‘उहाँको जीवनमा आएर जोडिन्छु भन्ने लागेकै थिएन’

'मीरा दिदीकै कारण उहाँ आज यो ठाउँमा हुनुहुन्छ'

अर्घेलो थापा

शनिबार, बैशाख २८, २०७६

Reading Time: 9 minutes

‘उहाँको जीवनमा आएर जोडिन्छु भन्ने लागेकै थिएन’

काठमाडौंहास्य कलाकार हरिवंश आचार्य र रमिला आचार्यलाई नेपाली समाजमा उदाहरणीय जोडीका रुपमा लिइन्छ । पत्नी मीराको निधनपछि हरिवंश विक्षिप्त बनेका बेला रमिला आचार्य जीवनको एउटा हिस्सा बनेर हरिवंश आचार्यको जीवनमा आएकी थिइन् । हरिवंशका जेठा छोरा अमेरिकामै थिए । कान्छा छोरा ललितपुरमा होटल व्यवसाय चलाएर बसेका थिए ।

बाहिर देख्दा दुनियाँलाई हँसाउने हरिवंश भित्रभित्रै पीडामा थिए । उनको पीडालाई कम गर्न मल्हम बनेर आएकी थिइन्, रमिला आचार्य । एकल जीवन बाँचिरहेकी रमिला र हरिवंशले बिहे गरे । यो जोडीलाई नेपाली समाजमा एउटा ‘सन्देश’ का रुपमा पनि हेरिएको छ । बिहेपछि हरिवंश र रमिला प्रायः कार्यक्रममा सँगै पुग्ने र फ्यानहरुसँग संवाद गर्ने गर्छन् । हरिवंश आचार्यकी अर्धाङ्गिनी रमिला आचार्यसँग यसै सन्दर्भमा रहेर हामीले केही प्रश्न गरेका थियौँः

जीवनमा कल्पना नगरेका कुरा पनि हुँदा रहेछन् है ? हरिंवश आचार्यलाई नेपाली समाजमा ‘आइडल’ का रुपमा पनि हेर्ने गरिन्छ, उहाँले नेपाली समाजमा गुन लगाउनुभएको छ, चेतना जगाउनुभएको छ । नयाँ जीवनमा जोडिन पाउँदा कस्तो महसुस गर्नुभएको छ ?

अब कस्तो भन्ने । हुन त म पनि एउटा राम्रै घरको छोरी हुँ । मेरो पहिलो बिहे सानैमा भयो । एकदिन त्यस्तै घटना घट्यो । जिन्दगीमा उतारचढाव त हुन्छ नै । मैले फेरि बिहे हुन्छ भनेर सोचेकी थिइनँ । म पनि पतिको मृत्युपछि छोराको भविष्यका लागि बिहे नगरी बसिरहेकी थिएँ । म सानैमा यस्तो अवस्थामा पुगेको देखेर परिवारले पीर गरिरहनुहुन्थ्यो । आफन्तले बिहे गर्ने सल्लाह पनि दिनुहुन्थ्यो । तर मलाई यस्तो निर्णय लिन मन लागेन ।

छोरा हुर्कँदै गयो । आमा भएकाले होला, मेरो छोरा छोडेर जानुपर्‍यो भने बरु मर्छु भन्थेँ । छोराले अहिले अस्ट्रेलियामा मास्टर्स अफ इन्जिनियरिङ पढिरहेको छ । केटी मान्छेले दोस्रो बिहे गर्छु भन्दा समाजमा पच्दैन । यस्तो अवस्थामा परिस्थिति नै यस्तो बनिदियो कि, मैले उहाँ (हरिवंश आचार्य) सँग बिहेका लागि सोच्न बाध्य भएँ । अर्को कुरा त आफूले रोज्नु र परिवारबाट रोज्नुमा फरक पर्छ । छोरा हुर्किसकेको थियो । छोरा हुर्किएपछि बुबालाई मलाई देख्यो कि, चिन्ता हुन्थ्यो ।

पीडा हुन्थ्यो । बुबाले मेरो चिन्ता गर्नुहुन्थ्यो । भन्न चाहिँ बाबुले छोरीलाई पनि केही नभन्ने । बिहे गर्ने र दोस्रो जीवन शुरु गर्छु भन्ने सोचेकी थिइनँ । छोरा विदेश गइसकेपछि भने आफन्तले मेरो चिन्ता लिन थाल्नुभयो । यत्रो जीवन एक्लै बिताउन छ भनेर सल्लाह दिन थाल्नुभयो ।

शुरुमा बसु आण्टी (बसुन्धरा भुसाल) ले कुरा गर्नुभएको थियो । शुरुमा त शायद सबैलाई असहज हुन्छ नै । सबै आफन्तले सम्झाउनुभयो । नयाँ जीवनलाई लिएर बुबाआमा पनि खुशी हुनुहुन्थ्यो । सबैले जीवन लामो छ भनेर सम्झाउन थालेपछि मलाई पनि हो कि झैँ लाग्यो । आफन्तले दुःख पाएको मान्छेले दुःख पाएको मान्छेलाई बुझ्छ भन्न थाल्नुभयो । म पनि सहमत भएँ ।

हरिवंश आचार्यसँग यसअघि तपाईंको भेट भएको थियो ?

अहँ, थिएन । उहाँका समाचारहरु पढिन्थ्यो । राम्रो लाग्थ्यो । समाजको एउटा राम्रो मान्छे भन्ने हिसाबले चिन्थेँ । उहाँसँग जोडिन पाएँ, मलाई गर्व महसुस गर्छु ।

बिहेको कुरा चल्दा छोराको प्रतिक्रिया कस्तो थियो ?

कसरी भन्नु? मेरो छोरा मेरो ‘अभिभावक’ पनि हो । म उसको ‘अभिभावक’ हो भने ऊ पनि मेरो ‘अभिभावक’ हो । पहिले बिहेको कुरा सन्दा छोराले मम्मीसँग कुरा गर्छु भन्यो । उसलाई लागेको हुनुपर्छ कि, परिवारले मलाई जबरजस्ती गरिहरहेको छ । एउटा छोरालाई आमाको बिहेको कुरा आउँदा पीडा नै हुनुपर्छ भन्ने म बुझ्छु ।

ऊ अमेरिकाबाट नेपालमा आयो । उसले परिवारलाई म आफै आएर आमासँग सोध्छु भनेको थियो । मसँग कुरा गर्‍यो । छोराले मलाई आफै निर्णय लिन दियो । उसलाई पनि लागेको हुनुपर्छ, बुबाजस्तो मान्छे हजुरको जीवनमा आउनु पनि ठूलो कुरा हो भनेर भन्यो । छोराले भन्यो, ‘हजुरहरु खुशी हुनुहुन्छ भने म पनि खुशी छु ।’

तपाईंकी सासुले के भन्नुभएको थियो ?

बिहेको कुरा चल्दा ससुरा शिवबहादुर थापा बितिसक्नुभएको थियो । सासु एकदमै राम्रो हुनुहुन्छ । मेरो सासु आमाजस्तो हुनुहुन्थ्यो । जसरी खुशी हुन्छौ, त्यही गर भन्नुहुन्थ्यो । त्यस्तो सासू पाउनुलाई मैले महान मान्छु । यस्ता सासूहरु नेपाली समाजमा एकदमै कम हुनुहुन्छ । उहाँले मलाई पति बित्नुभएको १३ दिनमै जे लगाउन मन लाग्छ, त्यही लगाऊ भनेर कपडा ल्याइदिनुभयो । मैले भनेँ नि, त्यस्तो मान्छे कमै हुन्छन् । त्यति असल हुनुहुन्थ्यो । उहाँले पनि हामीलाई छोडेर जानुभएको केही महिना भयो ।

 

नेपाली समाजमा त्यो परिवेश त पक्कै सहज थिएन नै, हरिवंश आचार्यका दुई छोराको भावना के थियो ?

जस्तो मेरो छोरालाई भयो, त्यस्तै उहाँका छोराहरुलाई पनि भयो । आमा भएकाले मैले यो महसुस गर्न सक्छु । उहाँ (हरिवंश आचार्य) ले पनि छोराहरुलाई सम्झाउनुभयो । हाम्रो पहिलो प्राथमिकता त छोराहरुलाई खुशी राख्ने नै हो । छोराहरु बुझ्ने पछि छन् । सबै छोराहरु खुशी छन् ।

नेपाली समाजको चर्चित व्यक्ति तपाईंको साथमा हुनुहुन्छ । उहाँ अरुलाई हँसाउनुहुन्छ, अर्को कुरा हरिवंश आचार्य परिवर्तनको संवाहक बन्नुभएको छ, समाजमा चेतना जगाउनुहुन्छ । वास्तविक जीवनमा उहाँलाई कति दुःखी पाउनुहुन्छ ?

मलाई भेट्ने बेलामा त उहाँ दुःखी नै हुनुहुन्थ्यो । निकै पीडामा हुनुहुन्थ्यो । बिस्तारै उहाँलाई मैले साथ दिएँ । अहिले पनि कहिलेकाहीँ पीडामा भएको बताउनुहुन्छ । यो सबैलाई नै हुन्छ नि हैन ? म कहिलेकाहीँ उहाँलाई भन्छु, हामी दुःखी नबनौँ । हामीले किन दुःखी हुने छोडेर जानेले हामीलाई माया दिएर गएको हो नि, दुःखी हुनलाई दुःख दिएको त हैन नि भनेर सम्झाउँछु ।

मीरा दिदीकै कारण आज यो ठाउँमा हुनुहुन्छ, उहाँलाई सम्झने हो भनेर सम्झाउँछु । कहिलेकाहीँ म पनि तस्वीर हेरेर फोटो हेरेर दुःखी हुन्छु । माइत गएको बेला फोटो हेर्छु । ती कुराहरु आफै आउँदो रहेछ, नरमाइलो लाग्छ । तर, म पनि खुशी छु, छोरा पनि खुशी छ भन्छु । खुशी हुनुपर्छ भनेर सम्झाउँछु । हुने प्रयास गर्छु ।

उहाँको एउटा बानी के छ भने घरमा लेखिराख्नुहुन्छ । उहाँ आफूलाई सरलता प्रदान गर्नुहुन्छ, त्यो नै सबैभन्दा राम्रो बानी हो । कति स–साना कुरा पनि लेख्नुहुन्छ । यो बानी गज्जब लाग्छ । उहाँ हाँसिराख्ने पनि होइन, तर बोलेको कुरा, कसैको राम्रो कुरा पायो भने टिप्ने गर्नुहुन्छ ।

घर व्यवहारमा कत्तिको सहयोग पाउनुहुन्छ ?

उहाँ एकदमै चाहिनेभन्दा धेरै सहयोग गर्न खोज्नुहुन्छ । हामी घरको काम आफै गर्छौं । काम गर्ने पनि हुनुहुन्छ त हामी कतिपय काम आफै गर्छौँ । उहाँ आफै सघाउन आउनुहुन्छ । कुचो पनि लगाउनुहुन्छ । त्यही भएर तपाईंलाई सबैले मन पराएको होला भनेर सुनाउँछु उहाँलाई ।

उहाँले समाजलाई हँसाउनुहुन्छ, चेतना जगाउनुहुन्छ । तर, उहाँका लेख र अभिव्यक्तिले उहाँ गम्भीर पनि लाग्छ । तपाईंले कस्तो पाउनुभयो ?

उहाँ गम्भीर प्रकृतिको मानिस पनि हो । मैले उहाँको गाम्भीर्यतालाई लिएर कतिपटक सोध्ने पनि गर्छु । उहाँले कति धेरै कुरा सोच्नुपर्छ भन्नुहुन्छ । कहिलेकाहीँ साथीहरुले गम्भीर देख्दा, पर्दामा देख्दाभन्दा फरक देख्दा डराउँछौं भन्छन् रे ! मैले पनि उहाँलाई उत्तिकै गम्भीर देख्छु । गम्भीर भन्दा पनि अझ सोचमग्न भनौँ न !

यी सबै उतारचढावलाई केलाउँदा जीवन के रहेछ भन्ने लाग्यो ? हाम्रो जुन नेपाली समाज छ, त्यसमा तपाईं पनि पथप्रदर्शक हुनुहुन्छ…

सोच्छु । कहिलेकाहीँ कल्पना गर्छु, के थिएँ, कस्तो घटना घट्यो । सबैले यति धेरै सम्मान गर्नुभएको हुन्छ, त्यो देख्दा हामीले बिहे गरेर समाजमा राम्रो सन्देश गएछ भन्ने लाग्यो । उहाँहरुप्रति पनि मलाई खुशी लाग्छ । कहिलेकाहीँ मैले उहाँ (हरिवंश आचार्य) लाई भन्ने गर्छु, जीवन त आखिर यही त रहेछ नि । नसोचेको कुरा भयो । तपाईंको जीवनमा आएर यसरी जोडिन्छु होला भन्ने लागेको थिएन । उहाँले पनि यस्तै भन्नुहुन्छ । बाबुराम भट्टराई त्यतिबेला प्रधानमन्त्री हुनुहुन्थ्यो । बिहे गरेको भोलिपल्ट उहाँले बधाई दिनुभयो । जो पायो त्यो महिलाले यस्तो निर्णय गर्नुभएको त निकै राम्रो हो ।

त्यो विवाहको माहोल कस्तो थियो ?

त्यो सामान्य नै थियो । एउटा सामान्य कोठामा हामीले त्यस्तै १५ मिनेटमा बिहे सकेका थियौँ ।

अबको जीवनका बारे के सोच्नुभएको छ ?

हामी अहिले खुशी छौँ । उहाँले मलाई साथ दिनुभयो, मैले उहाँलाई साथ दिएँ । हामी खुशी पनि छौँ । अबको जीवन भनेको हाम्रा छोराहरुको भविष्य राम्रो होस् । छोराहरुको राम्रो भविष्य देख्ने र निरन्तर काम गर्ने भन्ने हो । दुवैजना भएर समाजमा परिवर्तन हुने काम गर्नुस् भनेर मैले भन्ने गर्छु ।

कुनै ठोस योजना ?

खासै त्यस्तो योजना छैन ।

उहाँको मन पर्ने र मन नपर्ने पक्ष पनि भनिदिनुस् न !

उहाँको मन पर्ने पक्ष भनेको उहाँ आफूलाई फिट राख्न निकै रुचाउनुहुन्छ । मलाई पनि तन्दुरुस्त हुन भन्नुहुन्छ । उहाँ बिहान सधै मर्निङ वाक जानुहुन्छ, पत्रिका पढ्नुहुन्छ । उहाँको सबैभन्दा राम्रो बानी चाहिँ उहाँ निकै सरल मान्छे के । जुन मलाई निकै मन पर्छ । अर्को कुरा उहाँलाई छिटो रिस पनि उठ्दैन । तर, कहिलेकाहीँ उहाँ आत्तिएजस्तो गर्नुहुन्छ । म चाहन्छु, उहाँले हरेक काम नआत्तिकन गरे हुन्थ्यो । त्यो चाहिँ उहाँमा समस्या छ ।

नेपाली समाज छ, त्यो समाजको नारीहरुलाई तपाईं के भन्न चाहनुहुन्छ, जो नारीहरु हर हिसाबले पछाडि परेका छन्…

राजनीतिमा त मलाई खासै थाहा छैन । परिवर्तन आफूबाट आउनुपर्छ झैँ लाग्छ । आफू परिवर्तन भएर मात्र समाज परिवर्तन हुनुपर्छ भन्ने लाग्छ । समाज बिस्तारै फेरिँदै पनि छ नि हैन र ?

 

भर्खर

0