शिक्षामा आमूल परिवर्तनको खाँचो रहेको उपप्रधानमन्त्री पोखरेलको भनाइ | Khabarhub Khabarhub

शिक्षामा आमूल परिवर्तनको खाँचो रहेको उपप्रधानमन्त्री पोखरेलको भनाइ


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको जनशक्तिलाई विश्वप्रतिष्पर्धी बनाउन शिक्षामा आमूल परिवर्तनको खाँचो रहेको औँल्याएका छन् । ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न पनि शिक्षाको रुपान्तरण जरुरी रहेको उल्लेख गर्दै उनले उत्पादनमूलक, प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकता भएको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै रक्षामन्त्रीसमेत रहनुभएका पोखरेलले आजको सन्दर्भमा सामान्य शिक्षा जीवनोपयोगी नहुने जिकिर गरे । “सरकारले शिक्षालाई राष्ट्रिय प्राथमिकतामा राखेको छ, अब प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्छ, उत्पादन, श्रम, रोजगारी र स्वाभिमानसँग गाँसिएको कुरा हो”, मन्त्री पोखरेलले भने ।

आगामी दिनमा जनशक्तिलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्नसक्ने अठोटका साथ राज्यले निर्माण भएको शिक्षाको जगमा टेकेर सरकार अगाडि बढेको उनले बताए । ‘हामी सबैको प्रण, शिक्षा प्रणालीको सबलीकरण’ भन्ने नाराका साथ दिवस मनाइएको थियो । उनले शिक्षामा सबैको समान पहुँच सुनिश्चित गरी समतामूलक समाज निर्माण गर्ने सरकारको मूल लक्ष्य रहेको भन्दै प्रणाली परिवर्तन गरेपनि जनताको चाहनाअनुसार सेवा प्रदान गर्न नसक्दा प्रश्न उब्जिएको उल्लेख गरे ।

सन् २०२५ सम्ममा विकसित राष्ट्र बनाउने १५औँ आवधिक योजना कार्यान्वयनको चरणमा रहेको र सन् २०३० सम्ममा लैङ्गिक समानता हासिल गर्ने गरी गुणस्तरीय शिक्षा सुनिश्चितता गर्ने योजना कार्यान्वयनको थालनी भएको उनले बताए । उक्त समारोहलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएको जिकिर गर्दै सरकार अझै रुपान्तरणको अभियानमा लागेको बताए ।

उनले शिक्षाको रुपान्तरणका लागि शिक्षकहरुले अगुवाइ गर्नुपर्नेमा जोडदिँदै राष्ट्रिय शिक्षा नीति पारित हुने तयारीमा रहेको र पाठ्यक्रम परिमार्जन गर्न लागेको समेत जानकारी गराए ।

उत्कृष्ट विद्यालय पुरस्कृत

दिवसका अवसरमा आयोजित उक्त समारोहमा उत्कृष्ट हुने विभिन्न विद्यालयलाई पुरस्कार प्रदान गरिएको छ । यसपटक सामुदायिक विद्यालयतर्फ माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (१२ कक्षा) मा राष्ट्रियस्तरमा अमरसिंह माध्यमिक विद्यालय पोखरा प्रथम, सुकुना माध्यमिक विद्यालय मोरङ दोस्रो र भवानी विद्यापिठ माध्यमिक विद्यालय पर्वत तृतीय हुन सफल भएका छन् ।

यस्तै संस्थागत विद्यालयतर्फ एसओएस हर्मन माइनर माध्यमिक विद्यालय कास्की प्रथम, नेपाल प्रहरी स्कुल काभ्रे दोस्रो र सेन्टजेभियर्स कलेज काठमाडौँ तृतीय हुन सफल भएको छ । उत्कृष्ट भएका ती विद्यालयलाई आजै क्रमश रु तीन लाख, दुई लाख र एकलाख पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा सामुदायिक विद्यालयतर्फ मेघा माध्यमिक विद्यालय झक्तपुर प्रथम, रेसुङ्गा माध्यमिक विद्यालय गुल्मी दोस्रो र तरुण माध्यमिक विद्यालय काठमाडौँ तेस्रो हुन सफल भएको छ । संस्थागत विद्यालयतर्फ रिलायन्स इन्टरनेशनल एकेडेमी काठमाडौँ प्रथम, नेपाल पुलिस क्लब काभ्रे दोस्रो र भ्याली भ्यू इङ्लिस स्कुल काठमाडौँ तेस्रो भएका छन् । उत्कृष्ट भएका ती विद्यालयले पनि क्रमश रु तीन लाख, रु दुई लाख र रु एक लाख पुरस्कार प्राप्त गरेका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट छनोट भएका आङ्गिक शिक्षालयमध्ये बालाजु स्कुल अफ इञ्जिनीयरिङ एण्ड टेक्नोलोजी, साझेदारीका रुपमा सञ्चालित शिक्षालय तथा संस्थामध्येबाट तानसेन स्कुल अफ हेल्थ साइन्स पाल्पा र सामुदायिक विद्यालय जनज्योति माध्यमिक विद्यालय सिन्धुली उत्कृष्ट भई रु एक–एक लाख पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै विश्वविद्यालय अनुदान आयोगबाट छनोट भई आङ्गिकतर्फ पुल्चोक क्याम्पस ललितपुर, सामुदायिकतर्फ जेएस मुरारका बहुमुखी क्याम्पस सिराहा र निजीतर्फ काठमाडौँ बर्नहार्ट कलेज बाफल उत्कृष्ट भई नगद रु दुई लाख ५० हजारका दरले पुरस्कार प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ९ : ५८ बजे

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

काठमाडौं– दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा