कठै ! बिचरा दलालहरुको नियति

भरत दाहाल

आइतवार, जेष्ठ २६, २०७६

Reading Time: 6 minutes

कठै ! बिचरा दलालहरुको नियति
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एमाले र माओवादी केन्द्रबीचको कथित एकताको प्रहसन दलीय पद, राज्य शक्ति र विदेशी दलाली हत्याउने दाउपेचका रुपमा पुनः चर्किन थालेको छ । जब पुष्पकमल दाहाल दिल्ली पुग्छन् वा युद्ध कालमा गराईएका कुकर्महरु जेनेभातिर सुनिन थाल्छन्, तब उनको मुखबाट एउटै बासी शब्द निस्कन्छ ‘आलोपालो’। पुष्पकमलको ‘आलोपालो’ गुञ्जिनासाथ वामदेव र माधव नेपालको शरीरमा पनि द्यौता जाग्छन् र शुरु हुन्छ- ‘एक पद, एक जिम्मेवारी’ भन्ने स्वयंसिद्ध बहस। अनि तीब्र बन्छ केपी ओलीको ‘ईण्डो-प्यासिफिक’ धन्धा ।

शासक दलमा एकथरीलाई कुर्सि जोगाउन र अर्कोथरीलाई कुर्सि हत्याउन बाह्य शक्तिहरुको दलालीको प्रतिस्पर्धा शुरु भएको छ। जसरी निजीकरणको बहानामा नेपालको अर्थतन्त्र बिक्री गर्ने योजना कार्यान्वयन भैसकेपछि कांग्रेसलाई दुई फ्याक गराईयो र माओवादीलाई प्रयोग गरेर नेपालविरोधि राजनीतिलाई वैधानिकता दिलाउन सफल भएपछि त्यसलाई आधा दर्जन ग्याङमा छुट्याईयो, त्यसैगरी ‘एमाले-एमाओवादी’बाट हुन सम्भव कामहरु गरिसकेपछि यसलाई पनि मुसो बनाउने खेल शुरु भएको छ।

सत्ताधारी दलभित्र चर्किन थालेको ग्याङ संघर्ष अस्वाभाविक, अप्रत्यासित र आकस्मिक केही पनि होईन। राज्य सत्ताको चरित्र, विदेशी डिजाईन र आफ्नो स्वत्व बेचिसकेका दलालहरुको नियति अनुरुप यो एकदमैं स्वाभाविक, प्रत्यासित र योजनाबद्ध छ। दलालहरु मध्ये कसलाई आवश्यकता अनुसार कसरी प्रयोग गर्ने, के भूमिका दिने, कतिबेला लडाउने वा मिलाउने, निहुँ कस्तो बनाउने भन्ने कुराहरु पहिले नै तय गरिएका हुन्छन्। जुन तत्वलाई नेता बनाईएको छ, त्यसको काम कथामा अभिनय गर्ने मात्र हो।

इतिहासका केही उदाहरणहरु हेरौं। २०४७ सालपछि कांग्रेसको हातबाट अर्थतन्त्र बेचेर नेपाललाई विदेशी माल बजारका रुपमा परिणत गरिसकेपछि त्यसलाई फुटाईयो। त्यसबाट एउटा दूरगामी असर पर्ने काम सम्पन्न भैसकेको थियो र त्यो भन्दा ठूलो अरु काम गराउन सकिने क्षमता त्यससंग थिएन। कांग्रेसलाई ठूलो शक्तिका रुपमा रहिरहन दिंदा त्यो पूर्ण रुपमा आफूप्रति आश्रित नरहन सक्थ्यो र पर्दाभित्र तयार गरिरहेको अर्को दलाल खेलाएर अघि बढाउने ठाउँ पनि बन्न सक्ने सम्भावना एकदमैं कम हुन्थ्यो।

न देशको सार्वभौमिकताको मुद्दा /न देशको अखण्डताको चिन्ता /न विकासको एजेन्डा /न विदेशिएका नेपालीलाई फर्काउने सुर्ता /न त रोजगारी दिएर देशलाई स्थिरतामा लैजाने कुराको सुर्ता /यो बिचरा दलालहरुको नियति हो

कांग्रेसको खण्डित गर्भमा पुष्पकमल र बाबुरामहरु विकास गरिसकिएका थिए। उनीहरुलाई ‘नायक’को खोलमा सजाएर नेपालमाथि बनिबनाउ जनयुद्ध लादियो। पुष्पकमल र बाबुरामको एकताको उपादेयता नेपाल विघटन गराउने संविधान जारी गराउँदासम्मका लागि थियो। संविधान जारी भएपछि उनीहरुलाई एकसाथ जोडिरहनुको औचित्य रहेन र त्यो आधा दर्जन जति ग्याङमा सडकछाप बनाईयो र विपरित जस्ता देखिने मुद्दाहरु अगाडि बढाउने भूमिकामा खडा गरियो। कोही एमाले बनाईए भने कोही मधेशवादी।

कांग्रेस र माओवादी नेपालविरोधि ठूला रणनीतिमा प्रयोग भैसकेका थिए। विदेशी योजनाका लागि गरेका नग्न अपराधहरुका कारणले तिनीहरु निकै बद्नाम पनि भए र नेपालीहरुमा आकर्षण पैदा गर्ने शक्ति पनि बाँकी रहेन। एमालेलाई नेपालविरोधि ठूलो मिशनमा प्रयोग नगरेर जगेडाका रुपमा राखिएको थियो। यता विदेशीहरुको मिशन पूरै सफल भैसकेको थिएन। संविधान जारी भैसकेपछिको नयाँ परिस्थितिमा संविधान र कानूनको आडमा केही कुरा प्राप्त गर्न र अर्को चरणको अराजकता पैदा गर्न आवश्यक थियो।

एमाले र एमाओवादीलाई जोडेर बहुमतको सरकार बनाउने र त्यसबाट सम्भव हुन सक्ने अधिकतम कामहरु गराउने योजना अन्तर्गत् ‘होली वाईन’ सम्मेलन, सिके राउतसँगको सम्झौता, ईण्डो-प्यासिफिक रणनीतिमा संलग्नतालगायत ईण्डो-पश्चिमा रणनीतिमा थुप्रै काम गराईए र नेपालमाथिको निर्णायक हमलाका रुपमा नागरिकता ऐन संसोधन विधेयकलाई अगाडि बढाउन लगाईयो। केपी ओलीले यो भन्दा बढी काम गरिदिन सायद सम्भव छैन। त्यसैले बाँकी कामहरुका लागि अझ बढी समर्पित दलालको खाँचो छ।

नियतिका कारणले यस्ता समर्पित दलालहरु पुष्पकमल र बाबुराम भन्दा उपयुक्त अरु छैनन्। किनभने युद्धकालमा यिनीहरुका हातबाट अघन्य अपराधहरु गराईएका छन् र १२ बुँदेपछिको कालमा यिनीहरुका हातबाट नेपाल र नेपालीलाई बेमिसालसँग लुट्न लगाईएको छ। अतः यिनीहरुका आँखा अगाडि ‘हेग’ र ‘अकूत सम्पत्ति’को चोर औंला सोझ्याई दिए सबै काम तमाम हुन्छन्। प्रधानमन्त्रीमा ‘आलोपालो’ र ‘एक व्यक्ति, एक पद’का प्रहसनहरु दल टुटाउन र सरकार गिराउनका लागि दिईएका गृहकार्य हुन्।

एमाले र एमाओवादीबीचको कथित एकता तिनीहरुको संयुक्त शक्तिबाट एक चरणको काम गर्न लगाएर विभाजन गर्नका लागि नै गरिएको थियो। इतिहासमा जुन नियतिबाट कांग्रेस/माओवादी नामका बुख्याँचाहरु गुजारिएका थिए, एमाले त्यही डिजाईनको पुनरावृति मात्र हो। अब पुष्पकमललाई प्रयोग गरेर ओलीलाई विश्राम दिईन्छ। त्यस वापत जेनेभामा देखाईन थालेको चहलपहल र ‘अख्तियार’लाई केही समय ‘पेन्डिङ’मा राखिन्छ। हिजो एमालेका रुपमा देखापरेको ग्याङ कांग्रेस/माओवादी जस्तै बिछृङ्खल हुन्छ।

यो सबै काम निर्वाध रुपमा अघि बढोस् र परिवेश तथा मानिसहरुको ध्यान अन्यत्र विषयान्तर हुन नपाओस् भन्नका लागि प्रमूख प्रतिपक्षि नामको मूर्दालाई आईसियूमा सुताईएको छ। कांग्रेसमा जति ग्याङहरु बनाईएको छ, तिनीहरुलाई फरकफरक शक्ति-केन्द्रहरुले अँठ्याएर न त बैठक नै गर्न दिन्छन् न भूमिकामा उत्रिन दिन्छन्। कांग्रेसलाई सुताउने, एमाले-एमाओवादीभित्रका ग्याङहरुलाई जुधाउने र उपेन्द्र-बाबुराम मार्काका कर्मचारीहरुलाई केन्द्रिकृत गरेर उठाउने रणनीति नै प्रहसनको सार विषयवस्तु हो।

सत्ताधारी दलभित्र चर्किन थालेको ग्याङ संघर्ष अस्वाभाविक, अप्रत्यासित र आकस्मिक केही पनि होईन। राज्य सत्ताको चरित्र, विदेशी डिजाईन र आफ्नो स्वत्व बेचिसकेका दलालहरुको नियति अनुरुप यो एकदमैं स्वाभाविक, प्रत्यासित र योजनाबद्ध छ

उपेन्द्र र बाबुरामका रुपमा बनाउन खोजिएको पिण्ड एउटा सांकेतिक नमूना हो। यसमा अबको ‘ईण्डो-पश्चिमा’ रणनीतिप्रति लम्पट भएर काम गर्न मञ्जुर गर्ने सबै अपराधिहरु मिसाईन्छन्। मुद्दाहरुका आधारमा पुष्पकमल पनि यो पिण्डबाट बाहिर राखिंदैनन्। संविधान जारी भैसकेको परिस्थितिमा तत्कालका लागि त्यहि संविधानलाई गिजोलेर काम गराउनुको विकल्प पनि विदेशीहरुसँग छैन। त्यसैले संविधान र कानूनहरु संसोधन गर्ने, थप्ने र त्यसकै वरिपरि द्वन्द बढाउनेबाहेक कुनै दलालको अर्को भूमिका हुनेछैन।

अहिले सत्ताधारी दलालहरुलाई दलाललीको प्रतिस्पर्धामा उतारिएको छ। एउटा दलाललाई दिल्लीमा बोलाएर कसम खुवाएर बक्न लगाइन्छ- ‘आलोपालो’, अर्को दलाललाई वाशिङ्टनबाट फर्काएर बक्न लगाईन्छ-‘इण्डो-प्यासिफिक’ र केरकार गरिन्छ- प्रतिबद्ध भएर काम गर्ने कि नगर्ने ? काम गरे पुरष्कार, नगरे कि त सडकछाप कि हेग र अख्तियार /यिनीहरुलाई विदेशीहरुले यसैगरी चलाउँदै आएका छन् र आफूलाई हीरा ठान्ने किराहरुको नेतागिरी पनि यसैगरी चल्दै आएको छ।

न देशको सार्वभौमिकताको मुद्दा /न देशको अखण्डताको चिन्ता /न विकासको एजेन्डा /न विदेशिएका नेपालीलाई फर्काउने सुर्ता /न त रोजगारी दिएर देशलाई स्थिरतामा लैजाने कुराको सुर्ता /यो बिचरा दलालहरुको नियति हो। विश्वका शक्ति राष्ट्रहरुको अस्वस्थ स्वार्थ प्रतिस्पर्धामा चारो हाल्दै आएको शक्तिका पक्षमा नेपालको भू-राजनीतिलाई दुरुपयोग गर्ने बाहेक यिनीहरुको दिमागले अर्को कुरा सोच्न पनि सक्दैन। आदेशअनुसार म्वाईं खाने, टोक्ने, जुट्ने, फुट्ने, थुक्ने, चाट्ने प्रहसन गर्नु नै जिन्दगी हो।

भर्खर

0