सामाजिक सेवाको उदाहरण : ऋण खोजेर विकटका सुत्केरी महिलाको उद्धार « Khabarhub
Logo
१९ मंसिर २०७८, आइतबार

सामाजिक सेवाको उदाहरण : ऋण खोजेर विकटका सुत्केरी महिलाको उद्धार



काठमाडौं– ग्रामिण क्षेत्रमा कुनै गर्भवती वा सुत्केरी महिलाको स्वास्थ्य अवस्था जोखिममा छ भने, तेह्रथुमका दिपक सिलवाललाई तुरुन्तै फोन आउँछ ।

गर्भवती तथा सुत्केरी महिला जोखिममा रहेको, अस्पताल पुर्‍याइदिनुस् भन्दै फोन गर्नेहरुलाई सान्तवना दिँदै सिलवाल हेलिकोप्टर लिएर ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको उद्धारमा आफै खटिन्छन् । स्थानीय स्वास्थ्यसंस्थामा प्रसूती हुन नसकेर प्रसव पीडामा छटपटाइरहेका महिलाहरुलाई सिलवालले हेलिकोप्टर मार्फत उपचार सम्भव हुने अस्पतालमा पुर्‍याउने गरेका छन् ।

हेलिकोप्टरमार्फत आकस्मिक उद्धार पाएर अस्पतालमा प्रसूती गराउँन पाउँदा बिरामीका आफन्तहरुले सिलवाललाई ‘भगवान्’ नै प्रकट भएजस्तो गरी खुट्टा ढोग्न समेत आइपुग्छन् । सिलवाल उनीहरुलाई सम्झाउँदै, उद्धारको वदलामा आशिर्वाद माग्छन् ।

‘किनौं हेली बचाऊ चेली’ भन्ने नारा तय गरी हेलिकोप्टर खरीद गर्ने योजना बनाएका सिलवालले  प्रत्येक नेपालीसँग एक महिनासम्म दिनको एक रुपैयाँ संकलन गरी हेलिकोप्टर किन्न सक्ने बताए

२०७४ सालदेखि ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धारमा लागेका सिलवालले २०७५ साल असोजदेखि सुत्केरी बचाउँ अभियानकै रुपमा ग्रामिण क्षेत्रमा आकस्मिक स्वास्थ्य उपचारसेवा नपाएका गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गर्दै आएका छन् ।

उनले २०७५ असोज यता मात्रै विगट क्षेत्रका ८ जना गभर्वती तथा सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिसकेका छन् । समयमै आकस्मिक प्रसूती सेवा नपाउँदा मृत्युको मुखमा पुगेका गर्भवती तथा सुत्केरीको हेलिकोप्टर मार्फत उद्धार गरी आमा र शिशूको ज्यान जोगाउँन पाउँदा उनी आफ्नो समाजसेवाप्रति गर्व गर्छन् ।

‘विकट क्षेत्रहरुमा स्वास्थ्यचौकीमा सुत्केरी हुन नसकेर ज्यान जोखिममा रहेका महिलाहरुलाई उद्धार गर्न पाउँदा खुसी लाग्छ,’ सिलवालले खबरहबसँग भने, ‘विकट क्षेत्रका गरिव व्यक्तिहरुको उद्धार गर्दा सबै खुसी हुँदै, सबैले राम्रो काम गर्नु भन्दै आशिर्वाद दिनुहुन्छ ।’

कसरी लागे उद्धारमा

२०३८ सालमा तेह्रथुममा जन्मिएका सिलवाल बाल्यकालदेखि नै सबैको प्रशंसा पाउने खालको काम गर्न रुचाउथें । ठूलो बुबाको घर झापामा भएकाले उनी कहिले झापा कहिले तेह्रथुममा बस्थें ।

सानो उमेर हुँदा नै उनी घरका अन्य सदस्या भन्दा फरक थिए । घरमा बाबु–आमा, दाजुदिदीहरु आफ्नो मतलबको काम मात्रै गर्थे तर सिलवाल भने छिमेकीका समस्यामा साचो राख्ने र सहयोग गर्ने पनि गर्थें ।

पढाइ खासै राम्रो नभएपनि सबैक्षेत्रमा जान्ने हुनुपर्छ र धेरै कुरा सिक्नुपर्छ भन्ने सोच भने उनमा थियो ।

२०५५ सालमा एसएलसी दिएपछि उनी विराटनगरमा गए । १७ वर्षको उमेरमा प्रवेश गर्दै गरेका सिलवाललाई त्यतिबेला धेरै कुराहरु सिक्ने र जान्ने चाहना थियो ।

रामकृष्ण ढकाल बन्ने सपनाले म्युजिक सिकायो

२०५५ सालमा गायक रामकृष्ण ढकालको बजारमा आसा एल्बम निकै चर्चित थियो । त्यतिवेला सिलवाल पनि रामकृष्ण ढकालको निकै ठूलो फ्यान थिए । उनी रामकृष्ण ढकालको आसा एम्बममा रहेको फोटो हेर्दै आफूपनि रामकृष्ण ढकाल बन्ने सपना देख्थें ।

‘म अहिले जे गर्दैछु, जुन काम गर्दैछु यो ठाउँसम्म आइपुग्नुको प्रेरणा रामकृष्ण ढकाल पनि हो, म सानो हुँदा रेडियोमा रामकृष्ण ढकाल निकै पपुलर थिए,’ सिलवालले भने, ‘जताजतै रामकृष्णकै चर्चा हुँदा मलाई पनि रामष्कृण ढकालले जस्तै चर्चा पाउनपाए हुन्थ्यो भन्ने लाग्थ्यो ।’

रामकृष्ण ढकाल जस्तै बन्ने सपनाले उनलाई क्लसिकल म्युजिक तालिम लिन प्रेरित गरायो । सिलवालले तीवर्षसम्म क्लासिकल म्युजिक तालिम लिए । त्यसपछि रामकृष्ण ढकाललाई भेट्ने र उनीजस्तै बन्ने सपना लिएर काठमाडौं आए ।

संस्था चलाउन निकै गाह्रो भयो । शुरु गरेको काम छोड्न मन लागेन मैले अंशमा पाउने झापाको एक बिघा जग्गा दाजुलाई बेचेर संस्था चलाएँ

काठमाडौं आएपछि सिलवालले रामकृष्ण ढकाललाई त मुस्किलले भेटे, तर उनीजस्तै चर्चित कसरी बन्ने ? भन्ने कुराले सतायो । उनलाई रामकृष्णको सांगीतिक क्षेत्रको यात्रा कठिन लाग्यो ।

‘त्येतिबेला मलाई रामकृष्ण ढकालको भूत नै चड्यो, शुरुमा उहाँलाई भेट्नै मुस्किल पर्‍यो, भेटेपछि उनको यात्रा त झनै मुस्किल लाग्यो,’ सिलवालले भने, ‘रामकृष्ण ढकाल बन्न गाह्रो छ भन्ने लागेपछि सोच नै परिवर्तन गरे ।’

सिलवालले रामकृष्ण ढकालजस्तै बन्ने सपनालाई त छोडे उनको जीवनले नयाँ मोड लियो ।

उनी भन्छन्, ‘त्यतिबेला रामकृष्ण ढकाललाई भेट्न काठमाडौं नआएको भए, म गाउँमै रहन्थें, विवाह हुन्थ्यो, बालबच्चा हुने थिए । जीवनमा खासै प्रगति हुँदैन थियो होला ।’

सांगीतिक क्षेत्रको यात्रा असहज लागेपछि सिलवाल आध्यात्मिक क्षेत्रतिर लागे । उनले डाक्टर स्वामी प्रपन्नाचार्याको सहयोगीको रुपमा हिड्न थाले । राईको छोरा भएपनि संकृत पढेर निकै चर्चा पाएका स्वामी प्रपन्नाचार्याको जीवनकथाले सिलवालको आध्यात्मिक क्षेत्रमा लगाब बढ्यो । उनले ७ वर्षसम्म स्वामी प्रपन्नाचार्याको सहयोगी रुपमा काम गरे । ७ वर्षपछि २०६७ सालमा उनले मामाको अस्टेलिया पठाउने कन्सलटेन्सीमा काम गरे । दुईवर्ष कन्सलटेन्सीमा काम गरेपछि सिलवालले आफू पनि अस्टेलिया जाने योजना बनाए ।

तर २०६९ सालमा बुबाको क्यान्सरको कारण मृत्यु भएपछि उनले अस्टेलिया जाने सोच पनि पुरा हुन पाएन ।

अंशको जग्गा बेचेर घरआँगन नेपाल

स्वामी प्रपन्नाचार्याको साथमा हुँदा सिलवाल राष्ट्रकवि माधवप्रसाद घिमिरेसँग पनि नजिक थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेले पुरस्कार स्वरुप पाएको  एक लाख ३ हजार पैसामा आफैले दुई हजार थपेर एक लाख पाँच हजार रुपैयाँ सामाजिक कार्य गर्ने संस्थालाई दिएका थिए ।

स्वामी प्रपन्नाचार्याले सिलवालाई पनि राष्ट्रकविकै उदाहरण दिदै सामाजिक सेवामा लाग्न प्रेरित गर्थें । उनकै प्रेरणाबाट  सिलवालले २०७० सालमा घरआँगन नेपाल नामक संस्था स्थापना गरे । उनले सडकमा वेवारिसे अवस्थामा रहेका सडक बालबालिका, अपाङ्गता भएका व्यक्ति लगायतका २९ जनालाई संस्थामा आश्रय दिएर राखे ।

कुनै आर्थिक स्रोत नभइ सडक बालबालिकाको उद्धार गरेका सिलवाललाई संस्था चलाउन भने निकै मुस्किल पर्‍यो । उनले झापामा आफ्नो अंशमा पर्ने एक बिघा जग्गा आफ्नै दाजुलाई ८ लाखमा बेचेर संस्था चलाए ।

‘घर भाडामा लिएर बालबालिकाहरुको उद्धारमा लागे, तर संस्था चलाउन निकै गाह्रो भयो । शुरु गरिहाले छाडेर हिड्ने कुरापनि भएन, आफुसँग भएको पैसा सबै सकियो,’ सिलवालले भने, ‘संस्था चलाउन मैले अंशमा पाउने झापाको एक बिघा जग्गा दाजुलाई बेचेर संस्था चलाएँ ।’

२०७४ साललमा सडक बालबालिकालाई सरकारले नै आश्रय दिने भनेपछि उनले आफूसँग रहेका बालबालिका सरकारलाई बुझाए । त्यसपछि पैसाको अभावमा उपचार गर्न नपाएका बिरामीहरुलाई डाक्टर भोला रिजालको सहयोगमा नेपाल मेडिकल कलेजमा ल्याएर निःशूल्क उपचार गराउन थाले ।

यसरी शुरु भयो सुत्केरीको उद्धार अभियान

ग्रामिण क्षेत्रका विपन्न वर्गका व्यक्तिहरुको स्वास्थ्य उपचारमा सहयोग गर्न लागेका सिलवाललाई सिन्धुपाल्चोककी ३१ वर्षीया महिला सुत्केरी हुन नसकेको भन्दै फोन आयो । गाउँकै स्वास्थ्यचौकीमा ३ दिनदेखि प्रसूती पीडामा छटपटाइरहेकी ती महिलालाई हेलिकोप्टरबाट उद्धार गर्न आग्रह गर्दे फोन आएपछि सिलवाल एकछिन आफै अलमलमा परे ।

‘काठमाडौं नजिकका विपन्न बिरामीलाई डा भोला रिजाललको सहयोगमा निशूल्क उपचार गराउन अस्पतालसम्म ल्याउन सहयोग गर्दै आएको थिए,’ सिलवालले विगत सम्झिए, ‘सिन्धुपाल्चोकमा महिलाको तुरुन्तै हेलिकोप्टरमार्फत उद्धार गर्नुपर्‍यो भनेर फोन आयो, तर मैले हेलिकोप्टर त आकाशमा उडेको मात्रै देखेको थिए, कसैलाई चिनेकै थिइन्, पैसा पनि थिएन अब कसरी उद्धार गर्नु आफै अलमलमा परे ।’

आकस्मिक प्रसूती सेवा नपाएर छटपटाइरहेकी गर्भवतीको उद्धारको लागि गाउँलेहरुले हारगुहार गरेपछि सिलवालले पाइटल दिपक पुनसँग उनको भाइमार्फत सम्पर्क गरे । दिपकलाई आफूसँग तत्काल तिर्ने पैसा नभएको र गर्भवतीको ज्यान जोखिममा परेको बताएपछि पाइलटले तुरुन्तै हेलिकप्टरको व्यवस्था गरिदिए ।

‘पाइटल दिपक पुनको सहयोगमा ती महिलालाई काठमाडौं मेडिकल कलेजमा शल्यक्रिया गरेर आमा र बच्चा दुबैको ज्यान बचायौं,’ सिलवालले भने, ‘उहाँको उद्धारको कुरा मिडियाहरुमा पनि आयो त्यसपछि सबैले सहयोगबाट हेलिकोप्टरको भाडा तिरेँ ।’

सो घटनापछि सिलवाललाई छक्कापञ्जा फिल्मका कलाकारहरुको टिमले पनि एक लाख ६ हजार सहयोग गरे । त्यसपछि सिलवालले २०७५ सालमा सुत्केरी बचाउँ अभियान नै सञ्चालन गरेर ग्रामिण क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको उद्धारमा जुटे ।

दिपक भन्छन्- सामाजिक सेवामार्फत कमाएको आत्मसम्मानले मलाई अझै सहयोग गर्न उर्जा मिल्ने गरेको छ

 

उद्धारको ऋण ९ लाख

सिलवालले ग्रामिण क्षेत्रका सुत्केरी तथा गर्भवतीको सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गर्दै आएका छन् । उनले उद्धारमा खर्च भएको मध्ये ९ लाख रुपैया तिर्न बाँकी रहेको बताए ।

उद्धारका लागि हेलिकोप्टर किन्ने योजना

सिलवालले ग्रामीण क्षेत्रमा आकस्मिक प्रसूती सेवा नपाएका गर्भवती तथा सुत्केरीलाई अस्पतालसम्म ल्याउनका लागि छुट्टै हेलिकोप्टर किन्ने महत्वकांक्षी योजना समेत बनाएका छन् । सिलवालले ‘किनौं हेली बचाऊ चेली’ भन्ने नारा तय गरी हेलिकोप्टर खरीदका लागि १ रुपैयाँ संकलन अभियान नै संचालन गर्ने तयारीमा जुटिसकेका छन् । उनले प्रत्येक नेपालीसँग एक महिनासम्म दिनको एक रुपैयाँ संकलन गरी हेलिकोप्टर किन्ने योजना बनाएको बताए ।

‘गाउँगाउँमा आकस्मिक प्रसूती सेवा नआएका महिलाहरु र शिशूको ज्यान बचाउँन आफैले हेलिकोप्टर किनेर सेवा गर्ने योजना बनाएको छु,’ सिलवालले भने, ‘असार मसान्तबाट यो अभियान संचालन गरी असोजमा नै हेलिकोप्टर खरिद गर्ने योजना छ ।’ उनी भन्छन् सामाजिक सेवामार्फत कमाएको आत्मसम्मानले मलाई अझै सहयोग गर्न उर्जा मिल्ने गरेको छ ।


भर्खर

0