मियो बिनाका दल : नेकपामा थरीथरी अभियान, कांग्रेस नेतामाथि प्रश्नै प्रश्न | Khabarhub Khabarhub

मियो बिनाका दल : नेकपामा थरीथरी अभियान, कांग्रेस नेतामाथि प्रश्नै प्रश्न


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसका संगठनात्मक संरचना आआफ्नै तालले चल्न थालेका छन् । नेकपा एकीकृत भएको एक वर्ष बिते पनि तल्लो तहमा एकीकरण हुन नसक्दा संगठन असरल्ल छ । नेतैपिच्छे भिन्नभिन्न अभिव्यक्ति आएपछि कार्यकर्ता अन्योलमा छन् । प्रतिपक्षी कांग्रेस न सांगठनिक रुपमा सशक्त देखन्छ न त उसले जिम्मेवार प्रतिपक्षको भूमिका नै खेलेको छ । यति बेला कांग्रेस कार्यकर्ता नेतृत्वसमक्ष औंला ठड्याउन थालेको अन्नपूर्ण पोस्टमा खबर छ ।

नेकपामा थरीथरी अभियान शीर्षकमा पत्रिकाले नेकपाले चलाएका अभियानको फेहरिस्ता देखाएको छ । सत्तारूढ नेकपाका २१ केन्द्रीय सदस्यले गत मंसिरमा केन्द्रीय समिति बैठक बोलाउन पार्टी अध्यक्षलाई ज्ञापनपत्र बुझाए। नीति निर्माणको केन्द्रीय थलो केन्द्रीय समितिको एक वर्षयता बैठक नबसेपछि उनीहरूले सामूहिक रूपमा लिखित ध्यानाकर्षण गराएका थिए। त्यसयता एकपटक स्थायी समिति बैठक बसे पनि अहिलेसम्म केन्द्रीय समितिको बैठक बसेको छैन। पोलिटब्युरो गठन हुन सकेको छैन। नेताहरूको क्षमताअनुसारको जिम्मेवारी विवाद अझै जारी छ।

केन्द्रीय नेताहरूको कार्यविभाजन दोहोरो जिम्मेवारी दिने–नदिने विवादमा अल्झिएको छ। एकता प्रक्रियाको गोलचक्करमै नेताहरूले एक वर्ष बिताएका छन्। अन्तरपार्टी जनवाद कमजोर बनाइएको, पार्टीभित्र छलफलको वातावरण नबनाइएको र निकै भद्दा वा ठूलो बनाइएको केन्द्रीय समितिको बैठक बोलाइहाले पनि नेताहरूको भाषण सुनाएर समापन गर्ने गरिएको ती नेताहरूले नेतृत्वसँग असन्तुष्टि पोखेका थिए।

उनीहरूले पार्टी बैठक नियमित र जीवन्त बनाउन पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएको सात महिना पुगेको छ। तर त्यसको सुनुवाइ अहिलेसम्म भएको छैन। ‘एकपटक महासचिवमार्फत पार्टी अध्यक्षलाई बैठक नबसेको विषयमा ध्यानाकर्षण गरायौं, तर पनि बैठक बस्न सकेको छैन। लाजैमर्दो अवस्था छ,’ ज्ञापनपत्र बुझाउनेमध्येका नेता डा. विजय पौडेलले भने, ‘कार्यविभाजन टुंगिएला र बैठक बस्ला भन्ने आस थियो तर फेरि अल्झिएको छ। कति बोल्नु ? अब प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्केपछि छिटो बैठक बोलानुभएन भने फेरि घच्घच्याउनुपर्ला।’ अभियानमा पौडेल मात्र छैनन्, उनीसँगै केन्द्रीय नेताहरू जगन्नाथ खतिवडा, ठाकुर गैरे, शत्रुधन महतो, ममता गिरी, जयन्ती राई, गरिमा शाह, निरज आचार्य, भाष्कर काफ्ले, प्रेमलकुमार खनाल, माधव अर्याल, पशुपति चौलागाईं, मेटमणि चौधरी, रबिन कोइराला, विरोध खतिवडा लगायत छन्।

उनीहरूको अभियानमा सुरुमा २१ जना जोडिए पनि अहिलेसम्म झन्डै ४० भन्दा बढी नेताहरू गोलबद्ध भइसकेको अर्का नेता जगन्नाथ खतिवडाले बताए। त्यसपछि पनि नेतृत्वको स्वेच्छाचारी र मनोमानी कार्यशैलीगत समस्याबारे उनीहरूले विभिन्न चरणमा छलफल गरिसकेका छन्। ‘अझै छलफल जारी राख्दै अगाडि जाँदैछौं,’ नेता खतिवडाले भने।

पार्टी, सरकार र संसदीय दल सञ्चालन, सुशासन, सादा जीवनशैली, आचरण र वैचारिक दिशाबोधका विषयमा केन्द्रित रहेर त्यसबेला उनीहरूले महासचिवमार्फत अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका थिए। नेतृत्वले पार्टीभित्र गम्भीर विषय उठ्दा महसुस गरेको अभिनय गर्ने, तत्कालका लागि असन्तुष्टि र आवेग शान्त बनाउन ‘कमजोरी भएको र अब नगर्ने’ मौखिक बाचा गर्ने, समस्यालाई अल्पकालीन रूपमा पन्छाउने तर व्यवहारमा मिचाहा शैलीलाई पुनरावृत्ति दिने काम गरिरहेको यो समूहको आरोप छ।

उनीहरू मात्रै होइन, पार्टी नेतृत्वले केन्द्रीय नेतालाई समेत वर्ष दिनसम्म कामको जिम्मेवारी नदिई बेरोजगार बनाएपछि प्रभावशाली नेताहरू आफ्नै अभियानमा सक्रिय हुन थालेका छन्। पार्टीभित्रका मात्र होइन, पार्टीइतरका कम्युनिस्ट घटकलाई पनि एकै थलोमा ल्याएर मार्क्सवादका विषयमा बहस–प्रशिक्षण चलाउने उद्देश्यले घनश्याम भुसाल, राम कार्कीलगायत नेताहरूको अगुवाइमा अर्काे अभियान पनि चलिरहेको छ।

कार्ल मार्क्स जन्म द्विशतवार्षिकी मूल समारोह समितिका नाममा उनीहरूले विविधखाले अभियान सञ्चालनमा ल्याएका छन्।

कांग्रेस नेतामाथि प्रश्नै प्रश्न शीर्षकमा कांग्रेसका गतिविधिलाई पत्रिकाले समेटेको छ । कांग्रेसका स्थानीय तहका कार्यकर्ताले पार्टी कमजोर हुँदै गएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन्। जिल्लामा खटिएका केन्द्रीय नेतासमक्ष कार्यकर्ताले संगठन लथालिंग बनाएको र प्रतिपक्षीको भूमिका बलियो बनाउन नसकेको जस्ता प्रश्न राखेका छन्।

पहिलो चरणको जागरण अभियान प्रभावकारी बनाउन कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको थियो। केन्द्रीय प्रतिनिधिले आफ्ना जिल्लामा एक महिना बसेर त्यहाँको अभियान संयोजन गरेका थिए। केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले स्थानीय तहबाट सभापति पार्टी नेतृत्वको भूमिकाप्रति विभिन्न प्रश्न आएको बताए। उनले भने, ‘कार्यकर्ताले केन्द्रको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको पाइयो।’

नेता केसीका अनुसार ढेड वर्षअघिको निर्वाचनमा नराम्ररी हारेको कांग्रेस अझै सभापतिको घेराबन्दीबाट बाहिर निस्कन नसकेको गुनासो कार्यकर्ताबाट आएको बताए। उनले भने, ‘सभापति देउवाले निर्वाचनमा दुई कम्युनिस्ट पार्टी मिलेका कारण हारेको भन्दै आफूलाई बचाउ गरेका छन्। तर यसमा कार्यकर्ता सहमत छैनन्।’

जागरण अभियानका क्रममा कञ्चनपुर गएका केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टीको केन्द्रप्रति तल्लो तहमा व्यापक गुनासा र आशंका रहेको बताए। ‘पार्टीको संगठनदेखि निर्वाचन परिणाम र अहिले प्रतिपक्षीको भूमिकामाथि नेताकार्यकर्ता सन्तुष्ट छैनन्’, घिमिरेले भने, ‘कांग्रेस कतै अझै कमजोर त बन्दै जाने होइन भन्ने त्रास स्थानीय नेताकार्यकर्तामा देखियो।’ पार्टीको वैधानिक संगठन कमजोर हुँदा केन्द्रदेखि स्थानीय तहसम्म नेकपाको दबदबा रहेको घिमिरेले बताए। उनका अनुसार तल्ला तहका कार्यकर्तामा नेता बलियो हुने र कांग्रेस झन् कमजोर हुँदै जाने शंका छ।

पार्टीको संगठन स्थानीय तहसम्म निर्माण भएको भए जागरण अभियान प्रभावकारी बन्न सक्ने आंकलन केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको छ। ‘जागरण अभियानले गाउँगाउँसम्मका पार्टी पंक्ति जागरुक भए पनि संगठन अभावमा त्यो दिगो प्रभावकारी बन्न सक्दैन,’ उनले भने, ‘मुलुक संघीयताको अभ्यासमा गए पनि कांग्रेसले प्रदेशमा आफ्नो संरचना बनाउन सकेको छैन। जिल्ला कार्यसमिति भए पनि निर्वाचन क्षेत्र र स्थानीय तहमा कांग्रेसले संरचना बनाउन सकेको छैन।’ केन्द्रमा समेत यो मुद्दा बेलाबखतमा उठे पनि पार्टी नेतृत्वले त्यसतर्फ अहिलेसम्म काम गर्न नसकेको आरोप उनको छ।

केन्द्रीय महाधिवेशन भएको तीन वर्ष बिते पनि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय विभाग गठन गर्न सकेका छैनन्। भ्रातृ संगठन लथालिंग छन्।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ७ : ०८ बजे

युट्यूबलाई वैकल्पिक मिडिया बनाउने यी योद्धा

काठमाडौं– केही समयअघिसम्म एकाध टेलिभिजनलाई श्रव्यदृश्य समाचारको मूलधार मानिन्थ्यो ।

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने