नेकपाको सरकारले काम गर्न सकेन भने विपत्तिको सामना गर्नुको विकल्प छैन– झलनाथ | Khabarhub Khabarhub

नेकपाको सरकारले काम गर्न सकेन भने विपत्तिको सामना गर्नुको विकल्प छैन– झलनाथ



दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भइ नेपाल कम्युनिस्ट पाटी(नेकपा) गठन भएको डेढ वर्ष पूरा हुँनै लाग्दा एकीकृत पार्टीको तल्ला तहसम्मको एकीकरण पूरा हने चरणमा रहेको छ ।

पार्टी एकता गर्दा वरियताको विषय निकै पेचिलो बनेको छ । वरियतामा तलमाथि हुँदा कहिले झलनाथ खनाल त कहिले माधव नेपालले असन्तुष्टि पोखे ।

त्यसबाहेक नेकपा एकीकरण पछिको काम तीन महिना सक्ने भनिएको भएपनि त्यस अनुरुप हुन सकेन । दुई तिहाइको नेतृत्व गर्दै नेकपाका अध्यक्ष केपी ओलीले सरकार चलाई रहेका छन् तर जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

यी र यस्तै विषयमा नेकपामा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग हामीले कुराकानी गरेका छौं ।

कुराकानीको सुरुवात हामीले वरियताको विषयमा देखिएको असन्तुष्टिका बारेमा नेता खनालसँग प्रश्न गर्‍यौं ।

वरियताको विषयले पार्टीभित्र समस्या सिर्जना गरेको जस्तो देखिन्छ । पहिलो तपाई असन्तुष्ट बन्ने भयो अहिले माधव नेपाल असन्तुष्ट देखिएका छन् यसलाई कसरी लिने ?

पहिलो कुरा त हरेक पार्टीमा कुनैपनि नेताको स्टाण्डिङ भनेको उसको जीवन हो । उसको इतिहास हो । त्यही इतिहासले नै वरिष्ठ र कनिष्ठताको निर्धारण गर्छ । वरिष्ठता र कनिष्ठता कसैले टिका लगाएर दिने पनि होइन, कसैले खोस्दा खोसिने पनि होइन । यो त बस्तुगत इतिहास हो ।

जस्तो उदाहरणका लागि हामीले २०३२ सालमा त्यतिबेला विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकरण गर्न एकता केन्द्र (कोर्डिनेसन केन्द्र) बनायौँ । जसको म सचिवसम्म भएँ, जुनबेला माधव कमरेड सदस्य हुनुहुन्थ्यो । जसको उद्देश्य सिङ्गो कम्युनिष्ट आन्दोलनई एकीकरण गरेर पार्टी निर्माण गर्ने भन्ने थियो । २०३५ सालमा हामीले पार्टी निर्माण गर्‍यौँ । त्यो पार्टी निर्माण भएपछि २०३९ सालमा महासचिव भएँ । २०४६ सालसम्म महासचिवका रुपमा काम गरेको थिएँ । महासचिव भएका बेला कमरेड माधवकुमार नेपाल पोलिटव्यूरो सदस्यका रुपमा हुनुहुन्थ्यो । यति कुराले मात्रै को सिनियर को जुनियर भन्ने स्पष्ट छ ।

अहिलेसम्मको हाम्रो जीवन हेर्दा को वरिष्ठ र कनिष्टता निर्धारण गर्छ । त्यसकारण कि त उमेरले निर्धारण गर्छ वरिष्ठता, कि त पार्टी सदस्यको मितिले निर्धारण गर्छ । अर्को भनेको पार्टीमा महत्त्वपूर्ण पदमा को पहिला पुग्यो भन्ने कुराले निर्धारण गर्ने विषय हो । त्यसो हुनाले अहिलेको अबस्थामा १५ महिना अगाडिको पार्टीको निर्णय गलत थियो । म त तत्कालिन एमालेको नवौँ महाधिवेशनले नै निर्वाचित एकमात्र वरिष्ठ नेता हुँ ।

मन्त्रिमण्डल हेरफेर हुनसक्छ भनेर भनेको थिएँ । त्यसलाई समाचारमा पाँचै वर्ष केपी कमरेडको नेतृत्वमा सरकार चल्छ भनेर भन्दिए । कमरेड केपीकै नेतृत्वमा सरकार चल्छ भनेपनि मेरो शुभकामना छ ।

जुनबेला पार्टीमा अरु कोही पनि वरिष्ठ नेता भन्ने थिएन । पार्टी एकता हुँदा वरिष्ठताका आधारमा नीति र पद्धतीअनुसार एकिकरण हुनुपर्ने थियो । त्यो हुँदा स्वतःसिद्ध रुपमा म वरिष्ठ नेता हुनुपर्ने आवश्यकता थियो । जुन अन्यायपूर्ण रुपमा मलाई वरिष्ठताको विषयमा गरिएको अन्याय यसपटक पार्टीले सच्यायो । सच्याएसँगै के पनि भयो भने पार्टीहरु त धेरै छन्, समाजमा तर अरु पार्टीहरुले गल्ती गर्छन्, उनीहरुले सच्याउँदैनन्, कम्युनिष्ट पार्टीले समेत अरु पार्टीले जस्तो गल्ती पनि गर्छ, तर गल्ती थाहा भएपछि सच्याउँछ भन्ने पनि भएको छ । गल्ती सच्याएसपछि अरु कसैले केही गनुपर्ने पनि छैन । मलाइ पनि केही गर्नुपर्ने छैन । मलाई त आफ्नो पोजिशनमा राख्यो । त्यति मात्रै हो ।

नेकपामा गुट उपगुटका कारण समस्या भएको कुरा तल्लो तहसम्म पुगेको छ । तपाईले एउटा कार्यक्रममा केपी ओली नेतृत्वको वर्तमान सरकार ५ वर्षसम्म चल्छ भन्नुभयो…

पार्टी जहिलेपनि एउटा कार्यदिशामा चल्नुपर्छ भन्ने हो । नीति र सिद्धान्तका आधारमा पार्टी चल्छ । पार्टी नेता होइन, नीति र कार्यदिशाका आधारमा चल्छ । नेताहरुको पनि महत्वपूर्ण भुमिका हुन्छ तर नीतिप्रधान हुन्छ । नीतिको आधारमा पार्टी चल्नुपर्छ । त्यसकारण कमरेड पुष्पलालले कम्युनिष्ट पार्टी नेताका आधारमा होइन, नीतिका आधारमा चल्छ भन्नुभएको थियो । त्यसकारण अहिले अबस्थामा जो विगतको निर्वाचनमा ५ वर्षसम्म नेकपालाई सरकारको नेतृत्व गर्ने जिम्मा दिएको छ ।

५ वर्षसम्म अपरिवर्तनीय रुपमा नेकपाले सरकारको नेतृत्व गर्ने कुरामा कसैले विवाद गर्नुपर्ने अबस्था छैन । जहाँसम्म मन्त्रिमण्डल हेरफेरको कुरा हो, आवश्यकताको उपजका रुपमा जहिलेपनि परिवर्तन हुनसक्छ ।

केहीदिनअघि मात्रै हो मैले झापाको एउटा कार्यक्रममा भनेको थिएँ, हामीले यो देशमा ५ वर्षमा सरकार चलाउन जनताले अभिमत दिएका छन्, ५ वर्षसम्म नेकपा नेतृत्वको सरकार रहन्छ । मन्त्रिमण्डल हेरफेर हुनसक्छ भनेर भनेको थिएँ । त्यसलाई समाचारमा पाँचै वर्ष केपी कमरेडको नेतृत्वमा सरकार चल्छ भनेर भन्दिए । कमरेड केपीकै नेतृत्वमा सरकार चल्छ भनेपनि मेरो शुभकामना छ ।

गुट उपगुटको कुरा आयो, भद्र सहमतिको कुरा पनि आएको छ, यो के हो ?

तपाईजस्तो पत्रकारले जुन ढंगले गुट र उपगुटको कुरा गर्नुभएको छ पार्टीभित्र यो गर्नै नपरे हुन्छ भन्ने मलाई लाग्छ । कम्युनिष्ट पार्टीमा गुट र उपगुटको कुरा भनेको अनौठो कुरा हो । म जहिलेपनि पार्टीहरुभित्र रहने गरेको गुट उपगुटका विरुद्ध शुरुदेखि अहिलेसम्म पनि लडिरहेको छु ।

दुईवटा पार्टी एकिकरण गरेर एउटा बनाउँदा दुईजना अध्यक्षका बीचमा सहमति भएको छ भन्ने कुरा आएको छ । जुन सहमति पार्टीभित्र आएको छैन । पार्टीभित्र औपचारिक रुपमा सहमति नआउँदासम्म पार्टीले चिन्दैन

पार्टीभित्र गुटवादी प्रवृत्ति जन्मिन्छन्, तर कम्युनिष्ट पार्टीभित्र गुटबन्दीलाई प्रोत्साहित गर्नुहुँदैन । निरुत्साहित गर्नुपर्छ । पार्टी जहिलेपनि गुटरहित बनाउनुपर्छ । अहिले हामी नेकपा निर्माण गरिरहेका छौँ । पार्टी निर्माण गर्ने बेलामा दुईवटै पार्टीभित्रका राम्रा विषयहरुलाई समातेर नराम्रा विषयलाई निषेध गरेर जानुपर्छ । अहिले हामी नितान्त एउटा नयाँ गुट र उपगुटबाट मुक्त भएको पार्टी बनाउनुपर्छ मेरो अडान छ । म त्यसैमा लाग्छु ।

भद्र सहमतिको कुरा चाँहि ? 

दुईवटा पार्टी एकिकरण गरेर एउटा बनाउँदा दुईजना अध्यक्षका बीचमा सहमति भएको छ भन्ने कुरा आएको छ । जुन सहमति पार्टीभित्र आएको छैन । पार्टीभित्र औपचारिक रुपमा सहमति नआउँदासम्म पार्टीले चिन्दैन । तरपनि एकीकरणका बेला दुईजना अध्यक्षहरुले जे सहमति गर्नुभएको छ त्यसलाई हामी सम्मान गछौँ र सम्मान गर्नुपर्छ । ती सहमतिहरु व्यवहारमा कार्यान्वयन भएर जानुपर्छ ।

नेतृत्व पंक्तिमा केही नेताहरु स्थायी कमिटी, सचिवालयमा नपरेको गुनासो पनि गरेको सुनिन्छ । पोलिटव्यूरो त अहिलेसम्म गठन हुन सकेको छैन । जिम्मेवारी बाँटफाँटमा समेत केही असन्तुष्टि रहेको जस्तो पनि देखिन्छ । महाधिवेशनलाई केन्द्रमा राखेर नैराश्यता समेत देखिन्छ यसबारेमा तपाईको धारणा के छ ?

दुईवटा पार्टी एकिकरण हुँदा हामीले केन्द्रीय कमिटी, सचिवालय र स्थायी कमिटी बनायौँ अझै पोलिटव्यूरो गठनको प्रक्रिया बाँकी छ । यी प्रक्रियामार्फत् कतिपय साथीहरुलाई हामीले अटाएका छौँ । तर तत्कालिन नेकपा माओवादीसँग करिब ५ हजारजति त केन्द्रीय सदस्य थिए । हामीले एकहजारलाई पनि केन्द्रीय समितिमा अटाउन सकेनौँ ।

हामीले करिब आधाहजार जति भनौँ न ४ सय ४१ सदस्यीय मात्रै केन्द्रीय समिति बनाउन सक्यौँ । त्यसो भएका कारण नअटाएका साथीहरुलाई राष्ट्रिय परिषद् बनाउँछौ, केन्द्रीय सल्लाहकार परिषद् बनाउँछौँ, विभिन्न आयोगहरु बनाउँछौ, ती कुराहरुमा सकेसम्म अटाउने व्यवस्था गर्छौँ, माथी अटाएन भने तल भएपनि अटाउने व्यवस्था गछौँ । हामी सबै पार्टीका साथीहरुलाई कुनै न कुनै कमिटिमा संगठित गर्ने प्रयत्नका साथमा अघि बढ्छौँ ।

सचिवालय र स्थायी कमिटी विस्तारको आकांक्षा राखेका नेताहरुका लागि केही व्यवस्था हुन्छ कि ?

अब सचिवालय स्थायी कमिटि अहिले जुन बनाएका छौँ । त्यसलाई हामी अहिले चलाउँदैनौ । तर कसो गर्दा पार्टीलाई बढि गतिशिल बनाउँछ हामी त्यसै गछौँ । त्यसबारेमा हामीले अहिले सोच्दैछौँ । ३२ वटा विभागमध्ये संगठन विभाग छ हामीसँग, त्यसले पार्टीका बारेमा अलि गम्भिर ढंगले सोँच्नुपर्ने अबस्था छ । पार्टीको संरचनाहरु कस्तो बनाउने भन्ने बारेमा त्यसले काम गर्छ ।

हामीले अहिले सचिवालय, पोलिटव्यूरो, स्थायी कमिटी भनेका छौँ त्यसबाहेक केन्द्रीय कमिटी अहिलेकै जस्तो यही अबस्थामा राखेर चलाउन सकिन्छ कि योभन्दा अझै चुस्ता खालको बनाएर लैजान सकिन्छ भन्ने विषयमा हामी सोच्दैछौँ । केन्द्रीय कमिटीले कतिपय कुराहरुलाई मिलाउँदै लैजान्छ ।

कति समयसम्म पूर्णता पाउनसक्छ भन्न सकिने अबस्था छ त ?

एकीरणले पूर्णता पाउन धेरै समय लाग्दैन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली अली अस्वस्थ हुनुहुन्थ्यो । तर अहिले उहाँ स्वास्थ्यलाभ गरेर फर्किसक्नुभएको छ । दुबै पार्टी अध्यक्ष अहिले हामीसँग हुनुहुन्छ । सल्लाह गरेर छिटो बैठक बोलाएपछि एजेण्डाहरु प्रस्तुत भइसकेका छन् । त्यसैले लामो समय लाग्दैन । राष्ट्रिय परिषद् हामीले बनाउनुपर्नेछ , राष्ट्रिय सल्लाहकार परिषद्, ३ वटा आयोग बनाएपछि पोलिटव्यूरो बन्ला । त्यसो गर्दा केन्द्रीय संरचना बनाउने काम सकिन्छ ।

महाधिवेशनको प्रक्रिया चाँहि कस्तो हुन्छ ? प्रजातान्त्रिक अभ्यास हो वा सहमतिमा ?

पहिलो महाधिवेशन १० औँ महाधिवेशको कुरा एकताको महाधिवेशन हुनुपर्छ । प्रगति र सहमतिको महाधिवेशन हुनुपर्छ । प्रतिस्पर्धा भनेको सहमति हुन नसके मात्रै हुने हो । पहिलो प्रतिस्पर्धालाई पहिलो र दोस्रो सहमतिलाई बन्नुहुँदैन ।

पहिलो प्राथमिकता सहमतिलाई दिनुपर्छ । त्यसलाई हामी पहिलो प्राथमिकता दिन्छौँ त्यसमा केही पुगेन भने हामी प्रतिस्पर्धा पनि गछौँ । तर मेरो विचारमा यो एकतापछिको पहिलो महाधिवेशन सहमति, एकता र प्रगतिको महाधिवेशन हुन्छ ।

वाद, विचार र आदर्श जुन थियो पार्टीको त्यो समाप्त भएको, कार्यकर्ताकाबीचमा निराशा पैदा भएको र सरकारले समेत राम्रो काम गर्न नसकेको भनेर आलोचना भइरहेको छ, किन यस्तो अवस्था आयो ?

पार्टी एकिकरण गर्दा २÷३ महिनामा सबै काम सक्ने भनेर अनुमान दुईजना अध्यक्षहरुले गर्नुभएको थियो । तर त्यो अनुमान ठिक सावित हुन सकेन । त्यो व्यवहारिक समेत थिएन । वास्तवमा माथि एकीकरण गरेपछि तलका कमिटी विगठन गर्ने जुन काम भयो, त्यो सबैभन्दा ठूलो गल्ति थियो । जसका कारण एकवर्षसम्म तलका कमिटिहरु रहेनन् त्यसले एकखाले ग्याप समेत सिर्जना गरेको हो ।

८ लाख पार्टी सदस्यहरु मात्रै होइन, ३० लाख संगठित रहेका जनसंगठनहरु समेत निश्क्रिय रहे । त्यसैकारणले मान्छेहरुमा असन्तुष्टि, विरोध, आक्रोश सबै छ । त्यसले गर्दा आदर्श, मूल्य, मान्यता र वाद हरायो भन्ने चर्चा हरायो कि भनेर आशंका गरेका हुन् । वास्तवमा एकीकरणपछि हाम्रा आदर्श, नीति के हुन्, हाम्रो लक्ष्य के भन्ने कुराहरु हामीले नयाँ ढंगले प्रशिक्षित गरेर पुनर्निर्माण गर्ने काममा हामी लाग्नुपर्छ । मसँगै बरु साथीहरुले समेत पार्टीको पुनर्निर्माणको आवाज उठाउनुभएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा जनस्तरमा चासो छ । ओली सिंगापुर जानु अघि ओली नेपालबीचको विवाद सतहमा आएको थियो….

पार्टी भनेको एउटा संस्था हो । व्यक्ति होइन, मैले अघि पनि भने पार्टी भनेको नीतिका आधारमा चल्ने हो । संस्थागत हिसाबले चल्ने हो । पार्टीमा अध्यक्ष, उपाध्यक्षजस्ता पदहरु हुन्छन्, ती पदहरु पनि राजनीतिक हिसाबले एउटै स्तरको पद हो । तर उहाँहरुको अनुभव, योग्यता लगाएतका हिसाबले जिम्मेवारी दिने गरिएको हुन्छ ।

जिम्मेवारी जेसुकै भएपनि पार्टी सामुहिक नेतृत्वले चल्छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको स्वास्थ्य कमजोर भएको लगाएतका विषयलाई ध्यानमा राखेपछि हामीले सामुहिक रुपमा चल्ने कुरालाई झन् बढि महत्वपुर्ण तरिकाले हेर्नुपर्छ ।

बैठकमा माधव नेपाल र प्रधानमन्त्रीका बीचमा देखिएको तिक्ततालाई कसरी हेर्नुभयो, तपाईले ? 

पार्टीमा कहिले कहिले तात्तातो बहस हुन्छ त्यस्तै भएछ दुईजना कमरेडहरुका बीचमा । यद्यपी त्यो बैठकमा म उपस्थित थिइन । तरपनि तातो हैन, हामी प्रत्येक नेताहरुले शालिनतापूर्वक छलफल बहस गरेर निष्कर्ष निकाल्नुपर्छ । ‘वादे वादे जायते तत्वबोधः’ हाम्रो देशको जनकपुरबाट उत्पत्ति भएको दार्शनिक उद्बोधन भएको हो । त्यहाँदेखि शुरु भएको वादे वादे अहिले पनि हामीले गर्नुपर्छ । त्यसपछि हामीले तत्वबोध गर्नसक्छौँ ।

पछिल्लो समय नेपाल विदेशीहरुको क्रिडास्थलका रुपमा विकसित भयो भनेर भनिरहेका छन्, तपाईलाई के लाग्छ, यो साँचो हो ?

अहिलेको विश्व अनिश्चित ढंगले विकसित हुँदैछ । कहिले एउटा अतिशक्ति संसारमा हावी हुने त कहिले २ वटा शक्ति संसारमा हावी हुने अबस्था हामीले भोगेर आइसकेका छौँ ।

अहिलेको परिस्थिती एउटा वा दुईटा हैन, धेरै शक्तिहरु विकसित भइरहेका छन् । चाहे एसिया प्यासिफक प्लेटफर्म भन्नुस्, यहाँपनि बहुध्रुवीय स्थिती देखिन्छ । विश्व प्लेटफर्ममा हेर्नुभयो भने पनि बुहधु्रविय शक्ति विकसित भइरहेको देखिन्छ । यस्तो अबस्थामा ध्यानमा राखेर नेपालले हाम्रो राष्ट्रियतासँग जोडेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित ढंगले सञ्चालन गर्नुपर्छ ।

सम्बन्ध सञ्चालन गर्ने सम्बन्धमा चुनौती र सम्भावना दुबै छन्, सम्भावनाको पहिचान गर्नुपर्छ, चुनौतीको सामाना गर्नुपर्छ । हामीसँग राम्रो संविधान छ, त्यसकै आधारमा विदेश सम्बन्ध सञ्चालन हुनुपर्छ ।

काम सकिएन भने हामीले विपत्तिको सामना गर्नुको विकल्प छैन । तर गर्नको निम्ति इतिहासले अवसर दिएको छ । सत्तारुढ दलका लागि त यो सबैभन्दा ठूलो अवसर हो

अब हामीले ६ वटा काम गरेर अघि बढ्नुपर्छ । पहिलो काम भनेको लोकतन्त्रको संरक्षण, दोस्रो कुरा राष्ट्रियता मजबुत बनाउनुपर्छ, अहिले पनि सिमाना अंकित भएका छैनन्, सुस्ता कालापानीमा विवाद छ, सन् १९५० को असमान सन्धि हामीसँग छ । त्यसलाई पुनरावलोकन गर्नुपर्छ । तेस्रो कुरा भनेको शुसासन हो, नयाँ संविधानअनुसार कर्मचारी संयन्त्र परिचालन गर्नुपर्छ । चौथो भनेको आर्थिक विकासको काम तिव्रता प्रदान गरेर गरिबि उन्मुलन गर्नुुपर्छ । जनताको जिवनस्तरमा सुधार भएन भने समाजमा विकृति शुरु हुन्छ । अर्को कुरा भनेको विविधतापुर्ण रुपमा संस्कृति रहेको छ नेपालमा । वेद, रामायणजस्ता अनेक पुराणहरु यही लेखिएका छन् । यसको विकास र संरक्षणमा हामी लाग्ुनपर्छ । छैटौ भनेको अन्तर्राष्ट्रिय सम्बन्धलाई अत्यन्त सन्तुलित र राष्ट्रिय हितअनुकुल बनाएर लैजानुपर्छ । यसो गर्न सकियो भने देश समृद्ध बन्नसक्छ ।

दुईतिहाईको सरकार छ गर्न चाहँदा त सम्भव छ तर अहिलेको अबस्था हेर्दा तपाईले भनेका सबै काम हुने आशा कति गर्न सकिन्छ ?

यसो गर्न सकिएन भने हामीले विपत्तिको सामना गर्नुको विकल्प छैन । तर गर्नको निम्ति इतिहासले अवसर दिएको छ । सत्तारुढ दलका लागि त यो सबैभन्दा ठूलो अवसर हो । सँगै सबै राजनीतिक दलका लागि समेत अहिलेको समय अवसर हो । हामीले नयाँ संविधान बनाएर उपलब्धी हासिल गर्न सकेका छौँ । नयाँ संविधानले परिकल्पना गरेको र लक्ष्य दिएको समाजवादको बाटोमा हामी अघि बढ्नुको विकल्प छैन ।

तस्वीर–अदिप श्रेष्ठ

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १० : ०३ बजे

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले

कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्म कैदको फैसला भएको

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार