नयाँ वर्षदेखि ‘स्मार्ट पार्किङ’, हट्ला त समस्या ? | Khabarhub Khabarhub

नयाँ वर्षदेखि ‘स्मार्ट पार्किङ’, हट्ला त समस्या ?



काठमाडौं– काठमाडौंका व्यस्त ठाउँमा पार्किङका लागि निश्चित स्थान नतोकिँदा अस्तव्यस्तता बढेको छ । अव्यवस्थित पार्किङले एकातिर सडक जामको समस्या निमत्याएको छ भने अर्कोतिर दुर्घटनाको जोखिम समेत बढाएको छ । अव्यवस्थित पार्किङले सडकमा हिड्ने पैदल यात्रुलाई मात्र होइन स्वयं सवारी धनीलाई समेत उस्तै समस्या पार्ने गरेको छ ।

काठमाडौंका बागबजार, सुन्धारा, न्यूरोड लगायतका व्यस्त सडकमा अव्यवस्थित रुपमा सवारी साधन पार्किङ गरिएका हुन्छन् । कतै मोटरसाईकल त कतै ट्याक्सी र कार । पर्याप्त पार्किङको सुविधा नहुँदा यो अवस्था सिर्जना भएको हो ।

कहीँ कतै नो पार्किङ लेखिएकै स्थानमा पनि पार्किङ गरिएको पाइन्छ । यसरी पार्किङ गरिएका ठाउँबाट कहिलेकाँही ट्राफिक प्रहरीले सवारी साधनलाई उठाएर लैजाने तथा ‘ह्वील लक’ गर्ने गरेको पाइन्छ ।

ट्राफिक महाशाखाले चालु आर्थिक वर्षको १० महिनामा यसरी पार्किङ गरिएक २० हजार सवारी साधनलाई कारवाही गरेको जानकारी दिएको छ ।

रिपोर्टिङका क्रममा पार्किङको समस्या तथा अस्तव्यस्तता सबैभन्दा बढी काठमाडौंको न्यूरोड क्षेत्रमा देखियो । न्यू–रोड गेट प्रवेश गरेपछि अलि अगाडि खिचापोखरी जाने सडक आउँछ । त्यहाँ लेखिएको थियो– दुई पांग्रे सवारी ‘एकलाई मात्र पार्किङ’ । जहाँ धेरै सवारी साधनहरु अव्यस्थित पार्किङ गरिएका थिए ।

‘कतिपय सवारीधनीहरु खिचापोखरीमा पार्किङ गरेर चालक तथा सवारी धनी दिनभरी घुम्न जान्छन् । कुन बेला आएर सवारी लिन्छन् अत्तोपत्तो हुँदैन, खाली ठाउँ भेटाउनका लागि कुर्नुपर्ने बाध्यता छ’ पार्किङकै लागि लाइनमा बसेका एक युवकले भने । उनले असान, ईन्द्रचोक, भोटाहिटी, मखनगल्ली, रत्नपार्क क्षेत्रमा व्यस्त रहने अधिकांशहरुले यस क्षेत्रमा पार्किङ गर्ने गरेको बताए ।

महानगरको स्मार्ट पार्किङ

सवारी साधन पार्किङलाई व्यवस्थित बनाउन अब काठमाडौं महानगरले स्मार्ट पार्किङको व्यवस्था पनि गर्ने भएको छ । आउँदो नयाँ वर्ष अर्थात वैशाखबाट नै काठमाडौंका निश्चित क्षेत्रमा स्मार्ट पार्किङको व्यवस्था गर्न लागिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

उनले काठमाडौंको न्यू–रोड आसपासका ५ वटा ठाउँमा स्मार्ट पार्किङ् सेवा शुरु हुने  बताए । काठमाडौं महानगरले ‘ब्हिल्स ट्रुली योर्स प्रा.लि.’ र ‘एड गुरु’सँगको सहकार्यमा यो सेवा शुरु गर्न लागेको उनले जानकारी दिए ।

सवारी साधनको अत्याधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र सहरी सुविधाको उपलब्धतामा समस्या भएपछि महानगरले स्मार्ट पार्किङ योजना अघि सारेको हो । महानगरले विगतमा पनि स्मार्ट पार्किङको योजना अघि नसारेका भने होइन यद्यपि कामले तीव्रता लिन भने सकेको थिएन । तर अब भने वैशाखको सुरुवात सँगै स्मार्ट पार्किङको सेवा लिन पाउने कुरामा महानगर विश्वस्त छ ।

काठमाडौं सहरको चरित्र, सरल उपयुक्त र दीगो तथा प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने पार्किङ व्यवस्थापनमा महानगरको प्राथमिकता रहेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए । ‘पार्किङ्लाई सहज बनाउन सकियो भने मात्र पनि सहरको यातायात प्रणालीमा ठूलो सुधार हुनेछ’ उनले भने ।

कुन–कुन स्थाननमा स्मार्ट पार्किङ ?

दरबारमार्ग, विशालबजार, इन्द्रचोक, पाको, प्युखा र खिचापोखरीमा नयाँ वर्षको सुरुवातसँगै स्मार्ट पार्किङ सञ्चालनमा आउने काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए । ‘शुरुवातमा यी स्थानमा ल्याइएपनि विस्तारै अन्य स्थानमा पनि पार्किङको व्यवस्था हुनेछ’ उनले भने ।

यी स्मार्ट पार्किङ राखिने स्थानहरुमा एक पटकमा करिव ८ सय वटा मोटरसाइकल/स्कुटर र ४० वटा गाडी पार्किङ गर्न सकिने उनले बताए । प्रालिका सूचना प्रविधि इन्जिनियर हरिश अग्रवाल भन्छन् ‘त्यी स्थानमा स्मार्ट अटोमेटेड पार्किङ् सिस्टम शुरु हुनेछ ।’

स्मार्ट पार्किङ कस्तो हुनेछ ?

नेपालमै पहिलो पटक सञ्चालनमा ल्याउन लागिएको स्मार्ट पार्किङ अन्य पार्किङको तुलनामा निकै फरक हुन्छन् । त्यी क्षेत्रमा जानुअघि सवारी चालकले मोवाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ् गर्न सक्ने समेत सुविधा पाउनेछन् ।

सेन्सरमा आधारित यस प्रणालीमा सवारी प्रवेश गरेको र निस्किएको रेकर्ड हुन्छ । रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोडबाट पनि हेर्न सकिन्छ । यसका एप्लिकेसनहरु एन्ड्रोइड र आइओएस दुवैमा डाउनलोड गर्न सकिन्छ ।

ठाउँ रिजर्भ नगरी जानेहरुले अगाडि राखिएको स्क्रिन हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्नेछन् । त्यस ठाउँको व्यवस्थापनका लागि ‘गोप्रो’ क्यामरा सहितका पार्किङ सहयोगी राखिनेछन् । क्यामरामा त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित रेकर्ड हुनेछन् ।

शुल्क कति लाग्छ ?

सो क्षेत्रमा पार्किङ गर्दा दुई पाङग्रे सवारीका लागि प्रति घण्टा करबाहेक २० रुपैयाँ लाग्नेछ । त्यस्तै चार पाङग्रेका लागि प्रति घण्टा ५० रुपैयाँ र ६ पाङग्रे वा सोभन्दा माथिका लागि प्रति घण्टा २ सय रुपैयाँ शुल्क लाग्नेछ ।

काठमाडौं महानगरले क्लिन द सिटी अभियान अन्तर्गत काठमाडौंलाई विश्वकै आकर्षक पर्यटकीय सहर बनाउने, नो माक्स सिटी बनाउने, स्मार्ट प्रतीक्षालय लगायतका विभिन्न स्मार्ट योजना ल्याएपनि कामले तीव्रता लिन सकेको छैन । यो अवस्थामा महानगरले ल्याएको स्मार्ट पार्किङको योजनाले कत्तिको मूर्तरुप पाउने हाे त्याे भने समयले देखाउने छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ५ : १९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन