अपराध अनुसन्धानमा किन चुक्छ प्रहरी ? | Khabarhub Khabarhub

अपराध अनुसन्धानमा किन चुक्छ प्रहरी ?


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै पनि देशमा प्रहरीको स्थापना अपराध अनुसन्धानका लागि नै गरिएको हुन्छ । नेपालको सन्दर्भमा शान्ति सुरक्षा कायम गर्नुपर्ने अर्को महत्वपूर्ण जिम्मेवारी पनि प्रहरीले निर्वाह गर्नुपर्ने अवस्था छ ।

गृह प्रशासन मातहत रहने प्रमुख जिल्ला अधिकारीको आदेशमा शान्ति सुरक्षा परिचालनका लागि प्रहरी परिचालन हुन्छ । यसरी हेर्दा शान्ति सुरक्षा कायम गर्ने मामलामा प्रहरीको भूमिका दोस्रो तहको हुन्छ । अपराध अनुसन्धानका लागि प्रहरीले कसैको आदेश कुरेर बस्नुपर्ने हुँदैन । अपराधिक घटनाको अनुसन्धान गर्ने प्रहरीको पहिलो र अनिवार्य जिम्मेवारी हो ।

अपराध अनुसन्धानको क्षेत्रमा नेपाल प्रहरीले विश्वमा नै उदाहरणीय संगठनको परिचय बनाइसकेको छ । देश भित्रका होउन् या देश बाहिरका, अपराधिक घटनाको अनुसन्धानमा नेपाल प्रहरीले अब्बल संगठनको परिचय बनाएको छ ।

लागुऔषध, संगठित अपराध र आतंकवादसँग सम्बन्धित अपराधका घटनामा नेपाल प्रहरीले गरेका अनुसन्धान सफल भएका छन् । यसको एउटा उदाहरणको रुपमा थाइल्याण्डको बैंककमा अपरणमा परेका ३ जना नेपाली विद्यार्थीको नेपाल प्रहरीकै प्रयासमा सकुशल उद्दार भएको केसलाई लिन सकिन्छ ।

लामो समयदेखि काम गरेको अनुसन्धान अधिकृतलाई ‘अपराधी’को संज्ञा दिइँदा संगठनले कुनै प्रतिक्रिया नजनाउनु कमजोरी नै हो । जसका कारण अनुसन्धान प्रक्रिया सफल हुने संभावना धेरै कम हुन्छ

५ पुस २०७१ मा थाइल्याण्डको एजप्सन विश्वविलयमा अध्ययनरत नेपाली विद्यार्थी कर्ण हाछेथु, दिवस रिजाल र रोनिस श्रेष्ठ अपहरणमा परेका थिए । परिवारका तर्फबाट पुस ६ गते उनीहरु अपहरणमा परेको खबर नेपाल प्रहरीलाई प्राप्त भएको थियो । खबर पाउनासाथै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको टोली बैंकक गयो । स्थानीय प्रहरीसँग समन्वय गरेर सिआईबीले अपहरणमा परेका ३ जनालाई उद्दार गर्नुका साथै ३ जना अपहरणकारीलाई पक्राउ गरेको थियो ।

२७ वटा गैंडा मारेर फरार रहेका राजकुमार प्रजालाई पनि नेपाल प्रहरीले मलेसियाबाट पक्राउ गरेको थियो । अहिले उनी जेलमा छन् । यस्तै जापान, साउदी अरब, भारतलगायत देशमा गएर पनि प्रहरीले अपराधीलाई पक्राउ गरेर ल्याएको छ ।

अपराधिक घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले आधुनिक प्राविधिको प्रयोगका हिसावले सर्वसम्पन्न मानिएको अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई)सँग पनि सहकार्य गरेर काम गरेको छ ।

कुनै पनि अपराधको अनुसन्धान गर्ने प्रहरीका आफ्नै विधि हुन्छन् । अपराध अनुसन्धान गर्ने छुट्टै टीम हुन्छ

बिकिनी किलरका रुपमा कुख्यात चाल्र्स शोभराजलाई पनि नेपाल प्रहरीले नै पक्राउ गरेको हो । उनी अहिले नेपालकै जेलमा कैदी जीवन विताइरहेका छन् ।

प्रहरीको अनुसन्धानमाथि प्रश्न

धेरै पटक राम्रो काम गर्दा पनि कहिलेकाँही हुने सामान्य कमजोरीले पनि प्रहरीको भूमिकामाथि प्रश्न उठ्ने गरेको छ । पछिल्लो समय कञ्चनपुरको बलात्कारपछि हत्याको घटनामा नागरिकले प्रहरीको भूमिकामाथि प्रश्न उठाइरहेका छन् । प्रहरीले गरेको अनुसन्धानमाथि जनताले खुला रुपमा प्रश्न उठाउनु चिन्ताको विषय हो । यस्तो स्थितिले प्रहरी संगठन र समग्र देशका लागि नराम्रो संकेत गर्छ ।

कुनै पनि अपराधको अनुसन्धान गर्ने प्रहरीका आफ्नै विधि हुन्छन् । अपराध अनुसन्धान गर्ने छुट्टै टीम हुन्छ । बाहिरबाट हेर्दा एउटा प्रहरीलाई डन्डा चलाउनेदेखि अपराध अनुसन्धान गर्नेसम्मका सबै काम आउँछ भन्नेजस्तो सोचिन्छ । तर, भित्रि रुपमा विषयगत जिम्मेवारीका हिसावले प्रहरी संगठन भित्र छुट्टै विभाग हुन्छन् । अपराध अनुसन्धानका लागि अपराध अनुसन्धान विभाग छ । अतंकवादी गतिविधि नियन्त्रण र त्यससँग सम्बन्धित घटनाको अनुसन्धानका लागि विशेष ब्यूरो छ । जटिल प्रकृतिका घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो छ । यी सबै विभाग र ब्यूरोमा सम्बन्धित विषयमा विज्ञता हासिल गरेका प्रहरी कर्मचारी हुन्छन् ।

अपराध अनुसन्धान असफल हुनुका कारण

अपराध अनुसन्धानको विषयमा कुरा गर्दा त्यसमा विज्ञता हासिल गरेको प्रहरी कर्मचारीलाई नै परिचालन गरिनुपर्ने हुन्छ । तर, कतिपय घटनामा त्यस्तो गरिँदैन । जसका कारण कञ्चनपुर घटनाको जस्तो स्थिति सिर्जना हुन पुग्छ ।

पीडित परिवारलाई बेवास्ता 

अपराध अनुसन्धानको क्रममा पीडित परिवारलाई मनोवैज्ञानिक रुपमा प्रहरीबाट ढाडस दिने काम पनि हुनु पर्छ । पीडित परिवारले आफ्नो महत्वपूर्ण सदस्य गुमाएको हुन्छ । उनीहरु गम्भीर पीडामा हुन्छन् । घटनाको अनुसन्धानमा जोडिएको प्रहरीले पीडित परिवारलाई पनि अनुसन्धान कार्यमा जोड्नुपर्छ ।

पछिल्लो समय अपराध अनुसन्धानमा अब्बल मानिने प्रहरीका अधिकारीहरु घटनाको अनुसन्धान गर्न नै डराइरहेका छन् । मानव अधिकार आयोगमा परेको उजुरीले बृत्तिविकासमै असर पर्ने अवस्था आउन थालेपछि अनुसन्धान अधिकृतहरु घटनास्थलमै जान डराउने प्रबृत्ति झन डरलाग्दो हो

अनुसन्धानमा भएका प्रगतिको बारेमा (कानूनअनुसार मिल्ने जति) परिवारलाई पनि जानकारी दिनुपर्छ । पीडित परिवारको गुनासो र पीडा सुन्ने दायित्व पनि प्रहरीको हो । प्रहरीसँग पीडा सुनाउन नपाए पीडित परिवार बाहिर जान्छ, आफ्नो पीडा पोख्न । महत्वपूर्ण सदस्य गुमाइसकेको पीडित परिवारको अन्तिम आश भनेकै न्याय हो । प्रहरीले उनीहरुको मनोविज्ञानलाई बुझेर अनुसन्धान गर्नुपर्छ । पीडित व्यक्ति र उनको परिवारप्रति संवेदनशील भइएन भने अनुसन्धान सफल हुन सक्दैन ।

घटनास्थलमा लापरवाही

अपराध अनुसन्धानमा पहिलो सबुतको रुपमा घटनास्थलमा प्राप्त हुने प्रमाणलाई लिइन्छ । यस्ता प्रमाण संकलनका लागि विशेषज्ञता भएका प्रहरी कर्मचारी घटनास्थलमा खटिनुपर्छ । तर, कतिपय अवस्थामा विशेषज्ञ प्रहरी घटनास्थलमा पुग्दैनन् । जसले गर्दा त्यहाँ उपलब्ध प्रमाण संकलन हुँदैनन् । ती प्रमाणको आवश्यक विश्लेषण हुन नसक्दा अपराध अनुसन्धान असफल हुन्छ । घटनास्थलबाट प्रमाण संकलनमा कमजोरी भयो भने वर्षौंसम्म पनि अपराधी पत्ता लाग्न सक्दैन ।

जिम्मेवारी बाँडफाँटमा कमजोरी

बाहिरी रुपमा आम जनताले बुझेजस्तै प्रहरी संगठनमा रहेका सबै कर्मचारी प्रहरीले निर्वाह गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी वहन गर्ने क्षमता राख्दैनन् । कोही कर्मचारी शान्ति सुरक्षा कायम गर्न दख्खल राख्छन् भने कोही टाफिक व्यवस्थापनमा दख्खल राख्छन् । तर, ट्राफिक प्रहरी र दंगा नियन्त्रण गणका प्रहरीलाई पनि अपराध अनुसन्धानमा सामेल गराउँदा अनुसन्धान सफल हुँदैन ।

अपराध बुझ्नका लागि प्रहरी कर्मचारीमा विशिष्ट क्षमता हुनु आवश्यक हुन्छ । पेस्तोल चलाउन जानेको प्रहरीले अपराध अनुसन्धान गर्न सक्छ भन्ने हुँदैन ।

संगठनको कमजोरी

पछिल्लो समय अपराध अनुसन्धानमा अब्बल मानिने प्रहरीका अधिकारीहरु घटनाको अनुसन्धान गर्न नै डराइरहेका छन् । मानव अधिकार आयोगमा परेको उजुरीले बृत्तिविकासमै असर पर्ने अवस्था आउन थालेपछि अनुसन्धान अधिकृतहरु घटनास्थलमै जान डराउने प्रबृत्ति झन डरलाग्दो हो ।

कञ्चनपुर घटना मात्रै हैन, राजधानी काठमाडौंमै एकजना पूर्वराजदूत मृत अवस्थामा फेला परेको घटनाका अभियुक्तलाई पनि प्रहरीले अहिलेसम्म पहिचान गर्न सकेको छैन । यसबाटै थाहा हुन्छ, अपराध अनुसन्धानको विषय कति जटिल बन्दै गइरहेको छ भनेर ।

जटिल प्रकृतिका अपराधिक घटनाको अनुसन्धानमा प्रहरीले थुप्रैपटक ‘अन्डरकभर अपरेशन’ चलाउनुपर्ने हुन्छ । तर, त्यस्तो अपरेशनमा सहभागी हुने अनुसन्धान अधिकृतलाई नै अपराधी बनाउने पछिल्ला गतिविधिले अनुसन्धान प्रक्रिया थप जटिल बन्दै गएको हो ।

प्रहरी संगठनले पनि घटनाको प्रकृति बुझेर अनुसन्धान अधिकृतहरु परिचालन गर्नुपर्ने हुन्छ । लामो समयदेखि काम गरेको अनुसन्धान अधिकृतलाई ‘अपराधी’को संज्ञा दिइँदा संगठनले कुनै प्रतिक्रिया नजनाउनु कमजोरी नै हो । जसका कारण अनुसन्धान प्रक्रिया सफल हुने संभावना धेरै कम हुन्छ ।

[मल्ल नेपाल प्रहरीका अवकासप्राप्त नायव महानिरीक्षक (डिआईजी) हुन् । ]

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  १२ : २३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०