पारसपछि कसले सम्हाल्ला नेपाली क्रिकेटको कप्तानी ? | Khabarhub Khabarhub

पारसपछि कसले सम्हाल्ला नेपाली क्रिकेटको कप्तानी ?



काठमाडौं –यतिबेला नेपाली क्रिकेटले ४ वर्षका लागि अस्थायी अन्तर्राष्ट्रिय एकदिवसीय (ओडिआई) मान्यता पाएको छ । ओडिआई मान्यता पाएको १ वर्ष सकिँदा नेपाली टोलीले २ देशसँग एकदिवसीय शृङ्खला खेलिसकेको छ ।

एकदिवसीय मान्यता पाएपछि पहिलो ओडिआई शृङ्खला नेपालले नेदरल्यान्डसँग खेलेको थियो भने दोस्रो युनाइटेड अरब इमिरेट्स (युएई) सँग ।

२ शृङ्खला मध्ये नेदरल्यान्डसँग १–१ को बराबरी खेलेको नेपाली टोलीले युएईविरुद्ध २–१ जीत हात पारेको थियो ।

केही दिन अघि मात्र नेपाली क्रिकेट टोलीले नयाँ प्रशिक्षक पाएको छ । भलै नयाँ प्रशिक्षक उमेश पटवाललाई आईसीसीले १ वर्षको छोटो समयका लागि नेपाली टोली सुम्पिएको छ ।

यति बेला नेपाली क्रिकेट प्रशंसकमाझ लामो समयदेखि निलम्बन्मा रहेको नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट निलम्बन फुकुवा होला ? भन्ने कौतुहलता जागेको छ ।

यस्तैमा डिभिजन ५ देखि नेपालले एकदिवसीय मान्यता पाउँदासम्म नेपाल क्रिकेटका लागि मेहनत गरेका राष्ट्रिय टोलीका खेलाडीहरु विदाईको संघारमा रहेको विषय पनि बेलाबेलामा चर्चा हुन थालेको छ ।

नेपालको प्लेङ–११ मा नियमीत खेलाडीहरु बाहिरिने चर्चा भइरहँदा उनीहरुको स्थान लिने खेलाडी टोलीमा नभएको चर्चा भइरहेको छ । यसलाई नेपाली क्रिकेट टोलीको महत्वपूर्ण चुनौतिका रुपमा लिन्छन् पूर्व राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटा ।

नेपाली टोलीका आइकोनिक प्लेयरका रुपमा रहेका कप्तान पारस खड्का, बसन्त रेग्मी, शरद भेषावकर र ज्ञानेन्द्र मल्ल जसरी अहिले निर्विकल्प मैदान उत्रिन्छन् त्यसैगरी उनीहरुको विकल्प खोज्नु नेपाली टोलीलाई चुनौति रहेको प्रशिक्षक टमटाको भनाइ छ ।

प्रशिक्षक टमटा नेपाली टोलीको भविष्यलाई मध्यनजर गरेर अहिले देखि नै नयाँ खेलाडीलाई टोलीमा भित्र्याइसकिएको बताउँछन् । यु–१९ बाट सिनियर टोलीमा स्थान पाएका खेलाडीहरुलाई आउँदा दिनमा जतिसक्यो धेरै अवसर दिनु पर्नेमा पनि उनी जोड दिन्छन् ।

त्यसोत, कप्तान पारस खड्का आफैंले पनि आफू लामो समय टोलीको नेतृत्वमा रहन नसक्ने बताउँदै आएका छन् । योसँगै के उनले नेपाली क्रिकेट टोलीको कप्तानका रुपमा टोलीको कुनै एकजना खेलाडीलाई अगाडि ल्याइरहेका छन् त ? स्वभाविक प्रश्न उठ्छ ।

अहिलेसम्म नेपाली टोलीको भावी कप्तानका रुपमा कुनै पनि खेलाडीलाई हेरिएको पाइँदैन । यो खेलाडीले आगामी दिनमा नेपाली क्रिकेटको नेतृत्व गर्न सक्छ भन्ने चर्चा हुन सकिरहेको छैन ।

तर, यी स्टार खेलाडीसहितको टोलीको क्षमता र दक्षताले नै नेपाली क्रिकेटले डिभिजन ५ देखि अस्थायी एकदिवसीय क्रिकेटको मान्यतासम्मको यात्रा सफलताका साथ पुरा गरेको छ ।

सन् २०१४ को ट्वान्टी–२० विश्वकप क्रिकेट खेलेको नेपाली टोलीका महत्वपूर्ण यी ४ खेलाडी अहिले पनि नेपाली टोलीको मुख्य केन्द्रमै छन् ।

सन् २०२० मा अस्ट्रेलियामा हुने विश्वकपका लागि नेपाली टोली तयार हुँदैछ । यति भइरहँदा यी सिनीयर खेलाडीसँगै नेपाली टोलीमा केही नयाँ अनुहारले स्थान पाउने पक्का छ ।

कतिपय खेलहरुमा सिनियर खेलाडीले अपेक्षाअनुसारको प्रदर्शन गर्न नसक्दा आक्रोसित नेपाली क्रिकेट प्रशंसकले उनीहरुमाथि आक्रोस पनि पोख्ने गरेका छन् ।

को बन्ला नेपाली टोलीको आगामी कप्तान ?

नेपाली क्रिकेट टोलीमा महत्वपूर्ण प्रश्न अथवा जिज्ञासाका रुपमा कप्तान पारस खड्का पछि नेपाली टोलीको कप्तानी कसमा सर्छ भन्ने छ । यसको जवाफ पूर्व प्रशिक्षक टमटासँग पनि छैन । तर, उनले राष्ट्रिय टोलीका २ जना खेलाडीमा कप्तान हुनसक्ने क्षमता देखेका छन् ।

यद्यपि नेपाली क्रिकेट टोलीले पारस जत्तिको क्षमतवान कप्तान पाउन भने अहिलेकै अवस्थामा मुस्किल रहेको क्रिकेट विश्लेषकहरुको भनाइ पनि छ । तर, पनि समयसँग सँगै नेपाली टोलीले अबको केही वर्षमा नयाँ कप्तान पाउने छ ।

अहिले यहाँ सबैभन्दा ठूलो चुनौति नै कप्तानको छ । कप्तान कसलाई बनाउने ? अहिलेदेखि नै हामीले ती खेलाडीमाथि जिम्मेवारी बढाउँदै लैजानु पर्छ । कप्तान को हो र त्यसको जिम्मेवारी के हो लगायतका कुरामा ध्यान दिनु पर्छ

‘हामीले आउने पुस्तामा टोलीको कप्तानी कसले गर्न सक्छ भनेर २ जना खेलाडीलाई तयार गर्नु पर्छ’ खबरहबसँगको कुराकानीमा पूर्व प्रशिक्षक टमटाले भने,‘जसमा मैले अहिलेकै अवस्थामा लेग स्पिनर सन्दीप लामिछाने र अल–राउण्डर दीपेन्द्रसिंह ऐरीमा कप्तानी गर्न सक्ने क्षमता छ ।’

लामिछानेसँग अन्तर्राष्ट्र्रिय लिग तथा राष्ट्रिय टोलीमा रहँदा राम्रो अनुभव सँगालेको हुनाले लामिछानेमा टोलीको कप्तानी गर्ने क्षमता भएको बताए । त्यस्तै दीपेन्द्रलाई उनले राष्ट्रिय टोली तथा घरेलु लिगमा परिपक्व र आवश्यक परेको खण्डमा टोलीका लागि राम्रो गर्न सक्ने र निर्णय क्षमता पनि भएको खेलाडीका रुपमा विश्लेषण गरेका छन् ।

कप्तान पारस खड्काले भावी पुस्ताका लागि टोलीको नेतृत्व गर्न सक्ने खेलाडीको पहिचान गरेर उनीसँग अनुभव सेयर गर्नु पर्ने टमाटाको भनाइ छ ।

अन फिल्ड र अफ दि फिल्ड कसरी टोलीको नेतृत्व गर्न सकिन्छ लगायतका कुराहरु सिकाउदै लैजानु पर्ने उनी बताउँछन् ।

‘अहिले यहाँ सबैभन्दा ठूलो चुनौति नै कप्तानको छ । कप्तान कसलाई बनाउने ? अहिलेदेखि नै हामीले ती खेलाडीमाथि जिम्मेवारी बढाउँदै लैजानु पर्छ । कप्तान को हो र त्यसको जिम्मेवारी के हो लगायतका कुरामा ध्यान दिनु पर्छ,’ टमटाले भने,‘ अहिले टोलीमा रहेका नयाँ पुस्ताका खेलाडीहरुले उमेरसमूहमा पनि कप्तानी गरीसकेका छन् । सिनियर खेलाडी छाडेर भन्नु पर्दा आजको दिनमा अनुभवका हिसाबले सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीलाई कप्तानका रुपमा तयार गर्नु पर्छ जस्तो मलाई लाग्छ ।’

उनले भने,‘सन्दीपले अन्तर्राष्ट्रिय लिगहरुबाट धेरै अनुभव सँगालि सकेका छन् । अन्तर्राष्ट्रिय स्तरका अन्य टिम र खेलाडीसँग पनि टचमा छन् । त्यसैले उनलाई जोड दिँदा पनि हुन्छ । यस्तै, सन्दीप पछि नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरीलाई पनि कप्तानका रुपमा अगाडि बढाउन सकिन्छ ।’

सिनियर खेलाडीसँगै नयाँ खेलाडीलाई स्थान दिनु पर्छ

३ वर्ष नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारीमा रहेर काम गरेका जगत टमटा पनि अहिले नेपाली क्रिकेटमा कप्तान देखि सिनियर खेलाडीहरुको विकल्प नहुनु नै मुख्य चुनौति रहेको बताउँछन् ।

‘हामीसँग ४ जना सिनीयर खेलाडी छन् । यहिबीचमा विश्वकप छनोट पनि आउँदैछ । ४ जना सिनीयर खेलाडी टोलीमा रहँदा उनीहरुले आफ्नो फिटनेसमा पुस गर्नु पर्छ,’ उनीहरुको विकल्पका रुपमा टोलीमा ४–५ जना नयाँ खेलाडीलाई स्थान दिइएको पूर्व प्रशिक्षक टमटाको भनाई छ ।

टोलीमा स्थान पाएका राम्रा खेलाडीहरुलाई जतिसक्दो धेरै खेलको अवसर दिनु पर्ने र विस्तारै उनीहरुलाई टोलीमा कसरी व्यवस्थापन गर्ने भन्ने बारे पनि सोच्नुपर्ने उनको सुझाव छ ।

नेपाली क्रिकेट टोलीले मुख्य प्रशिक्षकमा उमेश पवटाललाई पाएको छ र उनले पनि नयाँ खेलाडी र सिनीयर खेलाडीबीचको कम्मिनेसन मिलाएर टोली बनाउनु पर्ने टमाटा बताउँछन् ।

‘टोलीका युवा खेलाडीमध्ये ३–४ खेलाडी जनालाई बलिङ र ब्याटिङ एकेडेमिमा पठाएर उनीहरुलाई राष्ट्रिय टोलीका लागि तयार पार्नु पर्छ’ टमाटाले भने ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ८ : १३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०