नेपालको कूटनीतिक अराजकता ! | Khabarhub Khabarhub

नेपालको कूटनीतिक अराजकता !


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालको एकमात्र अन्तर्राष्ट्रिय एयरपोर्ट त्रिभुवन विमानस्थलबाट आषाढ ७ गते पेन्पा छिरिङ्ग नामक व्यक्तिलाई डिपोर्ट गरियो । अमेरिकाको न्युयोर्कबाट दिल्ली हुँदै काठमाडौं आई पुगेका अमेरिकी पासपोर्ट धारी ५३ वर्षीय पेन्पालाई आफ्ना मित्रहरु र आफन्तसँग भेट्न पाउँ भन्ने उनको आग्रहलाई बेवास्ता गर्दै विमानस्थलका इमिग्रेशन अधिकारीहरुले लामो सोधपुछपछि दोहा हुँदै फिर्ता पठाए ।

प्रत्यक्षदर्शीहरुका अनुसार निज पेन्पासँग अमर्यादित व्यवहारपनि गरिएको थियो । एयरपोर्टका अधिकारीहरुको भनाइ अनुसार चिनियाँ दूतावासको आग्रहमा फिर्ता पठाउने निर्णय गरिएको हो ।

समाचारहरुका अनुसार चिनियाँ दूतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई एक पत्र मार्फत पेन्पा छिरिङ्ग नामक व्यक्तिको नेपाल प्रवेशलाई निषेध गर्न आग्रह गरिएको थियो । उनलाई तिब्बतका निष्कासित धार्मिक नेता दलाई लामाको खास समर्थक रहेको जनाउँदै उनी चीनको सर्वाधिक खोजीमा रहेको जानकारी गराएका थिए ।

नेपालको एक चीन नीतिलाई सम्मान गर्न उक्त कार्यवाही गरिएको भएपनि चीनको सर्वाधिक खोजीमा रहेको भनिएका पेन्पा छिरिङ्ग भन्ने व्यक्ति बारे एयरपोर्टका अधिकारीहरुले यकिनगर्न सकेका थिएनन् । अधिकारीहरुका अनुसार गृहमन्त्री रामबहादुर थापासँगको सम्पर्कपछि उक्त निर्णय गरिएको थियो ।

पेन्पाले आफू सन् २०१३ मा पनि तीन दिनकालागि काठमाण्डौ भ्रमण गरि सकेको र यस पटक भारतबाट दश वर्षे बहुप्रवेशी भिसा लिएर नेपाल आएको दावी गरेका थिए । यो घटनाबारे काठमाडौंस्थित अमेरिकी दूतावासले कडा प्रतिक्रिया जनाउँदै भविष्यमा नेपाल आउने अमेरिकी नागरिकले अन्य मुलुकबाट समेत सहमति लिनुपर्ने बारे नेपालको परराष्ट्र मन्त्रालयलाई स्थिति स्पष्ट पार्न आग्रह गरेको थियो ।

चीनको सर्वाधिक खोजीमा रहेका वास्तविक पेन्पा छिरिङ्ग अहिले धार्मिक नेता दलाई लामाको भारतस्थित बासस्थान ‘धर्मशाला’ मा रही आएको जानकारीमा आएको छ । त्यहाँ रहेका वास्तविक पेन्पाका अनुसार उनी सन् २००७ मा एउटा राजनीतिक कार्यशालामा भाग लिन नेपाल आई सकेका छन् । त्यति बेला उनी निष्काषित तिब्बती संसदको सदस्य थिए ।

पछि सन् २००८ देखि २०१० र सन् २०११ देखि २०१६ सम्म १४औं र १५औं संसदको सभामुख हुँदा चीनले निजलाई प्रतिबन्धित गर्दै सर्वाधिक खोजी भएको व्यक्तिमा सूचिकृत गरेको थियो । प्रष्ट देखिन्छ कि नेपाल सरकारका मन्त्रीदेखि उच्च पदस्थ अधिकारीहरु समेत सही सूचनाबाट वञ्चित छन् ।

डिपोर्ट गरिएको अमेरिकी नागरिक पेन्पा छिरिङ्गको नाम वास्तविक पेन्पासंग संयोगले मात्र मिल्न गएको थियो । यो घटनाबाट नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलबाट भित्रिने व्यक्तिहरुबारे विदेशी दूतावासले अग्रिम जानकारी पाउने गरेको कुरा राष्ट्रिय सुरक्षाको दृष्टिले कति उपयुक्त हो भन्ने प्रश्न समेत उब्जिएको छ ।

चीनको महत्वाकांक्षी परियोजना बीआरआईमा नेपालले पहि हस्ताक्षर गरेको छ । यस परियोजनामा ६ वटा करिडोर निर्माण गरिने प्रस्ताव छ ।
(१) चीन/पाकिस्तान आर्थिक करिडोर (२) युरोप/एसिया लैंड ब्रिज (३) चीन/मध्य एसिया/पश्चिम एसिया आर्थिक करिडोर (४) चीन/मंगोलिया/रुस आर्थिक करिडोर (५) चीन/म्यान्मार/बांग्लादेश/भारत आर्थिक करिडोर (६) चीन/इण्डोचाइना प्रायद्वीप आर्थिक करिडोर ।

यी मध्येका केही करिडोर निर्माणाधीन अवस्थामा छ । लगभग १० खर्ब डलरबाट निर्माण गरिने परिकल्पना गरिएको करीब ६५ देशको प्रत्यक्ष संलग्नता रहने यस परियोजनाले विश्वको ६०% ( लगभग ४.४ अर्ब) जनसंख्या लाभान्वितहुने दावी गरिएको छ । चीनको राष्ट्रपति सी. जिनफिंग द्वारा ‘प्रोजेक्ट ऑफ द मिलेनियम’ नामाकरण पाएको यो परियोजना श्रीलंका, पाकिस्तान, किर्गिस्तान, ताजकिस्तान, लाओस, मंगोलिया, मोन्टेनिग्रो र अफ्रिकाको जिबूती सहित विश्वका अनेकों देशमा अगाडि़ बढ़ाइएको छ । चीनले यो महापरियोजनालाई प्रत्यक्ष र सामुहिक लगानी मार्फत  संचालनमा ल्याएको छ ।

स्पष्ट छ चीनको उक्त विश्व स्तरीय परियोजनाको कुनैपनि करिडोर नेपाल भएर जाने छैन । तैपनि छिमेकि मित्रराष्ट्रको नाताले यस पटकको बिआरआई सम्मेलनमा नेपाल सम्मको रेल विस्तार गर्ने कार्ययोजनालाई समावेश गरिएको छ । चीनको यो सहृदयतालाई नेपाली नेताहरुले सतही ढंगले व्याख्या गरेर असहज अवस्था बनाइ दिएका छन् ।

सरकारका मन्त्रीहरुले समय सीमा तोकेर आफ्नै कार्यकालमा काठमाडौसम्म रेल ल्याएको चटक कुरा गर्दा आजित बनेका चीनका राजदूतले पत्रकार सम्मेलन मार्फत तत्कालको लागि नेपाल मा रेल आउने विषय पूर्व सम्भाव्यता अध्ययनसम्म सीमित रहेको जानकारी गराए । पछि सोही विषयमा चीनमा आयोजित नेपाली प्रतिनिधिमण्डल संगको विस्तृत छलफलमा चिनियाँ पक्षले नेपाललाई सतही टिप्पणी गर्नबाट सचेतहुन समेत आग्रह गरेका थिए ।

परस्पर कट्टरता रहेपनि दुई देश बीचको सम्बन्ध सुधारका लागि दक्षिण कोरियाको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अत्यन्त सहजतापूर्वक उत्तर कोरियाका नेता किम जोङ्ग उनलाई दुई कोरियाली देशको सीमा मा भेट्न आमन्त्रित गरे र नेता किम ले पनि आमन्त्रण स्वीकारदै कोरियाली सीमा मा आएर राष्ट्रपति ट्रम्प संग हात मिलाए । नेपाललेपनि वर्तमान विश्व कूटनीतिमा प्रयोग भइ रहेको व्यवहारलाई अविलम्ब आत्मसात गर्नु उपयुक्त हुने देखिन्छ । परराष्ट्र सम्बन्धको आधार नै कूटनीतिक शब्दावलीलाई मानिन्छ ।

विदेशी मुलुक संगको प्रत्यक्ष सरोकारका विषयहरु बारे नेपालको परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्नेमा अन्य मन्त्रीहरुको टिप्पणी अथवा आदेश दिने गरेकोले बारम्बार असहज परिस्थिति बन्ने गरेको देखिन्छ । छद्म व्यवहार, अराजक टिप्पणी अथवा एउटा विरुद्घ अर्को देशलाई प्रयोग गर्ने कोशिस राष्ट्रकोलागि घातक प्रयास हुन सक्छ । यस प्रकारको सतही प्रदर्शनले नेपाललाई अपरिपक्वताको आरोप व्यहोर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ८ : २२ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द