सिंहदरबारकै आँगनमा भूकम्पपीडितको यो दुर्दशा !

भूकम्पले घरबार उठायो, लालपुर्जा नहुँदा राहत पाइएन

गजेन्द्र बस्नेत

मङ्लबार, असार २४, २०७६

Reading Time: 5 minutes

सिंहदरबारकै आँगनमा भूकम्पपीडितको यो दुर्दशा !

काठमाडौं– जस्ताले बेरेर बनाइएको स–साना ६ वटा टहराका थुप्रा लस्करै छन् । एकै ठाउँमा झुप्प यी टहराभित्र कपडा सिलाउँदै छन् कोही । नजिकै छ खाना पकाउने, खाने र सुत्ने ठाउँ ।

काठमाडौंको उत्तर–पश्चिमी दिशामा पर्ने सानो बाइपासमा हामी पुग्दा पसिना पुछ्दै धमाधम कल घुमाइरहेकी थिइन् अम्बिका नेपाली । सिंहदरबारभन्दाबाट झण्डै १५ किलोमिटरको दूरीमा पर्ने तारकेश्वर नगरपालिकाभित्र पर्छ सानो बाइपास ।

‘त्यहाँ न धारामा पानी आउँछ, न त शौचालय नै । नुहाउने ठाउँ पनि छैन, भएको सानो घर पनि भूकम्पले भत्कायो,’ अम्बिकाले सुनाइन्, ‘सहयोगको नाममा कतैबाट केही पाइएन, गुजारा चलाउन गाह्रो छ ।’

यस्तो पीडा भोग्नेमा अम्बिका मात्र एक्ली होइनन् । ६ परिवारका २८ सदस्यको अवस्था यस्तै दयनीय छ, जस्तो अम्बिकाले भोगिरहेकी छिन् । ०७२ मा गएको भूकम्पले घर भत्काइदिएपछि दिएको दर्दनाक पीडा थियो यो उनीहरुको ।

विनाशकारी भूकम्प गएको चार वर्ष बितिसक्दा पनि यी दलित परिवार जस्ताको टहरालाई घर मानेर बस्नुपरेको छ । धन्न जीवन चलेको छ ।

भूकम्पअघि सानो बाइपासभन्दा थोरै माथि उनीहरुको चिटिक्कको घर थियो । घरमा उनीहरु आरामले बसिरहेका थिए । भूकम्पले सबै तहसनहस बनाइदियो । त्यही भूकम्पको पराकम्प यी परिवारमा निरन्तर परिरहेको छ ।

सरकारले भूकम्पपीडितलाई पटक–पटक किस्ताबन्दीमा रकम दिएको उनीहरुले कतिपटक पढे, कतिपटक सुने । तर, सिहंदरबारको आँगनैमा रहेका यी ६ परिवारले राहतको मुख देख्न नपाएको बताउँछन् ।

उनीहरु भन्छन्, ‘भूकम्पपछि त्यतिबेला पाएको रासन र १५ हजार बाहेक अहिलेसम्म हामीले केही पाएनौँ, सुन्न त सरकारले राहत दिँदैछ भन्ने सुनेका हौँ ।’

उनीहरुको घर त थियो । तर, लालपुर्जा थिएन । सरकारले भने लालपुर्जा हुनेलाई मात्र राहत दिने भनेको थियो ।

पीडितमध्येका एक रामकुमार नेपाली भन्छन्, ‘अरु सबैले राहत पायौं भन्छन्, हाम्रो त घर पनि ढल्यो राहत पनि केही पाइएन ।’

उनले भने, ‘न त हामीसँग जग्गा छ, न त अब घर नै बाँकी । हामी सुकुम्बासीसँग लालपुर्जा हुने पनि कुरै भएन, लालपुर्जा नभएपछि राहत पाइँदैन रे !’

अहिले उनीहरुले सानो बाइपासकै स्थानीय सानुप्रसाद घिमिरेको १ रोपनी जग्गा भाडामा लिएका छन् । यो जग्गा उनीहरुले १ वर्षअघि भाडामा लिएका थिए, वार्षिक ६० हजार तिर्ने शर्तमा ।

सानो क्षेत्रफलमा टिनका टहरा । अनि तिनै टहरामा एकाध कोठा ।

उनीहरुको पूरै परिवार यहीँ अटाएको छ जेनतेन । यहीँ उनीहरुले कपडा सिलाउने इलम गरिरहेका छन् । अम्बिका नेपाली ६४ वर्ष पुगिन् । उनी दमको रोगी छिन् । यहीँ अस्थायी टहरा बनाएर बसेका छन् रवि परियार पनि ।

रविसँग साधारण लेखापढी मात्र छ । ९ जनाको परिवार पाल्नुपर्ने बाध्यता एकातिर छ भने अर्कातिर जागीर पाएका छैनन् उनले ।

भूकम्पपीडितलाई हेर्न गैरसरकारी संस्थाका आँखा टाढा–टाढाका गाउँसम्म पुगे । तर यहाँ पुग्न सकेनन् । एक हात अग्लो माटो छ्यापेर बनाइएको स–साना टहराले पानी त बरु छेक्ला तर गर्मीमा खपिसक्नु हुँदैन ।

वर्षा लागेपछि समस्या झनै थपिएको छ उनीहरुमाथि । ६ परिवारले प्र्रयोग गर्ने एउटा साझा धारा छ । ऋण खोजेर ठड्याइएका दुईवटा चर्पी पनि छन् ।
६ परिवारका २८ सदस्यले तिनै दुई चर्पी प्रयोग गरिरहेका छन् । पालैपालो ।

रवि सुनाउँछन्, ‘कुन दिन हावाहुरीले यही छाना पनि उडाइदिने हो ।’

बर्षौ पहिले साने नेपालीका पुर्खा काठमाडौं झरेका थिए । उनीहरु काठमाडौंमा भेट्याएका काम गरेर गुजारा चलाउँथे । आफ्नो पुख्र्यौँली पेशा कपडा सिलाउने काम पनि गर्थे ।

अब साने नेपाली रहेनन् ।

उनका दुई छोराका ६ नातिहरुका अहिले २८ जनाको परिवार पुगेको छ । परिवार बढेको बढ्यै छ, सम्पत्ति कमाउनेपर्नेमा बढी गुमेको छ ।

एक सदस्य बैकुण्ठ परियार सुनाउँछन्, ‘बैशाख जेठको महिना सिजनको समय भए पनि अरु बेला परिवार धान्न मुस्किल छ । ओहो ! जीवन त अझै निकै लामो पो छ है ?’

उनीहरुले आफ्नो घरको लालपुर्जा देख्न पाएनन् । भूकम्पपछि उनीहरुले आफ्नै घर देख्न पाएनन् । के अब सिंहदरबारले उनीहरुलाई देख्ला ? यही प्रश्नको उत्तरमा आशावादी छन् उनीहरु । भन्छन्, ‘सिंहदरबार नजिकै त छ नि, कुनै दिन देखि पो हाल्छ कि !’

भर्खर

0