नेपाल एकीकरणको इतिहास बोकेको हिलिहाङ दरवार

सत्ता शक्ति बाँडफाँडमा ३ पटक सम्झौता

रमेश भारती

बिहिबार, असोज २३, २०७६

Reading Time: 4 minutes

नेपाल एकीकरणको इतिहास बोकेको हिलिहाङ दरवार

काठमाडौं– सुदूरपूर्वको पाँचथर जिल्लामा अवस्थित हिलिहाङ दरवारले लिम्बुवानको इतिहास बोकेको छ ।

हिलिहाङ दरवारबाट कञ्चनजंघा र कुम्भकर्ण हिमाल र पाथीभरादेवीको मन्दिर लगायत पाँचथर, ताप्लेजुङ र तेहथुम जिल्लाका थुप्रै स्थानको दृश्यावलोकन गर्न सकिन्छ ।

मेची राजमार्गको फिदिम सडक ताप्लेजुङ हुँदै जाने गाडी चढेर नाँगीको हिलिहाङ चोक हुँदै आधा घण्टाको पैदल यात्रा पछि हिलिहाङ दरबार पुगिन्छ ।

करिव ६ सय वर्ष अगाडी दरवार निर्माण गर्न तिब्बतबाट ल्याईएका इटा र युद्धमा प्रयोग गरिएका हतियार समेत रहेको यस स्थल पर्यटकीय संगै पुरातात्विक दृष्टिकोणले पनि महत्वपूर्ण छ ।

हिलिहाङ दरवारसँग भारतको सिक्किम र तीब्बतसँग पनि इतिहास जोडिएको छ । नेपाल एकीकरण हुनुपूर्व नै पल्लो किराँतको नामले चिनिएको हिलिहाङ दरवारमा थुप्रै साना राजा रजौटाहरु रहेका र तीमध्ये हस्तपुर याङवरक यकका शक्तिशाली राजाको रुपमा राजा हिलिहाङ भएको ऐतिहासिक तथा पुरातात्विक संरचनाहरुले प्रमाणित गर्दछ ।

भौगोलिक रुपमा यो गाउँपालिकाको सीमाना पूर्वमा फालेलुङ गाउँपालिकाको प्रशिद्ध आगेजुङ गुम्बा र याङवरक गाउँपालिकासँग जोडिएको छ । भने, पश्चिममा पाँचथर र तेह्रथुमको सिमानामा बग्ने तमोर नदी, उत्तरमा पाँचथर र ताप्लेजुङको सिमानामा बग्ने काबेली नदी र दक्षिणमा फिदिम नगरपालिकासँग सिमाना जोडिएको छ ।

प्राकृतिक रुपमा हिलिहाङ दरवार अत्यन्तै रमणीय पर्यटकीय स्थलभित्र पर्छ । पर्यटकीय क्षेत्र जोरपोखरी, आगेजुङ गुम्बा, हिलिहाङ दरबार क्षेत्र, भोटे गढि, किराँत माङहिम लगायतका धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका सम्पदा हरुले हिलिहाङ दरवारलाई घेरेको छ । 

हिलिहाङ गाउँपालिकाको नीति तथा कार्यक्रममा पर्यटन सम्बन्धी नीति अन्तर्गत यस दरबार क्षेत्रको विकासका लागि गुरू योजना बनाउने गाउँपालिकाका अध्यक्ष भवानीप्रसाद लिङदेनले बताए ।

संरक्षण गरी हिलिहाङ दरबार संग्रहालय समेतको स्थापना गरेको अध्यक्ष्य लिङदेनले बताए । उनले भने, ‘केन्द्रीय सरकारसँग हिलिहाङ दरवार संरक्षणका लागि बजेट माग गरिरहेका छौं । इतिहास बोेकेको यो क्षेत्रलाई संरक्षण र लिम्बुको इतिहास अध्ययन गर्ने एउटा मात्र क्षेत्र हो ।’

हिलिहाङ राजाको पालामा बनाईएको दरबार क्षेत्र हाल सम्म पनि स्थानिय, हिलिहाङ फाउण्डेसन तथा विभिन्न संघ संस्थाहरुको प्रयास स्वरुप संरक्षण गर्ने काम भइरहेको उनको भनाइ छ ।

पुस्तकमा उल्लेख भएअनुसार नेपाल एकीकरण हुनुअगाडि यो क्षेत्रमा थुप्रै साना राजा रजौटा थिए । तीमध्ये हस्तपुर (याङवरक) यकका राजा धेरै शक्तिशाली रहेको बताइन्छ । हिलिहाङ लिम्बुवानका अन्तिम राजा रहेको इतिहासविद् डा. नारायण संग्रौलाद्वारा लिखित ‘पल्लो किरात’ पुस्तकमा उल्लेख छ ।

यो क्षेत्र संरक्षण गर्ने सम्बन्धित निकाय चासो नदिदाँ जीर्ण रहेको छ पर्यटीय स्थलको राम्रो सम्भावना भएको हिलिहाङ दरवारले संरक्षणको पखाईमा छ ।

शाह राजासँग शक्ति बाँडफाड

नेपाल एकीकरण गर्ने सन्दर्भमा राजा हिलिहाङ र गोर्खाली राजा पृथ्वीनाराण शाहका सेनाबीच १७ औँ पटकसम्म घमासन लडाइँ भएको इतिहासविद् डा. नारायण संग्रौलाले आफ्नो पुस्तकमा लेखेका छन् ।

नेपाल एकीकारणका क्रममा लामो समयसम्म युद्ध भएर कुनै पक्ष नहारेको अवस्थामा दुवै पक्षबाट दूरदर्शिता देखाई अन्त्यमा सन्धि (सम्झौता) भएको संग्रौलाले उल्लेख गरेका छन् ।

ती बीचमा हिलिहाङ राजा र पृथ्वीनाराणय शाहबीच औपचारिक अनौपचारिक धेरै सन्धि (सम्झौता) भएका थिए । सम्झौतामध्ये सबैभन्दा बढी चर्चित वि.सं. १८१४, १८३१ र १८४२ भएको संग्रौलाको पुस्तकमा बताइएको छ ।

यो सन्धिअनुसार स्थानीय क्षेत्रका अधिकार हिलिहाङ राजाले सञ्चालन गर्न पाउने र गोर्खालीलाई केन्द्रीय राज्य मान्ने गरी गोर्खाली राजा पृथ्वीनारायण शाहलाई दाजु हिलिहाङ राजा तथा उनका सन्ततिलाई भाइ मान्ने गरी सम्झौता गरेको इतिहासमा उल्लेख गरेको पाइन्छ ।

अर्थात् शाहहरू र योङहाङहरू राजखान्दानी दाजुभाइ रहने गरी नेपाल एकीकरणको खाका कोरेका थिए । यो सम्झौता नेपालको इतिहासमा परिचर्चा हुने गरेको पाइन्छ ।

हिलिहाङको जन्म वि.सं. १७७३ मा र मृत्यु वि.सं. १८४२ मा भएको थियो । उनका सेनापतिको नाम नाम्दीहाङ (काङशोरे) थियो । ३१ वर्षको उमेर (वि.सं. १८१४) मा उनले शासन हात लिएर २८ वर्ष (वि.सं. १८१४–१८४२) सम्म शासन गरेको इतिहासमा पाइन्छ । विभिन्न धर्मावलम्बी, जातजाति तथा बहुसाँस्कृतिक बनोट भएको यस क्षेत्रमा सामाजिक सदभाव तथा धार्मिक सहिष्णुता परापुर्वकालदेखि रहेको पाइन्छ ।

भर्खर

0