कहाँ हराउँछन् बालबालिका : ५ वर्षमा ६ हजार बढी गायब | Khabarhub Khabarhub

कहाँ हराउँछन् बालबालिका : ५ वर्षमा ६ हजार बढी गायब



काठमाडौं– प्रत्येक वर्ष घरबाट हराउने बालबालिकाको संख्या बढ्दो छ । अभिभावले प्रहरीमा गरेको उजुरी अनुसार १० देखि १५ वर्षको उमेर समूहका बालबालिका धेरै बेपत्ता हुने गरेका छन् ।

बालबालिका खोजतलास समन्वय केन्द्र, काठमाडौंको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा मात्र २ हजार २ सय १० जना बालबालिका हराए । यी मध्ये १ हजार ५० जना फेला परे पनि बाँकी १ हजार १ सय ६० जना अझै बेपत्ता छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा २ हजार ३ सय ३० जना बालबालिका हराएका थिए । ती मध्ये १ हजार १७ जना मात्र भेटिए । १ हजार ३ सय १३ जनाको कहाँ पुगे अत्तोपत्तो छैन ।

तुलनात्मक रुपमा पछिल्ला वर्षहरुमा फेला पर्ने बालबालिकाको संख्या एकदमै न्यून छ । बालबालिका खोजतलास समन्वय केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालका अनुसार, उपत्यकाबाट हराएकामध्ये ७२ प्रतिशतमात्र बालबालिका फेला पर्दछ । देशभरको तथ्यांक अझै दुःखद् छ । देशभरको तथ्यांक हेर्दा हराएका मध्ये २२ प्रतिशत मात्र फेला पर्ने गर्दछन् ।

देशभरबाट कुन वर्ष कति हराए ?

आर्थिक वर्ष हराएका बालबालिका भेटिएका बालबालिका फेला पर्न बाँकी
२०७१/०७२ ७८६ ३०९ ४७७
२०७२/०७३ १५०२ ४०८ १०९४
२०७३/०७४ २७७२ ७२० २०५२
२०७४/०७५ २३३० १०१७ १३१३
२०७५/०७६ (फागुनसम्म) २२१० १०५० ११६०

स्रोत: बालबालिका खोजतलास समन्वय केन्द्र

बेपत्ता भएका बालबालिका नेपालभित्रै हराउने गरेको जानकारहरु बताउँछन् । हराएर मुलुक बाहिर पुगेका बालबालिकाको यकिन तथ्यांक छैन ।

केन्द्रका अनुसार गत वर्ष मात्र ४३ जना बालबालिका भारतका विभिन्न भागबाट नेपाल ल्याइएको थियो । केन्द्रमा परेको उजुरी हेर्दा १० देखि १५ वर्ष उमेर समूहका बालबालिका धेरै हराउने गरेका छन् । हराउनेमा बालक भन्दा बालिकाको संख्या धेरै छ ।

बाबुआमाले दोस्रो बिहे गर्दा छोराछोरी बेपत्ता

परिवारमा हुने कलह र तनावकै कारण बालबालिकाले घर छाड्ने गरेको पाइएको छ । साथीको लहैलहैमा पनि धेरैले घर छोड्ने गरेका छन् । केन्द्रका अनुसार भेटिएका बालबालिकाले बाबु तथा आमाको दोस्रो विवाह, विभिन्न प्रलोभन र लहैलहैमा घर छाडेको बताउने गरेका छन् ।

केन्द्रका प्रहरी निरीक्षक दाहाल भन्छन्– ‘प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोगबाट उनीहरुले गलत निर्णय लिने गरेको देखिन्छ । किशोरावस्थाको अपरिपक्व प्रेम र शहरी जीवन प्रतिको आकर्षणले घर छोड्छन् ।’

हराएका मध्ये धेरै यौन शोषणको शिकार हुने गरेका छन् । केही घरेलु कामदारका रुपमा कार्यरत त केही सडक बालबालिकाका रुपमा पनि भेटिने गरेको दाहालले बताए ।

हराउने धेरै काभ्रे र नुवाकोटका

हराउने बालबालिका धेरैजसो नुवाकोट र काभे्रपलाञ्चोक जिल्लाका छन् । बालबालिका खोजतलास समन्वय केन्द्रका अनुसार सिन्धुपाल्चोक, रौतहट, रुकुम, रोल्पा लगायतका जिल्लाका विपन्न परिवारका बालबालिका हराएको उजुरी पनि धेरै आउने गरेको छ ।

अशिक्षा र गरिबीको पीडामा रहेका परिवारबाट बालबालिका बाहिरिने गरेका छन् । घरेलु कामदारका लागि दलालहरुले ललाईफकाइ लैजाने गरेको पनि पाइएको छ । दलालले फकाएका बालबालिका यौन हिंसा तथा बेचबिखनको शिकार हुने गरेका छन् ।

दुई वर्ष अघि बेलायतबाट प्रकाशन हुने पत्रिका द सन (The Sun) ले नेपालमा भूकम्प पीडित अर्थात् प्रभावित क्षेत्रका बालबालिकाहरु बेलायतमा बेचविखन तथा ओसरपसार भइरहेको तथ्य उजागर गरेको थियो ।

बेचविखन भएका ती बालबालीकाहरु घरेलु कामका लागि प्रयोग भएको खुलाइएको थियो । बेलायतमा बालबालिका ५ हजार २ सय ५० स्टर्लिङ पाउण्डसम्ममा किनबेच भएको पत्रिकाले उल्लेख गरेको थियो ।

बालबालिका देशको भोलिका कर्णधार हुन् । उनीहरुलाई उचित शिक्षा–दिक्षा प्रदान गरी योग्य र सक्षम नागरिक बनाउनु सरकारको कर्तव्य  हो । तर वर्षेनी हराउने बालबालिकाको संख्या बढिरहँदा समस्या समाधानको सट्टा बालबालिकालाई हेर्ने महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले ध्यानाकर्षण विज्ञप्ति निकाल्ने बाहेक अन्य प्रभावकारी पहल गरेको देखिँदैन ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ७ : ४४ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले