नलुकाउनुस् मानसिक समस्या

गोपाल ढकाल

बिहिबार, असोज २३, २०७६

Reading Time: 7 minutes

नलुकाउनुस् मानसिक समस्या

विश्वभरमा नै मानसिक स्वास्थ्य समस्या एउटा ठूलो चुनौतीको रुपमा देखा परेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४५ करोड मानिस यस समस्याबाट पीडित छन् ।

नेपालमा पनि ६० लाख भन्दाबढी नेपालीहरु कुनै न कुनै किसिमको मनोसामाजिक समस्या एवं मानसिक रोगबाट प्रभावित भएको अनुमान गरिएको छ । विश्वभरीमा मानसिक रोगीहरु मध्ये करिब २२ करोडले उपचारबाट बञ्चित हुनु परेकोछ । नेपाल जस्तो विकासोन्मूख देशमा भने ५ जना रोगिमा ४ जनाले त उपचारै पाउँदैनन् ।

मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउने, यस क्षेत्रमा भएका समस्या, चुनौती एवं उपलब्धिका विषयमा छलफल तथा पैरवी गर्ने जस्ता विविध उद्देश्यका साथ प्रत्येक वर्ष १० अस्टुबरका दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै अइरहेको छ ।

विश्व मानसिक स्वास्थ्य संघको अगुवाइमा सन् १९९२ देखि विश्व भरि नै यो दिवस मनाउन थालिएको हो । यो वर्षको विश्व मानसिक दिवसको नारा मानसिक स्वास्थ्यको सम्बद्र्धन र आत्महत्याको रोकथाम भनि तय गरिएको छ ।

नेपालमा मानसिक स्वास्थ्यको क्षेत्र ओझेलमा परेको छ । मानसिक रोगीलाई अपहेलना गर्ने, उपचार नगराउने, बाँधेर वा थुनेर राख्ने, खान नदिने, काम र जिम्मेवारी तथा अधिकारबाट बञ्चित गराउने, भुत–प्रेत वा बोक्सी लाग्यो भनेर उपचारको नाममा तातो पन्युले डाम्ने जस्ता व्यवहार गरेको पाइन्छ ।

यसले रोगीको आधारभूत मानव अधिकारमासमेत ठूलो उपहास भई रहेको छ । अझै पनि हाम्रो समाजमा मानसिक स्वास्थ्य प्रति व्यक्तिको बुझाई, धारणा, सोच सकारात्मक हुन सकेको छैन । मानसिक स्वास्थ्यलाई कलंकको रुपमा हेरिन्छ । मानसिक स्वास्थ्य समस्या देखापर्दा कुल विग्रेको, देउता चढेको, माता चढेको, बोक्सी लागेको, धामी उत्रेको भन्दै नजरअन्दाज गर्ने परिपाटी हाम्रो समाजमा छ । नेपालको सन्दर्भमा यस वर्षको नाराको सान्दर्भिकता अझै बढी छ ।

मानसिक स्वास्थ्य समस्यालाई लुकाउने, भन्न र उपचारको खोजी गर्न डराउने, अप्ठारो मान्ने गरेको पाइन्छ । आफ्नो समस्या भन्दा सहयोग पाउनुको सट्टा साथीभाइ, सहकर्मीबाट अपमानित भएको उदाहरण पनि प्रसस्त भेटिन्छन् ।

जैविक रासायनिक, सामाजिक एव मनोबैज्ञानिक कारणले मानसिक समस्या देखा पर्ने हो । बदलिदो समाजिक परिवेश, बैदेशिक रोजगारी, वेरोजगारी, गरीबी, आधुनिकरण, सामाजिक सञ्जालको प्रभाव, लागुपदार्थको सेवन, पारिवारिक झमेला, राजनीतिक अवस्था, जस्ता कारण तत्वको कारण नेपालमा मानसिक समस्या बढ्दै गएको पाइन्छ ।

मानसिक समस्या जुनसुकै उमेर, लिङ्ग, जात, धर्म, बर्ग र समूहका व्यक्ति जोसुकैलाइ लाग्न सक्छ । शिक्षा, चेतनाको कमी, मानसिक स्वास्थ्यका क्षेत्रमा विद्यमान अन्धविश्वास, दक्ष जनशक्तिको कमी, सरकारी उपेक्षा, बजेटको कमी, दातृ निकायको यस क्षेत्रमा आँखा पर्न नसक्नु, राष्ट्रिय मानसिक स्वास्थ्य नीति नहुनु, जस्ता कारणबाट मानसिक स्वास्थ्यको क्षेत्रमा उन्नती हुन सकेको छैन ।

मानसिक स्वास्थ्य समस्यालाई लुकाउने, भन्न र उपचारको खोजी गर्न डराउने, अप्ठारो मान्ने गरेको पाइन्छ । आफ्नो समस्या भन्दा सहयोग पाउनुको सट्टा साथीभाइ, सहकर्मीबाट अपमानित भएको उदाहरण पनि प्रसस्त भेटिन्छन् ।

आत्महत्या पनि नेपालमा जनस्वास्थ्यको एउटा ठुलो समस्या र चुनौतिका रूपमा देखा पर्दै गएको छ । नेपालमा पनि आत्महत्या गर्नेको संख्या प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको छ । विश्वमा धेरै आत्माहत्या हुने १० ओटा देशहरूमध्ये नेपाल ७ औँ स्थानमा पर्दछ ।

नेपालमा प्रत्येक दिन सरदर १६ जना व्यक्तिले आत्महत्या गर्ने गरेको सरकारी आँकडाले देखाउँछ । पछिल्लो समय वैदेशिक रोजगारीमा गएका युवायुवतीहरूमा समेत आत्महत्या डरलाग्दो रूपमा बढेर गएको छ ।

विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्माहत्या गर्छ भने प्रत्येक ३ सेकेण्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने गर्दछ । यसरी हेर्दा प्रत्येक वर्ष सरदर ८ लाख भन्दा बढी व्यक्तिले आत्माहत्याबाट आफ्नो ज्यान गुमाउने गरेका छन । यो संख्या युद्ध, दैवी प्रकोप, सडक दुर्घटना, महामारी लगायतका कारणहरूबाट हुने मृत्यु भन्दा धेरै हो ।

विश्वमा महिलाको तुलनामा पुरुषको आत्माहत्या गर्ने दर झन्डै दुई गुणाले बढी छ । पन्ध्रदेखि २९ बर्ष समूहका ब्यक्तिको मृत्युको दोश्रो कारण आत्महत्या हो । नेपालको परिपेक्ष्यमा महिलाहरूमा पनि आत्माहत्या गर्ने संख्या बढी छ । विश्वमा महिलाहरूले बढी आत्महत्या गर्ने देशहरूमा नेपाल तोस्रोमा पर्दछ ।

लैङ्गिक हिंसा, घरेलु हिंसा, यौन शोषण, बलत्कार, लाञ्छना, लैङिगक विभेद, आर्थिक परनिर्भता, दाइजो प्रथा, श्रीमानले सौता ल्याउनु तथा महिलाहरू सुत्केरी भएपछि हुने एक प्रकारको मानसिक रोग÷डिप्रेसन (पोष्टपाटम डिप्रेसन)का कारण नेपालमा महिलाहरूको आत्महत्या गर्ने दर बढी भएको हुन सक्छ ।

आत्महत्या गर्ने अवस्थामा पुग्नुको पछाडि धेरै कारणहरू हुन सक्छन् । आत्महत्याको ९० प्रतिशत कारण भने मानसिक रोग नै भएको पाइन्छ । त्यसमा पनि डिप्रेसन मुख्य हो । डिप्रेशनमा परेका झण्डै १५ देखि २० प्रतिशत ब्यक्तिले आत्महत्या गर्न सक्ने जोखिम हुन्छ । क्षणिक आवेगमा आएर निर्णय लिने क्षमता गुमाउदा वा अत्याधिक जाँड, रक्सी, लागू पदार्थको सेवन तथा कडाखालका मानसिक रोग लागेर पनि व्यक्तिले आत्महत्या गर्न सक्छ ।

आत्महत्याको सोच आउनु प्रयास गर्नु, मानसिक रोगकै एउटा लक्षणको रुपमा लिनु पर्छ आत्महत्याको प्रयास वास्तवमा सहयोगका लागि एक प्रकारको चित्कार नै हो । विशेष अवस्थामा बाहेक एउटा व्यक्तिले एकै पटक आत्महत्याको प्रयास गर्दैन ।

मानसिक समस्यालाई पनि शारीरिक समस्या झैं सहज रुपमा लिनु पर्छ । मानसिक समस्याको विषयमा छलफल–कुराकानी गर्ने र समस्या पर्दा उपचारको खोजि गर्न पछि पर्नु हुँदैन ।

आत्महत्या गर्ने व्यक्तिलाई नेपालको कानुनले अपराधी ठान्छ । धर्मशास्त्रले पापी भन्छ । समाजले पानी मरुवा, लाछीको उपमा दिन्छ ।

आत्महत्या गर्नेको अनुहार हेरियो भने अगति परिन्छ भनेर अनुहार लुकाउँदै र नाक खुम्चाउँदै हिँड्नेहरू पनि हाम्रो समाजमा भेटिन्छन् । आत्महत्या गर्नेको परिवारमा अरु व्यक्तिहरूको आउजाउ कम हुने तथा पानी बाराबारसम्म गरेको पाइन्छ । मानसिक रोग तथा आत्महत्याप्रतिको गलत बुझाई धारणा र सोचमा परिवर्तन आउन आवश्यक छ ।

मानसिक स्वास्थ्यको सम्बद्र्धन र आत्महत्याको रोकथामका उपाय

मानसिक समस्यालाई पनि शारीरिक समस्या झैं सहज रुपमा लिनु पर्छ । मानसिक समस्याको विषयमा छलफल–कुराकानी गर्ने र समस्या पर्दा उपचारको खोजि गर्न पछि पर्नु हुँदैन ।

मानसिक रोग निको हुने रोग हो । औषधीको सेवन, मनोपरामर्श तथा पूर्नस्थापना जस्ता उपचार विधीद्वारा यो रोगको उपचार गर्न सकिन्छ । महिला बालबालिका युवायुवती जेष्ठ नागरिक यस समस्याबाट बढी प्रभावित हुने भएकाले यस्ता बर्ग र समूहप्रति बढी संवेदनशील हुनुपर्छ ।

आत्महत्याको प्रमुख कारण मानसिक रोग भएकाले मानसिक रोगको बेलैमा उपचार गर्नु आत्महत्या रोकथामको प्रमुख उपाय हो । मानसिक रोग आत्माहत्या प्रतिको गलत धारणालाई हटाउन यस विषयमा चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नु अति जरुरी छ ।

आत्महत्या गर्नु अगाडि विभिन्न किसिमका लक्षणहरू वा संकेतहरू देखाउने गर्दछ । आत्महत्या गर्नुपूर्व ब्यक्तिले देखाउने लक्षणप्रति संवेदनशील भइ उसलाई उचित सहयोग गर्नुपर्छ । यस्तो अवस्थामा उसले बेलैमा घरपरिवार, साथीसङ्गी वा विशेषज्ञको सहयोग पाएमा आत्महत्याकोसोच वा प्रयासलाई रोक्न सकिन्छ ।

विद्यालयहरुमा मानसिक स्वास्थ्यका विषयमा अझैपनि पठन पाठन हुँदैन, पाठयक्रममा मानसिक स्वास्थ्य विषय समावेश गर्नुपर्दछ ।
मानसिक स्वास्थ्यको बजेट नगन्ने छ यसलाई बृद्धि गर्नु जरुरी छ ।

मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने जनशक्तिको कमीलाई बृद्धि गर्नुपर्छ । मानसिक स्वास्थ्य कार्यकर्ता निर्माण गर्नुपर्छ । स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा पुराउन जरुरी देखिन्छ ।

जीवनमा कठिनाइ आइपर्दा, दूव्र्यवहार, अन्यायमा पर्दा, विभेद र लान्छना लगाउदा आदी जस्ता अवस्थामा मानसिक समस्यामा पर्ने सम्भावना बढी हुने भएकाले बेलैमा मनोसामाजिक सहयोग लिन र दिन ढिला गर्नु हुदैन ।

विद्यालय बालमैत्री हुनुपर्छ । विद्यार्थीलाई जीवन उपयोगी सीप सिकाएर मनोसामाजिक समस्याको जोखिमलाई कम गर्न सकिन्छ ।

वैदेशिक रोजगारीमा जाने युवाहरुको लागी मानसिक स्वास्थ्य तालिम, तनाव व्यवस्थापन सम्बन्धी सीप सिकाउन जरुरी देखिन्छ ।

मानसिक स्वास्थ्यलाई सवल बनाउन आफना दैनिक रहन सहन, खानपान, जीवन शैलीमा सुधार गर्नुपर्छ, जीवनमा अप्ठेरो अवस्था आइपर्दा आफन्त साथीभाइ र विज्ञको सहयोग लिन पछि पर्नु हुदैन ।

मानसिक स्वास्थ्यको सम्बद्र्धन र प्रवद्र्धनका लागि सबै निकायबीच सहकार्य हुनु पर्छ । सबै सरोकारबाला ब्यक्ति, निकाय संघसंस्था ऐक्यवद्धताको जरुरी पर्छ ।

आफनो मानसिक स्वास्थ्य अवस्था प्रति ब्यक्ति स्वयं पनि जानकार र चनाखो हुनुपर्छ । आत्माहत्या र मानसिक रोगको बारेमा खुलेर कुरा गर्नुपर्छ ।

धर्म परिवर्तन गरेर, भाकल गरेर, धामीझाक्री लगाएर, मानसिक रोग निको हुदैन । बेलैमा यसका विज्ञलाई देखाउनु पर्छ ।

मानसिक स्वास्थ्यको सम्बर्धन र प्रवर्धन तथा आत्महत्याको रोकथाममा सञ्चार माध्यमाको महत्वपूर्ण भुमिका रहन्छ । यसमा सञ्चार माध्यमहरुले संवेदनशील भइ सकारात्मक भुमिका खेल्नु पर्छ ।

(लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन्)

भर्खर

0