इथियोपियन एयरलाइन्स दुर्घटना अपडेट: विमान टुक्रा-टुक्रा, शव पहिचानमा समस्या | Khabarhub Khabarhub

इथियोपियन एयरलाइन्स दुर्घटना अपडेट: विमान टुक्रा-टुक्रा, शव पहिचानमा समस्या


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इथियोपिया– अफ्रिकी मुलुक इथियोपियाको राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको  विमान दुर्घटना हुँदा विमानमा सवार सबै १ सय ५७ जनाको मृत्यु भयो । स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेर ३८ मिनेटमा आदिस अबाबाको बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट केन्याको राजधानी नैरोबीको जुमो केन्याटा विमानस्थलका लागि उडेको विमान उडेको ६ मिनेट अर्थात् स्थानीय समयअनुसार ८ बजेर ४४ मिनेटमा आदिस अबाबाबाट ६३ किलोमिटर दक्षिणपूर्वमा रहेको विसोफ्टु शहरनजिक दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाग्रस्त विमानको अवशेष जमिनमा टुक्रा टुक्रा परेको र जलेर विमानको स्वरुप नै बिग्रिएको अवस्थामा फेला परेको थियो । विमान दुर्घटना भएको स्थानमा गहिरो खाडल समेत परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विमानको भग्नावशेष भित्र यात्रुको शव पहिचान नै हुन नसक्ने अवस्थामा रहेको इथियोपियाका अधिकारीले जनाएका छन् ।

मृतकको शव पहिचान गर्न समय लाग्ने र शवको पहिचान भइसकेपछि मात्रै आफन्तलाई बुझाइने छ । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार विमान आकाशबाट जमिनमा खस्नुअघि विमानमा आगलागी भएको थियो ।

दुर्घटनाग्रस्त विमानमा विभिन्न ३३ देशका नागरिक सवार रहेको इथियोपियन एयरलाइन्सले जनाएको छ । विमान दुर्घटनापछि पत्रकार सम्मेलन गर्दै एयरलाइनसका प्रमुख कार्यकारी ट्योवल्डे गेबरमरियमले विमानमा ३२ केन्याली, १८ क्यानाडेली, ९ इथियोपियन, ८ इटालियन, ८ चिनियाँ ८ अमेरिकी, ७ फ्रान्सेली तथा ७ बेलायती नागरिक सवार रहेको जानकारी दिए ।

त्यस्तै, दुर्घटनग्रस्त विमानमा इजिप्टका ६, नेदरल्याण्ड्सका ५, स्लोभाकियाका ४ तथा भारतका ४ नागरिक सवार रहेको इथियोपियन एयरलाइन्सले जनाएको छ । त्यसैगरी विमानमा अष्ट्रिया, स्विडेन र रुसका तीन नागरिक, मोरक्को, स्पेन, पोल्याण्ड र इजरायलका २ नागरिक तथा बेल्जियम, इण्डोनेशिया, सोमालिया, नर्वे, सर्बिया, टोगो, मोजाम्बिक, रवाण्डा, सुडान, युगाण्डा र यमनका एक नागरिक सवार रहेको जनाइएको छ ।

दुर्घटनामा ४ जना संयुक्त राष्ट्रसंघको राहदानी लिएका मानिसहरु पनि छन् । केन्यामा हुन लागेको संयुक्त राष्ट्रसंघीय पर्यावरण सम्बन्धी सम्मेलनअघि भएको विमान दुर्घटनामा मारिनेमा सम्मेलनका प्रतिनिधिहरु पनि परेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि यसबारे संयुक्त राष्ट्रसंघीय पर्यावरणीय निकायले भने कुनै विवरण सार्वजनिक गरेको छैन ।

यता विमान दुर्घटनामा परेपछि इथियोपियाका प्रधानमन्त्री आबिये अहमदले शोक सन्देश जारी गरेका छन् । केन्याका राष्ट्रपति उहुरु केन्याटाले पनि विमान दुर्घटना भएको प्रति शोक सन्देश जारी गर्दै समवेदना प्रकट गरेका छन् । त्यस्तै, अफ्रिकी संघका आयुक्त मुसा फाकी मेहेमेतले पनि दुर्घटनाप्रति समवेदना प्रकट गरेका छन् ।

विमान दुर्घटनामा पर्नुको कारणबारे हालसम्म थाहा हुन नसकेको अधिकारीले जनाएका छन् । यद्यपि विमान चालकले उडेको केही समयमा नै उडानमा समस्या परेको भन्दै आदिस अबाबा तर्फ नै फर्कन चाहेको भन्ने आकस्मीक सन्देश पठाएको बुझिएको छ । । विमानको निगरानी गर्ने संस्था फ्लाइटरडार २५ ले ट्विटरमा सन्देश जारी गर्दै उडान भरेलगत्तै विमानको भर्टिकल स्पिड अस्थीर रहेको जनाएको छ । विमान दुर्घटनाबारे अनुसन्धान भइरहेको इथियोपियन एयरलाइन्सले जनाएको छ ।

दुर्घटनामा परेको विमान बोइङको ७३७ म्याक्स ८ रहेको बताइएको छ । त्यस विमानले सन् २०१७ बाट उडान थालेको र गत जुलाई यतामात्रै इथियोपियन एयरलाइन्समा थपिएको थियो । यता बोइङले भने आफ्नो कम्पनीमा निर्मित विमान दुर्घटनामा परेको भन्दै दुःख व्यक्त गरेको छ । विमान दुर्घटनामा पर्नुको कारणबारे कम्पनीले अध्ययन गरिरहेको बोइङले जनाएको छ ।

अन्तर्राष्ट्रिय हवाई कानून अनुसार विमान दुर्घटनाको अनुसन्धान गर्ने अधिकार तथा जिम्मेवारी इथियोपियाको हुन आउने भएपनि अमेरिकामा निर्मित विमान भएकाले अमेरिकी अधिकारीले पनि विमान दुर्घटनाबारे अनुसन्धान गर्नसक्ने बताइएको छ ।

विमान सापेक्षित रुपमा नयाँ रहेपनि बोइङ ७३७ म्याक्स ८ दुर्घटनामा परेको पछिल्लो ६ महिनाभित्र यो दोश्रो घटना हो । यसअघि गत अक्टोबरमा पनि इण्डोनेशियाको लायन एयरको बोइङ ७३७ म्याक्स ८ विमान जाभा टापुको तटपारी समुद्रमा दुर्घटनामा परेको थियो, जसमा सवार १ सय ८१ यात्री तथा ८ चालक दलका सदस्य गरी सबै १ सय ८९ जनाको ज्यान गएको थियो ।

यता दुर्घटनाग्रस्त विमानमा सवार यात्रीलाई पर्खन केन्याको जुमो केन्याटा विमानस्थल पुगेका मनिसहरु विमान दुर्घटनाको खबर सुनेर भावविह्वल भएको समाचार आएको छ । आफन्तलाई लिनका लागि नैरोबीको विमानस्थल पुगेका आफन्तहरुले शुरुमा दुर्घटनाबारे थाहा नपाएको र पछि विमान दुर्घटनाको समाचार सुनेर त्यहाँ कोलाहल र रुवाबासी शुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इथियोपियन एयरलाइन्स अफ्रिकी महादेशको सबैभन्दा ठूलो हवाई सेवा प्रदायक कम्पनी हो । गत वर्षमात्रै यो एयरलाइन्सले १ करोड भन्दा धेरै यात्रीलाई हवाई सेवा दिएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ८ : ३६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०