हरेक वर्षको दशैँमा किन बढ्छ महँगी ? | Khabarhub Khabarhub

हरेक वर्षको दशैँमा किन बढ्छ महँगी ?



काठमाडौं– हरेक वर्षको दशैँमा अत्यासलाग्दो महँगी बढ्ने गरेको छ । तरकारीदेखि मासुजन्य वस्तुको मात्रै होइन, अन्य खाद्यान्नको समेत चाडपर्वका बेला महँगी बढ्ने गरेको छ ।

यसपालीको दशैँमा समेत त्यस्तै महँगी बढेको छ । हवाई टिकटदेखि बसको टिकटको अभाव हुनेमात्रै होइन, मुल्यवृद्धि समेत भएको छ । जसका कारण दशैँ मनाउन गाउँ फर्कनेदेखि शहरमा समेत दशैँ मनाउनेले महँगीको मार खेप्नुपरिरहेको छ ।

चाडपर्वमा किन बढ्छ महँगी ?

हरेक वर्ष चाडपर्वमा महँगी बढिरहेका बेला नेपाल राष्ट्र बैंकले भने महँगी बढ्ने विभिन्न कारणहरु रहेको बताएको छ ।

मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशकसमेत रहेका राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला भन्छन्,‘महँगी बढ्ने दुईवटा कारण छन्, पहिलो हो- सप्लाई साइडमा आएको अवरोध ।

राजमार्गमा हुने सवारी जामका कारण दैनिक उपभोग्य सामग्री अभाव समेत यसको कारणका रुपमा रहेको छ । तरकारीहरु बाटोमा सड्यो भने त्यसले मुल्यवृद्धि गर्ने गर्छ, त्यस्तै हाम्रो अर्थतन्त्र आयातमुखी रहेको छ, जसका कारण भारत लगायतका तेस्रो मुलुकमा मुल्य बढ्यो भने त्यो बसाई सरेर नेपाल आउँछ अर्थात् त्यसको असर समेत नेपाली बजारमा प्रत्यक्ष पर्ने गरेको देखिएको छ ।’

महँगी बढ्नुको अर्को कारण भनेको बजारमा चाडपर्वका बेला हुने नगद प्रवाह समेत हो । राष्ट्र बैंकका प्रवक्ता भन्छन्,‘दशैँका बेला डिमाण्ड साइडबाट आएको महँगी हो, जुन अल्पकालीन हुन्छ । जस्तो भनौँ न यतिखेर चाँहि नोटिङ सर्कुलेसन समेत ५२ अर्बले बढ्छ, ५२ अर्ब एकैपटक सर्वसाधारणको हातमा पर्ने र त्यो पैसा बजारमा खर्च हुने भएका कारण वस्तु र सेवाको मुल्यमा दबाब पर्छ, तर यो अल्पकालीन हुन्छ । यसलाई स्वभाविक रुपमा समेत लिनुपर्छ ।’

नेपाली अर्थतन्त्रको धेरै ठूलो हिस्सा आयातको समेत रहेका कारण त्यसको समेत महँगी बढ्नुमा प्रभाव रहेको केन्द्रीय बैंकको भनाइ छ । केन्द्रीय बैंकका प्रवक्ता निरौला भन्छन्,‘हाम्रो देश आयातमुखी अर्थतन्त्र जबसम्म रहन्छ त्यो बेलासम्म महँगी बढ्ने सम्भावना यस्तै हो, त्यसका लागि नेपालमा उत्पादन हुने वस्तुको मात्रा बढाउनुपर्छ । हाम्रा वस्तु र सेवा उत्पादनलाई फराकिलो, दिगो बनाउनुपर्यो । त्यस्तो नहुँदासम्म यो समस्या जहिलेपनि आउँछ ।’

अनुगमन नहुँदा महँगी ?

राष्ट्र बैंकले महँगी बढ्नुको विभिन्न कारणहरु रहेको देखाए पनि महँगी सबैभन्दा धेरै बढ्नुमा कालोबजारी रहेको देखिन्छ । कालोबजारीका कारण महँगी बढेको उपभोक्ता अधिकारकर्मीहरुको मत छ । एकजना उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना भन्छन्,‘ आम नागरिकलाई विधि र कानूनका आधारमा सरकार चल्छ भन्ने सरकारले बनाउनसक्नुपर्यो, आजका दिनमा भन्नुहुन्छ भने उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा उल्लघंन भएको छ ।

मुल्यसूची नराख्ने लगायतका ऐनविपरितको काम भइरहेको छ । सरकारी संयन्त्रले प्रभावकारी अनुगमन गर्ने हो भने समस्याको समाधान हुनसक्छ ।’

सरकारी निकाय भन्छ अनुगमन जारी छ

अधिकारकर्मीहरुले बजार अनुगमन नभएको बताए पनि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग भने त्यस्तो आरोप स्वीकार गर्न तयार देखिँदैन ।

विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार बजार अनुगमनको काम हरेक समयमा भइरहेको छ । चाडपर्व लक्षित अनुगमनलाई तीव्रता दिइरहेको उनको भनाइ छ ।

उनी भन्छन्,‘जनशक्तिको कमीले आम सर्वसाधारणले अपेक्षा गरेअनुसार अनुगमन हुन नसकेको हो । धेरैजसो व्यापारीले ३ सयदेखि ८ सय प्रतिशतसम्म मुल्य बढाएको पाएका छौँ, उनीहरुलाई कारबाहीको प्रक्रिया समेत शुरु भएको छ । कालोबजारी नियन्त्रण गर्न हामी प्रतिवद्ध छौं ।’

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  १ : ३० बजे

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न