जुवाखालमा मिटरब्याजदेखि यौन शोषणसम्म ! | Khabarhub Khabarhub

जुवाखालमा मिटरब्याजदेखि यौन शोषणसम्म !



काठमाडौं–पाँचतारे होटलमा सञ्चालन भइरहेका क्यासिनोमा नेपालीलाई प्रवेश निषेध गरिएसँगै जुवा अखडाहरु फष्टाउन थालेका छन् ।

जुवाडेहरु समूह बनाएर घर–घरमै जुवा खेल्न थालेका छन् । राजधानीमा मात्र होइन, यो समस्या देशका मुख्य–मुख्य शहरलगायत सीमा क्षेत्रमा समेत फैलिएको छ ।

गत कात्तिक ९ गते प्रहरीले काठमाडौंको महारागजञ्जस्थित एक निजी घरमा जुवा खेलिरहेको समयमा छापा मारी गुण्डा नाइकेदेखि व्यापारीसमेत गरी २५ जनालाई पक्राउ गर्‍यो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र वोगटीका अनुसार, उनीहरुका साथबाट प्रहरीले २ करोड ६७ लाख नगद, ३ लाख बराबरको चेक तथा केही रकम नभरिएको चेकसमेत बरामद् गरेको थियो ।

तिहारको समयमा ठूलो रकमसहित पक्राउ परेको पछिल्लो घटना एउटा प्रतिनिधिमुलक उदाहारण हो । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार, तिहारको समयमा प्रहरीले देशभरबाट ४३ जुवा अखडामा छापा मारि ४ सय ६५ जनालाई पक्राउ गर्‍यो भने ३ करोड ३० लाख रुपैयाँ नगद समेत बरामद् गरेको थियो ।

प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार, प्रहरीले चाडपर्वको अवसरमा हुने यस्ता जुवा अखडालाई मध्यनजर गर्दै विशेष अपरेशन सञ्चालन गरेको थियो ।

कुन आर्थिक बर्षमा कति पक्राउ ?

प्रहरीको तथ्यांक हेर्दा ३ वर्षको अवधिमा ७ हजार १ सय ९७ व्यक्ति पक्राउ परेका छन् । जसमध्ये आर्थिक वर्ष २०७३/७४ मा जुवातासका २ सय ६ वटा मुद्दा दर्ता भएका थिए । जहाँ जुवातास खेल्ने १ हजार ५ सय ४ जना पक्राउ परे ।

त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा जुवातासका ३ सय ५९ मुद्दा दर्ता भएकामा २ हजार ८ सय २४ जना पक्राउ परेका थिए ।

त्यसैगरी आर्थिक बर्ष २०७५/७६ मा दर्ता भएका ३ सय ९१ वटा मुद्दा दर्ता भएका थिए भने जुवाखालबाट २ हजार ८ सय ६९ जना पक्राउ परेका छन् ।

प्रहरी प्रवक्ता पोखरेलका अनुसार, क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध गरिएसँगै प्रहरीले निगरानी बढाएको थियो । त्यसयता राजधानी लगायत ठूला शहरहरुमा जुवा अखडा फष्टाउँदै गएका हुन् ।

कहा–कहाँ छन् जुवा अखडा ?

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआईजी शैलेश थापाका अनुसार, काठमाडौं उपत्यकाका कतिपय निजी घर, कोठा, होटल, रेष्टुरेण्ट र रिसोर्ट लगायतका स्थानमा जुवा खेलाउने गरेको सूचना आइरहेका छन् । सूचना अनुरुप प्रहरीले सक्रियता पनि बढाएको छ ।

विशेष गरी एकान्तस्थलका केही घर, रेस्टुरेन्ट तथा गेस्टहाउसहरुमा सँधै जसो जुवा खेलाइने गरिएको छ । प्रहरी अनुसन्धान अनुसार, धेरैजसो अखडामा तास नै खेलाइने गरिन्छ ।

यससबाहेक बौद्धका कतिपय ठाउँमा भने गोटीमार्फत खेलिने तिब्बतीय जुवा खेलाइन्छ । उपत्यकामा धेरै स्थानमा मिनी क्यासिनो शैलीमा जुवा खेलाइने सूचना आएको र आफूहरूले त्यस्ता स्थानमा निगरानी बढाएर नियन्त्रणमा लिने काम शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदी बताउँछन् ।

काठमाडौं उपत्यका मात्र होइन, देशका मुख्य–मुख्य शहर र सिमा क्षेत्रमा जुवा अखडा फष्टाउँदै गएका छन् । प्रहरी प्रवक्ता विश्वराज पोखरेल भन्छन्–कतिपय सिमा क्षेत्रमा नेपालका जुवाडे भारतमा र भारतका नेपालमा जुवा खेल्दै आएका छन् ।

उनीहरुले मिनी क्यासिनो नै सञ्चालन गरेर आफ्नो धन्दा चलाएका छन् । प्रहरीले सीमा क्षेत्र लगायत कतिपय स्थानबाट छापामारि जुवाडेहरु निन्यत्रणमा लिंदै आएको छ ।

को–को जान्छन् जुवा अखडा ?

गत कात्तिक ९ गते प्रहरीले महाराजगञ्जस्थित जुवा अखडामा छापा मार्दा पक्राउ परेकामा क्यसिनो किङ भनेर चिनिने गुण्डा नाइके बलराम सापकोटा (बले), क्रसर तथा ढुंगाखानी देखि मिटरब्याज सम्ममा लगानि गर्ने प्रदिप बोगटीलगायत नाम कहिलिएका ब्यापारी समेत पक्राउ परे ।

यो घटनालाई मात्र हेर्ने हो भनेपनि जुवाअखडामा अबैध काम गरेर अकुत कमाउनेहरुको संलग्नता बढि देखिन्छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआईजी शैलेश थापा क्षेत्रीका अनुसार, विशेषगरी तस्करी तथा अबैध क्रियाकलापमा संलग्नहरू जुवा खेल्न सक्रिय देखिएका छन् । यसबाहेक ठेक्कापट्टामा काम गर्नेहरु र केही प्रतिष्ठित ब्यापारी समेत जुवा खेलमा संलग्न भेटिएका छन् ।

पूर्वडिआईजी केशव अधिकारीका अनुसार, ठूलो रकमको कारोबार गर्न सक्ने व्यक्तिहरु र केहि प्रतिष्ठित सरकारी अधिकारी र नेताका आफन्त समेतको जुवा खेलमा संलग्नता भेटिएको छ ।

यसबाहेक केही प्रहरी, सैनिक अधिकारी तथा निजामती कर्मचारीहरुसमेत जुवा अखडामा पुग्छन् । अझ पद र राज्यशक्तिको आडमा चलेका कतिपय जुवाघरका बारेमा त प्रहरी थाहा पाएर पनि मौन बसेको छ । जुवाडेहरुको ‘मुड’ अनुसार जुवा खालमा पाँच रुपैयाँदेखि हजार रुपैयाँ पोइन्टसम्ममा म्यारिज खेल्ने तथा खेलाउने गर्छन् ।

जुवा अखडामा मिटर ब्याजदेखि यौन शोषण सम्म

प्रहरीका अनुसार, राजधानीका कतिपय स्थानमा घर तथा फ्ल्याट भाडामा लिइ सञ्चालन गरिएका जुवा घरमा मदिरासंँगै यौनधन्दा समेत हुने गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरी अनुसन्धान अधिकारीहरु भन्छन्–सहयोगी भन्दै जुवा अखडामा राखिएका युवतीसँग धनाढ्य जुवाडेहरुले यौन शोषणसमेत गर्ने गरेका छन्।

विशेष गरी पेशेवर जुवा अखडामा खाना र सुत्ने व्यवस्थासहित मदिरा तथा युवती भेटिएको प्रहरीको भनाई छ । प्रहरीले जुवा अखडामा छापा मार्दा कतिपय स्थानबाट युवती समेत पक्राउ पर्ने गरेका छन् । अर्कातिर जुवाखालमा उठेको रकम चर्को (मिटर)ब्याजमा समेत लगाउने गरेको बुझिएको छ ।

के हुन्छ कारबाही ?

मुलुकी अपराध संहिता २०७४को परिच्छेद –५ अनुसार, पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीसहजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।

त्यसैगरी दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

त्यस्तै, जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुनेछ । संहिता अनुसार, जुवा खेलेको घर, कोठा, ठाउँ वा सवारी साधन भने जफत हुँदैन ।

जानकारहरुका अनुसार, जुवाले मानिसको जीवन र सामाजिक प्रतिष्ठा बर्वाद बनाउने मात्र होइन, समाजमा अपराधको घटनासमेत बढाउँछ । त्यसैले यो विषयमा नियमनकारी निकायको ध्यान पुग्न आवश्यक देखिन्छ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  १० : १४ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न