अतिक्रमणमुक्त होला टुँडिखेल ?

सविना कार्की

शनिबार, कार्तिक २३, २०७६

Reading Time: 6 minutes

अतिक्रमणमुक्त होला टुँडिखेल ?

काठमाडौं– सहरको मध्य भागमा रहेको टुँडिखेल अतिक्रमणको चपेटामा परेको लामो समय भयो । मुलुकको ऐतिहासिक, साँस्कृतिक तथा राजनीतिक परिवर्तनको साक्षी रहेको टुँडिखेल देशको पहिचान हो । तर पछिल्लो समयमा टुँडिखेल साँघुरिँदै गएको छ ।

‘कंक्रिटको सहर’ बन्दै गएको राजधानीमा सबैभन्दा ठूलो खुल्ला स्थान रहेको ठाउँ हो टुँडिखेल । तर पछिल्लो समय यो स्थान साँघुरिँदै गएको छ ।

सहरको जनसंख्या बढेसँगै घट्दै गएको टुँडिखेल जोगाउनुपर्छ भन्ने आवाज उठ्न थालेको केही वर्ष नै भयो । तर त्यसले मूर्त रुप लिन सकेको थिएन । शनिवार(आज) भने अभियान्ताहरुले मानव सांङ्लो बनाएर टुँडिखेललाई ‘अकुपाई’ अर्थात अतिक्रमण हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

दरबार हाइस्कुल, निर्वाचन आयोग, लाल दरबार, बागदरवार राष्ट्र बैंकका दरवार र सिंहदरवारको बीचमा रहेको यो टुँडिखेलको थुप्रै महत्व रहेको अभियान्ताहरु बताउँछन् ।

विभिन्न समयको कालखण्डसँगै ठूलो क्षेत्रमा फैलिएको यो टुँडिखेल संरक्षण अभाव र सम्बिन्धित निकायको हेलचक्राइका कारण पछिल्लो समय अतिक्रमणको चपेटामा पर्दै गएको छ ।

यसरी नै टुँडिखेल साँघुरिदै गएमा आउने पुस्ताका लागि भलिबल खेल्न, हक्की खेल्न, घाम ताप्ने, सभा सम्मेलन गर्ने, खुल्ला आकाशमुनि आन्नदले बस्ने ठाउँ नै सकिने अभियन्ताहरुको चिन्ता छ ।

पश्चिम रामकोट र भीमगंगाबाट बगेको हावा सिधै टुँडिखेलमा आउने हुँदा मानिसहरु हावा खानाकै लागि पनि यहाँ आइपुग्ने गर्छन्

पछिल्लो समय यस क्षेत्रमा अनाधिकृत पार्किङ, बसपार्क, पसल र टहरा निर्माण, पुनर्निर्माणको सामाग्री थुपार्ने तथा रातारात ढलान गर्ने जस्ता काम तीव्र रुपमा अघि बढेसँगै टुँडिखेल अतिक्रमणको चपेटामा परेको हो ।

टुँडिखेल अतिक्रमणको चपेटामा परेसँगै स्थानीय, सम्पदाप्रेमी तथा सामाजिक अभियान्ताहरुले पटपटक आन्दोलन समेत गरेका छन् ।

शनिवार (आज) विश्वस्वतन्त्रता दिवसको अवसर पारि टुँडिखेल अतिक्रमणबाट खुल्ला गर्न अर्थात् जनताको स्वामित्वमा ल्याउन लागि दबाब दिने उद्धेश्य सहित स्वतन्त्र नागरिक अभियान सञ्चालन भएको छ ।

‘टुँडिखेलमा मानव साङ्लो बनाएर अकुपाइ मुक्क्त बनाउन सकिएला त ?’ भन्ने प्रश्न उव्जिएको छ ।

नागरिक सडकमा उत्रिएपछि जति ठूलो समस्या पनि समाधान हुने विश्वास अभियान्ताहरुले बोकेका छन् । यससँगै निरन्तरको ३ महिने कार्यक्रमले टुँडिखेल अतिक्रमणबाट मुक्त गराउने अपेक्षा उनीहरुको छ ।

सार्वजनिक जग्गाको दुरुपयोग भएको र खुुल्ला स्थान माँसिदैं गएको अभियान्ता गणपतिलाल श्रेष्ठले बताए । राज्यले संरक्षण गर्नुपर्ने स्थानहरु बिस्तारै अतिक्रमणमा पर्दै जानुमा सरकारकै दोष रहेको उनले सुनाए ।

‘जनताको लालपुर्जा भएको घरमा गएर डोजर लगाउन सक्छ सरकारले’ उनले भने ‘सार्वजनिक जग्गाको संरक्षण गर्न किन सक्दैन’ ।
त्यस्तै सम्पदा संरक्षण अभियान्ता आलोक सिद्धी तुलाधार भन्छन्, ‘टुँडिखेललाई राज्यले अकुपाई गरिरहेको छ भने हामीलाई श्वास फेर्न कठिन भइरहेको छ किनकी यो हामी सबैको मुटु हो’ ।

सरकारले समयमै विकल्प खोज्न नसक्दा टुँडिखेल आज साँघुरो भइसकेको बताउँदै उनले भने ‘सेनाको भवन पनि सार्नुपर्छ टुँडिखेल लिच्छवीकालमा कस्तो थियो त्यस्तै बनाउनुपर्छ ।’

काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा निर्वाचित संसाद भीमसेन दास प्रधान टुँडिखेलको अतिक्रमणलाई राजनीतिक रुपमा नहेर्न अनुरोध गर्छन् ।

‘टुँडिखेल भनेको भूमिगत जलभण्डारको पुर्नभरण हो’ प्रधानले भने ‘हाम्रा पुर्खाहरुले महत्वका साथ जोगाएका सम्पदा तथा खुल्ला स्थान अतिक्रमण भइरहेको छ यसलाई अतिक्रमणमुक्त बनाउनुपर्छ’ ।

पहिलेको टुँडिखेल र अहिलेको टुँडिखेलको बारेमा बताउँदै संसाद प्रधान भन्छन्, ‘मल्लकालीन समयबाटै टुँडिखेल बिखण्डन भएको हो यसलाई हामीले पहिलेकै अवस्थााम ल्याउन सकेनौं भने काठमाडौंको अस्तित्व नै मेटिन्छ’ ।

घाम ताप्न टुँडिखेल आइपुग्छन् वीर अस्पतालका विरामी

सिन्धुपाल्चोकका ६० वर्षीय रुपेश १२ वर्षदेखि शारीरिक रुपमा अपाङ्ग बनेका छन् । एक दशक लामो जीवन वीरअस्पतालमा बिताएका उनले खुल्ला ठाउँको महत्व बारे बताउँदै भने ‘अस्पतालको छेउमा खुल्ला स्थान हुनुपर्छ, विभिन्न विपत्तिहरु आइपर्छन् यदि खुल्ला स्थान भएन भने हामी कहाँ जाने ?’

त्यतिमात्र होइन जाडो समयमा घाम ताप्नकै लागि पनि अस्पतालको बिरामीहरु टुँडिखेल आइपुग्ने उनले बताए ।

वि.स. २०७२ साल वैशाख १२ गतेको विनाशकारीको भूकम्प क्षण उनको मानसपटलमा अझैं पनि ताजा छ । उनी ह्वीलचियरको सहायताले वीरअस्पतालदेखि टुँडिखेलसम्म आइपुगेका थिए ।

त्यो बेला यहाँ खुल्ला थियो यस्ता टहरा बनेका थिएनन्, ह्विलचियरमा हिड्न पनि सजिलै भएको थियो’ रुपेशले भने ‘अहिले त निर्माण सामग्री राख्नाका लागि टहराहरु बनाइएका छन् तत्काल केही भइहालेमा टुँडिखेलभित्र पस्न सक्ने अवस्था छैन’ । अस्पताल वरपरको स्थान खुल्ला हुनुपर्छ भन्ने उनको भनाइ थियो ।

कसरी भयो टुँडिखेल अतिक्रमण ?

परापूर्वकालदेखि नै काठमााडौंवासीले खुल्ला रुपमा टुँडिखेललाई प्रयोग गर्दै आइरहेका थिए । तर यसको विखण्डन भने मल्लकालीना समयबाटै सूरु भएको विज्ञहरु बताउँछन् ।

रत्नराज्य लक्ष्मीदेवी शाहको इच्छा पूरा गर्न राजा महेन्द्रले ४२ रोपनीमा यो पार्क बनाएका थिए । रत्नपार्क ०१८ मा निर्माण सुरु गरिएको हो। रत्नपार्क निर्माण गरेसँगै टुँडिखेल दुई भागमा बाँडिन पुगेको देखिन्छ ।

त्यससँगै खुल्लामञ्च, सैनिक मुख्यालय, सैनिक मञ्च र दशरथ रङ्गशालाका कारण खुल्लामञ्च साँघुरिदैं गएको देखिन्छ । टुँडिखेलको २५ प्रतिशत भूभाग नेपाल सेनाले प्रयोग गरिरहेको अभियानका अभियान्ताहरु बताउँछन् ।

स्थानीय तहको भूमिका के ?

मुलुक संघीय संरचनामा गएसँगै सार्वजनिक स्थलहरुको संरक्षणको जीम्मा स्थानीय तहलाई रहेको छ । जीम्मेवार निकायका रुपमा रहेको काठमाडौं महानगरपालिकाले टुँडिखेललाई अतिक्रमणबाट मुक्त गराउन वेवास्ता गरेसँगै नागरिकहरु आफैं टुँडिखेल उत्रिएको बताउँछन् ।
संविधानअनुसार सार्वजनिक जग्गाको जीम्मेवारी नागरिकलाई समेत रहेको अभियान्ता सन्जय अधिकारी बताउँछन् ।

‘टुँडिखेल सार्वजनिक जग्गा हो’ खबरहबसँग कुरा गर्दै उनले भने ‘संविधानको धारा ४८ ले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने अधिकार व्यक्तिलाई समेत दिएको छ हामी त्यही धारामा टेकेर अघि बढिरहेका छौं । ’

यता काठमाडौं महानगरका प्रमुख विद्या सुन्दर शाक्य भने भूकम्प पश्चात निर्माणधीन भवनका लागि आवश्यक सामाग्री राखेको र निर्माण सम्पन्न भएसँगै खाली गरिने जवाफ दिन्छन् ।

तत्काल सैनिक कार्यालय सार्न नसके पनि त्यसको बारेमा छलफल गर्ने महानगरकी उपप्रमुख हरि प्रभा खड्गी बताउँछिन् । ‘हो टुँडिखेल खुल्ला हुनुपर्छ त्यो हामीले बुझेका छौं’ कार्यक्रम उपस्थिती जनाउँदै उनले भनिन्, ‘खुल्ला ठाउँको महत्व कस्तो हुन्५ त्यो हामीले ०७२ सालको भुइचाँलोमै महशुुस गरेका छौं’ ।

मानव साङ्लोमा जनता देखि जनप्रतिनिधिसम्म

शनिवार स्वतन्त्र नागरिक अभियानमा टुँडिखेल खाली गर्नका लागि जनतादेखि जनप्रतिनिधिसम्मको उपस्थिती रहेको थियो । साँस्कृतिक बाजा गाजासहित शुरु भएको कार्यक्रममा व्यक्ति तथा नेता विशेष विरोध नभइ मानव शाङ्लोले टुँडिखेललाई घेरिएको थियो ।

टुँडिखेललाई अतिक्रमण मुक्त गराउनका लागि ३ महिनासम्म हरेका शनिवार यस्तै विभिन्न कार्यक्रम गरिने अभियानका संयोजक विराज श्रेष्ठले बताए ।

भर्खर

0