लाक्पाको इलम : मकै पोलेरै मासिक ९० हजार कमाई « Khabarhub
Logo
१५ जेष्ठ २०७७, बिहीबार

लाक्पाको इलम : मकै पोलेरै मासिक ९० हजार कमाई



काठमाडौं– रामेछाप जिल्ला साविक ठोसे गविस वडा नम्बर ८ घर भएकी ६० वर्षीया लाक्पा शेर्पा विगत २ वर्षदेखि दैनिक गुजाराका लागि मकै पोल्दै आइरहेकी छिन्। त्यसअघि ८ वर्षसम्म ठेलागाडामा ‘आलुपरौठा’ बेचेर गुजारा चलाउँदै आएकी उनले जीवन संघर्षपूर्ण रहेको बताइन्।

वि.सं.२०१५ सालमा रामेछापमा जन्मेकी उनी गाउँमै हुर्किइन्। गाउँमा कृषि पेसालाई सबैले अपनाएका हुन्छन् । त्यसमध्ये उनको परिवारको अवस्था पनि फरक थिएन। बुबाआमाले घाँस, दाउरा र मेलापात गएको देखेर लाक्पा पनि सोच्थिन्, कहिले ठुली हुनु र सहयोग गर्नु। विस्तारै उनी ठुली हुदै गइन्। बुबाआमासँगै खेतीपातीको काममा व्यस्त हुन थालिन् । पढ्ने उमेरमा हसियाँ र कुटो कोदालो समाउन थालेकी उनलाई सामान्य लेखपढ गर्न समेत आउँदैन।

२० वर्षको उमेरमा रामेछापकै स्थानीय लुर्बु शेर्पासँग उनको विवाह भयो। गाउँमा खेतबारीको काम गरेर जेनतेन जीविकोपार्जन चलिरहेकै थियो। तर उनको मनमा अचानक राजधानी आउने रहर पलायो। आफूले पढ्न नपाउँदाको पीडा भएकाले आफ्नो जस्तो पीडा सन्तानले भोग्नु नपरोस् भन्ने सोच्थिन् उनले।

कुरा २० वर्षअघिको हो। श्रीमान् र दुई सन्तान लिएर राजधानी आइन् उनी। परिवारकी आँटिली स्वभावकी थिइन् लाक्पा। परिआएको खण्डमा जे पनि गर्न सक्ने उनको दरिलो आँट थियो।

पहिलो पटक राजधानी आउँदाको क्षण महसुस गर्दै लाक्पाले भनिन्, ‘ठुलो सहर। जताततै मानिसको भीडाम्भीड। सवारीको चाप। चिनेको कोही थिएन।’

गाउँबाट आउँदा धेरथोर पैसा ल्याएकाले तत्काल खानकै लागि खासै समस्या थिएन। तर रातपरेपछि बास बस्नका लागि कहाँ जाने भन्ने कुराले मनमा भयमिश्रित कौतुहलता भने थियो। विगतका दुःखका दिन सम्झँदा उनलाई नरमाइलो भने लागेन। उनी राजधानीमा  केही गर्छु भन्ने अठोट बोकेर आएकी थिइन्।

दुई सन्तानकी आमा भइसकेकी थिइन् लाक्पा। त्यसमाथि परिवारको जिम्मेवारी खेपेकी लाक्पा दुःखमा कसरी पछि हट्नेवाला थिइनन्। बस्नका लागि लाक्पाले चाबहिलको एउटा कोठा लिइन्। भर्खरै काठमाडौं आएकाले जागिर पाउन पनि मुस्किल थियो। ‘लेखपढ गर्न नजान्नेहरूका लागि राजधानीमा राम्रो काम पाउनु फलामको चिउरा चपाउनुसरह नै थियो,’ मानसपटलमा राखिएका स्मृतिका क्षण सम्झँदै उनले भनिन्। श्रीमान्लाई पैसा कमाउन विदेश जान आग्रह गरिन्।

लाक्पाले श्रीमान्लाई केही समयको अन्तरालमा नै कतार पठाइन्। दुई छोरा पढाउन उनी पनि संघर्षको मैदानमा उत्रिइन्। आफूले गरेको अनुरोध सहजै स्वीकारेर श्रीमान्ले पनि आफूलाई सम्मान गरेजस्तो लाग्यो लाक्पालाई। तर श्रीमान् कतार पुगेपनि त्यहाँ गएर पैसा कमाउन नसकेको उनको गुनासो छ।

लाक्पा चाबहिल बस्थिन्। ‘सुरुसुरुमा के काम गर्ने ? कसरी जीविकोपार्जन गर्ने ?’ भन्ने कुराले उनलाई खुलदुली बनाइरहन्थ्यो। बाटोमा हिडिरहँदा अरुले गरेको काम नियाल्ने गर्थिन्। एकदिन साँझको समयमा उनी चाबहिल चोकतिर हिड्दै थिइन्। उनले त्यहाँ आफूजस्ता थुप्रै महिलाले ठेलामा खाजा, चिया, तरकारी, जुत्तालगायतका सामान बेचेको देखिन्।

‘देखासिकी गरी खा’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्न लागि परिन् लाक्पा पनि। अरूको देखेरै केही गर्ने हिम्मत आयो उनमा। एउटा ठेला गाडा किन्ने र रोटी बनाएर बेच्ने सोच बनाइन्। सामान्य हिसाब गर्न पनि नजान्ने उनलाई पैँसाको लेनदेन कसरी गर्ने भन्ने सोचले पिरोल्न थाल्यो। ‘केही हिसाब गर्न आउँदैन थियो। पैसा लिने र फिर्ता गर्ने काम जान्नकै लागि प्रौढ शिक्षा पढ्न थालें,’ केही समय अघिसम्म मुखामुख गरेर कुरा गर्दै गरेकी लाक्पाका नजर भुईंतिर झरे।

उनी बिहान बेलुका छोरासँगै हिसाब सिक्थिन्। दिउँसो प्रौढ शिक्षा पढ्न जान्थिन्। केही महिनापछि उनी सामान्य कुरा लेख्न र पढ्न सक्ने भइन्। अरुले भनेका कुरा छिट्टै बुझ्न र हिसाबमा केही जान्ने भइन्। हिसाबको समस्या नभएपछि उनले चाबहिलको स्तुपामा ठेलागाडा राख्ने र ‘आलुपरौठा’ बनाउँदै बेच्न थालिन्।

मकैबाट दैनिक तीन हजार कमाउने उनलाई अहिले घरखर्च चलाउन र दुई छोरा पढाउन कुनै गाह्रो छैन। श्रीमान् लुर्बु कतारमा बसेको १२ वर्ष भइसक्यो। लुर्बुले कतारमा  मासिक ५२ हजार रुपैयाँ कमाउँछन्।

बिहान ४ बजे उठेर रोटीका लागि आवश्यक तयारी गर्ने कामले उनको दैनिकीको रुप लियो। ५ बजेपछि चाबहिलको स्तुपाबाट गणेशमन्दिर जाने बाटोमा गएर बस्न थालिन्। बिहानदेखि बेलुकासम्म व्यापारमै खटिन्थिन्। ‘छोराले टिफिनमा खाना ल्याइदिन्थ्यो। खाना पनि पकाएर सहयोग गरेको हो,’ उनले छोराको प्रशंसा गर्न कुनै कन्जुस्याईं गरिनन्। विस्तारै लाक्पाको व्यापार फस्टाउन थाल्यो। आम्दानी बढ्दै गएपछि लाक्पालाई काम गर्ने ऊर्जा थपिँदै गयो।

बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म चोकमा आलुपरौठा बेच्न व्यस्त हुने बताउँदै उनले भनिन्, ‘साँझ बिहान नभनी काम गर्थें। दैनिक १५ हजारसम्म कमाइ हुन्थ्यो।’ उनले सादा परौठा, अण्डा परौठा र आलु चप्सलगायतका परिकार बनाएर बेच्ने उनको ठेलामा बन्ने मिठो चटनी प्रशंसक धेरै ग्राहक थिए। नजिकै पशुपति मित्र माध्यमिक विद्यालय भएकाले उनको रोटीको व्यापार विस्तार गर्न गाह्रो परेन। व्यापार बढिरहँदा दुई छोरालाई पढाउन र घरखर्च चलाउन दुख भएन।

तर उनले यो व्यापारमा चुनौती पनि थपिँदै गए। कारण थियो काठमाडौं महानगरपालिका। महानगरभित्रका सडकमा बसेर व्यापार गर्न नपाइने नीति ल्यायो महानगरले। त्यसपछि उनको दैनिकी पनि फेरियो। बिहान ५ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र व्यापारमा बस्न थालिन्।

महानगपालिकाको गाडी गुडिरहँदा पटकपटक लाक्पाको ठेलागाडा पनि लग्यो। ‘गरिखाने भाडो त्यही एउटा हुन्थ्यो, त्यही पनि महानगरले लैजाँदा नरमाइलो लाग्थ्यो। कति समय लगाएर दुईचार पैसाका लागि गरेको दुःख पानीमा मिल्दा मन अमिलो हुन्थ्यो। एक्लै हुँदा कति पटक त रुन पनि मन लाग्थ्यो,’ आँखाका परेलासम्म आइसकेको पानी उनले त्यहाँबाट बाहिर निस्कन दिइनन्। केही समय निशब्द बनेकी उनले शीरमा ओढेको मजेत्रो र आँखाको मेल गराइन्। र अघि बढिन्, ‘एकपटक गाडा फर्काउन जाँदा ३ हजार तिर्नुपर्थ्यो।’

‘पटकपटक गाडा लगिरह्यो। फिर्ता गर्नका लागि जाँदा गाली खाइन्थो साथमा जरिवाना पनि तिर्नुपर्थ्यो,’ उनले भनिन्। लगभग १५ पटकसम्म गाडा महानगरले लगेको र ४५ हजारसम्म जरिवाना तिरेको उनको अनुभव छ ।

८ वर्षसम्म उनले ठेलागाडामै आलुपरौठा बेचिन्। काम गरुन्जेल जीवन चलाउन सहज भएपनि काम छोडेपछि आम्दानीको स्रोत बन्द भयो। काम गरौं महानगरले ठेला लैजान्छ, नगरौं कसरी घर व्यवहार धान्ने, उनलाई फसाद पर्‍यो।

त्यसपछि उनले व्यापारको शैली परिवर्तन गरिन्। पुरानै स्थानमा बसेर मकै पोल्ने र बेच्ने तयारी गरिन्। ‘महानगरपालिकाले केही बेच्न दिँदैन थियो। तर आफूलाई जसरी पैँसा कमाउनु थियो। घरव्यवहार चलाउनुपर्ने थियो। त्यसैले बिहान बेलुका मात्र भएपनि मकै बेच्छु भन्ने सोचले फेरि दोबाटोमा मकै पोल्दै बेच्न थालें।’

सबैलाई स्वदेशमै काम गर्न आग्रह गर्दै लाक्पाले भनिन्, ‘रोजगार खोज्दै विदेश भौतारिनु पर्दैन, काम सानोठुलो हुदैन। जहाँ गएपनि मेहनत आफैंले गर्ने हो। त्यसैले आम्दानीका स्रोत धेरै छन्, खोज्न जान्नुपर्छ। नेपालमै परिश्रम गर्नुस्।’

बाटोमा मकै पोलेर बेच्न थालेको २ वर्ष भयो। ‘यो काम पनि कहाँ सहज थियो र? दिनभरिको धुलो, आगोको रापले उत्तिकै पोल्छ, धुँवाले स्वास्थ्यलाई उस्तै असर गर्छ,’ लाक्पाले  अनुभव साटिन्।

‘बिहानै उठ्छु, गोपीकृष्ण हल जान्छु,  सय घोगा मकै ल्याउछु। बाटामा बसेरै पोल्छु। त्यही बेच्छु,’ उनका आँखा सुके, गला झन् खुल्यो। मकैमा प्रतिगोटा १५ रुपैयाँ नाफा कमाउने गरेको बताउँदै भन्छिन्, ‘१५ रुपैयाँ प्रति घोगा तिरेर ल्याउँछु, ३० रुपैँयामा बेच्छु।’ लाक्पाले मकै पोल्न ५ रुपैयाँ प्रतिकिलोका दरले दाउरा ल्याउछिन्।

मकैबाट दैनिक तीन हजार कमाउने उनलाई अहिले घरखर्च चलाउन र दुई छोरा पढाउन कुनै गाह्रो छैन। श्रीमान् लुर्बु कतारमा बसेको १२ वर्ष भइसक्यो। लुर्बुले कतारमा  मासिक ५२ हजार रुपैयाँ कमाउँछन्। लाक्पाले मकै पोलेर मासिक ९० हजार कमाउँछिन्। लाक्पाका अनुसार उनको मासिक ९० हजार रुपैयाँ कमाइ भएपनि मकै र दाउरा किन्नका लागि ५० हजार खर्च हुन्छ। बाँकी ४० हजारले घर खर्च चलेको छ।

श्रीमान लाई नेपालमै आउन र यहीँ केही काम गर्न पटकपटक लाक्पाले अनुरोध नगरेकी होइनन्। तर उनका श्रीमान् अझै केही समय विदेशमै बस्न रुचाउँछन्। उनी भन्छिन्, ‘विगतका दिनमा नेपालमा केही छैनजस्तो लाग्थ्यो, तर काम गरे यहीँ सबथोक रहेछ।’

सबैलाई स्वदेशमै काम गर्न आग्रह गर्दै लाक्पाले भनिन्, ‘रोजगार खोज्दै विदेश भौतारिनु पर्दैन, काम सानोठुलो हुदैन। जहाँ गएपनि मेहनत आफैंले गर्ने हो। त्यसैले आम्दानीका स्रोत धेरै छन्, खोज्न जान्नुपर्छ। नेपालमै परिश्रम गर्नुस्।’


भर्खर

0