ओझेलमा परेका मानसिक समस्या

डा.विश्वबन्धु शर्मा

बिहिबार, असोज २३, २०७६

Reading Time: 10 minutes

ओझेलमा परेका मानसिक समस्या

डिप्रेसन मानसिक रोगको प्रयायबाची जस्तो भइसकेको छ । मानसिक सम्बन्धी जेसुकै समस्या परेपनि मानिसहरु ‘डिप्रेसन भएको छ’ भन्दै आउने गर्छन् । पहिले डिप्रेसन भन्न पनि मानिसहरु असजिलो मान्थे, अहिले त्यो स्थिति छैन । डिप्रेसनप्रतिको संकोच लगभग हटिसकेको छ भन्दा पनि हुन्छ ।

मानिसहरु पहिला डिप्रेसन भएको कुरा पनि लुकाउने गर्थे भने अहिले लुकाउँदैनन्, सजिलैसँग ‘डिप्रेसन भएको छ’ भन्छन् । यो समस्या सवैलाई हुने रहेछ भन्ने भएको छ । ‘मेरो छोरालाई डिप्रेसन भएको छ, पढाई पनि छोड्यो’ भन्न हच्किदैनन् । यो राम्रो पक्ष हो ।

यसमा अर्को एउटा नराम्रो पक्ष पनि सँगै छ । सवै मानसिक रोगलाई ‘डिप्रेसन’ भन्न थालिनु राम्रो होइन । साइकोसिस भएर अन्तिम अवस्थामा पुगेको छ त्यसलाई पनि ‘डिप्रेसन’ भनिदिन्छन् ।

कुनै कुनै बाबुआमा, ‘मेरो छोरालाई डिप्रेसन भएको छ, इलाज गरिदिनुपर्‍यो भन्छन् । ‘के भयो ?’ भन्दा ‘लागुपदार्थ खान्छ’ भन्छन् । ‘बाङबुङ गर्छ, तोडफोड गर्छ, बसीखान दिएन, पैसा माग्छ । केही भनौँ भने हिर्काउला भन्ने डर, ल डा साव यसको डिप्रेसन ठीक पारिदिनुपर्‍यो’ भन्छन् ।

सायद हामी चिकित्सकले पनि बढी डिप्रेसनका वारेमा मात्र चर्चा गर्‍यौँ । अथवा मिडियामा पनि डिप्रेसनबाहेक अरु मानसिक रोगका वारेमा त्यति चर्चा भएन ।

डिप्रेसन बढी मात्रामा देखिने रोग हो । यसको चर्चा पनि धेरै भयो । आम मानिसलाई जानकारी पनि भयो, त्यसैले पनि ‘डिप्रेसन’ मानसिक रोगको प्रायबाची बन्न पुगेको होला ।

अरु धेरै मानसिक रोग लाग्दा मानिसहरुले रोग भनेर स्वीकारै गर्दैनन् । उपचारको खोजीमा पनि प्रायः हिड्दैनन् । डिप्रेसन भएका विरामीहरुले चाहिँ बढी सचेत भएर उपचार गर्ने चाहना राखेको देखिन्छ । डिप्रेसनसँग सम्बन्धित रोग जस्तै : एन्जाइटी (घवराहट), नर्भसनेस हुने भएको छ भने मानिसले रोगको महसुस गर्छन् । एकदम चरम अवस्था भएको वेला असक्त हुन्छन् र उपचार खोज्छन् ।

बाल यौनदुर्व्यवहार र मानसिक समस्या

बालबालिकामा पनि विभिन्न कारणले मानसिक समस्या देखिने गरेको छ । त्यसमध्ये एउटा खतरनाक कारण यौन दुर्व्यवहार हो । उनीहरुमा गम्भिर यौन दुर्व्यवहार भइरहेको हुन्छ । कतिपय बालबालिकाले त आफूलाई के गरेको हो भन्ने नै बुझेका हुँदैनन्, आफूसँग खेलेको होला भन्ने ठान्छन् भने कतिपयले बुझेर पनि भन्न सकेका हुँदैनन् ।

पीडकले तर्साएर राखेको हुन्छ । उनीहरुमा भयानक पीडा गुम्सिएको हुन्छ र पछि मानसिक रोगको रुपमा देखापर्छ । के कारणले यस्तो भयो भन्नेतिर बाबु आमाले खोजी गरेका हुँदैनन् । हाम्रो समाज यसतर्फ त्यत्ति सचेत छैन ।

मेरा एक जना अमेरिकन बाल मनोरोग विशेषज्ञ साथी नेपाल आएका थिए । त्यसवेला केही दिन हामी सँगै रह्यौँ । यस सन्दर्भमा धेरै व्यावसायिक कुराहरु भए ।
उनले भनेका थिए, ‘हेर, तनावबाट श्रृजित मानसिक रोग भएका ९० प्रतिशत बच्चाहरुमा यौनदुर्व्यवहार भएको हुन्छ ।

बाँकि १० प्रतिशतमा पनि समस्या हुनसक्छ, हामीले खोतल्न नसकेको मात्र हो । उनको यो कुरा सुनेर साँच्चै म घोत्लिएँ । मैले उसलाई के मेरो प्राक्टिसमा यो कुरा पनि व्यवहारमा प्रयोग गर्न सक्छु त ? भनेर सोद्धा उनले ‘गर्नै पर्छ’ भने ।

मैले ‘अमेरिकामा जस्तो यहाँ समस्या छैन होला’ भनेँ । उनले भने, ‘यो समस्या ‘संसारका सवै मुलुकमा छ । मानिस भनेको संसारभरको एकै हुन्छ ।

तिमिहरुकहाँ वास्ता नगरेको मात्र हो । बच्चा भनेको संसारभर एकै हो, उनीहरुले प्रतिवाद गर्न सक्तैनन् । कतिपयले यो मलाई के गर्दैछ भन्ने कुरा बुझ्दैनन् पनि ।

जव उनीहरुले बुझ्न थाल्छन् त्यसपछि उनीहरुमा पीडा हुन्छ । उसले आफूमाथि नै गल्ति देखाउँछ, हीनताबोध हुन्छ, आफैँले अपराध गरेको अनुभव हुन्छ । आफूमाथि अरुले अपराध गरेको भए पनि उनीहरुले आफू बुझ्ने भए पछि मैले यो गल्ति गरेँ भनेर पछुताउने गर्छन । त्यसकारण तिमीले यो गुम्सिएर बसेको कुरालाई जति छिटो फुकाइदियो त्यति राम्रो हुन्छ ।’

उनले यो कुरा भनेपछि मलाई पनि अलि आँट आयो र यस वारेमा अलिबढी सोधपुछ गर्न थालेँ । पहिला त मलाई यो कुरा उठाउन अप्ठ्यारो हुन्थ्यो । उनीहरुले गलत रुपमा लिने हुन कि, भनेर सोच्थेँ । ‘डाक्टरले हाम्रो बच्चालाई किन यस्तो शंका गर्‍यो भन्ने हुन कि भन्ने लाग्थ्यो । मिल्ने सन्दर्भ छ भने मात्र सोधपुछ गर्थेँ ।

आजकल त यो वारेमा सधैँ सोध्ने गर्छु । ‘तपाईँलाई नपरेको होला तर समाजमा यस्ता समस्या छन् है’ भनेर सचेत गराउने गर्छु । केटाकेटीलाई पनि तिम्रा नातेदार, छिमेकी वा अरु ठूलाबडाहरुले तिमीलाई मन नपर्ने किसिमको व्यवहार गरेका छन् कि भनेर सोद्धा उनीहरुले कहिल्यै पनि नकारात्मक रुपमा लिदैनन् ।

शुरुमा कोही कोही बच्चा चुप लागे पनि दोस्रो, तेस्रो पटकमा खुल्छन् । यस्तो यौन दुर्व्यवहार भएको शंका नगरी सोधेमा पनि कहिलेकाहिँ बच्चाहरु आफैँले यस्ता कुरा भनिदिन्छन् । आफ्नो समस्या सोधिदिएकोमा बरु उनीहरु खुसी हुने गर्छन् ।

अधिकांशको समस्या सामान्य खालकै हुन्छन् तर आपत्तिजनक । बच्चाहरुसँग गर्न नहुने व्यबहार भएको हुन्छ ।

हाम्रो समाजमा के गर्नु हुन्छ के गर्नु हुँदैन भन्ने सामाजिक नियम खासै छैन । अमेरिका या अरु पश्चिमा देशमा बाटोमा हिँडिरहेको साथीको वा चिनजान भएको मानसको बच्चालाई छोएर आहा कस्तो राम्रो, क्युट बच्चा भनेर छुने या मायाँ देखाउने गर्‍यो भने त्यो व्यवहार आपत्तिजनक मानिन्छ । बच्चालाई अनुहारमा स्पर्श गर्ने, अंगालो हाल्ने, काखमा लिने, म्वाइ खाने गरेमा त्यो त पुलिस केस नै हुनसक्छ ।

कसैको अपरिचित बच्चालाई पनि क्वारक्वार्ती हेर्न बानी हुन्छ, त्यो राम्रो मानिदैन । नचिनेको बच्चालाई बस वा ट्रेनमा बस्दा हेरिरह्यो भने प्रहरी बोलाउनेसम्म गर्छन् ।

हामीकहाँ १०(१२ वर्षका बच्चाहरुलाई नातेदार, चिनजानको वल्लोपललो घरमा विश्वास गरेर छोड्छौँ । विकसित देशमा त्यस्तो गरिदैन, बच्चाको लागि खतरा मानिन्छ । यहाँ पनि हामीले विचार गर्ने बेला आइसकेको छ ।

समाजमा यस्ता थुप्रै घटनाहरु गुम्सिएर बसेका छन् । अहिले सञ्चार माध्यम, इन्टरनेटले गर्दा केही घटनाहरु बढी घट्छन् र केही मात्र बाहिर आएका छन् । तर यी समस्या पहिले देखि नै थुप्रै रहेका छन् । पहिले बाहिर आउँदैनथ्यो । थाहा पाए पनि परिवारले गुपचुप राख्थे ।

आफ्नो मान्छे भन्दैमा जसलाई पनि विस्वास गरिहाल्न सकिदैन । सवैको मन एक नास हुँदैन । विश्वास गरेको मानिस रिसाएको वेला, रक्सी खाएको वेला, मुड ठीक नभएको वेला केही गरिदेला, त्यसको आघात बच्चालाई पर्छ । कहिलेकहिँ हामी विवेक गुमाउँछौ, हाम्रा मानवीय कमजोरीहरु हुन्छन्, त्यसको शिकार बच्चा हुनुहुँदैन । क्लिनिकमा आउनेहरुलाई यी कुरा सम्झाउँदा आमाहरुले छिटो बुझ्छन्, किन भने कतिपयले त्यो भोगीसकेका हुन्छन् ।

अहिले गाउँघरमा पनि बोर्डिङमा राख्ने फेसन नै चलेको छ । बच्चाहरुलाई बोडर्स गर्न प्रोत्साहित गर्छन । यस्ता बच्चाहरुमा यो समस्या धेरै देखिन्छ ।

सिनियरहरुबाट र शिक्षकहरुबाट पनि बच्चाहरुमा यौनदुर्व्यवहार भएको पाइएको छ । होस्टलमा शिक्षकहरुबाट प्रताडित भएका थुप्रै केशहरु छन् ।

एकपटक कसैबाट प्रताडित भएको बच्चा अन्य ठाउँहरुमा पनि पटक पटक प्रताडित भएको देखिन्छ । उसको व्यवहारबाट झल्किन्छ वा के हुन्छ थाहा छैन तर पटक पटक शिकार भएको पाइन्छ । एउटै बच्चा थरीथरीको मानिसबाट प्रताडित भएको पाइएको छ । सानोबाट पीडित हुन शुरु गरेको आफ्नो संरक्षण गर्न सक्ने अवस्था नभएसम्म यो समस्या देखिएको छ । यसमा बाबुआमा अभिभावक बढी सचेत हुन आवश्यक छ ।

ट्युसन र मानसिक समस्या

ट्युसन पढ्ने पढाउने केटाकेटीहरुमा पनि भावनात्मक सम्बन्धका कारण मानसिक समस्या देखिने गरेको छ । ट्युसनका क्रममा प्रेम भाव जाग्ने र पछि त्यसले अनेक किसिमका समस्या खडा हुने गरेको पाइन्छ । ट्युसनकै क्रममा निषेधित सम्बन्ध हुने, भागेर हिंड्ने गरेको पनि देखिन्छ ।

विद्यार्थी केटी छ र पढाउने केटा छ भने हुनेखानेहरुले घरमा नै पढाउन बोलाउने गर्छन् । यसैबीच मनमा प्रेम जागेको छ र भागेर नगएको अवस्थामा पढाउन छोडे पछि दुवै जनालाई मानसिक समस्या हुने गरेको छ ।

सम्भ्रान्त परिवारकी केटीको आफ्नै समूह हुन्छ । यस्तोमा शिक्षक नै केटीप्रति आकर्षित हुने, लाने वा विहे गर्ने विचार गर्न सक्तैन । सम्भव हुँदैन । तर मन त बाँधिदैन । पढाउन छोडेपछि केटाको केटीप्रतिको आकर्षणले विरामी हुने गरेको घटना पनि छन् ।

एकजना तीष्ण बुद्धिको केटालाई छिमेकी टोलको संभ्रान्त परिवारको छोरी पढाउने प्रस्ताव आयो । बाबुआमा परिचित थिए । आफन्तको सम्पर्कबाट उ ट्युसन टिचरका रुपमा आयो र केही महिना पढाई दियो । पढाइ सकियो । जाँच एवं रिजल्ट पनि राम्रो भयो । उसलाई ट्युसन फि लगायत घडी कपडा आदि उपहार पनि दिए । उसले अपेक्षा भन्दा बढी नै पायो ।

केटो केटीप्रति आशक्त भइसकेको रहेछ । त्यसपछि उ विरामी पर्‍यो । त्यो केटालाई धेरै वर्ष अघि देखि उपचार गर्दैछु । शुरुमा त्यही कारणले विरामी भयो । आज त्यो सन्दर्भ छैन । तर रोग दीर्घ रुप लिएर समस्या अहिलेसम्म छ । उ शिक्षक नै छ ।

त्यसवेला उ भन्थ्यो, ‘मैले विर्सनै सकिन, याद आइरहन्छ, मैले केटीलाई शेयर गरेको पनि छैन, गर्न पनि मिलेन, त्यो सम्भव पनि छैन । मैले भगाएर हिंड्न पनि सक्तिन । उ भाग्दा पनि भाग्दिन । किनभने उसको म प्रति ट्युसन पढाउने शिक्षकका रुपमा आदर सम्मान बाहेक कुनै भावना नै छैन । उसको जस्तो रहनसहन बोलीचालीसित म परिचित पनि छैन । यो सम्भव छैन, मलाई थाहा छ । तर पनि मेरो मन मान्दैन । याद भइरहन्छ ।’

समस्याबाट ग्रस्त भएपछि मलाई खोज्दै आयपुगेको थियो । उपचारले सुधार पनि भयो । तर त्यसले विस्तारै दीर्घ रुप लियो ।

त्यस्तै अर्को एउटा घटना छ । ट्युसन पढाएको एक शिक्षकले विद्यार्थी भगाएर लगेछ । उनीहरुलाई खोजेर फर्काएर ल्याए, छुट्याए । केटीलाई मानसिक समस्या भयो । उपचार गर्नुपर्‍यो । यसरी छुट्यार राख्दा मानसिक समस्या आएका धेरै घटना छन् ।

ट्युसन पढ्दा शिक्षकसँग भावनात्मक सम्बन्ध हुन्छ, शिक्षकले पनि अलि लिफ्ट दियो भने एक किसिमको रोमान्टिक सम्बन्ध हुन्छ । ट्युसन सकिए पछि निरन्तरता पाउँदैन । यो परिस्थितिमा धेरै केटीहरु विरामी भएर आएका घटनाहरु छन् । सामान्यतया किशोरीहरुमा आत्मियता विकसित भएपछि छुट्टिनु पर्दा ‘सेपेरेसन एन्जाइटी’ (घवराहट, अत्यास,) भन्ने हुन्छ ।

कसैसँग विछोड भयो भने पछिसम्म उसको अभाव खट्किन्छ । याद आइरहने, सपनामा देख्ने, भेट्न मन लाग्ने जस्ता पीडा हुन्छन् ।

कतिपयमा चाहिँ प्रचलित रोगका लक्षण नै देखापर्छन । जस्तै निन्द्रा नलाग्ने, भोक नलाग्ने, डिप्रेसनका लक्षणहरु, दीर्घ टाउको दुखाई, अपच आदि । कारण जे भए पनि मानसिक तनावले नै यी लक्षणहरु आएका हुन्छन् ।

ट्युसन पढाउँदा बाबु आमाले रुँगेर बस्ने कुरा हुँदैन । हेर्न थाले पढाउन पनि सकिदैन । केही समय सँगै बसेपछि स्वतः भावनात्मक सम्बन्ध हुँदो रहेछ । मानवीय कमजोरीहरु प्रस्फुटन हुन्छन् । भित्रबाट चाहना पैदा हुन्छ, अनियन्त्रित हुन्छन् । निषेधित सम्बन्ध पनि कायम हुन्छ । त्यसकारण ट्युसन राख्दा सकेसम्म घरमै बोलाउने, जसले गर्दा व्यक्तिगत ध्यान पनि पुग्छ । कमजोरीहरु थाहा हुन्छ । छोरीका लागि सकेसम्म शिक्षिका राख्न सल्लाह दिन्छु ।

टिक डिसअर्डर

मानसिक समस्याहरुमा एउटा टिक डिसअर्डर भन्ने रोग छ । यो भनेको आँखा वरावर झिम्क्याइरहने, हात हल्लाइरहने, मुख बंग्याइरहने, बोल्दाबोल्दै कुम हल्लाउने सामान्य खालका टिक डिसअर्डरहरु हुन् ।

अर्को भोकल टिक डिसअर्डर भन्ने समस्या छ । यस्तो समस्या शुरु भएपछि मुखबाट प्रायः फोहर शब्द आउँछ । बोल्नु हुन्न भन्ने कुरामा उ सचेत हुन्छ र रोक्न खोज्छ तर मुखमा आइहाल्छ । शुरुको एक अक्षर उच्चारण हुन्छ, त्यसपछिका अक्षरहरु उच्चारण नगरी दवाउँछ ।

पहिलो शब्दको आवज निकालेर अरु विचैमा करेक्सन गरेर भित्रै दवाउँछ, जिब्रो नै बटारिन्छ । फोहरी कुरा जवर्जस्ती नै आउँछ, रोक्न खोज्दाखोज्दै फुत्किइहाल्छ । तर पछि जिब्रो बटारेर रोक्छ । बच्चाहरुमा धेरै हुन्छ ।

यसलाई टुरेट सिन्ड्रम भनिन्छ । टुरेट, टिकमा ओसिडी धेरै हुन्छ ।

आजको सोच अनुसार ओसिडी भनेको शुद्ध न्यरोसिस भन्ने गरिएको भएता पनि अहिले यसलाई न्युरोसिस भन्दा अलि फरक गर्नुपर्छ है भन्ने छ । ओसिडीलाई अलि कडा खालको रोगका रुपमा नै राख्नुपर्छ भन्ने छ ।

मञ्जरी पब्लिकेसनबाट प्रकाशित ‘मानसिक स्वास्थ्यका विविध अनुभव’बाट

भर्खर

0