दशरथ र‌ंगशाला अयोग्य बन्नुमा को दोषी ? | Khabarhub Khabarhub

दशरथ र‌ंगशाला अयोग्य बन्नुमा को दोषी ?



काठमाडौं – फेरि एक पटक नेपाली फुटबल समर्थकले दशरथ रंगशालामा बसेर फुटबल हेर्ने सपना अधुरो भएको छ । पछिल्लो ५ बर्ष यता दशरथ रंगशालामा कुनै पनि ठूलो अन्तर्राष्ट्रिय फुटबल नेपालमा हुन सकेको छैन ।

फिफा विश्वकप छनोट २०२२ तथा एएफसीएसियन कप २०२३ को दोस्रो चरणको छनोट अन्तर्गत नेपाल र कुवेतबीचको मंसिर ३ गते काठमाडौंमा हुने तय भएको थियो । तर, पुनः र्निमाणका क्रममा रहेको दशरथ रंगशाला खेल्न योग्य नबन्दा यो खेल अखिल नेपाल फुटबल संघ (एन्फा) ले तटस्थ भुमि खोज्नु पर्ने भएको छ ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले सोमबार दशरथ रंगशालाको अनुगमन गरेको थियो । रंगशालाको अनुगमनका लागि काठमाडौं आएका देङ्ग सिओ लोङ्गद्वारा तयार पारिएको प्रतिवेदनका आधारमा एएफसीको प्रतियोगिता समितिले दशरथ रंगशाला अन्तर्राष्ट्रिय खेलका लागि योग्य भइनसकेको पत्र बिहीबार मात्रै काठमाडौं पठाएको थियो ।

निर्माण कार्य समयमा नसक्नु नेपाल सरकार र एन्फाको कमजोरी त हुँदै हो तर, निर्माण कार्य अन्तिम चरणमा पुगेको र खेल खेलाउन योग्य रंगशाला बनिसक्दा काठमाडौंले आयोजना गर्न नपाउनुमा एन्फामाथि कुवेतले राजनीति गरेको एन्फाका पदाधिकारीहरु आरोप लगाउँछन् । अहिले एन्फा कुवेत फुटबल संघको रणनीतिक दबाबको सिकार भएको फुटबलका जानकारहरु बताउँछन् ।

‘एएफसीको भन्दा एक हप्ता अघि कुवेत फुटबल संघको प्रतिनिधि काठमाडौं आएको थियो । यो टोलीले मैदानको अवलोकन गर्दै त्यहाँ भइरहेको कामको अनुगमन ग¥यो र सबै तिरका तस्वीर खिचेर लियो,’ नाम उल्लेख नगर्न भन्दै उनले भने, ‘पछि यताबाट गइसकेपछि एएफसीमा लबिङ गरेछन् । जसले गर्दा एएफसीलाई पनि दशरथ रंगशाला खेल्न योग्य नरहेको भन्ने निर्णय गर्न बल पुग्यो ।’

अघिल्लो चरणका चार खेल खेलिसकेको नेपाली फुटबल टोलीको सबैभन्दा कमजोर प्रदर्शन पनि कुवेतसँगै भएको थियो । कुवेतसँग नेपाल ७–० को फराकिलो गोल अन्तरले पराजित भएको थियो ।

त्यो खेलमा नेपालको पराजय अप्रत्यासित भएको भन्दै एन्फाले कुवेतको मौसम नै मुख्य कारण हुनसक्ने अनुमान गरेको थियो ।

केही समय अगाडि एन्फा अध्यक्षले खबरहबसँग भनेका थिए, ‘कुवेतसँगको खेलमा मौसम, मैदान जस्ता कुराले असहज बनाएको भन्ने कुरा छ ।’

अहिले काठमाडौंको मौसम चिसो छ । तर, अरेबियन देशहरुको मौसम तातो छ । नेपाली खेलाडीका लागि अरेबियन देशको तापक्रमले खेलमा असर गर्ने दाबी एन्फा स्रोतको छ ।

त्यसैले एन्फाले कुवेतसँगको खेलमा लागि काठमाडौंसँग मिल्दो जुल्दो तापक्रम रहेको भुटानको थिम्पुमा प्रतियोगिता सञ्चालन गर्न प्रस्ताव गरेको छ ।

नेपालले कुवेतको होम ग्राउण्डमा खेल्दा मौसमकै कारण अप्रत्यासित हार बेहोरेको भन्दै एन्फाका एक पदाधिकारीले भने, अहिले नेपालजस्ता चिसो मौसम भएका देशमा खेल्दा समस्या हुने डरले कुवेतले नेपाली मैदान तथा नेपालले प्रस्ताव गरेको भुटानको मैदान पनि अस्वीकार गर्दै आएको छ ।

कुवेतले यो खेल अरेबियन मुलुकमा होस भन्ने चाहेको पनि एन्फाका पदाधिकारीहरु बताउँछन् ।

यसमा पनि कुवेतले रणनीति कै रुपमै भिसा, लामो यात्रा लगायतका कारण देखाउँदै भुटानमा खेल्न अनिच्छा देखाएको छ । कुवेतले आफ्नो धारणा बिहीबार नै एन्फालाई पठाएको छ । जहाँ विभिन्न समस्याका कारण भुटानमा आफूहरु खेल्न नसक्ने उल्लेख गरिएको छ ।

एन्फाले दशरथ रंगशालामा खेल नहुने भएपछि भुटानमा खेल सञ्चालन गर्न प्रस्ताव गरेको थियो ।

भुटान दुवै मुलुकका लागि उपयुक्त हुने भन्दै एन्फाले आफूले प्रस्ताव गरेकै ठाउँमा खेल सञ्चालन गर्न आवश्यक छलफल गरिने एन्फाको दाबी छ ।

शुक्रबारै भुटान फुटबल संघलाई पत्र पठाउँदै कुवेतको भिसा समस्या समाधानका लागि सहयोग गर्नै आग्रह गर्ने एन्फाका प्रवक्ता किरण राईले बताए ।

‘यो खेल हामीले आयोजना गर्ने हो । उनीहरुले आउदैनौं भन्न पाउँदैनन् । तर, उनीहरुले भनेको भिसा समस्याका लागि हामीले भुटानलाई पत्र पठाइसकेका छौं । त्यो समस्या सहज हुन्छ,’ राईले भने ।

कुवेतले भुटानमा नखेल्न अडान अहिलेसम्म लिइरहेको छ । तर, एन्फा पनि अहिलेसम्म आफ्नो अडानमा कायमै छ । शुक्रबार साँझसम्ममा कुवेतले राखेको भिसालगायतको समस्या समाधान गर्ने र आफ्नो धारणा सार्वजनिक गर्ने एन्फा प्रवक्ता राईले बताए ।

दुवै देशले आ–आफ्नो अडान लिए अन्तिममा एएफसीले नै आफ्नो पहलमा तटस्थ भूमि खोज्नेछ । जुन भूमिमा नेपाल र कुवेतले खेल्नु पर्नेछ ।

‘हामीले खेलै नखेल्ने भन्ने हुँदैन । दुवैले आ–आफ्नो अडान लिए अन्तिममा एएफसीले निर्णय गर्छ उक्त निर्णय मान्नै पर्छ,’ राईले भने, ‘अहिले हामी आयोजक भएकाले हामीले प्रस्ताव गरेको मैदानमा उनीहरुले खेल्नु पर्छ भन्ने मात्रै हो ।’

को दोषी ?

एन्फाले कुवेतको लविङका कारण रंगशालामा यो खेल हुन नसकेको दाबी गरेपनि एन्फाकै पदाधिकारीले रंगशाला निर्माणमा भएको ढिलाईले समस्या सिर्जना गरेको स्वीकार गरेका छन् ।

एन्फाका प्रवक्ता राईले समयमै निर्माण सम्पन्न गरेको भए पूर्वाधारलाई कारण देखाएर मैदान अयोग्य भन्ने अवस्था नआउने बताउँछन् ।

प्रवक्ता राईले भने, ‘आर्थिक, प्राविधिक तथा अन्य धेरै कारणले रंगशालाको पुनर्निर्माणको काममा ढिलाई भयो । यसमा सरकारदेखि निर्माण कम्पनी सबैले समयलाई ख्याल नगर्दा उत्पन्न भएको समस्या अप्रत्यासित रुपमा अघि बढ्यो ।’

उनले एकअर्कालाई दोष लगाएर खेललाई टाढा सार्नेभन्दा पनि आपसी समन्वय गरेर पहिले नेपालले अरेवियन मुलुकमा प्रतिस्पर्धा गरेकाले कुवेतले नेपालको हावापानी मिल्दो देशमा खेल्न स्वीकार गर्नुपर्ने दाबी गरे ।

प्रवक्ता राईले कुवेतका खेलाडीलाई भुटान जाँदा पर्ने समस्या समाधानका लागि आफूहरु लाग्ने बताए ।

त्यसो त, लामो समयपछि रगंशालामै पुगेर फुटबल हेर्न पाउने उत्साह बोकेका नेपाली फुटबल प्रेमीलाई भने यो प्रक्रियाले निराश बनाएको छ ।

मैदान समयमै नबन्दा दुःखी नेपाली फुटबल प्रेमी अन्तर्राष्ट्रिय स्तरमा अयोग्य भन्ने सुन्दा झन धेरै चिन्तित बनेका छन् ।

एएफसीको यो निर्णयले एन्फा पनि घाटा बेहोर्नु परेको छ । एन्फाले पनि झण्डै करोडको क्षेती व्यहोर्नु परेको बताइन्छ । एन्फाले एक करोड बराबरको टिकट बेच्ने लक्ष्य राखेको थियो । तर, खेल नै रंगशालामा नहुने भएपछि घाटा व्यहोर्नु परेको हो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १० : ०२ बजे

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार