एकदिन एक धनाढ्य व्यापारीले छोरालाई आफ्नो अन्तिम इच्छापत्र दिँदै भने- छोरा, म मरेपछि मेरा खुट्टामा फाटेका मोजा लगाइदिनू । यो मेरो जीवनको अन्तिम इच्छा हो । केही समयपछि व्यापारीको मृत्यु भयो । बाबुको मृत्युपछि छोराले बाबुको अन्तिम इच्छा सम्झियो ।
उसले पण्डित र आफन्तजनसामु बाबुको अन्तिम इच्छा बतायो । साथै, उसले बाबुको लिखित इच्छापत्र पनि देखायो । तर, पण्डितले उसको याचना अस्वीकृत गर्दै भने– तपाईंका पिताको अन्तिम इच्छा त हो, तर हाम्रो धर्मले यस्तो अनुमति दिँदैन ।
छोराले बाबुको अन्तिम इच्छा जसरी पनि पूरा गरेरै छाड्ने जिद्दी गर्यो । त्यहाँ उपस्थित सबै ठुल्ठूला पण्डित र उनका आफन्तजनले यस विषयमा कुनै समाधान निकाल्न सकेनन् । उनीहरू सबैले धर्मको दुहाई दिँदै मृतकका पाउमा फाटेका मोजा लगाइदिन नमिल्ने अड्डी लिए ।
यही अन्योलबीच मृतक व्यापारीका विश्वासप्राप्त वकिल त्यहाँ आइपुगे र व्यापारीले लेखेको एउटा हस्तलिखित पत्र छोरालाई दिए । पत्रमा लेखिएको थियो– मेरा प्यारा छोरा, देख्दै छौ नि ? सम्पत्ति, घर, जग्गा, गाडी, ठुल्ठूला कारखाना, फार्म हाउस सबै साथमा हुँदाहुँदै पनि मरेपछि एक जोर फाटेको मोजा पनि साथमा लान पाइन्न ।
एक दिन तिम्रो पनि मृत्यु निश्चित छ । त्यसैले, सचेत रहनू । तिमीले पनि एक सादा सेतो कपडामै बेरिएर जानुपर्नेछ, जसमा कुनै गोजीसम्म हुँदैन । त्यसैले याद राख, धन-सम्पत्तिका लागि कसैलाई दुःख नदेऊ, गलत तरिकाबाट धन कमाउने बाटो रोज्दै नरोज । किनकि, मृत्युपछि सम्पत्ति होइन, कर्म मात्र तिम्रो साथमा जानेछ ।
प्रतिक्रिया