अन्य क्षेत्रमा पनि डा. केसीहरूको आवश्यकता छ

चरण प्रसाई

सोमवार, माघ २८, २०७५

Reading Time: 8 minutes

अन्य क्षेत्रमा पनि डा. केसीहरूको आवश्यकता छ

अन्ततः नागरिक समाजका अगुवाहरुका आग्रहमा डा.गोविन्द केसीले चिकित्सा सुधारको माग राख्दै १६ औं आमरण अनसन २४औं दिनमा तोडेका छन् ।

अस्पतालका कर्मचारी अमृत पुजारी, पूर्वप्रधान न्यायधीश सुशिला कार्की र पूर्वसभामुख दमननाथ ढुंगनाले संयुक्तरुपमा जुस पिलाएपछि उनको अनसन तोडिएको हो । अनसन जारी राख्दा बिमारीहरुले दुःख पाउँने तर सरकारले गैरजिम्मेवार ब्यवहार नछोड्ने पस्थितिलाई ध्यानमा राखेर तिनले नागरिक अगुवाहरुका आग्रहलाई मानेका हुन् ।

अनसन तोड्दै डा.केसीले भने– ‘विद्यार्थी र जनता मारा विधयेक मलाई स्वीकार्य छैन ।’ उनीसंग भएका सहमति सरकारले लागू गरोस् भन्ने माग उनले पुनः दोहोराएका छन् । जनताका हीत विपरित दुबै सदनबाट पारित विधयेक माथि पुनः विचार गर्न र सरकारलाई त्यसमा ध्यानाकर्षण गराउँन राष्ट्रपति समेतलाई उनले आग्रह गरे । पत्रकार बीच बोल्दै संघर्ष जारी रहेको जानकारी दिए । आवश्यक परेमा १७औं सत्याग्रह बस्न पनि सक्ने जानकारी उनले दिए ।

डा.केसीको यो निर्णय स्वागत योग्य छ । उनले सही समयमा ठीक निर्णय गरेका छन् । नागरिक समाजको आग्रहलाई सम्मान गरेका छन् । उनको जीवन कुनैपनि हालतमा जोगिनु पथ्र्यो । र यस निर्णबाट जोगिएको छ पनि । सरकार र सत्तासिन दलका जिम्मेवार नेताहरुका अभिब्यक्ति तथा रबैया देख्दा लाग्दछ हाम्रो देशको संवेदनशीलताको पारो निकै तल झरेको छ ।

संसदको दुईतिहाई सुविधाजनक समर्थनबाट बनेको सरकार जति जिम्मेवार हुनुपर्ने थियो, त्यो देखिएन । संसदीय मर्यादा विपरित जसरी विधयेक बलमिच्याइबाट पारित भयो, त्यो अशोभनीय थियो । संसदभित्र गरिएको बल प्रयोग देखेर लाग्दथ्यो जनताको प्रत्यक्ष प्रतिनिधित्व गर्ने र आवाज बुलन्द गर्ने थलो रणभुमिमा परिणत भएको छ । एक नागरिकको जीवन माथि खेलबाड गरिर्दैछ । सत्तापक्ष र विपक्षका गैरजिम्मेवारीपना झल्केको थियो त्यस विचित्र दृष्यबाट । विधयेक बलपूर्वक पारित गरेर विजय हासिल भएको अनुभुति गरेको त होला सरकारले तर त्यसबाट आमनागरिकको विश्वास भने उसले गुमाएको छ । नागरिकका दुख–पीडा आत्माबोध भन्दा ‘स्वास्थ्य ब्यपारीकरण’का पक्षमा उभिएको देखिएको छ ।

भनिन्छ, सरकार नागरिकको अविभावक हो । लोकतान्त्रिक शासन प्रणाली भनेको जवाफदेही सरकार पनि हो । नागरिकका दुख–कष्ट र पीडामा उसको साथ हुन्छ । हुनेखाने भन्दा विपन्न, निमुखा र दुखीका पक्षमा उभिनु उसले आफ्नो धर्म ठान्छ । सामाजिक न्याय एवं कल्याणकारी राज्यको स्थापना उसको उच्च प्रथमिकतामा पर्छ । संवैधानिक सर्वोच्चतालाई आत्मासात गर्छ । शक्ति पृथकिकरणका आधारभुत सिद्धान्तलाई सम्मान गर्छ । लोकतन्त्रका मूल्यमान्यता एवं नैतिकताका जगमा शासन पद्दति चलाएको हुन्छ । दण्डहीनता उसको शब्दकोषमा अटाउँदैन । मानव अधिकारको पूर्णसम्मान गर्छ । विधिको शासनमा विश्वास गर्छ । निहीत र राजनीतिक स्वार्थभन्दा माथि उठेको हुन्छ । पारदर्शी, प्रभावकारी, सफा, चुस्त र विश्वसनीय शासन ब्यवस्थाको प्रत्याभुति उसका सुशासनका मूलकडी(मापदण्ड) हुन् । जस्तोसुकै प्रतिकुल अवस्थामा पनि नागरिकको आत्मसम्मान र न्यायिक अधिकारमा ठेस पु¥याउँने काम उसले गर्दैन । छलकपट जान्ँदैन र त्यसलाई मान्दैन पनि । उसको राजशक्तिको श्रोत नागरिकका आड–भरोसामा टिकेको हुन्छ ।

सत्याग्रही डा.केसीको प्रशंगमा सरकार किन संवेदनशील बनेन । केसीका माग ब्यक्तिगत स्वार्थसंग नजोडिएको जगजाहेर छ

नेपाल लामो समयदेखि राजनीतिक उकाली–ओराली भोग्दै आएको मुलुक हो । निरंकुश एकतन्त्रीय जाहानीया राणाकालदेखि गणतन्त्रसम्म आईपुग्दा पनि असल राजनीतिक संस्कार मुलुकमा अझ बस्न सकेको छैन । संविधान सभाद्वारा देशले आफ्नो भविष्य आफै निर्माण गर्ने सुअवशर समेत पायो । गणतान्त्रिक मुलुक बन्यो । लामो रस्सा–कस्सीपछि नयाँ संविधान जारी भयो पनि । नागरिकका हक–हीतमा हुने एक उच्चतम राजनीतिक अभ्यास मुलुकमा भयो । तथापि यस प्रकृयाले नागरिकलाई राष्ट्र प्रति अपेक्षित अपन्वत्व दिन सकेन । शासकलाई परिपक्क बनाएन । विपन्न, निमुखा र पीडितका पक्षमा हुनुपर्ने सरकार विचौलीया र नाफाखोर एवं निहीत राजनीतिक स्वार्थका फन्दामा परेको छ । विगतमा नागरिक समाजका आग्रहलाई विशेष महत्व दिने नेतृत्व अहिले तिनैसंग बैरी जस्तो ब्यवहार गरेको छ । स्वार्थविहीन नागरिक समाजलाई पनि राजनीतिक चस्माबाट हेर्ने गरेको छ । नहुनुपर्ने अहंकार नेतृत्व तहमा पलाएकोे छ । राज्यको संवेदनहीनताले नागरिकका सही आवाजलाई वेवस्ता गरिएको छ ।

यो आलेख डा.गोविन्द केसीको १६औं सत्याग्रह, यसबाट उठाएका सवाल र वर्तमान सरकारको रवैयामाथि उठेका प्रश्नहरुका सेरोफेरोमा रहेको छ ।

थाहा भएन– सत्याग्रही डा.केसीको प्रशंगमा सरकार किन संवेदनशील बनेन । केसीका माग ब्यक्तिगत स्वार्थसंग नजोडिएको जगजाहेर छ । एकातिर सरकार उनको माग पुरा भईसकेको भन्छ भने सत्याग्रही डा.केसी ओली सरकारले उनलाई धोका दिएको जिकिर गरेका छन् । दुबै संसदबाट परित विधयेक उनीसंग भएको संझौता विपरित भएको भनेका छन् । यो विधयेक विद्यार्थी र जनता मारा भएको उनले बताएका छन् ।
यसैबीच सरकारका प्रवक्ता तथा संचारमंत्री गोकुलप्रसाद बास्कोटाका वयान सुन्दा लाग्दछ हामी कुनै कठोर र मर्मशीलता गुमेको देशका नागरिक हौं । संवेदनहीन युगमा हामी बाँचेका छौं । हरेक दिनजसो पत्रकार सम्मेलनमा उनले भन्ने गरका छन्– डा.केसीका सबैमाग पारित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधयेक’ मार्फत पुरा भईसकेका छन् । पत्रकारले सोधेका सवालमा प्रतिप्रश्न गर्दछन्– ‘डा.केसीसंग किन वार्ता गर्ने?’ ‘वार्ताको औचित्य छ र?’ उनको औचित्व समाप्त भएको छ । तर डा.केसीले प्रवक्ताको कथनको ठीक विपरित उनीसंग भएको संझौता अनुसार विधयेक पारित नभएको भनाई अनसन तोड्ने क्रममा पनि राखीसकेका छन् ।

प्रवक्ताका यस अमिल्दो भनाइबाट केही गम्भीर सवालहरु उठेका छन् । उनका यस धारणा सरकारको के आधिकारिक ‘पाजिसन’ हो ? सरकार केसीसंग संवाद गर्न किन चाहेन ? उनका माग पुरा भइसकेका भए उनसँग सम्पर्कसमेत किन गर्न चाहेन ? उनको जीवन दाँऊमा राख्न किन खाज्यो ? यदि लिखित वाचा पूरा भएका भए यसको जानकारी उनलाई दिन सरकार किन हिचकिचायो ?

यदि प्रवक्ताको भनाइमा सत्यता छ भने १५औं सत्याग्रहमा वार्ताको सहजिकरण गरेका सत्ताशीन दलका नेता सुभाष नेङमाङ र नाराणकाजी श्रेष्ठ गतिरोध फुकाउँन किन अघि सरेनन् ? उनको माग पुरा भएको विश्वास दिलाएर डा.केसीको जीवन रक्षा गर्ने दायित्व तिनको पनि थिएन र ? एक नागरिकको जीवन–मरणको सवालमा सरकार मिडीयाबाजी मात्र गरेर बस्न मिल्थ्यो ? सत्याग्रहीसंग संवाद थाल्नुपर्ने थिएन र ? उनको जीवनसंग सरकारले खेलवाड गर्न सुहाउँने हो र ? जस्ता गम्भीरप्रश्न उठेका छन् डा.केसीको सत्याग्रहबाट । किनभने लोकतन्त्र भनेको संवाद पनि हो । समस्याका समाधान संवादबाटै हुने गर्दछन् ।

ओली सरकारले यो बुझ्नुपर्ने हो सरकारका प्रवक्ताको विश्वसनीय छवि केही समययता धुमल्लीएको छ एक टिभिको प्रत्यक्ष अन्तर्वाताबाट सार्वजनिक रुपमा उनले झुठ बोलेर । उक्त अन्तवार्ता लिने पत्रकार राजु थापालाई तिनले तत्काल बर्खास्त गरेर असहिष्णुताको अर्को परिचय पनि दिए । यस अवस्थामा समेत सरकारको प्रवक्ता जस्तो जिम्मवार पद तिनले सम्हाली राख्नु आफैमा विडम्बनापूर्ण छ । राज्यमा नैतिकताको खडेरी परेको यसबाट देखिन्छ । सरकारकै कानूनमन्त्री शेरबहादुर तामाङले नैतिकताका आधारमा दिएको राजीनामा एक भुल थियो त भनेर किन नसोच्ने । सर्वज्ञानी ठानेका संचारमन्त्री एवं प्रवक्ताको मिडियामा जतिबढी उपस्थिति देखिन्छ सरकार समेतको लोकप्रियता त्यतिनै खस्कदै गएकोे महशुस गरिएको छ ।

डा.केसीको सत्याग्रहले हारेको छैन । यसको नैतिक जीत भएको छ । यस अभियानबाट अन्य विसंगतिले गाँजेका क्षेत्रमा अरु डा.केसी जन्मने उत्प्रेरणा दिएको छ ।

डा.केसीको सत्याग्रहलाई अवमूल्यन गर्नु कदापि ठीक थिएन दुईतिहाईको समर्थनमा गठन भएको ओली सरकारका लागि । यो रवैया ‘आफ्नो खुट्टमा बन्चरो हाने तुल्य’ हुनेछ । केसीले कुनै निजी स्वार्थ बोकेर सत्याग्रमा थालेका थिएनन् । स्वास्थ्य शिक्षा एवं सेवाक्षेत्रमा विद्यमान विसंगति देखेका र भोगेका उनी चुप लागेर बस्न सकेनन् । थाहा पाइपाई चुपचाप लागेर बसेका ब्यक्तिहरुको आवाज उठाउँने आँट उनले गरे ।

यसक्षेत्रमा भएका चरम शोषण र ब्यापरिकरणका विरुद्ध कसै न कसैैले त आवाज उठाउँनु पथ्र्यो जुन उनले गरे । साहासिक कदम चाले । आफ्नो ज्यान जाखिममा राखेर भएपनि निमुखा तथा उपचार सेवाबाट बन्चित नागरिकका पक्षमा सत्याग्रह थाले । विद्यमान स्वास्थ्य शिक्षा एवं सेवा क्षेत्रमा ब्याप्त विसंगति, शोषण र चलखेलको कति जकडिएको छ भनेर उजागर गरे । उनको सत्याग्रह अन्यायका विरुद्ध र न्यायका पक्षमा रहँदै आएको छ । चरम ब्यापारिकरणका विरुद्धमा उभिएको छ ।

मलाई लाग्दछ डा.केसीको सत्याग्रह स्वास्थ्य शिक्षा क्षेत्रको सुधारभित्रको घेराभन्दा माथि उठेको छ । राजनीतिक शक्तिका आडमा अन्यक्षेत्रका अन्याय–अत्यचार र विसंगतिलाई पनि आफ्नो अभियानमा सामेल गराएका छन् ।

यस पटकको सत्याग्रहमा डा.केसीले १२ बर्षदेखि न्यायका लागि भौतारि राखेका द्वन्दपीडित र बलत्कारपछि हत्या भएकी निर्मला पंतका न्यायको पक्षमा आवाज उठाएका छन् । न्यायको लडाईमा द्वन्दपीडित र पन्त परिवार एक्ला छैनन् भन्ने संदेश दिएका छन् । तथापि विडम्बना नै हो भन्नुपर्छ आशलाग्दा ठानिएका कतिपय नेकपाका नेताले (पूर्व एमाले) यी मागलाई लिएर डा.केसीले राजनीति गरेको देखेका छन् । विगतमा न्याय र पीडितका पक्षमा रहेका उनीहरु एमाले र माओवादीको एकिकरणपछि तिनका सोचमा एकाएक परिवर्तन आएको छ । यस संवेदनशील बिषयलाई चटकै भुलेका छन् । अन्तर्राष्ट्रिय सुमुदायको चासोसमेत रहेको र राष्ट्रको भविष्य पनि गाँसिएको बिषयलाई तिनले आझेलमा पर्न खोजेका छन् । जुन दुर्भाग्यपूर्ण छ ।

अन्त्यमा,  डा.केसीको सत्याग्रहले हारेको छैन । यसको नैतिक जीत भएको छ । यस अभियानबाट अन्य विसंगतिले गाँजेका क्षेत्रमा अरु डा.केसी जन्मने उत्प्रेरणा दिएको छ । स्वार्थ र संकिर्णताको सोचभन्दा माथि समाज उठ्नेछ । राजनीतिक एवं आर्थिक फोहोरी खेलाबाट मुलुकले अवश्य उन्मुक्ति पाउँनेछ । यसैसंदर्भमा सकारात्मक सोचका एक अभियन्ता राजेन्द्रबहादुर श्रेष्ठले सामाजिक संजालमा लेखेका छन्–

‘जहा अहं र अहंकार छ,
त्यहीं स्वार्थ र संकिर्णता छ,
जहाँ सम्मान र समर्पण छ,
त्यहीं सद्भाव र संभावना छ ।’

२०७५ माघ २८

[email protected]

भर्खर

0