देशलाई दुखेको बेला

डा. चिन्तामणि योगी

आइतवार, माघ २७, २०७५

Reading Time: 9 minutes

देशलाई दुखेको बेला

युवाहरुको पलायन आज राष्ट्रको लागि ठूलो चिन्ताको विषय बनेको छ । बुद्धिवालाहरु अमेरिका, युरोप, अस्टे«लिया, क्यानाडा आदि मुलुकतिर विस्थापित भइरहेका छन् भने बलवालाहरु खाडी मुलुकमा अत्यन्तै सस्तो मूल्यमा आफ्नो श्रम, सीप र पसिना बेच्न बाध्य भइरहेका छन् र जो केही युवाहरु देशमा बाँकी छन् ती मध्ये अधिकांश पार्टीका पछि लागि टायर बाल्दैछन्, देशमा र आफ्नो जीवनमा नै आगो बाल्दैछन् ।
आज आफ्नो बारेमा लेख्ने विद्वान्हरुको कमी छैन । आत्मगान गर्नेहरु, आत्मप्रशंसा गर्नेहरुको कमी छैन । तर कति छन् त राष्ट्रगान गर्नेहरु ?

धर्मजागरण गर्नेहरु ? ज्ञानदान गर्नेहरु ? धर्म, संस्कृति र संस्कृतको रक्षाको लागि समर्पित हुनेहरु ? एवं राष्ट्रकै लागि बाँच्ने र बलिदान दिनेहरु ? युवाहरुले पनि “वयं राष्ट्रे जागृयामः पुरोहिता:” भन्दै राष्ट्रका लागि जीवन समर्पण गर्न सक्छन् । युवाहरुले पनि “कृण्वन्तो विश्वमार्यम्” भन्दै विश्वलाई नै आर्य संस्कृति र सभ्यतातर्फ आकर्षित गर्न सक्छन् । समस्या मूलतः स्तुजन्य हुँदैन, अभावजन्य हुँदैन, परिस्थितिजन्य हुँदैन अपितु विचारजन्य हुन्छ, भावजन्य हुन्छ र मनोजन्य हुन्छ । यही विचार, भावना र मनको परिवर्तन हुन सके व्यक्तिकल्याण हुन्छ र राष्ट्रकल्याण हुन्छ । आज हाम्रो नेपाललाई यही विचारको क्रान्ति चाहिएको छ ।

आज हाम्रो राष्ट्र किन यस पतनको कगारमा पुगेको छ ? भन्ने प्रश्नले धेरैलाई पिरोलिरहेको छ । वेद, बुद्ध र मुन्धुम पनि यहीँ छन् तर डरलाग्दो अज्ञान पनि यहीँ छ, किन ? मेची, कोशी, काली, कर्णाली पनि यहीँ छन् तर पानीको र बिजुलीको हाहाकार पनि यहीँ छ, किन ? व्यासगुफा, गोरखगुफा, जनकपुरधाम, त्रिवेणीघाम, गणेशहिमाल आदि सबै यहीँ छन् तर कहालीलाग्दो विसंगति पनि यहीँ छ, यी सबै कुरालाई विचार गर्दा के लाग्छ भने हामी धर्मभीरु त भयोैं तर धार्मिक हुन सकेनौं । विद्वान् त भयौं तर ज्ञानी बन्न सकेनौं । दुनियाँको बारेमा थाहा पाउने त भयौँ तर आफ्नो धर्म, संस्कृतिको बारेमा केही थाहा पाउन सकेनौं । दुनियाँकै जयजयकार गर्ने त भयौँ तर आफ्नै राष्ट्रको र धर्मको जयजयकार गर्न सकेनौं ।

वस्तुतः ज्ञानको कुनै सीमा हुँदैन । के पूर्व ? के पश्चिम ? पवित्र ज्ञानलाई सबैले स्वीकार्छन् । जस्तै –अणुबमका पिता भनेर चिनिने रोवर्ट ओपेन्हाइमरले पनि भनेका छन्, “आधुनिक भौतिकशास्त्रमा हामीले जे पनि प्राप्त गरेका छौँ त्योे सबै प्राचीन हिन्दू विद्वत्ताको प्रतिपादन, समर्थन र परिष्करण मात्र हो”

हामीले नै एकेश्वरवाद, बहुदेवतावाद र अवतारवादजस्ता महान् दाशर्निक चिन्तन विश्वसामु ल्यायौं । विश्वलाई सगुण र निर्गुण उपासना वा साकार–निराकार बारे ज्ञान दियौँ । हामीले नै ईश्वर एक छन्, अदृश्य छन्, अव्यक्त छन् भनी सिकायौँ । उनै ईश्वर नै पुनः बहुरुपमा (“एकोऽहं बहु स्याम्”) प्रकट हुन्छन् भनी बतायौं । साथै उही एक ईश्वर समय–समयमा मनुष्यरुपमा विभिन्न ठाउँमा, विभिन्न रुपमा प्रकट हुन्छन् भनी बुझायौँ । यो भन्दा बढी उदारता के हुन सक्छ ? ईश्वरलाई त जुन रुपमा जसरी माने पनि हुँदोरहेछ । यहाँ विवाद गर्ने कुनै ठाउँ नै रहेनछ ।

आ–आफ्नो भावअनुसार ईश्वरलाई जसरी पनि पुजे हँुदोरहेछ । ऋषिहरुले “रुचीनां वैचित्र्यात् ऋजुकुटिलनानापथजुषाम्” भनी व्याख्या गरेको पनि यही रहेछ । सर्वधर्मसम्मान, सर्वपन्थसम्मानको मूलसूत्र नै यहीँ रहेछ । यति उदारता र उच्चता हुदाँहुँदै पनि बाइबलवादीहरुले एवं विधर्मीहरुले जथाभावी आक्रमण गरेको देख्दा छट्पटाएका छन् ।

आज विश्वका चिन्तकहरु संस्कृतिको रक्षाका लागि चिन्तित छन् । संस्कृति नासिए विश्व नासिन्छ, विश्वको सुन्दरता र सभ्यता नासिन्छ भन्ने कुरामा सहमत छन् । विविध संस्कृतिहरुको विशाल संग्रहालय नै हो हाम्रो विश्व । “सत् एक नाम अनेक” एवं “लक्ष्य एक मार्ग अनेक” भनेझैँ यस विश्वको सुन्दरता विभिन्न प्रकारले संस्कृतिहरुमा अडेको छ । झन् त्यसमा पनि विश्वकै आदिवासी संस्कृति त विश्वसंस्कृतिकै मूल प्रेरणा हो, आधार हो । सदाशिव, आदिनाथको परम्परामा आधारित नेपालको आदिवासी संस्कृति विश्वको लागि खुला संग्रहालय हो । आज विश्वकै चिन्तकहरु, दार्शनिकहरु, वैज्ञानिकहरु एवं मानवसेवीहरु विश्वसंस्कृति कसरी बचाउने ? भनेर चिन्तन गरिरहेका छन् । हाम्रो सनातन पूर्वीय वैदिक संस्कृतिले विश्वलाई नै असीम प्रेरणा दिरहेको छ । साँच्चिकै भन्ने हो भने विश्वसंस्कृतिको मूल हाम्रो वैदिक संस्कृति नै हो । राष्ट्रगुरु योगी नरहरिनाथले पनि भन्नुभएको छ – “जेठो वेद हिमाल हो सकलको कैलाश साक्षी छ यो” । यस्तो विश्वकल्याणकारी मानवहितकारी वैदिक संस्कृतिमाथिको आक्रमणमा चुप लागेर बस्नु नेपालीको नाताले र एक मानवताका नाताले पनि कदापी उचित छैन ।

वस्तुतः ज्ञानको कुनै सीमा हुँदैन । के पूर्व ? के पश्चिम ? पवित्र ज्ञानलाई सबैले स्वीकार्छन् । जस्तै –अणुबमका पिता भनेर चिनिने रोवर्ट ओपेन्हाइमरले पनि भनेका छन्, “आधुनिक भौतिकशास्त्रमा हामीले जे पनि प्राप्त गरेका छौँ त्योे सबै प्राचीन हिन्दू विद्वत्ताको प्रतिपादन, समर्थन र परिष्करण मात्र हो”।

पश्चिमा विद्वान् N.J.Lockyer ले पनि वेदको प्राचीनता र महत्वलाई प्रष्ट पार्दै भनेका छन् कि ––“The Veda, in fact, is the oldest book in which we can study the first beginnings of our language and of everythings which is embolished in the all language under the sun”

अति प्रसिद्ध अमेरिकी एस्ट्रोफिजिसिस्ट, ब्रह्माण्डविद्, प्रोलिफिक लेखक अनि अग्रणी एस्ट्रोलोजिष्ट डा. कार्ल सागन आणविक उद्गार गर्दै भन्छन्  “हिन्दूधर्म संसारको एक महत्तम मत (धर्म) हो र यो ब्रह्माण्ड स्वयं पनि वास्तवमा अनन्तसम्म अत्यन्तै व्यापक मृत्यु र पुनर्जन्मका चक्रमा सञ्चालित हुन्छ भन्ने विश्वासमा समर्पित छ । यो एकमात्र त्यस्तो धर्म हो जसमा समय सोपानहरु आधुनिक वैज्ञानिक ब्रह्माण्ड विज्ञानका मापनसँग अनुकूल लाग्दछन् । यसका चक्रहरु हाम्रो सामान्य दैनिकी, अहोरात्र, दिन र रातहरु ब्रह्माण्डका दिन र रातहरु चौरासी लाख करोडसम्म (पृथ्वीको अथवा सूर्यको आयुभन्दा लामो अथवा विग ब्याङ्कदेखि गन्दा आधी समय ) लामो रहेको छ ।

ज्ञानको मूलतः कुनै अन्त हुँदैन र सीमा पनि हुँदैन । ज्ञान त अनन्त नै हुन्छ । त्यसैले त हाम्रो वैदिक शास्त्रको अध्ययन, अनुसन्धान आज पश्चिममा भइरहेको छ

गीतामा भनिएको छ – “ज्ञानं विज्ञानसहितं यज्ज्ञात्वा मोक्ष्यसेऽशुभात्” अर्थात् विज्ञान सहितको ज्ञानद्वारा नै हरेक अशुभबाट मुक्ति हुन्छ । यहाँ लेखकद्वयले पनि वैदिक ज्ञानलाई विज्ञानको तराजुमा तौलिएर राम्रैसँग नियाल्ने प्रयास गरेका छन् । हाम्रा वैदिक शास्त्रमा “भूगोल” भनिएको छ अर्थात् पृथ्वी त गोलो नै छ । चेप्टो पृथ्वीको कल्पना गर्ने पश्चिमेली विद्वान्हरु हाँसोका पात्र नै हुन् । यसै गरी “ब्रह्माण्ड” भन्ने शब्दले पनि यस अनन्तः युनिभर्समा अनेकौ‌ अण्डाकार ग्रहहरु आ–आफ्नो गतिमा घुमिरहेका छन्, नाचिरहेका छन् भन्ने सिद्ध गर्दछ । कविशिरोमणि लेखनाथ पौडेलले पनि भनेका छन् –

कदापि कत्ति नलगाई ठक्कर,
ग्रहादिलाई दिनहुँ निरन्तर,
घुमाउन्या को छ खडा भइकन ?
तँलाई मालुम् छ कि यो कुरा मन ?

परमाणु विज्ञानका बारेमा पनि हाम्रै वैदिक शास्त्रले प्रशस्त व्याख्या गरिसकेको छ । वैशेषिक दर्शनमा पनि स्पष्ट भनेको छ – “संयोगाभावे गुरुत्वात्पतनम्” एवं “यतो अल्पतरं नास्ति स परमाणु ः” । सृष्टिको प्रक्रियाका बारेमा पनि उपनिषद्मा स्पष्ट भनिएको छ– “आत्मन आकाश संभूत, आकाशाद्वायु, वायोरग्नि, अग्नेरापः, अद्भ्यः पृथिवी, पृथिव्या ओषधयः, ओषघिभ्योऽन्नम्, अन्नात् पुरुषः” ।

हाम्रो पूर्वीय मान्यताअनुसार वेदालाई नै सबै धर्मको मूल मानिएको छ – “वेदोऽखिलो धर्ममूलम्” वैदिक धर्म नै सम्पूर्ण धर्मको मूल हो, ज्ञान विज्ञानको मूल हो । वेदमा जे छ त्यही यस विश्वज्ञानभण्डारमा छ, जुन वेदमा छैन त्यो कहीं पनि छैन । वेदव्यासका बारेमा भनिएको छ – “व्यासोच्छिष्टं जगत्सर्वम्” अर्थात् व्यासले सिंगो विश्वलाई नै जुठो बनाए अर्थात् हरेक विषयमा लेखनी चलाए । चार वेद एवं चार उपवेद मूलतः मानिए तापनि “अनन्ता वै वेदाः” भनिएको छ । एवमेव “आप्तवाक्यं प्रमाणम्” भनिएको छ अर्थात् वेदवाक्य वा शास्त्रवाक्य नै मूल प्रमाण हो । यही वेदको आज विश्वव्यापी रुपमा अध्ययन– अनुसन्धान भइरहेको छ ।

नासाका वैज्ञानिकहरु आज वेदको अध्ययन, अनुसन्धान गरिरहेका छन् । एटलान्टामा पनि WAVES (World Association of Vedic Education Studies) को स्थापना भएको छ । सिंगो विश्वमै वैदिक ज्ञानसागरबाट नयाँ नयाँ रत्न खोज्ने प्रयास भइरहेको छ, मानव जीवनलाई सुखी, शान्त र समृद्ध बनाउने प्रयास भइरहेको छ । प्रकृति र संस्कृतिको संरक्षण गर्दै विश्व ब्रम्हाण्डलाई बचाउने प्रयास भइरहेको छ ।

आज नेपालमा धर्मपरिवर्तनको आगो सल्किरहेको छ, यस आगोले विकराल, दावानलको रुप लिदैँछ । आफ्नै धर्म–संस्कृतिलाई मासेर, आफ्नै माटो र मुटुलाई भुलेर एवं आफ्नै आमा र आत्मालाई बेचेर अट्टहास गर्ने व्यक्तिहरु पनि हुँदारहेछन् । विदेशी संस्कृतिको पछि लागी आफ्नो संस्कृतिको हत्या गरी मानवाधिकारको वकालत गर्नेहरु पनि हुँदारहेछन् । आफ्नै जातीय पहिचान एवं राष्ट्रिय अस्मिता गुमाएर विकासका कुरा गर्नेहरु पनि हुँदारहेछन् । जातीय, क्षेत्रीय, भाषिक, सांप्रदायिक विखण्डनल्याई मानवताबारे फलाक्नेहरु पनि हुँदारहेछन् ।

हाम्रो नेपाली समाजमा केही विकृतिहरु पनि देखा परेका छन् । हामी सबैले अत्यन्तै इमान्दारिकाता साथ सबै खाले विकृतिको जरो उखेल्नै पर्छ

देशमा धर्म, जाति, क्षेत्र र भाषाका नाममा युद्धका विषालु बिउहरु पनि रोप्ने र फेरि शान्तिका नारा धन्काउनेहरु पनि हुँदा रहेछन् । देशको पर्यटन व्यवसायलाई एवं अर्थतन्त्रलाई धराशायी बनाउने र फेरि विकास निर्माणका कुरा गर्ने पनि हुँदारहेछन् । वास्तवमा के धर्मपरिवर्तन हुन सक्छ र ? धर्म त स्वभाव हो । के स्वाभावको परिवर्तन हुन सक्छ र ? के आगोले पोल्न छाडे्छ र ? मेरो विचारमा विभिन्न धर्मको अध्ययन हुन सक्छ तर परिवर्तन त हुन सक्दैन । धर्मपरिशीलन हुन सक्छ तर धर्म परिवर्तन त कदापि हुन सक्दैन । सर्वधर्मसम्मान हुन सक्छ तर सर्वधर्मसमान त तदापि हुन सक्दैन ।

हो, हाम्रो नेपाली समाजमा केही विकृतिहरु पनि देखा परेका छन् । हामी सबैले अत्यन्तै इमान्दारिकाता साथ सबै खाले विकृतिको जरो उखेल्नै पर्छ । नारीहिंसा, बालहिंसा, छुवाछुतलगायत अनेकौं विकृति र विसंगतिले हाल हाम्रो समाज ग्रस्त छ । तर प्रश्न छ, विकृतिको कारण संस्कृति हो वा समाज ? आर्थिक कमजोरी हो वा धार्मिक ? अशिक्षा हो वा धर्मशास्त्र ? विकृति हटाउँ, संस्कृति बचाउँ” । महान् स्वामी विवेकानन्दले पनि भनेका थिए– “जो धर्म भूखे को अन्न और रोती हुई विधवा के अाँसु न पोछ सके वो धर्म, धर्म नहीं” । याद राखौँ, हामीले समयमैं विकृति हटाउन सकेनौं भने विकृतिले हामीलाई नै हटाइदिनेछ । आफ्नोपन गुमाएर आफ्नै देशमा दास भई बाँच्नुपर्नेछ । अन्धकारमै प्रकाशको खोजी वा प्रतीक्षा हुँदोरहेछ । गीतामा भनिएको छ – “श्रद्धावान् लभते ज्ञानं” । श्रद्धाले सहारा पनि दिनेछ र संरक्षण पनि । जसले बाटो पनि देखाउनेछ र बाटो भत्काउनेहरुलाई सचेत पनि ।

ज्ञानको मूलतः कुनै अन्त हुँदैन र सीमा पनि हुँदैन । ज्ञान त अनन्त नै हुन्छ । त्यसैले त हाम्रो वैदिक शास्त्रको अध्ययन, अनुसन्धान आज पश्चिममा भइरहेको छ । विश्वका सबै ठूला विश्वविद्यालयहरुमा ओरिएन्टल स्टडि, एशियन स्टडि, एन्सियण्ट स्टडि आदिका नामले घुमिफिरी हाम्रै सनातन हिन्दूदर्शन र संस्कृतिका बारेमा अनुसन्धान, अध्ययन भइरहेको छ । ब्राजिलमा पनि गुरु गोरक्षनाथको योगदर्शनबारे व्यापक अध्ययन, अनुसन्धान, अभ्यास भइरहेको छ । यसरी विश्वमा नैं हाम्रो दर्शन फैलिंदै गइरहेका बेला हामी बत्ती मुनिको अँध्यारो ? यसको चिन्तन र मनन गर्न आवश्यकता छ आज हाम्रो समाज र राष्ट्र हाँक्ने नेताहरुलाई हामीले धर्म बचाऔं, धर्मले हामीलाई बचाउनेछ – धर्मो रक्षति रक्षितः
शिवास्ते पन्थानः सन्तु ।

जय शिवगोरख ! ! !

भर्खर

0