‘निम्छरो’ शब्दले तातेको संसद, इतिहासमै पहिलोपटक प्रधानमन्त्रीलाई रुलिङ | Khabarhub Khabarhub

‘निम्छरो’ शब्दले तातेको संसद, इतिहासमै पहिलोपटक प्रधानमन्त्रीलाई रुलिङ



काठमाडौं– नेपालको संसदीय इतिहासमै पहिलोपटक संसदले प्रधानमन्त्रीले बोलेका शब्द रेकर्डबाट हटाउन रुलिङ गरेको छ । यसअघि संसदीय मर्यादाविपरित सांसदहरुले बोलेका कुनै कुरा अभिलेखबाट हटाउन निर्देशन दिइएको भएपनि प्रधानमन्त्रीले बोलेका कुरा संसदको रेकर्डबाट हटाउन निर्देशन दिइएको नेपालको संसदीय इतिहासमा सायदै पहिलो पटक हुनसक्नछ ।

संघीय संसद सचिवालयले पनि यस विषयमा अहिल्यै हो वा होइन भन्ने विषय भन्न नसकिने बताएको छ । संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले भने,‘ प्रधानमन्त्रीले बोलेका कुरा अभिलेखबाट हटाउन दिइएको निर्देशन पहिलो पटक हो वा होइन भन्ने टुङ्गो लागिसकेको छैन, तर सभामुखको रुलिङपछि संसदको कार्यव्यवस्था शाखाले लिखित रुपमै कुन–कुन शब्द मर्यादाअनुकुलका थिएनन् त्यो निक्र्यौल गरी रेकर्ड शाखामा पठाउँछ, त्यहीअनुसार रेकर्ड शाखाले अभिलेखबाट हटाउँछ ।’ पाण्डेले पहिलो पटक भए नभएको अहिल्यै भन्न नसकिने बताए पनि प्रधानमन्त्रीले बोलेका शब्दका बारेमा संसदले रुलिङ गर्नु भनेको महत्वपूर्ण र संवेदनशील विषय भएको बताए ।

यस विषयमा वरिष्ठ अधिवक्ता समेत रहेकी कांग्रेस संसदीय दलको सचेतक पुष्पा भुसालले प्रधानमन्त्रीले बोलेका शब्द हटाउन संसदले रुलिङ गरेको पहिलो पटक भएको दाबी गरिन् । उनले प्रधानमन्त्रीले प्रयोग गरेका ३ वटा शब्दहरु आक्रोश, कुण्ठा र निम्छरो भन्ने शब्द संसदीय मर्यादाविपरित भएको बताएन् ।  उनले भनिन्,‘जनताका प्रतिनिधिले संसदमा सोधेका प्रश्नलाई ‘आक्रोश’, ‘कुण्ठा’ र ‘निम्छरो’ भन्ने प्रधानमन्त्रीको शब्द चयन गलत भएको भन्ने आफ्नो पार्टीको धारणा संसदकै रुलिङपछि सत्य प्रमाणित भएको छ ।’

सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलका क्रममा बैशाख २४ गते संसदमा प्रधानमन्त्री ओलीले ‘निम्छरो’ प्रश्नको जवाफ नदिने बताएपछि कांग्रेस सांसद र प्रधानमन्त्री ओलीबीचमा भनाभन समेत भएको थियो । निम्छरो शब्द संसदीय परम्पराअनुसार मर्यादाविपरितको भएको भन्दै कांग्रेस सांसदहरुले रेकर्डबाट हटाउन माग गरेका थिए । तर सभामुख महराले आफ्नो ध्यानाकर्षण भएको बताए पनि कांग्रेस सांसद डाक्टर मिनेन्द्र रिजालले सभामुखले संसदको मर्यादा कायम गर्न नसकेको आरोप लगाएका थिए । २५ गते कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुख कातर भएको आरोप समेत लगाएका थिए ।

प्रतिनिधिसभा नियमावलीको दफा २६ अनुसार विचाराधीन रहेको कुनै विषयमा कुनै सदस्यलाई कुनै नियमको उल्लघंन भएको भन्ने लागेमा जुन नियम उल्लंघन भएको हो सो खुलाई नियमापत्ती गर्न सक्ने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार २४ गतेको संसद बैठकमा कांग्रेस सांसद मीन विश्वकर्माले प्रधानमन्त्रीले बोलेका शब्द संसदीय मर्यादाविपरित भएको भन्दै नियमापत्ती गरेका थिए ।

तर शुक्रबारको संसद बैठक शुरु हुनासाथै सभामुख कृष्णबहादुर महराले, ‘नीति तथा कार्यक्रमबारे सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले प्रयोग गरेको शब्दका बारेमा भएको ध्यानाकर्षणका विषयमा केही भन्न चाहन्छु । सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीज्यूले स्पष्टीकरण तथा सदस्यहरुको जिज्ञाशाको उत्तर दिने क्रममा प्रयोग भएको संसदीय मर्यादाअनुकुल नभएका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु ।’

कांग्रेस सांसदहरुले प्रधानमन्त्रीले जवाफ दिने क्रममै रोष्ट्रममै भएका बेला रुलिङ गर्न माग गरेका थिए । तर सभामुख महराले भने पटक–पटक ध्यानाकर्षण भएको बताएका थिए । संसदीय परम्पराअनुसार संसदको समेत नेताका रुपमा लिइने प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेता रोष्ट्रममा भएका बेला रुलिङ नगर्ने परम्परा छ । त्यही परम्पराअनुसार सभामुखले २४ गते नै रुलिङ नगरेको हुन सक्ने बुझिएको छ ।

सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले भने,’संसद सचिवालयसँग २४ गतेको संसद बैठकमा  प्रधानमन्त्री र सांसदहरुले प्रयोग गरेका शब्द संसदीय मर्यादाअनुकुलका थिए वा थिएनन् भन्ने छलफल गरेपछि शुक्रबार सभामुखज्यूले संसद बैठकको शुरुमै रुलिङ गर्नुभयो।’

के हो संसदको अभिलेख ?

संसद सचिवालयले हरेक दिनको संसद बैठकको रेकर्ड राख्ने गरेको छ । त्यही रेकर्ड राख्न रेकर्ड शाखा नै बनाइएको छ । रेकर्ड शाखाले हरेक दिनको बैठकमा सांसदहरुले बोलेका कुरा लिखित रुपमै उतारेर अभिलेखका रुपमा राख्ने गरेको छ । त्यस्तो अभिलेख संसदको पुस्तकालयमा राखिन्छ ।

सभामुखको रुलिङपछि संसदीय मर्यादाअनुकुल नभएका शब्द रेकर्डमा नराख्न निर्देशन दिएका हुन् । संसदीय भाषामा सभामुखको निर्देशन भनेको रुलिङ हो । सभामुख संसदको नेतृत्वकर्ता भएका कारण सभामुखको रुलिङलाई संसदकै निर्देशन समेत मानिन्छ । संसदको रुलिङ सरकारका लागि समेत बाध्यकारी हुने गर्दछ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ४ : ४९ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,