‘एकपटक हिमाल चढेपछि फेरि पनि चढौँ–चढौँ लाग्छ’

सगरमाथा चढ्दा महिनावारीले पिर्‍यो– कान्छीमाया तामाङ

एकराज बास्तोला

शनिबार, जेष्ठ २५, २०७६

Reading Time: 6 minutes

‘एकपटक हिमाल चढेपछि फेरि पनि चढौँ–चढौँ लाग्छ’

जब सन् २०१७ मा पहिलो पटक कान्छीमाया तामाङले सगरमाथाको सफल आरोहण गरिन् । त्यसपछि भने सगरमाथा चढ्दाको उनको अनुभव र दृष्टिकोण अलिभिन्न छ ।

उनका अनुसार सगरमाथा एकता र समानताको प्रतिक हो, जहाँ महिला र पुरुष दुबै एउटै बाटो, एउटै डोरी र एकै किसिमको संघर्ष र चुनौति सामना गरी शिखरमा पुग्छन् । हालसम्म उनले तीनपटक सगरमाथाको सफल आरोहण गरिसकेकी छिन् ।

सन् २०१७ मे २१ मा उनले पहिलो पटक सगरमाथाको आरोहण गरेकी थिइन् । यससँगै उनी तामाङ समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला भइन् ।

‘महिलाहरु पनि मानव हुन्, उनीहरुमा पनि चेतना र भावना हुन्छ, उनीहरु कुनै निर्जिव वस्तु होइनन्’ भन्ने सन्देशका साथ सगरमाथा आरोहण गरेकी भोताङ, सिन्धुपाल्चोक जिल्लाकी ३१ वर्षिया कान्छीमायाको अभियान पनि उत्तिकै महत्वपूर्ण छ ।

वैदेशिक रोजगारीबाट फर्केकी कान्छीमाया महिला तस्करीको अपराधबारे जनचेतना जगाउने अभियानका साथ सगरमाथा आरोहणमा लागेकी हुन् । ‘म मेरा साथीको सहयोगमा इजिप्ट गएकी थिएँ, मैले त्यहाँ कुनै किसिमको समस्याको सामना त गरिन तर वैदेशीक रोजगारीमा जाने मेरा साथीहरुले भने त्यहाँ धेरै समस्याको सामना गर्नुपर्‍यो’ उनले सुनाइन् ।

वैदेशिक रोजगारीमा उनीसँगै रहेका केही नेपाली चेलीहरुमाथि नराम्रो व्यवहार गरिएको समेत देखेकी छिन् । उनले त्यहाँ नेपाली चेलीहरुले कोठामा बन्दी बनाइने, रोजगारदाताले भनेको भन्दा थोरै तलब दिइने र अरु अनेक समस्या भोगिरहेको बताउँछिन् ।

उनका अनुसार ती नेपाली चेलीहरुले त्यहाँ हप्ते विदासमेत पाउँदैनन् । त्यसमाथि रोजगारदाताले उनीहरुको पासपोर्ट राख्ने गरेको र उनीहरु त्यहाँबाट चाहेर पनि उम्किन नसक्ने उनी सुनाउँछिन् ।

सगरमाथाबाट हेर्दा त बादलसमेत मुनी देखिन्छ

कान्छीमाया एकपटक चारकोठाभित्र थुनेर राखिएकी एक नेपालीलाई उद्धार गरी ज्यान जोगाइदिएको समेत बताइन् । उनी भन्छिन्, ‘यदी मैले उनको उद्धार नगरेको भए उसको ज्यानै जाने थियो । अहिले उनी नेपालमा आएर विवाह गरी खुशीसाथ जीवन बिताइरहेकी छिन् ।’

यस्ता घटनाले जीवनमा केही गर्न प्रेरणा दिएको कान्छीमाया सुनाउँछिन् । यो कुरा उनले आफ्ना श्रीमान पेम्बा दोर्जे शेर्पालाई सुनाइन् । २० पटकसम्म सगरमाथाको सफल आरोहण गरिसकेका पेम्बा आफैंमा कीर्तिमानी आरोही हुन् । उनको नाममा सबैभन्दा छिटो सगरमाथा आरोहण गरेको कीर्तिमान छ । पेम्बाले उनलाई सगरमाथा आरोहण गर्न सल्लाह दिए । पेम्बाले भने थिए, ‘यदी तिमीले सगरमाथाको चुचुरोबाट आफ्नो कुरा राख्यौ भने त्यो अझ स्पष्ट हुनेछ । त्यसलाई सबैले सुन्नेछन् ।’

पेम्बाले आग्रह अनुसार उनी नेपाल फर्किइन् । उनको आवाज संसारभर पुर्‍याउनु छ भने सगरमाथा आरोहण गर्न समेत प्रेरणा दिए ।

सोहीअनुसार उनी अप्रिल २०१६ मा नेपाल फर्किइन् र सगरमाथा आरोहण गर्ने अभियानका लागि तयारी शुरु गरिन् । ‘शुरुमा मैले मेरा पिकको आरोहण गरेँ । मेरा लागि यो तयारी थियो । यसले मलाई सगरमाथा आरोहण गर्ने उत्साह दियो । शारीरिक तथा मानसिक रुपमा तयार भइसकेपछि मैले सन् २०१७ मा सगरमाथाको आरोहण गरेँ । उनले भनिन् ।

यससँगै उनले ‘हामी पनि मानव हुँ, हामीमा पनि चेतना र भावना हुन्छ, कुनै निर्जिव वस्तु होइनौं’ भन्ने आफ्नो सन्देश सगरमाथाको शिखरमा पुर्‍याउन सफल भइन् । ‘यो मेरो जिल्लाबाट हुने महिला र बालबालिकको बेचविखनविरुद्धको अभियान हो ।

चिसो मौसममा महिनावारीको पीडा बढी हुने गरेकाले सगरमाथा आरोहण अझ कठिन भएको उनी बताउँछिन्

मेरो जिल्लाबाट हरेक वर्ष ठूलो सङ्ख्यामा चेलीबेटी बेचविखन हुने गरेका छन् । यस्तो हुन नदिन स्थानीय स्तरमै रोजगारी सिर्जना तथा महिला सशक्तिकरणमा पहल गर्नु जरुरी छ’ उनी भन्छिन्, ‘मेरो यो जीतलाई म सबै महिला तथा बालबालिकाको जीत ठान्छु । मेरो अभियान मुलुकलाई भेदभावरहित तथा समानतातर्फ अग्रसर गर्नका लागि हो ।’

आफ्नो पहिलो पर्वतारोहण अनुभव सुनाउँदै गर्दा उनी हिमालमा दिनरात बिताउँदाको क्षण सम्झन्छिन् । पहिलो पर्वतारोहणका बेला महिनावारी भएकाले उनका लागि पहिलो पर्वतारोहण उसैपनि चुनौतिपूर्ण नै थियो ।

चिसो मौसममा महिनावारीको पीडा बढी हुने गरेकाले सगरमाथा आरोहण अझ कठिन भएको उनी बताउँछिन् ।

उनले भनिन्, ‘जब म आइसफल पुगेँ, मेरो महिनावारी शुरु भयो । त्यसबाट खुट्टासम्म दुख्न शुरु भएको थियो । मलाई एक कदम अगाडि सर्नसमेत समस्या परिरहेको थियो ।’ पीडा कै कारण क्याम्प एकबाट क्याम्प दुईसम्म पुग्न ८ घण्टा समय लागेको उनको अनुभव छ । जबकी सामान्यतः क्याम्प एकबाट क्याम्प दुईसम्म पुग्न केबल तीन घण्टाको समय लाग्छ । उनी भन्छिन्, ‘मैले क्याम्प दुईमा एक दिन आराम गरेँ । पीडा कम गर्न औषधी लिएँ र आरोहणका लागि तयार भएँ ।’

सगरमाथा आरोहणको अनुभव सुनाउँदै उनले अगाडि थपिन्, ‘सगरमाथाको शिखरमा पुगिसक्दा भने ममा बेग्लै उत्साह र खुशी थियो । म चिच्याएर कराउन चाहन्थेँ, तर अक्जिन मास्क लगाएकाले मैले त्यसो गर्न सकिन ।’

सगरमाथाको शिखरबाट हरेक चिजहरु तलतिर देखिने गरेको उनी सुनाउँछिन् । ‘त्यहाँबाट हेर्दा त बादलसमेत मुनी देखिन्छ ।’ सगरमाथा आरोहणसँगै आफ्नो व्यक्तित्वमा पनि परिवर्तन भएको अनुभव गरेको उनले सुनाइन् । ‘यसअघि म जस्ती थिएँ, सगरमाथा चढिसकेपछि आफूलाई त्यो भन्दा धेरै नै भिन्न भएको पाएकी छु’ उनले भनिन् ।

खबरहबसँगको कुराकानीका क्रममा उनले हालै सगरमाथामा देखिएको ट्राफिक जामबारे पनि खुलासा गरिन् । ‘वसन्त ऋतुको समयमा सगरमाथा चढ्ने आरोहीहरुको सङ्ख्या धेरै नै हुने गरेको छ । मौसम राम्रो भएकाले यो वर्षको मे २२ र २३ दुई दिनमा आरोहीको सङ्ख्या अरु बेलाको भन्दा धेरै थियो । आरोहीहरु त्यही दुई दिन सगरमाथाको शिखरमा पुग्न हतार गरिरहेका थिए ।’

कान्छीमाया र उनका श्रीमान् सन् २०१७ यता हरेक वर्ष सगरमाथा चढ्दै आएका छन् । यसपटक भने उनीहरुले सगरमाथाको शिखरमा प्रधानमन्त्री केपी शर्मा ओलीले हस्ताक्षार गरेको ‘नेपाल पर्यटन वर्ष २०२० को झण्डा लैजान सफल भए ।

जलवायु परिवर्तनका कारण सगरमाथामा बिलाउँदै गएको हिउँको स्तरप्रति पनि उनी चिन्तित छिन् । ‘हाम्रा हिमाललाई जोगाउन पहल गर्ने बेला भइसक्यो, हरेक वर्ष हिउँको स्तर घट्दै गइरहेको छ । नत्र हामीले हाम्रा हिमालका सुन्दरता गुमाउनेछौँ ।’ उनले अन्त्यमा भनिन्, ‘हिमाल आरोहण लतजस्तै हो, तपाईं एकपटक हिमाल आरोहण गर्नुभयो भने अझ धेरै पटक तपाईंलाई हिमाल चढ्न मन लाग्छ । सबै १४ अग्ला हिमाल चढ्ने मेरो धोको छ ।’

भर्खर

0