सरकारी डाक्टरको आन्दोलन पाँचौ दिनमा, आकस्मिक सेवाको नाममा बिरामीमाथि ठगी ! | Khabarhub Khabarhub

सरकारी डाक्टरको आन्दोलन पाँचौ दिनमा, आकस्मिक सेवाको नाममा बिरामीमाथि ठगी !


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– महाराजगञ्जस्थित कान्ति बाल अस्पताल परिसरमा झट्ट हेर्दा सरकारी चिकित्सकको बन्दको प्रभाव खासै देखिँदैन ।

शुक्रबार अघि जस्तै अस्पतालमा बिरामी बालबालिका लिएर आउने अभिभावकको भिड देखिन्छ । अस्पतालको सबै विभागमा चिकित्सकहरु बिरामी जाँच्दै थिए । टिकट काउन्टरमा पनि टिकट लिनेको लाइन थियो ।

सरकारी चिकित्सकको बन्दले कान्ति बाल अस्पतालमा सेवाप्रवाहमा कुनै समस्या छैन । तर, अस्पतालले भने ओपीडी सेवा बन्द रहेको जनाएको छ ।

उपचारबाट वञ्चित नभए पनि चिकित्सकको हड्तालको निहुँमा सरकारी अस्पतालबाटै बिरामीहरु ठगीमा भने परिहेका छन् । कान्ति बाल अस्पतालले ओपीडी सेवा बन्द रहेको भन्दै आकस्मिक सेवाको टिकट दिएर बिरामीलाई सेवा दिइरहेको छ । चिकित्सकको बन्दको कारण बिरामीले ओपीडीकै सेवा पाउन आकस्मिक सेवाको डबल दस्तुर तिर्न बाध्य छन् ।

अस्पतालको टिकट काउन्टर अगाडी भेटिएकी सरु मगर ४ महिनाकी छोरी काखमा लिएर बस्दै थिइन् । बिरामी छोरी लिएर कान्ति अस्पताल आएकी मगरले उपचार सेवा ओपीडीकै भएपनि टिकट भने आकस्मिकको काट्न परेको बताइन् ।

‘पहिला त ५० रुपैँयाको टिकट काटेर जचाँएको थिए, आज त सय रुपैयाँ लियो,’ मगरले भनिन्, ‘डाक्टरको हड्ताल भएर इमर्जेन्सीको टिकट काट्नुपर्‍यो । त्यहि टिकट नि बल्लतल्ल पाइयो ।’

४ वर्षीया छोरा क्यारन खड्का बिरामी भएपछि दोलखाबाट आएका कमल खड्काले पनि आकस्मिक सेवाको टिकट काटे । उपचार सेवा ओपीडीमै हुने भए पनि टिकटमा दोब्बर दस्तुर तिर्नु परेको खड्काले बताए ।

‘ओपीडीको टिकट नदिने रहेछ, सय रुपैयाँ लिएर आकस्मिक सेवाको टिकट काट्न लगाए,’ खड्काले भने, ‘आकस्मिक सेवाको टिकट काटे पनि पालो कुरेर लाइन बसेर, ओपीडीमै जाँच्ने रहेछन्, हड्ताल भन्दै अस्पतालाई दोब्बर पैसा उठाउने बाटो बनेको छ ।’

छोराको उपचार ठूलो कुरा भएकाले सय रुपैयाँकै टिकट लिएर उपचारका लागि लाइनमा बसेको उनले सुनाए ।

‘सय रुपैयाँभन्दा पनि छोराको स्वास्थ्य ठूलो कुरा हो । त्यसैले मैले जुन पाइन्छ त्यहि टिकट लिए,’ खड्काले भने, ‘तर गाउँगाउँबाट कतिले ऋण खोजेर उपचार गर्न आएका हुन्छन्, उनीहरुलाई त यहि ५० रुपैयाँले पनि ठूलो समस्यामा पार्छ । सरकारले यस्तो कुरामा ध्यान दिनुपर्ने हो ।’

मगर र खड्का त प्रतिनिधि पात्र मात्रै हुन् । कान्ति बाल अस्पतालमा बिरामी भएका छोराछोरी लिएर आउनेहरु सबैले यो समस्या भोग्नु परिरहेको छ ।

सरकारी चिकित्सक संघको आह्वानमा सरकारी अस्पतालको ओपीडी सेवा बन्द गराएको भन्दै कान्ति बाल अस्पतालले उपचारका लागि आउने बिरामीलाई आकस्मिक सेवाको टिकट दिँदै ओपीडी सेवा नै सञ्चालन गरेको छ । मंगलबार बिहान ११ बजेसम्ममा मात्रै ४ सय बिरामीले आकस्मिक सेवाकै टिकट लिएर ओपीडी सेवामा उपचार गराइरहेका छन् ।  अस्पताल प्रशासनले भने अस्पतालमा ओपीडी सेवा बन्द रहेको, तर उपचारका लागी आएका बिरामी नर्फकाइएको बताएको छ ।

‘सरकारले गरेको चिकित्सकको समायोजन अन्यायपूर्ण छ, त्यसैले गोदानको आह्वानअनुसार ओपीडी सेवा बन्द छ,’ कान्ती अस्पतालका एक चिकित्सकले भने, ‘तर बिरामी भएर अस्पताल आइपुगेका बालबालिकालाई हामी उपचार नगराइ फर्काउन सक्दैनौं, हाम्रो नैतिकताले दिँदैन, त्यसैले सबैलाई आकस्मिक सेवाको टिकट काट्न लगाएर उपचार गराएरै पठाएका छौं ।’

सरकारी चिकित्सकले समायोजनमा असन्तुष्ट जनाउँदै सरकारी अस्पताका आकस्मिक बाहेका सेवा बन्द गराएको आज ( मंगलबार) पाँचाै दिन भइसकेको छ । चिकित्सकहरुले काठमाडौंको वीर, प्रसूतिगृह, कान्ति बाल अस्पताल र काठमाडौं बाहिरका सम्पूर्ण सरकारी अस्पतालमा बहिरंग (ओपीडी) सेवा संचालन गर्न दिएका छैनन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चिकित्सकहरुको समायोजनको सूची सार्वजनिक गरेपछि त्यसमा असन्तुष्ट जनाउँदै शुक्रबारदेखि सरकारी चिकित्सकले देशभरका सरकारी अस्पतालको ओपीडी सेवा बन्द गराएका छन् ।

गत बिहीबार मात्रै सरकारले अस्पताल क्षेत्रमा बन्द गर्न नपाईने निर्णय सुनाए पनि चिकित्सकहरु सरकारलाई नै चुनौति दिँदै अस्पताल बन्द गराइरहेका छन् ।  सरकारले जस्तो सुकै निर्णय सुनाए पनि आफूहरुका माग पुरा नभएसम्म आन्दोलनबाट पछि नहट्ने अडानमा सरकारी चिकित्सक छन् ।

यता सरकारले भने चिकित्सकको माग पुरा गर्न नसक्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी चिकित्सकलाई आन्दोलनको कार्यक्रम फिर्ता गर्न अपिल समेत गरेको छ ।

स्वास्थ्य मन्त्रालयले आज (मंगलबार) सम्ममा आन्दोलनका कार्यक्रम फिर्ता नलिए कानूनी कारबाही गर्ने चेतावनी समेत दिएको छ । तर, चिकित्सकको आन्दोलनका कारण हजारौं बिरामीले समयमै उपचार सेवा पाउने अधिकारबाट बञ्चित भएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  २ : ५० बजे

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति