शिक्षकले दायित्व बहन गरेमात्र शिक्षाको स्तर सुधार हुन्छ

फिनल्याण्डको शिक्षा प्रणाली किन अवलम्बन नगर्ने ?

जगन्‍नाथ काफ्ले

बिहिबार, असोज २३, २०७६

Reading Time: 7 minutes

शिक्षकले दायित्व बहन गरेमात्र शिक्षाको स्तर सुधार हुन्छ

शिक्षाः चेतना, बुद्दी, ज्ञान, सीप र क्षमता प्राप्ति तथा अभिबृद्दी गर्ने औजार हो भने सिकाई तिनै चेतना, बुद्दी, ज्ञान, सीप र क्षमता प्राप्ती र अभिबृद्दी गर्ने प्रक्रिया हो।

शिक्षा मात्र एउटा यस्तो तत्व हो, जसले कुनै पनि प्राणीको प्रकृति प्रदत्त स्वभाव पनि परिवर्तन गर्न सम्भव बनाउछ।

यसले सोचाईको दायरा फराकिलो बनाउँछ, ब्यबसायी बनाउँछ, कुशल जीवन जीउने कला सिकाउँछ, सामाजिक बनाउँछ, वास्तविक मान्छे बनाउँछ।

नेपालमा हामीलाई औपचारिक शिक्षा सामान्यतया पूर्वस्कूल वा किंडरगार्टन, प्राथमिक विद्यालय, माध्यमिक विद्यालय, कलेज, विश्वविद्यालयमा धेरै अंक भएको प्रमाणपत्र जम्मा गर्नुलाई मात्र शिक्षा भन्ने बुझाईयो ।

वास्तविक शिक्षा केवल औपचारिक शिक्षालयमा र शिक्षलयका गुरुहरुबाट पढे पढाएर मात्र प्राप्त हुन्छ भन्ने हुँदैन। आमाको गर्भमा आएबाट शुरु भै चेतना रहुन्जेल चलिरहने जीवन उपयोगी तत्वको प्राप्ति र प्रक्रिया हो भन्ने तथ्य बुझाईएन।

अथवा भनौं यो ब्रम्हाण्डमा यत्ति धेरै ज्ञान छ कि जसले गर्दा एउटा विद्यार्थीको लागि शिक्षाको कुनै सीमा नै हुँदैन।

प्रारम्भ र आज हेरौँ ‘निरक्षरहरुले अक्षर बनाएर पो आज संसार विज्ञ छ, शब्द नहुनेले भाषा बनाए र पो आज संसार प्राज्ञ छ।’ प्रमाणपत्रधारिमात्र शिक्षित हुन्छन् भन्ने सत्य होईन। हो, वास्तवमा शिक्षा असीमित हुन्छ।

यो असीमित शिक्षा कि त पढेर कि परेर वा हेरेर प्राप्त गर्न सकिन्छ, परेर जानेको शिक्षा नै दीगो र बढी प्रभावकारी हुन्छ।

शिक्षा अक्सर शिक्षकहरुको मार्गनिर्देशन बमोजिम विद्यार्थीहरु शिक्षित हुन्छन तर वास्तविक विद्यार्थी अथवा सिकारुहरु गुरुहरुका मार्ग दर्शन अलावा आफैंले आफैंलाई पनि जीवन शिक्षाको ज्योतिले प्रदीप्त गर्न सफल हुन्छन् भन्ने तथ्य न त हामीले बुझ्यौं न हाम्रा कुनै विद्यार्थीहरुलाई नै बुझायौं।

शिक्षा क्षेत्रका बरिष्ट अनुसन्धानकर्ता बेन जोन्सनले बृहत अनुसन्धान गरेर पत्ता लगाए कि ‘असल शिक्षक त्यो हो, जसले पढाउँदैन’।

हो, असल शिक्षकले पढाउँदैन, घोकाउँदैन, सीमित ज्ञान दिँदैन, उसले विद्यार्थीलाई अधिक भन्दा अधिक प्रभावकारी र ब्यवहारिक शिक्षा ग्रहण गर्ने भोक जगाउँछ, वातावरण मिलाउँछ, उचित निर्देशन दिन्छ, समान अवसर दिन्छ।

बिगत एक दशकदेखिको विशिष्ट शिक्षा प्रणली भएका मुलुकहरुको सुचकाङ्कमा विश्वको पहिलो नम्बरमा रहन सफल मुलुक फिनल्याण्डमा रहेको शिक्षा प्रणालीमा भएका बिशेषताहरु के कस्ता छन् र त्यस्तो असल शिक्षा प्रणालीबाट हामीले के सिक्न सक्छौं ? भन्ने तथ्यलाई निम्न बमोजिम केलाऔं।

परीक्षाको मापदण्ड रहित (नो स्ट्याण्डराईज्ड टेष्ट) सीमित पाठ्यक्रमका बनिबनाउ प्रश्न अनि परीक्षामा पास हुन र धेरै अंक ल्याउन पढ्ने घोक्ने चलन फिनल्याण्डमा छैन। हरेक दिनको बिभिन्न क्रियाकलाप, अभ्यास र प्रस्तुतिहरु मार्फत विद्यार्थीका समग्र प्रगतिको ट्यानाक गरिन्छ।

उच्चमाध्यामिकको अन्त्यमा अन्तर्राष्ट्रिय स्तरको श्वेच्छिक मेट्रिकुलेसन परीक्षा हुन्छ नत्र कुनै परीक्षाको पनि निश्चित मापदण्ड तोकिएको छैन।

उत्तरदायित्व होईन दायित्व (रेस्पोन्सिबिलिटी, नो एकाउन्टिबिलिटी): फिनल्याण्डमा शिक्षकले उत्तरदायित्व होईन दायित्व बहन गर्नु पर्दछ। कुनै पनि शिक्षक हुन कम्तिमा स्नातकोत्तर हुनु अनिवार्य छ भने बाल मनोविज्ञान बुझ्न सक्ने र सिकाई तरिका राम्रो बुझेको हुनुपर्दछ।

विद्यार्थी कहिल्यै फेल हुँदैन फेल त शिक्षक हुन्छ। हो, विद्यार्थी त सिकारु हो, ऊ कहिल्यै फेल हुँदैन; यदि विद्यार्थीमा कुनै कमी कमजोरी भयो भने शिक्षक फेल हुन्छ। त्यसैले शिक्षक कोहिसंग उत्तरदायी हुनु पर्दैन केवल आफ्नो विद्यार्थीलाई संसारकै बिशिष्ट बनाउने दायित्व वहन गर्नुपर्दछ।

प्रतिस्पर्धा होईन सहयोग (कोओपरेसन, नो कम्पिटिसन) : फिनल्याण्डको सिकाई पद्दतिले पहिचान गरेको तथ्य ‘बास्तविक बिजेतासंग कसैको पनि प्रतिस्पर्धा हुँदैन’।

जसरी संसारमा पृथक पृथक असीमित जान्नु सिक्नु पर्ने बिषय वस्तु र विधाहरु हुन्छन्, त्यसैगरी मानिसको बिशेषता र क्षमता पनि पृथक पृथक असीमित नै हुन्छन्। त्यसैले विद्यार्थीलाई कहिल्यै एउटा दुईटा वा सीमित बिषयबस्तुमा प्रतिस्पर्धा गराउनु हुँदैन।

फिनल्याणडमा विद्यार्थीलाई कसरी खुशी, स्वास्थ्य, सामन्जस्य र सिर्जनात्मक बनाउन सकिन्छ जस्ले उस्को मौलिक क्षमता उजागर होस् भन्ने ध्येय रहेको हुन्छ।

सिकाईको वातावरण

फिनल्याण्डको स्कुलमा के-कति पढाईयो भन्दा पनि के-कसारी पढाईयो भन्ने कुरालाई मुख्य ध्यान दिइन्छ।

बच्चालाई कम भन्दा कम तनाव, बीच बिचमा प्रशस्त ब्रेक, बढी भन्दा बढी रिल्याक्स वातावरण, कसरी हुन्छ सहज वातावरण सिर्जना गरिन्छ।

किताब कापीको पानामा घोके घोकाईएको भन्दा आफैंले खुद अभ्यास (फराक्टिकल एक्ट) गरेको शिक्षा दीगो र प्रभावकारी हुन्छ भन्ने हेतुले सैद्धान्तिक भन्दा पनि बढी ब्यवहारिक सिकाईको वातावरण सिर्जना गरिन्छ।

प्रमाणपत्रले होईन, बच्चाको क्षमता उसको शारीरिक तथा मानसिक चुस्तताले निर्धारण गर्दछ । हो, त्यो वातावरण सिर्जना गरिन्छ।

ढिलो स्कुल शुरु

फिनल्याण्डको शिक्षा पद्दतिले भन्छ ‘बच्चालाई बच्चा नै हुन देऊ’। प्रशस्त खेलेको र ऊ आफैमा कौतुहलता जागेको बच्चा जिम्मेवार, तेजिलो र सिर्जनात्मक हुन्छ। त्यसैले फिनल्यण्डमा बच्चालाई ७ बर्ष पछि मात्र स्कुल भर्ना गरेर औपचारिक शिक्षा दिईन्छ।

शिशु कक्षामा केवल खेलाईन्छ, बच्चाले खेल्दा खेल्दै अंक-अक्षर चिन्न, आफैंले खान, जुत्ता-कपडा लगाउन फुकाल्न, आफ्नो सामानको जतन गर्न, एक्लै तथा साथीभाइसँग सामुहिक काम गर्न, दैनिक जनजीवनमा आईपर्ने काम, कठिनाई, समस्या समाधान गर्न अभ्यस्त भईसकेको हुन्छ।

हाम्रा पुर्वजहरुले ब्रतबन्ध पश्चातमात्र औपचारिक शिक्षा दिईने प्रचलन सायद अहिले भन्दा वैज्ञानिक पो थियो कि ?

व्यवसायिक विकल्प (प्रोफेसनल अप्सन) अधिक दिईन्छ । यो संसारमा शिक्षा लिनु दिनु पर्ने करोडौं विधाहरु हुन्छन् भन्ने तथ्य फिनल्याण्डले राम्रोसँग बुझेको छ। हरेक बच्चा तथा ब्यक्तिहरुसँग पृथक पृथक बिशेषता र क्षमता हुन्छ भन्ने कुरामा पनि फिनल्याण्ड सचेत छ ।

अनि हरेक बिधा एबम् बिषयबस्तुलाई ब्यबसायिकताको जरुरी हुन्छ भन्ने कुरा फिनल्याण्डको शिक्षा पद्दतीलाई राम्रो हेक्का छ। त्यसैले हरेक बच्चा भित्र लुकेको पृथक पृथक बिषेशता र क्षमतालाई उजागर गरेर करोडौं विधाहरुमा ब्यबसायिकता सिर्जना गराउन फिनल्याण्डको शिक्षा पद्दती सफल छ।

मौलिक पद्दती

फिनल्याण्डले बच्चैबाट आफ्नो भाषा, संस्कृति, संस्कार, बिशेषता, रीतिरिवाज, मौलिकता प्रति अभ्यस्त बनाएको हुन्छ। आफ्नो कर्तब्य पुरा नगरी अधिकारको प्रयोग गर्न कुनैपनि हालतमा पाईंदैन भन्ने कुरा सिकाईंन्छ भने आफ्ना सम्पुर्ण काम आफैंले गर्नुपर्छ भन्ने कुरामा पनि अभ्यस्त गराईन्छ।

आफुले अरुलाई सहयोग गरेपछि मात्र अरुबाट सहयोग पाईन्छ भन्ने कुरा पनि प्रष्ट बुझाईको हुन्छ।

फिनल्याण्डमा पढाई ढीलो उमेरमा मात्र होईन, हरेक दिनको कक्षा पनि ढीलो शुरु हुन्छ। विद्यार्थीले प्रशस्त सुत्न पाउनु पर्छ भन्ने मान्यताले सँधै दैनिक कक्षा ढिलो शुरु हुन्छ। पढाईको बीचबीचमा प्रशस्त ब्रेक हुन्छ। हरेक कक्षा पछि छोटो १० मिनेटको र खाना खाने समय लामो ब्रेक हुन्छ । जस्ले विद्यार्थीलाई सदैव ऊर्जावान बनाउन सकिन्छ भन्नेकुरा प्रमाणित भएको छ।

एउटै शिक्षक

फिनल्याण्डमा एउटै शिक्षकबाट लामो समयसम्म अध्यापन गराईन्छ। एउटै शिक्षकले एउटा समुहका विद्यार्थीलाई सम्भव भएसम्म लामो समयसम्म अथवा तल्लोबाट माथिल्लो कक्षासम्म नितन्तर अध्यापन गराई बच्चाहरुको बालमनोबिज्ञान, वास्तविक समस्या तथा कमजोरी, क्षमता, प्रगति र बिशेषताको पहिचान गरेर वास्तबिक प्रतिभा उजागर गरिन्छ।

थोरै विद्यार्थी, बढी हेरचाह, मातृत्वमयी वातावरण तथा समाधान मुखी क्रियाकलाप फिनल्याण्डको शिक्षाको बिषेशता हो। शायद, नेपालको परम्परागत गुरुकुल शिक्षा प्रणाली यसैको प्रतिरुप पो थियो कि?

गृहकार्य कम बाह्य कृयाकलाप बढी

फिलल्याण्डमा विद्यार्थीहरुलाई गृहकार्य अत्यन्तै कम दिईन्छ भने बाह्य कृयाकलापमा बढी भन्दा बढी सक्रिय बनाईन्छ। जुन बिषयवस्तुको ज्ञान विद्यार्थीलाई दिनु पर्ने हो, सोही ठाउँमा लगेर प्राक्टिकल अभ्यास गराईन्छ।

फिल्ड भिजिट असाध्यै गराईन्छ। सप्ताहन्तमा सायादै गृहकार्य दिईन्छ भने लामो छुट्टीको बेलामा गृहकार्य बिलकुलै दिईंदैन। छुट्टीको समयमा विद्यार्थी जति सक्दो तनाव मुक्त हुनु पर्छ भन्ने फिन्निस शिक्षा प्रणालीको बुझाई छ।

वालमैत्री पुस्तकालय

फिनल्याण्डमा हरेक ठाउँमा पुस्तकालयको प्रवन्ध गरिएको हुन्छ भने हरेक पुस्तकालय बालमैत्री हुन्छ। त्यहाँ विद्यार्थीलाई बच्चैबाट आफैं पुस्तकालय धाउने, खेल्ने र पढ्ने संस्कार बसाईएको हुन्छ।

पुस्तकालयमा प्रशस्त बालउपयोगी सामाग्रीको निःशुल्क प्रवन्ध गरिएको हुन्छ। पुस्तकालय क्रियाकलाप फिनल्याण्डको विशेषता हो भने लाईब्रेरी कार्ड बनाउन तथा उपयोगी सामाग्री प्रयोग गर्दा शुल्क लाग्दैन।

आधारभूत प्राथमिकता निर्धारण

फिनल्याण्डले ठूलो अनुसन्धान पश्चात १९८० को दशकबाट सामाजिक असमानता निर्मुल गर्न केही आधारभूत आवश्यकताका प्राथमिकता पहिचान गरेर सबैलाई स्कुल मै समान तथा निःशुल्क खाना, स्वास्थ्य, मनोवैज्ञानिक परामर्श, पढ्ने, खेल्ने जस्ता सबै क्रियाकलापहरुमा एकरुपता कायम गरेको छ।

को धनी को गरीब कसैले महशुस नै गर्न सक्दैन। सबैलाई एउटै र समान अवसर प्राप्त हुन्छ।

निजी बिद्यालय छैनन्

फिनल्याण्डमा निजी लगानीका बिद्यालयहरु छैनन्। आम नेपालीको सोचाइ नै बनिसकेको छ, सरकारी लगानीका विद्यालयहरु बेकामे हुन्छन्, पढाइको स्तर एकदमै खस्किएको हुन्छ ।

निजी बिद्यालयमा मात्रै राम्रो पढाइ हुन्छ । तर, फिनल्याण्ड शिक्षा प्राणालीले यो सोचाइलाई गलत प्रमाणित गरिदिन्छ।

यसरी हामीले पनि असल शिक्षा पद्दती भएका मुलुकका सफल अभ्यासबाट पाठ सिकेर हाम्रो शिक्षा नीति परिवर्तन गर्न सक्छौ र राष्ट्रमा असल नागरिक जन्माउन सक्छौं, सामाजिक व्यक्ति जन्माउन सक्छौं, भविष्यको कर्णधार जन्माउन सक्छौं, कुशल शिक्षक जन्माउन सक्छौं, जिम्मेवार राष्ट्र सेवक जन्माउन सक्छौं, राष्ट्रिय जनशक्ति जन्माउन सक्छौं र राष्ट्रको समृद्दिको सम्बाहक नागरिक जन्माउन सक्छौं।

यो पनि पढ्नुहोस्

शिक्षा नीति परिवर्तन गरेर समुन्नकत समाज बनाऔं

भर्खर

0