै उपकरणले धेरै बिरामीको स्वास्थ्य परीक्षण गर्दा मेसिन विग्रनसक्ने र बिरामीको चाप बढ्दै गएकाले उपकरण थप गर्नुपर्ने अवस्था रहेको सूचना अधिकारी खतिवडाले बताए ।

प्रधानमन्त्री कार्यालयबाटै डेंगु नियन्त्रणको महाअभियान ल्याउने तयारी

देशभर डेंगुको प्रकोप बढ्दै जाँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने एक्लैले नियन्त्रण गर्न नसक्ने बताएको छ । स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नै स्वास्थ्य मन्त्रालय एक्लैले डेंगु नियन्त्रण गर्न नसक्ने बताएपछि अहिले प्रधामन्त्री कार्यलयमासमेत डेंगु नियन्त्रणको विषयमा छलफल शुरु भएको छ ।

सरकारले विभिन्न निकायसँग छलफल गर्दै डेंगु नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयबाटै नियन्त्रणको महाअभियानको घोषणा गर्ने तयारी भइरहेको स्रोतले बताएको छ ।

‘सरकारमा पनि डेंगु नियन्त्रणको विषयमा छलफल भइरहेको छ, प्रधानमन्त्री कार्यलयमा काठमाडौंका मेयर र स्वास्थ्यका निकायहरुसँग पनि छलफल भएको थियो,’ स्रोतले भन्यो, ‘प्रधामन्त्री कार्यालयबाटै प्रभावित जिल्लाहरुमा डेंगु नियन्त्रणका लागि महाअभियान संचालन गर्न निर्देशन दिने तयारी भइरहेको छ ।’

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ५ : ४३ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक